एकजना महिला मित्र हुनुहुन्छ, उहाँ पेशाले नर्स । कार्यक्षेत्र जुम्ला । साहित्य मनपराउने मान्छे ! मन लाग्दा लेख्ने र प्रायजसो मन लगाउँदै नलाग्ने मान्छे । विचित्रको स्वभाव । मनमर्जी अन्दाज । दिवाना म त्यही खुबीको ।

कहिलेकसो हामी दुई च्याटमा गफिन्छौँ । अलि बेर । अलि धेरै बेर !

समयको आदत हो बितिरहन्छ । र, हाम्रो आदत हो- समय बितेको हामी थाहा पाउँदैनौँ !

सन्चो-विसन्चोले त्यति माने राख्दैन । ‘सन्चो भइरहनु पनि बिसन्चो हुनु हो र बिसन्चो भइरहनु पनि सन्चो हुनु हो !’, मलाई यही लाग्छ । यो वास्तविकता २१औँ शताब्दीको सत्य हो । यस सत्यलाई मेरो कोटी कोटी प्रमाण छ । साष्टाङ्ग दण्डवत् छ ।

हामी दुवैसँग एउटा कुरा साझा छ- त्यो हो दुःख । दुःख त्यो व्यक्तिगत पनि र दुःख त्यो सामाजिक पनि । व्यक्तिगत यस मानेमा कि हामी मान्दछौँ कि हाम्रो जीवनमा यात्रा भइरहन सकेन । यात्रा होइरहन नसक्नु भनेको पोखरी बन्नु हो । जहाँ व्यक्तिगत कुण्ठा र अल्छ्याईका चकचके भ्यागुताहरू उफ्रिरहन्छन्, ट्वारट्वार गरिरहन्छन् । एक पट्यारलाग्दो आवाज । उदेकलाग्दो स्वर ।

उहाँ जुम्ला पुग्नुभयो, त्यहीको एक अस्पतालमा कार्यरत हुनुहुन्छ । कहिलेकसो काठमाडौँ आउनुहुन्छ । र, काठमाडौँ आएर मलाई नभेटी गएको कुरा जुम्ला पुगिसकेपछि बताउनुहुन्छ ।..भन्नुस्,..उहाँ बडो मीठो मजाक गर्नुहुन्छ !
भन्नुस् न, दिवाना म उहाँको त्यही अन्दाजको ।

दुःखको कुरा हुँदै थियो, कुरा त्यति मोडौँ । सामाजिक यस मानेमा कि हामी कार्यरत समाज ज्यादै झुटो भयो । उहाँका अनुसार काठमाडौँमा भन्दा बेसी जुम्लामा दुःख छ । म भन्छु, काठमाडौँ जस्तो लछारपाटो नलाग्ने ठाउँ नै अन्त कतै छैन ।

म भन्छु- ‘काठमाडौँ मूला जस्तो छ तर डुङ्ग गन्हाउने ढ्वाऊ रोकेर मुलालाई गाँजर भन्नु परि’राछ ।’

उहाँ भन्नुहुन्छ- ‘हाँसौँ कि दुःखी हौँ ?’

उहाँको प्रश्नमै उत्तर थियो । मैले भनिदिए,- “पहिले हाँस्नुस्, दुःखी फेरी फेरी हौँला । हाहा..”

उहाँ आफ्नै कुरामा जिद् कस्नुहुन्छ, म काठमाडौंको खिसीटिउरी गरिरहन्छु । एउटा वादविवादको शृङ्खला आरम्भ हुन्छ । र, शृङ्खलाले लामो यात्रा तय गर्छ । काठमाडौँदेखि जुम्लासम्मको दूरी जति ! अझ त्यसभन्दा बढी पनि ।

अन्ततः अन्त्यमा एकै तर्कमा आई पुग्नुबाहेक हामीसँग अर्को विकल्प रहँदैन । उहाँ र म दुवै जागिरे छौँ । जागिरे हुनुको चिरपरिचित शाब्दिक विन्यास- ‘जा’ र ‘गिर्’ सँग हाम्रो घनिष्ठ सम्बन्ध छ ।

हामी दुवै आ-आफ्नो जागिरसँग प्रेम गर्छौ तर फेरी पनि जागिरे जीवनदेखि उन्मुक्ति खोजिरहेका छौँ । हामी यो पनि स्विकार्दछौ कि हाम्रो जीवनलाई सहज र सरल बनाउने जमर्कोमा हामी निरन्तर आफूलाई अक्करे भिरबाट खसालिरहेका छौ र ‘एइया’को उच्छ्वास ओकल्दै आ-आफ्ना घाउ दिनहुँ मुसारिरहेका छौँ ।

यद्यपि यस यात्राको साहसिकतासँग हामीलाई विछट्ट प्रेम पनि छ । भन्नुस् यस यात्रासँग हाम्रो ‘डीप लप’ छ !

उहाँ भन्नुहुन्छ, “म एक हेल्थ वर्कर हो, मेरो दिनचर्या बिरामीहरूसँगको उठबस र बसउठमा बितिरहेको छ । बिरामीहरूको स्याहारस्याहुर मेरो जिम्मेवारीभित्र आइपर्छ । आइपरेको होइन मेरो जिम्मेवारी नै हो । यसबाट पन्छिन मैले कदाचित मिल्दैन !”

म उहाँलाई रोक्दिनँ वार्तालापलाई गतिशीलता दिन बिचबिचमा ‘उम्, उम्’ र ‘हम्म् हम्म्’ गरिरहन्छु । जसले यो सूचकाक्षर गर्दछ कि म उहाँको कुरा ध्यान दिएर सुनिरहेको छु । उसो त सुनिरहेकै छु तर कहिँकसो बिचमा आफ्नो कुरा छिराए भने कुराले अर्कै मोड लिन्छ । (जस्तो लेखिरहँदा यतिखेर भइरहेको छ)

अँ, उहाँ भन्दै हुनुहुन्थ्यो, “त्यस्तो खतरा केही पनि छैन जिन्दगीमा । बिहानै उठ्यो, बेड पनि नमिलाईकन अस्पताल गयो । तर तपाईँलाई थाहा छ झल्लु जी, मेरो जिन्दगीको विसङ्गति ?” उहाँ एउटा रमाइलो उक्ति मतिर फ्याल्नुहुन्छ, जसलाई पढेर कहिबेर म पग्लिरहेको मैनझैँ ‘तपतपी’ चुहिरहन्छु । चुहिरहेको बलेँसीझैँ ‘तपतपी’ चुहिरहन्छु ! सल्किरहेको दाउरा झैँ ‘चिर चिर’ गरिरहन्छु ! झरिरहेको तारा झैँ ‘चुपचाप चुपचाप’ रहिरहन्छु ।

उहाँ भन्दै हुनुहुन्थ्यो, “आफू सुतेको बेड पनि नमिलाईकन सुरु हुने मेरो दैनिकी बिरामीको बेड मिलाएर सुरु हुन्छ ।”

कत्रो विसङ्गति..म सोचिरहन्छु ।

उहाँको टेक्स्ट आइपुग्छ, भन्नुहुन्छ, “यो त डे ड्युटीको प्रसङ्ग भयो । जब साँझ पर्छ, मानिसहरू आ-आफ्नो घर फर्किने गर्छन् ! बिहान लगाएको मेकअप उतार्ने गर्छन् र रात्रिकालीन गन्थन-मन्थन हुँदै मिठो निन्द्राको अँगालोमा आफूलाई पुर्याउछन् । तर मेरो फरक छ, मान्छेहरू मेकअप धोएर सुत्ने बेला म मेकअप लगाएर कामको लागि निस्कन्छु । हेर्नुस् न जिन्दगीको लय ।”

म उहाँको एक-एक शब्दलाई ओल्टाई रहन्छु, पल्टाई रहन्छु । ओल्टाइपल्टाई गरिरहन्छु । एकदम मौन, चुपचाप..शान्त..धीर..गम्भीर..बनिरहन्छु । मानौँ रातमा कतै स्याल कराइरहेको छ र खोरमा थुनिएको कुखुराको आँखामा निद्रा रत्तीभर छैन । भन्नुस् न, उहाँ स्याल, म खोरमा थुनिएको कुखुरा !

उहाँको कुरा अझ सकिएको छैन, भन्नुहुन्छ, “यसैगरी जेनतेन महिना जान्छ, स्यालरी आउँछ । आएको दिन खुसी लाग्छ ।..यही साइकल चलिरहन्छ । यो वृत्त यति नकचरो छ, यसले मलाई फनफनी घुमाउँदा पनि रिङटा चलाएर लडाउँदैन । बरु गोलो दुनियाँमा घुमिरहनु नित्य कर्म हो भनेर काकताली गर्छ !”

‘कागताली गर्छ.., कागताली गर्छ..’ म दोर्हाइ’राख्छु यी शब्दहरू ।

हो, जिन्दगीले कागताली गर्छ !

‘जिन्दगीलाई कागताली भनौँ वा योजनाबद्ध ?’,

म आफ्नै प्रश्नको किनारमा उभिएर सन्तुलन खोज्छु । खोजिरहन्छु ।..

“साँच्ची कति छोटो छ है जिन्दगी झल्लु जी ?” उहाँको अपर्झट प्रश्नले मलाई रनभुल्लमा पर्छ । गरौँ के ? भनौँ के ? उसो नगरौँ के ? नभनौँ के ? म असहज स्थितिको फेला परेको उहाँ बुझ्नुहुन्छ सायद ।

यसपछि उहाँको भूमिका बाँध्नुहुन्छ, “मेरो राइटीङ कति पुअर छ है?” मेसेज पढिरहँदा म सोचीरहथें, “तपाईँको आफू व्यक्त हुने तरिका निकै धनाढ्य छ मान्छे ।” मनमनै भन्छु यो कुरा । तर च्याटमा लेख्छु, “मैले थोरबहुत तपाइको कुरा अनुभव गर्न खोजें, जति सकें; उति दुखाइ महसुस गरें ।” अब मलाई अनुभव हुन्छ, मेरो व्यक्त हुने तरिका कति पुअर छ । भन्नुस्, म आफूलाई बचाउन कति निम्छरो शब्दहरूको सहारा लिन्छु ।

भन्न मन थियो, “तपाईँले जसरी आफूलाई व्यक्त गर्न सकेको दिन मैले आकाश छुन्छु होला । धर्तीले मलाई झ्वाम्ल्याङ्ग अँगालो मर्छ होला अनि चराहरूले आ-आफ्ना ठुडमा च्यापेर मेरो लागि एक-एक दाना अन्न ल्याइदिन्छन् होला । र, त्यो मुमेन्ट कति आनन्ददायी हुने थियो होला ।”..म सम्झिरहन्छु त्यो हर्षतिरेक समय ! म आफैँले बोलेका (लेखेका) शब्दहरूको नजरबन्दमा पर्छु । नजरबन्द, जहाँबाट फुत्किभाग्न दिल मान्दैन । दिमाग अटेर गर्छ । भन्नुस् न, दिल र दिमागको टपरटुइया खालको स्वाङ गर्छन्, गरिरहन्छन् !

अलिक वर्ष पहिले सानिमा (सानीआमा) बिरामी हुनुहुन्थ्यो । अस्पतालमा चिसो सिँढीमा करिबन डेढ महिना मेरो ओछ्यान बस्यो । जीउ सुनिएर कुभिन्डो बन्यो । ढाड चिस्यिएर चिसो उखु । मस्तिष्क आफूलाई भेट्न मरे नसक्ने भयो । राति १२ बजेतिर ओछ्यान लगायो । बिहान ४ नबज्दै उठायो । अनि हत्त न पत्त सानिमाको स्थितिको चेकजाँच गर्‍यो । त्यसपछि बल्खु चोकमा निस्किएर एक कप बाफ चिया र एउटा प्यारलेजी बिस्कुट कर्‍याम्म.. कर्‍याम्म चपायो । आँखा मिच्यो । अलिअलि भेटिने चिप्रा चोरी औँलाले सोहोर्‍यो र मिल्काइदियो ।

त्यसपछि बग्न अल्छी गरेको विष्णुमतीतर्फ फर्केर लामो हाइ ओकल्यो र पर..चोभार तुवाँलोभित्र गुमसुम भई हराइरहेको नियालिरह्यो । एउटाले आएर ख्वाक्क खकार्थ्यो, अर्कोले आएर जीप खोल्थ्यो ध्वार्र पार्थ्यो र तेस्रो चाहिँ आएर अरठ्टिएको पेट समात्थ्यो टोलै गन्हाउने नमिठो ढ्वाऊ ओकल्थ्यो । बसी नसक्नु भएसी फेरी अस्पतालको प्रभातकालीन चिसो छिँडीमा थ्वाच्च चाक बिसाएर अस्पतालको कल्याङमल्याङलाई सुन्दिरह्यो ! भन्नुस् न, बडो टिठलाग्दो र ठिसलाग्दो प्रवृत्तिको दिनचर्याको भुक्तभोगी भई उधोमुन्टो जोतेर आफ्नै बढिरहेको खुट्टाको नङ नियालिरह्यो ।

त्यसबेला, मलाई नर्सहरूको मेहनत र जीवन के-कस्तो हुन्छ भनेर चाल पाउने मेसो प्राप्त भएको थियो । र, चाल पाउनु एउटा तिखो अनुभव थियो । मुटुमा बिझेको खिल जस्तो । सबैभन्दा प्यारो मान्छे टाढा हुँदाको बिझाइ जस्तो । उखेल्न खोज्दा आफू आफू नरहने भय, नउखेलौँ दु:खाइले आकुलव्याकुल होइरहनु पर्ने स्थिति ।..भन्नुस् न, छ्यालब्याल स्थितिको एक फक्ल्याटो !… एक चोइटो !

यी सब कुराहरू केही पनि बताउँदिनँ उहाँलाई । बरु आफ्नै जिन्दगीको उखान-बखानहरू सुनाउन थाल्छु । सजिलो छ नि त यसो गर्न । जसरी भने पनि । बढाए पनि भयो, घटाए पनि भयो ।

‘मन हलुका हुन्छ’ भन्ने कुरा मलाई सबैभन्दा प्रिय लाग्ने वाक्य गठन, शब्द चयन र रसिलो भावविन्यास हो । जसलाई तन्काइरहँदा रबर भाँती टुटिहाल्दैन र टुटिहालेमा पनि सोही अनुपातमा चोट लागिहाल्दैन । भन्नुस् न, बडो विचित्रको अनुभव !

जब जब मन हलुको हुने कुराहरू सम्झना आउँछ, मन बेलुन हुन्छ । उड्छ, आकाशको मानचित्र भन्दा पनि माथिमाथिसम्म । पुग्छ, एकलास आइल्याण्डहरूको किनारसम्म ।

अतः उहाँलाई भन्छु, “तर, मेरो पनि यही यस्तै छ । अलिकता फुर्सद निक्लियो कि साहित्यिक प्रोग्राम, नाटक र चिया घर भइरहेको हुन्छ । मन चाहिँ घुम्न निस्की भन्छ । एकदिनको लागि कता निस्कनु, अनि यही शहरका कुना-कुना पुग्यो । शहरका कुनाकन्दराहरू काग र कुकुरको अनुपातमा म बढी पुगिसके हुँला । कति जानू ? पखाला लाग्दा शौचालय कुद्दिरहे जस्तो । मन अलिकति पनि छैन, नगई एकछिन पनि भएको छैन । ’

तर उहाँ मेरो कुरा कटक्क काटिदिनुहुन्छ र भनिदिनुहुन्छ, “जिन्दगीलाई यसरी मात्रै पनि हेरिनुहुँदैन । हाम्रो आधारभूत आवश्यकताले जति दुःखको डिमान्ड गर्छ, सायद हामी त्यति नै दु;ख गरिरहेका छौँ । यस्ता धेरै मान्छेहरू छन् जसको जिन्दगी दुई छाक लगाउने र एक सरो लगाउने मेहनतमा नै गइरहेको छ । कमसेकम हाम्रो कामले हामीलाई त्यो अप्ठ्यारोबाट त मुक्ति दिलाइरहेको छ ।”

मलाई उहाँको कुरासँग सहमति सूचक टाउको हल्लाउन मन लाग्छ । तर, त्यसअघि आएको उहाँको मेसेजले फेरी मलाई आफ्नो कामप्रतिको गुनासो, दैनिकीप्रतिको रुष्टता र जिन्दगीप्रतिको नैराश्यतासँग ढ्वाङ्ग टाउको ठोकाउन बाध्य तुल्याउँछ । भन्नुहोस् न, एउटा टुटिल्को फेरी जरुरत बनिदिन्छ !

उहाँ भन्नुहुन्छ, ‘काम र पर्सनल स्पेस फिल नहुँदा चाहिँ दिक्क लाग्छ । अरू त सबै ठीकै चल्दछ । सबको यस्तै हो तर मैले चाहिँ आफ्नो कामबिच आफ्नो लागि पर्सनल स्पेस निकाल्न जानिनँ । यसले सताउँछ । लखेट्छ । खेदिरहन्छ.. ।”

म पर्सनल स्पेस क्रियट गर्ने एउटा गतिलो सिद्धान्त अघि सार्छु । सिद्धान्तअनुसार हामी आफूलाई चाहिने भन्दा ज्यादा चिजवस्तु (भौतिक/अभौतिक) सँग लसपस गरिरहन्छौँ । लसपसको अर्थ यही हुन्छ कि ती सम्पूर्ण चिजवस्तुलाई हामीले उत्तिकै माया, इज्जत र समय दिनुपर्छ । जस्तो मेरो कलमदानीमा ८ वटा पेन छ । मैले ८ वटै पेनलाई समय दिनु मेरो बाध्यता रहन्छ । कमसेकम ८ वटा पेनले शीर्षक, उपशीर्षक लेखिरहूँ ।

जस्तो कि, मेरो ४ वटा अन्डरवेयर छ, ४ वटालाई पहिरिनु पर्ने झन्झटसँग मेरो साक्षात्कार भइराख्छ । सोमबारसम्म एउटा पहिरिँदा मङ्गलवार अर्को अन्डरवेयरले मुन्टो उठाएर ‘मेरो पालो’ आयो नि भनेर ङिच्च दाँत देखाइरहेको हुन्छ ।

जस्तो कि, मेरो अगाडि तीनवटा बियरको बोतल छ, जसलाई सफा गरेर मैले पानी भरेको छु र त्यहाँ फूलहरू सारको छु । तीनवटै फूललाई मेरो हेरचाहको बरोबार आवश्यकता छ ।

उसैगरी, किताब सङ्ग्रहको ममा भूत छ । पढ्ने कहिले हो थाहा छैन तर बटुल्ने चाहिँ अहिले हो जस्तो लाग्छ । जतिसक्दो किताब बटुल्ने सोखले मलाई क्वापल्याक-कुप्लुक्क निलिसकेको छ । महिनामा २ वटा किताब पनि पढी नसिध्याउने मैले हप्तामा ४ वटा किताब किनिरहेको हुन्छु । भन्नुस् न, अपजस्या प्रवृत्ति मेरो !

टोपी, तकिया, ह्याट, क्याप, गलबन्दी, कमिजको ममा पागलपन छ । बाला, माला र धातु एवं ढुङ्गाका अर्नामेन्ट्सहरूको म उस्तै लोभी छु । सकेसम्म र भ्याएसम्म ती वस्तुहरूको सङ्कलन, तिनको पुछपाछ र हेरचाहमा आफ्नो थोरै बचेको समय खर्चिरहेको हुन्छु । एकदिन होइन, दिनहुँ । किनकि दिनहुँ गर्नु नितान्त आवश्यक छ ।

नाटक हेर्ने कुरामा म उस्तै छु । चिया खाने कप, भित्तामा टाँस्ने पोस्टर, सुन्ने गीत, हेर्ने फिल्म र पेपर क्राफ्टिङसँग मेरो घनिष्ठतम सङ्गत भइराख्छ । यसो फुर्सद के मिल्यो, यिनै चीजहरूमा म आफूलाई पोखिइरहेको हुन्छु । यो नराम्रो होइन तर लगातार गरिरहनु त्यसबाट आफूलाई निकाल्ने नसक्ने गरि ती चिजहरूको लसपसमा रहिरहनु भने पक्का नराम्रो कुरा हो ।

“जीवनमा यात्रा भइरहँदो हो त कति थोक देखिन्थ्यो, कति कुराहरूसँग जम्काभेट होइराख्थ्यो ! आफूले मानिरहेका कति कुराको पर्खाल ग्वार्ल्यामगुर्लुम भएर लड्थे होला । कति कुराहरूको पर्खाल ठड्याउन सकिन्थ्यो होला । अरूको दु:ख/सुख, पीडा/हर्षका कुरोकन्थोहरूले मलाई कति कमजोर र बलियो बनाउँथ्यो होला ।

“मलाई जहिल्यै डुलिहिँड्ने कुरा मात्र दिमागमा आउँछ यार” म एक्कासि यी सब कुरालाई द्रुत गतिमा मस्तिष्कमा चलाइसकेर यति भन्छु । उहाँको ‘हाहा..हा..हा..’ वाला मेसेज आउँछ । दाँत म पनि देखाउँछु ।

यसपछि उहाँ कुरा थप्नुहुन्छ, “पक्कै, जुन कुराहरू हामीलाई नभए पनि हुन्छ । त्यही त्यही कुराहरूमा हामी आफ्नो बचेको समय खर्चिन्छौँ र फेरी भन्छौँ- पर्सनल टाइम नै छैन । लाइफ पुरै ड्यामेज छ ।”

उहाँ घतलाग्दो कुरा गर्नुहुन्छ । म आफ्ना दुई चार वटा दाँत उच्छिट्टने गरी हाँसिदिन्छु । अलिकति दु:खाइ गाला आसपास हुन्छ । जोडले हाँस्दा गाला दुख्नु भनेको बडो मीठो कुरा हो । गाला दुख्ने गरी नहाँसेको पनि बहुत समय भइसकेको थियो । भन्नुस् न, जिन्दगी कति झण्डु हुँदै गइरहको छ !

यात्राले सहानुभूति भन्दा अनुभूति प्रदान गर्न सिकाउँछ । जो मानिस यात्रा गर्दैन ऊ सहानुभूति पालेर बस्छ । र मलाई लाग्ने गर्दछ, अत्यधिक सहानुभूति एकप्रकारको रोग हो । जसको शिकार उहाँ र म दुवै छौँ भन्ने कुराको निर्क्योलमा हामी पुग्छौँ ।

म एक्कासि विषयअन्तर जस्तो गर्छु पनि र गर्दिनँ पनि । भन्छु, “नेपालको त्यो भेग, (जहाँ तपाईँ कार्यरत हुनुहुन्छ), अत्ति आउनु मन छ । साथीहरू पनि त्यही भेगको धेरै भएर अझ बढ्ता मोह पलाई’राछ,.. पलाई’राख्छ ।”

“म आउँछु, अनि तपाईँ र म घुम्नुपर्छ । पर्खिनुस् ल मलाई ।”, लगत्तै अर्को टेक्स्ट गर्छु ।

उहाँ कर्णालीको नदेखिएको छायाँहरूको प्रसङ्ग निकाल्नुहुन्छ । जस्तै भन्नुहुन्छ, “म म्याट्रेनीटी वार्डमा काम गर्छु । कति महिलाहरूको अवस्था चिन्ताजनक हुन्छ । हामी आत्तिइरहेका हुन्छौँ । समय बितिसकेपछि ल्याइपुर्‍याइएको हुन्छ, अस्पतालमा । तर हजबेन्डहरू हामीसँग रिसाइरहेका हुन्छन् । धेरै दिन अस्पताल राख्यो भनेर । र महिलाहरू पनि आफैँलाई दोष दिइरहेका हुन्छन् । हाम्रो भाग्य नै यस्तै भनेर । बुझाएर बुझाइ नसक्नु छ । सम्झाएर सम्झाई नसक्नु छ । देखेर देखिनसक्नु छ । भोगेर भोगी नसक्नु छ । यहाँ तपाईं के गर्न आउनुहुन्छ ? यहाँको दु:ख चिन्नलाई एक दिन आइपुगेर हुँदैन । कर्णाली बुझ्नलाई एकछिन आइपुगेर हुँदैन । तपाईं यहाँ के गर्न आउनुहुन्छ ? एकैछिन आएर के गर्नुहुन्छ ?”

उहाँ जतिजति प्रश्न गर्दै जानुहुन्छ, म मेरा गालामा उति उति थप्पडको डाम बस्दै गएको अनुभूति गर्छु । भन्नुस् न, गाला फेरी पनि रातो हुन्छ ! यसपाला हाँसेर होइन, हाँस्न नसकेर ।

म सम्झिन्छु, केही दिनअघि रुपेश श्रेष्ठको ‘रारा यात्रा’को एक भिडियो क्लिप । जहाँ रुपेश दाइ भन्नुहुन्छ- ‘यो हो नेपालको असली वास्तविकता ।’ दृश्यमा महिलाहरू अन्न कुटिरहेका हुन्छन् र पुरुषहरू हाइ काढिरहेका हुन्छन् । केही पहिले म मुस्ताङ पुगेको थिए । त्यहाँको अनुभावले पनि सोही कुरा बतायो कि, मुस्ताङमा पुरुषको दाँजोमा महिलाहरू ज्यादा काम गरिरहेका छन् । जसै उहाँ भन्नुहुन्छ, “यहाँ महिला हुनु भनेको धेरै गाह्रो कुरा हो । सब कुरा महिलाको थाप्लोमा छ । पुरुषहरू पूर्वी भेगको जस्ता छैनन् । यहाँ हर काममा महिला नै अगाडी सर्ने चलन छ ।’

म निकैबेर केही बोल्दिनँ। उहाँ निकैबेर केही बोल्नुहुँदैन । हामी निकैबेर केही बोल्दैनौँ । बोल्नलाई शब्द होइन, आवश्यकता महसुस हुनु पर्दछ । र, यतिखेर हामी दुवैसँग बोल्नको लागि कुनै पनि आवश्यकता महसुस भइरहेको छैन ।

अस्तु !

[खस्य्राङ-मस्य्राङ, मनोवाद एवं मनोभावनालाई भनिएको हो – झल्लु ]