आज बिदाको दिन । आउनुहोस् तपाईं र हामी बिदा मनाऔं ।
“किन बिदा ?”, यो प्रश्न चाहिँ नसोध्नुस् नि ! किनभने मलाई कारण थाहा छैन ।
फेरि कारण चाहियो नै पनि किन ? हर्षको बिदा होस् वा बिस्मातको, तपाईं हाम्रो काम त बिदा मनाउनुसँग छ । कसरी मनाउने, कहाँ गएर मनाउने अनि के गरेर मनाउने महत्त्वपूर्ण छन् । त्यसैले कारण खोज्नतिर समय खेर नफालौं ।
कोही पिकनिक गएर बिदा मनाउँछन्, कोही ससुराली पुग्छन्, कोही ५२ पत्तीमा दिन बिताइदिन्छन् । छिमेकी देशको नेता र यमराजको मिटिङ हुँदा, मन्त्रीको तालुमा आलु फल्दा अनि घ्याम्पो जत्रो भुँडीलाई कमिसनले भर्न पाउँदा बिदा मनाउने शैली देखी गिद्धे एकादशीको बिदा मनाउने तरिकामा कुनै अन्तर नगर्ने तपाईं हामी बिदा मनाउँदा भेदभाव पटक्कै गर्दैनौं । यो हाम्रो महानता हो साथै बिदा मनाउने सीपमा पारङ्गत भइसकेका हामीहरूले विश्वलाई दिन सकेको ठुलो सन्देश पनि हो ।
हामी शोकको बिदा र भोकको बिदालाई समान रूपले मनाउँछौं । हाम्रो लागि राष्ट्रिय बिदा, अन्तर्राष्ट्रिय बिदा, पर्व बिदा, धर्म बिदा, चुनाव बिदा, तनाव बिदा, नारी बिदा, पुरुष बिदा, आइपर्ने बिदा, ल्याइपर्ने बिदा, सबै एकै हुन्, अनि एकै हुन् यो बिदा मनाउने तरिका र प्रविधि ।
सरकारी बिदा र गैर सरकारी बिदा पनि उस्तै उस्तै हुन् । हरेक सप्ताहान्तको बिदा र अन्य बिदा पनि हामीलाई समान लाग्छ । बिदा दिन र लिन साह्रै मनकारी तपाई हामी जति बिदा मनाए पनि अपुग भएकोले बिदा थप्नु पर्ने र बिदा प्रति लचिलो नीति अपनाउनु पर्ने कुरा बिदाकै दिन दुई पेग लगाउँदा साथ बहस गर्ने प्रमुख विषय बनाउँछौं ।
सरकारी कर्मचारीदेखि ठेला ठेल्ने ठेलावाल सम्म खुशी हुनु बिदाको ठुलो उपलब्धि मान्छौ तपाई हामी । त्यसैले बिदाको खुशी बाँड्नलाई हरदम तयार रहन्छौ । दुःखमा दिने बिदामा पनि खुशीको आदान प्रदान गर्न सक्नु हाम्रो गजबको खुबी हो जो संसारमा अन्त कतै पाइँदैन । त्यसैले हाम्रो बिदा विशेष छ अनि विशेष छौ तपाई हामी ।
बिदा प्रजातान्त्रिक छ । बिदाले ठुलो र सानो भन्दैन, बिदाले जात र दलको कुरा गर्दैन, साम्यवाद र समाजवादको नारा फुक्दैन, गरिब र धनीको वर्गीकरण गर्दैन । बिदा त केवल बिदा हो, यसले सबैलाई रमाउने अवसर दिन्छ, खुशी तुल्याउँछ र आफ्नो महत्त्व बढाउँछ अनि अर्को बिदा कहिले आउँछ भन्दै सबैलाई कुर्न बाध्य बनाउँछ ।
गजब छ बिदा । स्कुले केटाकेटी हुँदा हिउँदे बिदा र बर्षे बिदाको अनुभव सँगाल्दै हुर्केका तपाई हामीले आन्दोलन बिदा र जनआन्दोलन बिदाको सुख उपभोग गर्ने सौभाग्य पनि पाएका छौ । बिदाको मामिलामा साह्रै उत्कृष्ट स्वभावका हामी र हाम्रो देशको अनुसरण अन्य कुनै देशले गर्ने सक्दैन । त्यसैले होला हामीलाई ‘अन्तर्राष्ट्रिय बिदा’ पुरस्कार दिने निर्णय भएको । यो निर्णय कहाँ कसरी भयो अनि कहिले वितरण हुन्छ भनेर चाही नसोध्नु होला मलाई । किनभने यो बिदा पुरस्कार बिदाकै दिन दिने भएकोले मैले त्यो पुरस्कार समारोहमा उपस्थित भएर बिदा खेर फाल्नु भन्दा घरमै बसेर ५२ पत्तीमा भुल्ने विचार गरेको छु । त्यसैले मलाई केही जानकारी छैन ।
पुरस्कारै पाए पनि बिदाको विरोधीहरू नभएका चाहिँ होइनन् । हुन त हाम्रो देशमा जे पनि र जहिले पनि विरोध नगरी खाएको नपच्ने जमात ठुलै छ । त्यसैले होला अन्तर्राष्ट्रिय बिदा पुरस्कारको घोषणा भइसक्दा पनि एक थरी विरोध नै गरी रहेका भेटिन्छन् । पिण्ड बिदा बाहुनलाई सिधा दिँदै सकिन्छ, जात्रा बिदा बस नपाएर पैदल यात्रामा नै सकिन्छ, सरकारी बिदा हाकिमको खबरदारीमै सकिन्छ, शोक बिदा भोकमै सकिन्छ, अनि पर्व बिदामा के को गर्व गर्नु भन्दै बिदा नपुगेको विरोध गर्नेको जमातले अन्तर्राष्ट्रिय बिदा पुरस्कारको पनि विरोध गर्ने गरेको हो भन्छन् जान्ने सुन्नेहरू ।
यिनीहरूको बिदा बढाऊ मागले गर्दा कतै भएकै बिदा पनि कटौती हुने हो कि भन्ने डरले तपाई हामी पिल्सिनु स्वाभाविक हो । बिदा कटौती भएको खण्डमा त्यसबाट पर्ने प्रत्यक्ष असर सम्झँदा पनि कहाली लाग्छ मलाई । ५२ पत्तीमा कटौती हुनु, विदेशी सिसीहरूमा झुल्न नपाउनु, ससुराली जाने बहानामा सालीनानिको हात समाउने क्रियाकलापहरूमा कमी आउनु, अनि बिदा कटौती भयो भन्दै आन्दोलनमा उत्रिनु । सम्झिँदा पनि अत्यास लाग्ने ।
सरकारले अरू सुविधा कटौती गरे पनि बिदामा उदार नीति अपनाएकोले बिदा कटौती नहुने भन्दै केही उपबुज्रुकहरू आफ्नो भकारी जस्तो भुँडीमा दुई हात मुसार्दै सान्त्वना दिन्छन् मलाई । उनीहरूको कुरा बुझेझैँ टाउको हल्लाई दिन्छु म पनि ।
अब एकछिन एउटा पृथक् समूहको कुरा गरौँ जसलाई बिदा मन पर्दैन । सुन्दै हास्यास्पद लाग्छ मलाई उनीहरूको कुरा । हाम्रो बिदा माग्ने र मनाउने देश भित्र मात्रै सीमित हुन्छ रे, देशबाट बाहिरिनासाथ हामीलाई बिदा नै चाहिँदैन भन्ने उनीहरूको दलिलसँग म कहिल्यै सहमत हुन सकिन ।
विकासको तगारो नै बिदा भन्ने यो समूह सरकारको विरोध गर्नु नै विकास सम्झिदिन्छन् । वाक स्वतन्त्रताको विकास रे । म चाही पटक्कै कुरा बुझ्दिन । देशमा आएको वाक स्वतन्त्रताको विकास सँग बिदाको के सम्बन्ध छ ? यो प्रश्न आफैलाई म हरेक दिन सोध्छु अनि हरेक दिन अनुत्तरित हुँदा, बिदाको दिन त्यही विषयमा छलफल गर्नु पर्ला बुद्धिजीवीहरूसँग भन्दै आफैलाई सम्झाउँछु । यसो गर्दा गर्दै थुप्रै बिदाहरू खेर गइसके । अनि थुप्रै बुद्धिजीवीहरू म सँग कुरा गर्न बाट पन्छिन थालिसके । त्यसैले होला देश बाहिर हामीलाई बिदा नचाहिने भन्ने कुरालाई मैले अझै सम्म आत्मसात् गर्न सकेको छैन । तपाईँहरूलाई थाहा छ भने मलाई पनि बताई दिनु होला भन्ने आग्रह गर्दछु नत्र यो घर भित्र बिदा चाहिने तर घर बाहिर नचाहिने उल्झनमा म अल्मलिरहन्छु । अनि मेरा बिदाहरू व्यर्थ खेर गइरहन्छन् ।
उसै पनि हामीलाई बाहिरको बिदासँग के मतलब ! पुटिनले युक्रेनमा बम खसालोस् वा नासाले मंगलमा बस्ती बसालोस्, भारतले कश्मीरमा काँडे तार लगाओस् वा तालिवानले इद-हुल-फितरमा पनि बिदा नगरोस्, हामीलाई के मतलब । बाहिरको बिदासँग हाम्रो आफ्नो बिदालाई किन दाँज्नु? हामी बिदामा यस्तो विकसित, अन्तर्राष्ट्रिय बिदा पुरस्कार बाट सम्मानित बिदामा पिछडिएका अमेरिका, जापान, बेलायत जस्ता मुलुकहरूको किन कुरा गर्नु ।
तर मेरो विचारसँग त्यो बिदा मन नपराउने पृथक् समूहको विचार मिल्दैन । उनीहरू बिदा कम हुनुको अर्थ काम धेरै हुनु हो भन्छन् । काम धेरैको अर्थसँग विकासलाई लगेर जोड्छन् । अनि मेरो कन्पाराको रौँ तात्न थाल्छ । काम हामीले कम गर्छौ भन्न खोजेको, खाली गफमा समय बिताउँछौ भन्न खोजेको, या टुँडिखेलको खुला मैदानमा बदाम छोडाउँदै राजनीतिको जोड घटाउमा व्यस्त हुन्छौ भन्न खोजेको भन्दै उनीहरूसँग जाइलाग्न पुग्छु ।
उनीहरूसँगको यो लडाइँ बिदाकै दिन हुने गर्छ अक्सर । एउटा कामको फाइल सकाउँदा सम्म अनेक सरकार परिवर्तन भइसकेका हुन्छन् तर हामीले काम गर्न छोडेका हुँदैनौं । हामी कसरी काम नगर्ने भयौं ? मेरो यो दलिललाई आडभरोसा दिने क्रममा सरकार परिवर्तनसँगै थपिने र झिकिने बिदाहरूले समर्थन गरिरहेका हुन्छन् । यसै साथ बिदाको महत्त्वलाई थप पुस्ट्याइँ मिलिरहेको हुन्छ ।
यति पढिसके पछि त तपाईँहरूलाई पनि यकिन भइसक्यो होला, हामी बिदामा पारङ्गत छौ र हाम्रो विकास र समृद्धि को लागि थप बिदा चाहिन्छ भनेर । त्यसैले आउनुहोस् बिदा बढाउने हेतु एउटा अर्को आन्दोलनको घोषणा गरौँ ।
जय बिदा !!!
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।