१.

हिजो राति फेरि नेटफ्लिक्स खोलेँ, मोबाइलमा । (कम्प्युटर बिग्रेर) ।

अनि गम्भीर फिल्म के हेर्नु, यसो हल्काफुल्का एक्सन फिल्म हेरूँ न लाग्यो ।

थिचेँ, ‘लिफ्ट’मा । चोरी, डकैती, उडाउनु, गायब पार्नु… यस्तै अर्थ होला । यस्ता ‘हेइस्ट’ थिमका फिल्महरू हलिउडले वर्षमा दुई चारवटा बनाइरहन्छ ।

बिकता होगा तो निकलता होगा ! भनेजस्तै हेर्ने मानिस होलान् र त त्यस्ता चिजबिज बनाइन्छन् होला ।

दुई लाइनको सिनोप्सिस पढेपछि फिल्म राम्रै होला भन्ने लागेर थिचेको थिएँ । फिल्म हेरिसकेपछि मलाई बेतोडले हाँसो उठ्यो । (पत्नीजी आत्तिएर हैरान, क्यै हैन, सुत भन्नु परो ।)

हाँसो किन उठ्यो भने, नेटफ्लिक्सको खजानामा मैले किन त्यही फिल्म थिचेँ होला ! हुन त हेरूञ्जेलको रमाइलै फिल्म हो, एक्सन-थ्रिलर । हेरिसकेपछि सित्तैमा समयको सत्यनाश भो भन्ने लाग्यो ।

फिल्म हेरिसकेपछि हाँस्नुको कारण चाहिँ ओशो सम्झेर थियो । ओशोले कतै जे. कृष्णमूर्तिको धुँवादार विरोध गरेका छन्, उनको पठन रूचिलाई लिएर ।

भएछ के भने, लामो यात्राका बेलामा वा थकान मेटाउन जे. कृष्णमूर्तिले जासुसी उपन्यास पढ्दा रहेछन् । ओशोले त्यसैलाई लिएर व्यङ्ग्य कसेका थिए कि जाबो जासुसी उपन्यासको स्वाद लिने मान्छेको गहिराई के होला ? त्यस्ता पनि गुरू हुन्छन् ? ओशोको प्रश्न थियो ।

मैले जासुसी प्लस एक्सन प्लस थ्रिलर फिल्मलाई रूचि मानेर हेरेको थाहा पायो भने मेरो दाइले थर्काउने मात्र हैन, उल्टै भन्दो हो- थाहा पाएँ तेरो लेभल पनि !

हुन त उसको मापनका लागि के पढ्ने, के हेर्ने, के सुन्ने, के लेख्ने भन्ने कुराले खासै अर्थ राख्दैन । तर मलाई लाग्यो, किन केस अगेन्स्ट ओशो नबनाऊँ !

ओशोले एकचोटि ‘म भगवान् हुँ’ भन्थे । जे. कृष्णमूर्ति चाहिँ भगवान् बनाइन लाग्दालाग्दै ‘म भगवान् हैन है’ भनेर आफूलाई हुर्काउने संस्था नै त्याग्ने मानिस हुन् । त्यसैले उनलाई थ्रिलर उपन्यासमा रूचि हुनु स्वाभाविक हो ।

दोस्रो चाहिँ, सारा दौडधुप, मानसिक कसरत, उपदेश अरूको मनोरञ्जनका लागि कृष्णमूर्तिले गर्नुपर्थ्यो । आफ्ना लागि भनेको जाबो एउटा क्षुद्र रूचिको विषय थियो । धेरै बौद्धिक चिन्तकहरूको चित्त साना रहरमा अडिएका हुन्छन् र जुन दिन त्यो चित्त अडिएका कुरा सकिन्छन्, उसको बौद्धिकताको पनि अन्त्य हुन्छ । (यहाँ बौद्धिकता भनेको उसको जीवनका सारा गतिविधिको कुरा गरेको ।)

यसरी मैले जे. कृष्णमूर्तिले कुनै सस्तो उपन्यास मन पराएकामा गलत मानिनँ, भलै ओशोले त्यसलाई बडो आपत्तिजनक देखे ।

कहिलेकाहीँ सोच्छु… मैले ‘द लिफ्ट’ जस्ता वाहियात काममा समय व्यतित गर्नु उति नराम्रो पनि होइन ।

२.

ओशोको एउटा प्रख्यात कथा छ । यो कथाले मलाई बेलाबेलामा घच्घच्याइरहन्छ । (अब यो कथा ओशोको हो कि कुनै सुफी कथा हो, त्यो मलाई थाहा छैन तर उनकै मुखारबिन्दबाट सुनेको हुनाले यसलाई उनैको कथा भनूँ अहिलेलाई ।)

एकादेशमा एउटा राजा थियो । ऊ ज्यादै प्रजापालक थियो । उसका जनता पनि राजालाई असाध्य मन पराउँथे, ज्यानै दिन्थे ।

अचानक त्यो देशमा अकाल शुरू भयो । अकाल त के भन्नु र, पानी विषाक्त भयो । विषाक्त पानी पिएपछि त्यहाँका जनताहरूको बुद्धि भ्रष्ट हुन थाल्यो ।

उनीहरूले अनुशासनहीन हुन थाले । जुन राजाप्रति उनीहरू हुरूक्क हुन्थे, उनीहरूलाई अब मन पर्न छाडे । राजाका विरूद्ध पनि वक्तव्य दिन उनीहरू धक मान्न छाडे ।

राजाले जनतालाई सम्झाउन थाले, अनुशासित हुनुपर्छ, नियम मान्नुपर्छ । बिना कारण अरूको आलोचना गर्नु हुन्न । तर यस्तो सुनेपछि पहिले सम्मान गर्ने जनतालाई राजा मन पर्न छाड्यो । उनीहरूले राजा बौलायो भनी गफ गर्न थाले ।

भएको के थियो भने, जनताहरू जुन कुवाको पानी खान्थे, त्यो यति विषाक्त थियो कि त्यसले सबै मानिसको बुद्धि भ्रष्ट बनाएको थियो तर उनीहरू यो मान्न तयार थिएनन् ।

अब चाँडै विप्लव हुने कुरा मन्त्रीको कानसम्म पुग्यो । मन्त्री राजाको निकै विश्वासिलो थियो । उसले जनताको कुरा र दरबारबाहिरको हल्ला राजालाई सुनाउने निर्णय गर्यो ।

जब राजाले विस्तारपूर्वक बाहिरको ‘गरम हवा’ सुने, उनले मन्त्रीसँग राय लिए, ‘अब म के गरूँ ?’

मन्त्रीले गम्भीर हुँदै भन्यो, ‘महाराज, अब एउटै उपाय छ, जनतासँगै आफू पनि बौलाउने !’

राजाले सोध्यो, ‘तिमी आफैँ भन, म कसरी बौलाऊँ ?’

मन्त्रीले जवाफमा भन्यो, ‘बाहिरबाट मैले विषाक्त पानी ल्याएको छु महाराज । यो पिएपछि हजुर पनि जनताजस्तै हुनुहुनेछ । म यहाँ छिर्नुअघि अलिकति पिएर आएको छु । यसले अलिअलि असर गर्न थालेको छ । हजुर पनि पिउनु होला ।’

त्यसपछि राजाले मन्त्रीले ल्याएको विषाक्त पानी औषधि मानेर घुट्क्याउँछन् ।

भनिन्छ, त्यसबेलादेखि अहिलेसम्म पनि ती राजाले आनन्दपूर्वक शासन चलाइरहेका छन् रे !

कहिलेकाहीँ सोच्छु… म पनि त्यो विषाक्त पानी घुट्क्याइदिऊँ…

३.

ईशापूर्व ३१२ मा रोमको सम्राट भइसकेपछि कन्स्टान्टाइनले आफ्नो भव्य मूर्ति बनाउन लगायो ।

सदियौँ बितेपछि यसको घाँटी गिँडियो, यसको पाखुरा उछिट्टियो, यसका गोडा फुटालिए ।

कयौँ शताब्दीसम्म त यसलाई कसैले वास्ता पनि गरेन । यत्तिकै पसारिइरह्यो । धन्न, तिनलाई पनि फुटालेनन् !

जब प्रविधिले बचेखुचेका पिँडुला, हातको चोरी औँला, गर्धन र टाउकोको अध्ययन गर्यो, थ्रिडी प्रयोग गरेर दुरूस्त मूर्ति तयार पारियो ।

यो मूर्ति यतिबेला रोममा कन्स्टान्टाइनको झल्को दिइरहेको छ ।

मूर्ति बनाइएको थियो र अहिले त्यसको पुनर्निर्माण भयो । पुनर्निर्माण भयो र मान्छेहरू उसको नवनिर्मित थ्रिडी मूर्ति हेर्न आउन थालेका छन् ।

जो दिखता है, वही बिकता है !

त्यसैले आफ्नो कला देखाउन छाड्नु हुन्न, चाहे जसले जे सुकै भनोस् । कालान्तरमा तपाईंभन्दा कम गुणवत्ता मान्छे तपाईंकै गफ कपी पेस्ट हानेर हिरो बनिरहेको हुन्छ…

कहिलेकाहीँ सोच्छु…

४.

नोस्टाल्जिया शब्द फुराउने पहिलो व्यक्ति स्विट्जरल्यान्डका चिकित्सक योहानेस होफर थिए । सन् १६८८ ताका उनी सेनाको चिकित्सकका रूपमा कार्यरत रहँदा ग्रिसेली शब्द नोक्टस (रिटर्न) र आल्गोस (पेन) मिलाएर यो शब्द फुराएका थिए ।

सेनामा कलिला केटाहरू भर्ती हुन्थे । तीमध्ये अधिकांशलाई उच्च ज्वरो आउने, मुटुको ढुकढुकीको अनियमितता हुने, कुनै काममा मन नलाग्ने, पेट दुख्ने, दुःखी रहनेजस्ता लक्षण देखिएपछि डाक्टर योहानेस होफरले यी केटालाई ‘होमसिक’ भएको भन्दै उनले ‘नोस्टाल्जिया’ शब्द सिर्जना गरेका थिए ।

नोस्टाल्जियाको खास अर्थ परिवार र आफ्नो सामाजिक वातावरणबाट जबर्जस्ती छुट्टिँदा हुने पीडा भन्ने हुन्थ्यो । पछि यसको अर्थ व्यापक हुँदै जान थाल्यो ।

नेपालीमा यसलाई के भन्ने व्यापक चर्चा चलिरहँदा ‘स्मृतिरमण’ अलि चल्तीमा रह्यो । यद्यपि यसको खाँट्टी नेपाली शब्द खोजी जारी नै छ ।

त, यो शब्द (स्मृतिरमण) मलाई झ्वाट्ट यतिबेला याद किन आइराछ भने, छेउकै क्याफे टेबुलमा एक जना अधबैँसे बसेर हामीले जमानामा यो गर्यौं, त्यो गर्यौं, यस्तो भयो, उस्तो भयो भनेर गफ लडाइरा’छ । मानौँ कि, ऊ यति वृद्ध भइसक्यो कि उसले गर्नपर्ने काम अब बाँकी छैन । मानौँ कि उसको भविष्य सक्किइसकेको छ र पुराना स्मृतिका बलमा अब जिउनु पर्नेछ ।

हुन त, कलिलैमा वृद्ध भएको जवान मुलुक हो नेपाल !

कहिलेकाहीँ सोच्छु…

५.

केही मानिसहरू दुस्साहसी हुन्छन् । मलाई दुस्साहस पढ्न मन पर्छ ।

अब मलेसियाका नयाँ सुल्तानलाई नै हेर्नु न ! जोहर राज्यका यी राजा थिए, अहिले मलेसियाका राष्ट्रपति बनेका छन् ।

मलेसिया अचम्मको देश हो, जहाँ त्यहाँका सात सुल्तानलाई पालैपालो राष्ट्रप्रमुखका रूपमा शासन गर्ने अवसर दिइन्छ ।

नयाँ राजा ६५ वर्षे सुल्तान इब्राहिम इस्कन्दर आफैँमा अर्बपति व्यापारी पनि हुन् । उनी पनि जब नयाँ राजा चुनिए, भने, ‘म देखिने र सुनिने ‘पपेट किङ’ हुँदिनँ । म संसद्को राजा हुन चाहिनँ । संसद् बाहिरका तीन करोड जनताको पनि हुँ । राजाका रूपमा मात्र चुप लाग्दिनँ । जंगल धेरै फोहोर भएको छ, शिकार गर्नेबेला आएको छ । शिकार गर्नु, फोहोर सफा गर्नु पनि हो ।’

अहिले संसारभर भ्रष्टाचार यति ठूलो समस्या भएको छ कि यसैलाई मात्र एउटा मुद्दा बनाएर दल बनाउने हो भने र दलदल सफा गर्छु भन्यो भने मारामार भोट पाउने अवस्था छ । यी राजाले पनि आफू राष्ट्रप्रमुख हुनेबित्तिकै त्यही दलदलको कुरा उठाएका छन् ।

यी राजाको सम्पत्ति ५ खर्ब ७० अर्ब डलर छ भनिन्छ । उनकाे यु मोबाइल मलेसियाको सबैभन्दा ठूलो फोन प्रदायक कम्पनी हो ।

राजाका रूपमा कुनै पनि व्यापारिक काम गर्न पाइन्न तर उनी यसको विरूद्धमा छन् । उनी भन्छन्, ‘पारदर्शी रूपमा गर्दा पाइन्छ ।’

उनको टिप्पणी मलाई मन परो । भन्छन्, ‘म राजा त हुँ तर मैले पनि त अन्य साधारण मानिसले जस्तो कमाउनु परो । त्यसैले मैले बिजनेस त गर्नै पर्छ ।’

उनका तीनवटा निजी जेट छन्, एउटा बोइङ ७३७ र तीन सयवटा लक्जरी कार छन् । ती सबैको खर्च मेन्टेन गर्न पनि त व्यापार गर्नै परो !

उनका बा मुहम्मद इस्कन्दर पनि सन् १९८४ र १९८९ मा मलेसियाका राजा बनेका थिए । तर यिनीभन्दा उनी अझ बढ्ता क्रोधी थिए । उनका पालामा राम्रै दङ्गा भएको थियो । आशा गरौँ, उनका पालामा त्यस्तो केही हुने छैन ।

कहिलेकाहीँ सोच्छु…