गतहप्ता नेपाली परम्परागत पौभा कलाका उज्याला स्तम्भ प्रेममान चित्रकारको भौतिक शरीर हामीबाट अलप भएर गयो । पौभा कलाकार प्रेममान चित्रकार होनहार प्रतिभा थिए । उनी ऐतिहासिक परम्परागत कलाकार बखतमानका नाति र विख्यात पौभा कलाकार पृथ्वीमानका छोरा थिए । प्रेममान त्यस्ता पुर्खाका सन्तति कलाकार हुन्, जसले शास्त्रीय विधिपूर्वक पौभा बनाउने संस्कार र मान्यताको जग बसालेको थियो । वंशाणुगत रुपमा आएको कला परम्परा प्रेममानमा पनि आएको थियो । ख्यातिप्राप्त कलाकार प्रेममान पुर्खाको बिँडो सम्हालेका पौभा कलाकारमा पर्दछन् । नेपाली पौभा कलाको क्षेत्रमा उनका बाजे र बुवाको जस्तै हैसियत रहेको थियो । नेपाली कला आकासका उनी आदरणीय सम्मानित प्रतिभा थिए । पछिल्लो चरणमा यश, ऐश्वर्य र गौरव आर्जित प्रेममानले पौभा विधालाई आफूमा मात्र सीमित राखेनन्, थुप्रै शिष्य र प्रतिभाहरुबीच पनि बाँढे । उनी नेपाली परम्परागत कलाकार संघका अध्यक्ष पनि थिए । उनको निधनले नेपाली पौभा कलाक्षेत्र अँध्यारो भएको छ ।
नेपाल परम्परागत कलामा धनी राष्ट्र हो । विदेशीहरू नेपाललाई कलामय देश भनेर चिन्छन् । पश्चिमबाट आरम्भ भएको आधुनिक कला र यसको विकास तथा चेतनामा हामी पछि छौँ । तथापि परम्परागत नेपाली मौलिक कलाका सन्दर्भमा भने हामी निकै समृद्ध छौं । विषयवस्तुका दृष्टिले हिन्दू र बौद्ध धर्म एवं विविध सम्प्रदायका दर्शन, मान्यता र परम्परासँग सरोकार राख्ने परम्परागत कला हाम्रो पहिचान र सभ्यताको सूचक हो । यसभित्र मौलिक नेपाली चित्रकला, मूर्तिकला, वास्तुकला लगायतका कलाहरू पर्दछन् ।
प्यागोडा, गुम्बज, टुँडाल, ऐतिहासिक ढुङ्गे मूर्ति, पौभा, मण्डला आदि कलाहरू परम्परागत कलाका विविध स्वरूपहरू हुन् । यी कलाहरूले अन्तर्राष्ट्रिय कलाक्षेत्र र बजारमा निकै राम्रो उचाइ पाएका छन् । यसबाट नेपाली कलाकारको आर्थिक उन्नतिका साथै हाम्रा मूल्य, मान्यता र पहिचानहरूको प्रभाव पनि विश्वमञ्चसम्म पुगिरहेको छ । विश्वमञ्चमा नेपाली कलाको शिर उँचो राखेको परम्परागत चित्रकलाको इतिहास कहाँबाट सुरु भयो ? यो प्रश्नको तथ्यपरक उत्तर आज पनि हाम्रा इतिहासकारहरूले किटानीसाथ भन्न सकेका छैनन् । कतिपय विद्वान्हरूले दुईहजार वर्षदेखि नेपालमा बौद्ध र हिन्दूकलाको जन्म भइसकेको उल्लेख गरेका छन् भने कतिपयले अन्य समयको विकल्पलाई अघि सारेका छन् । वास्तवमा ग्रन्थ, धूले र पट चित्रकलाको आदिम प्रचलनदेखि नै हाम्रो परम्परागत चित्रकलाको वीजारोपण वा जन्म भएको हो । ग्रन्थ, धूले र पट चित्रकलाहरू पूर्ण शास्त्रीय परम्परा र रीतिरिवाजमा केन्द्रीकृत कला हुन् । प्राचीनकालमा बनिने गरिएका यस्ता कलामा धार्मिक आख्यान, श्लोक, उक्ति र बिम्बहरू सुन्दर तवरले कोरिन्थे । नवौं वा दशौं शताब्दीमा लेखिएको प्रज्ञापारमितालाई नेपालको प्रथम ग्रन्थचित्र भन्ने चलन छ । यसलाई राजा नरेन्द्रदेवले आफ्नी छोरीलाई दिएका थिए भन्ने भनाइ रहिआएको भए तापनि अहिलेसम्म यसको प्रमाणिक आधार हामीसँग छैन । तर दशौंदेखि तेह्रौं शताब्दीसम्मका चित्र भने अझै पनि हामीकहाँ सुरक्षित नै छन् । त्यसकालमा चित्रहरू प्राकृतिक आधारपट जस्तैः भोजपत्र, ताडपत्र, पर्खाल र जमिनमा कोरिन्थे र लिपिबद्ध चित्रहरू धार्मिक भावना र मौलिक सुगन्धले ओतप्रोत हुन्थे ।
प्राचीन चित्रकला पछि पौभा कलाको परम्परा नेपाली समाजमा छाएको देखिन्छ । यो कलाको प्रचलन १२औं शताब्दीअघि नै सुरु भएको भन्ने तर्क छ । १२औं शताब्दीमा अरनिकोको तिब्बत र चीन यात्राको अवसरले यो कलाको प्रायोगिकता र प्रचारमा होस्टे गराएको थियो । पौभा शब्द विशेषतः नेवारी नामकरण हो । तिब्बती भाषामा यसलाई थाङ्का (प्राचीन नाम थाङकु) भनिन्छ । पौभा र थाङ्का भन्नु एकै भए तापनि यी दुईको बनावटको शैलीमा भने थोरै मात्र अन्तर भेटिन्छ । पौभा लेख्ने ‘पठी भराण्डो’ चलन अपभ्रंश भई पौभा भएको हो । पौभामा विशेषतः बौद्ध आस्था र हिन्दू देवीदेवताका जीवनी र लीला कोरिन्छ । यसअन्तर्गत बनाइने गोलाकार मण्डलाको बीच भागमा प्रमुख देवी वा देवताको चित्र राखिन्छ र नियमानुरूप राख्नैपर्ने वरिपरि सहयोगी देवीदेवताहरूलाई सजाइन्छ । साथै चित्रलाई अझै उत्कृष्ट र आकर्षक बनाउन रूखपात, खोलानाला, झरना, आगो, गुम्बा, बिहार र अन्य आवश्यक बिम्बहरू प्रतीकात्मक वा यथार्थ रूपमा कोरिन्छ । तर, अचेल पौभालाई सुन्दर देखाउन नियम प्रतिकूल नै नानाथरीका देवीदेवताहरू र अनर्गल प्रतीक वा बिम्बहरू कोर्ने चलन बढेर आएको पाइन्छ । यस्तो उच्छृङ्लता नेपाली परम्परागत कलाको भविष्यको निम्ति राम्रो होइन ।
यसले पौभाको मौलिकतामा प्रतिकूल असर पुर्याई यसको जीवनलाई धरापमा धकेल्न सक्छ । यस किसिमको कृत्रिम कर्मलाई पौभा कलाकारहरूले बेला छँदै सुधार गर्नुपर्छ । विगतमा शास्त्रीय परम्परा र मान्यताअनुसार पौभा चित्र कोर्न कलाकारको अन्तःस्करण शुद्ध एवं पवित्र हुनुपर्दथ्यो । चित्र बनाउँदा जुन देवदेवीको चित्र कोर्न सङ्कल्पित भएको हो, उनै देवदेवीमा समर्पित भई उपवास बस्नुपर्दथ्यो र कला सिर्जनाका सामग्रीहरू घरमै आफैँले बनाएको हुनुपर्दथ्यो । तर, आजभोलि पौभा कोर्न यस्ता खाले बन्धन हटेर गएका छन् । वर्तमानमा आधुनिक पौभा कलाकार बजारमा किन्न पाइने तयारी सामग्रीबाटै चित्र निर्माण गर्दछन् । उनीहरू पौभामा आधुनिक रङको प्रयोग गर्दै सुनचाँदी लगायत नानाथरीका वस्तुहरू लगाउँदछन् । कसैकसैले त एक चित्र पूरा गर्न वर्षौं पनि लगाउने गर्छन् भने कसैले तीन दिनदेखि हप्ता दिनमा नै चित्र पूरा गर्छन् । समय कलाकारको इच्छाशक्ति र पौभाको गहनतामा भरपर्छ ।
नेपाली पौभा इतिहासमा पूर्ण शास्त्रीय पद्धतिअनुरूप माथि भनिएजस्तै पौभा लेख्ने बखतमान, दीर्घमान, पूर्णमान, पृथ्वीमान थिए । हिजोसम्म पनि बखतमान चित्रकारका नाति प्रेममानले यो पुर्ख्यौली परम्परालाई थामिरहेका थिए । तर आजका दिनमा उनी पनि रहेनन् । कलाक्षेत्रको तर्फबाट प्रेममानप्रति हार्दिक श्रद्धाञ्जली ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।