‘दयारानी’ चलचित्र अहिले देश विदेशमा प्रदर्शन भइरहेको छ । निर्देशक माओत्से गुरुङका अनुसार यो चलचित्र पाँच वर्ष अगाडि छायांकन गरिएको हो । निर्देशक स्वयंको लेखनमा रहेको यो चलचित्रलाई हालसम्म धेरै मिडियाले टिप्पणी गरेको कुरा हो –‘चलचित्रमा पुरुष अहंमतालाई महत्त्व दिएर बनाइएको छ । मुख्य पात्र चित्रजङमा पुरुष अहंमता हावी छ ।’ सबैको यस्तो प्रतिक्रिया सुनिरहदा म भने सोच्न मग्न भएँ । धेरैपटक चलचित्रका दृश्यहरू मानसपटलमा दोहोर्याएँ । हलमा बसेर हेर्दा मैले मुख्य पात्रमा त्यति धेरै पुरुष अहंमता प्रदर्शन भएको पाइनँ । अनि आफैँ घोत्लिएर सोचें, कि त मैले फिल्म बुझिनँ कि त मलाई फिल्मले बुझाउन सकेन ।

निसन्तान दम्पतीबीच (दयाहाङ राई र दिया पुन) जीवनको आरोह अवरोह उतारचढावको जोडघटाउले भाग गर्दा निस्केको भागफलको सानो सरल, सरस र सहज कथावस्तु हो, दयारानी । चलचित्रमा कथा सलल बगेको छ । मेरो बुझाइमा, चलचित्रमा जुन समाज अथवा समाजिक संरचना छ, त्यो पितृसत्तात्मक छ । तर मुख्य पात्र भने पितृसत्ता विरोधी छ । चलचित्रमा सारा संसार पितृसत्ताको वरिपरि घुमिरहेको छ, तर मुख्य पात्र ठिक उल्टो देखिन्छ ।

व्यक्ति व्यक्ति मिलेर समाज निर्माण हुन्छ । त्यसैले समाज जहिले पनि व्यक्ति भन्दा बलियो हुन्छ । एउटा समाज र व्यक्तिबीचको द्वन्द्व बीचको कथा हो, ‘दयारानी’ । अथवा यसलाई यसरी भनौं, पितृसत्तात्मक समाज र एउटा पुरुष जो पितृसत्ताविरोधी छ, त्यही बीचको द्वन्द्वको कथा हो, ‘दयारानी’ । सामान्यतः पितृसत्ताविरुद्ध महिलाहरू लडिरहेका हुन्छन् । यो लडाईँ पुरुषले लड्दा कस्तो असहज परिस्थिति सिर्जना हुन्छ, फिल्ममा देख्न पाइन्छ । सिङ्गो समाज एकातिर छ र चित्रजङ्गको ( दयाहाङ्ग राई) विचार अर्कोतिर छ । यस्तो आवस्थामा चित्रजङ पात्रलाई धेरै गाह्रो हुन्छ । प्रश्न उठ्छ, पुरुषलाई यति गाह्रो छ भने झन् महिलालाई कति गाह्रो होला ? विद्यामान पितृसत्तात्मक समाजको जग कति बलियो छ भनेर चलचित्रबाट पनि मापन गर्न सकिन्छ । हाम्रो सामाजिक संरचनाले थाहै नदिई महिलालाई विभेद गर्न सिकाइँदो रहेछ।

मैले यहाँ यस्तो भनिरहँदा महिलाहरूलाई लाग्न सक्छ, पुरुषलाई त त्यति गाह्रो हुन्छ भने महिलाहरूले त झन् आँट नै नगरे भो भनेर हतोत्साही सोच आउन सक्छ । यो चलचित्रको सन्दर्भमा भन्नुपर्दा, पुरुषलाई लड्न गाह्रो भएको समाज अथवा पुरुषहरूमा मात्रै पितृसत्तात्मक सोच भएर होइन । सँगसँगै स्वयं महिलाहरूमा अर्थात समाजको संरचनामा नै पितृसत्तात्मक सोच हावी भएर गाह्रो भएको हो चित्रजङलाई । पितृसत्तात्मक समाज बदल्न पुरुषहरू मात्र बदलिएर पनि हुँदैन । महिलाहरूको मस्तिष्कको गहिराईमा थाहै नपाई बास गरेको पितृसत्तात्मक सोच हटाउनु जरुरी छ । अतः यो यस्तो भन्नु उपयुक्त होला, समाज बदल्न महिला पुरुष दुवै बदल्नु जरुरी छ ।

चलचित्रमा समाज यति पितृसत्तात्मक देखाइएको छ कि महिला मुख्य पात्र एकदमै निरीह र कमजोर देखिन्छिन् । आफूबाट सन्तान नहुने भएपछि आफ्नै श्रीमानको बिहे गराइदिन राजी हुन्छिन् । अझै त्यति मात्र कहाँ हो र, आफ्नै बैनीलाई सौताको रूपमा स्विकार्नु तयार हुन्छिन् । उनको बाबा पनि आफैँ छोरीको सौता खोज्न खुलेआम हिँड्छन् ।

व्यक्ति र समाज बीचको अन्योयाश्रित सम्बन्ध हुन्छ । व्यक्तिलाई समाजले बनाइरहेको हुन्छ । समाजलाई व्यक्तिले बनाइरहेको हुन्छ । त्यसैले कुनै व्यक्तिको सोचमा पनि समाज प्रतिबिम्बित भइरहेको हुन्छ । दयारानी आफ्नै श्रीमानको बिहे गराउन राजी हुन्छिन् । किनकि ससुराको भनाइमा आफ्नो वंश नासिने चिन्ता छ । जुन पितृसत्तात्मक सोच हो । संसारभरि अहिले जताततै पितृसत्तात्मक वंश हावी भए तापनि यो शाश्वत सत्य भने होइन । मानव सभ्यता अथवा आदिम समाज अध्ययन गर्दा मातृसत्ता पनि हावी भएको पाइन्छ । दयारानीको निर्णय स्वयं आफैँविरुद्ध छ, तैपनि उनलाई त्यो सत्य लाग्छ, किनकि उनी समाजका एक अङ्ग हुन्, उनको मस्तिष्कमा पितृसत्तात्मक सोच प्रतिबिम्बित भएको छ ।

चलचित्रमा समाज पितृ सत्तात्मक भए पनि मुख्य पात्र चित्रजङ त्यसको पक्षमा देखिँदैन । उनले आफ्नो मर्दानगी लुकाउन होइन कि आफैँबाट बच्चा नहुने थाहा भयो भनेर दयारानीले ( श्रीमती) आफूलाई छोडेर जाने हो कि भन्ने डरले यो कुरा लुकाएका हुन् । जुन कुरा दुवै जना हस्पिटल चेकअप गर्दा फल्यासब्याकका रुपमा देखाइएको छ । चित्रजङले यो कुरा लुकाएर श्रीमतीलाई अन्याय गरेका छैनन् । उनले त बिहे गर्दिनँ भनेर पटक पटक भनेका छन् । यदि उनले आफूबाट बच्चा नहुने कुरा लुकाएर श्रीमतीलाई अन्याय गरेका भए, अर्को बिहे गर्ने आधार बनाएका भए पितृसत्तात्मक सोच वा अंहकार भन्न सकिन्थ्यो । तर उनमा यस्तो कत्ति पनि देखिदैन । उनले त आफ्नी श्रीमती आफैँसँग रहिरहोस् भनेर कुरा लुकाएका हुन् । उनले आफ्नो पक्षमा भन्दा पनि श्रीमतीको पक्षबाट सोचेर लुकाएका हुन् कि भन्ने भान हुन्छ । ऊसँग पितृसत्तात्मक अंहकार हुन्थ्यो भने त उनी बिहे गर्न पनि तयार हुन्थे होलान् । तर उनले त्यो बाटोमा आफूलाई नहिँडाउन सर्तकता अपनाएर कुरा लुकाएका हन्, र श्रीमतीलाई साथ दिएका छन् । तैपनि धेरै दर्शकले मुख्य पात्रमा पितृसत्तात्मक अंहकार भएर कुरा लुकाएको भनेर बुझेको पाएँ । कतै यसमा चलचित्रको प्रस्तुतिमा कमजोरी हो कि ?

निर्देशक माओत्से गुरुङले योभन्दा अगाडि गुरुङ चलचित्र कृपा, तिनागा, नकैइ फुजस्ता धेरै चलचित्र निर्देशन गरिसकेका छ्न् । माओत्से गुरुङको विशेषता भनेको चलचित्रलाई बिम्बात्मक रुपमा प्रस्तुत गर्नु हो । माओत्से गुरुङका चलचित्र हेर्दा मलाई जहिले पनि लाग्ने, चलचित्र प्रस्तुतिमा उनको सबल पक्ष र दुर्बल पक्ष भनेको बिम्बात्मक प्रस्तुति नै हो । बिम्बात्मक रुपमा कुनै पनि कलालाई प्रस्तुत गर्दा सशक्त हुन्छ । त्यसैले चलचित्रलाई उनले बिम्बमार्फत सशक्त बनाउने प्रयास गरेका हुन्छन् । बिम्बको प्रयोग होसियारीपूर्वक गर्नु जरुरी हुन्छ । बिम्ब भनेको व्यक्तिगत÷स्थानीय पनि हुन्छन् र सर्वव्यापी पनि हुन्छन् । व्यक्तिगत बिम्बहरू सहज रुपमा अरुले बुझ्न सक्दैनन् तर सर्वव्यापी बिम्ब भने सबैले सहजै बुझछन् । कोरियन लगायतका विदेशी चलचित्रहरू नेपालीले भाषा नबुझे पनि मज्जा लिएर हेर्छन् किनकि त्यहाँ सर्वव्यापी बिम्ब प्रयोग गरिएका हुन्छन् । माओत्से गुरुङको दुर्बल पक्ष भनेको उनले व्यक्तिगत बिम्बलाई सर्वव्यापी बिम्ब ठानेर प्रयोग गर्छन् । कतिपय उनले प्रयोग गरेका बिम्ब दर्शकलाई हत्तपत्त बुझ्न गाह्रो हुन्छ । यो कुरामा गम्भीर भएमा झन् प्रस्तुति सशक्त हुनेमा दुई मत छैन ।

नेपाली सिनेजगतको विरासत अहिले दयाहाङ राईले नै थेगिरहेको कुरा नकार्न सकिन्न । ‘कब्बडी’देखि ‘जारी’ हुँदै ‘दयारानी’सम्म दयाहाङको चरित्र निर्माण पनि एकै किसिमको रह्यो । नेपाली चलचित्रको परिवेश अहिले हाँस्यरसमा चलिरहेको छ । यसो हो भन्दैमा अब हामीले दयाहाङ राईलाई सधैँ त्यही एउटै चरित्रमा हेरिरहने ? के सधैँ गाउँमा रुमालिरहने, जाँडरक्सी पिउने, केटीको पछि लागिरहने एउटा लफंगो नै हो त ? के उनलाई त्योभन्दा अर्को चरित्र निर्माण गर्न सकिन्न ? उनको निश्चित घेरा तोकिदिएको हो र ? रामबाबु गुरुङ, उपेन्द्र सुब्बादेखि माओत्से गुरुङले उनका लागि अर्को चरित्र निर्माण गर्न नसकेको कि नचाहेको ?

‘दयारानी’मा सहायक पात्रमार्फत मितेरी सम्बन्धको उठान गरिएको छ । यो दृश्यले मितेरी सम्बन्ध जायज भन्न खोजिएको हो कि ? नजायज भन्न खोजिएको हो कि ? या कुनै गहिरो समाज रुपान्तरणको सन्देश दिन खोजिएको हो ? या कुनै व्यक्तिगत बिम्ब नै प्रयोग भएको हो ? अलि बुझ्न कठिन लाग्यो मलाई ।

सर्सर्ती हेर्दा फिल्म राम्रो बनेको छ । अभिनय राम्रो छ । कतिपय झर्रो शब्दहरू अनावश्यक रुपमा प्रयोग गर्दा असहज महसुस भए पनि, अहिले यस्तै ट्रेन्डमा नेपाली फिल्म चलिरहेको हुँदा फिल्मलाई सहज पनि बनाएको छ । फाट्टफुट्ट गुरुङ भाषाका शब्दहरूको प्रयोग मीठो नै सुनिएको छ । तैपनि मडियामा आएझैं यो गुरुङ संस्कार संस्कृतिमा आधारित कथा भने होइन । यो त सीमित लोकेसन, सीमित कलाकार, साधारण पहिरन, साधारण मेकअपमा सीमित स्रोत र साधनबाट बनेको सामाजिक कथामा सलल बगेको तपाईं हाम्रै कथा हो। कुनै निश्चित जातजाति भित्रको कथा होइन। तर धेरै मिडियाहरूले गुरुङ संस्कार र संस्कृतिमा आधारित कथा भनेर चलचित्रलाई कुनै जातजातिभित्र सीमितता तोक्न खोजिएको छ। उनीहरूले फिल्म नै नहेरी यो खालको फिल्मले कुन कथा बोकेको छ बुझ्दै नबुझी अतिरन्जित गर्न खोजिएको हो कि ? फिल्म हलमा अमेरिकानो कफी र पपकर्नको स्वादमा लगभग १ घन्टा ५० मिनेट जति पट्ट्यार नलागी सकिन्छ । चलचित्रको क्लाइमेक्स हेर्दा कथाले दयारानी २ पनि आउने हो कि भन्ने संकेत जनाउँछ ।