म चितवनमा थिएँ । एलबी सरले भन्नुभयो, ‘आज कविडाँडामै बसम् ।’
माघ १६ गते मध्यान्ह, घामले नारायणी नदी तरिसकेका हुँदा हुन् । सधैँ कामैको हतार । यही हतारोले मलाई ‘छिटो काठमाडौं जा’ भनिरहेथ्यो । साहित्यकार एलबी क्षेत्रीको ‘यतै बसम्’ पछि मन फेरियो । ‘हुन्छ’ त भनेँ तर कामको चापले लौरो ताकिरहेको हुँदा पाँच मिनेट जति मन बेचैनजस्तै भयो ।
सरले ‘लिन आउँछु’ भन्नुभयो । भरतपुर मालपोत चोकमा म उहाँलाई पर्खेर बसेँ । करिब ४५ मिनेटपछि फोन आयो; उहाँले मालपोत चोकको दक्षिणतर्फ आउन भन्नुभयो । म अर्थ्याएकै दिशातिर सोझिएँ । मैले देखेँ, घिउ रङको मोटरको चालक सिटमा उहाँ । ढोका खोलेर म अगाडिकै सिटमा बसेँ । हामी गुड्यौँ, गन्तव्यतिर ।
हेमन्त सकिएर सुरु भएको शिशिर ऋतु- चारैतिर चिसो जमेको अनुभूत भइरहेथ्यो । मधुरा घामले चिसोका पत्र उक्काउन जोडबल गरिरहेको देखिन्थ्यो । म साहित्यको फूलबारीतिर डुल्न रहर गर्ने भमरो । मोटरलाई गन्तव्यतिर सोझ्याइरहनु भएका साहित्यका एक अग्ला व्यक्ति । यसरी उहाँको सान्निध्य पाइएला, सँगै गुडौँला भनेर मैले सायदै सोचेँ !
म करिब आधा दशकदेखि सरको निकट छु । मलाई लाग्छ- उहाँको बोलीमा जति कडापन छ, त्यति नै सरलता । न्यानो आत्मीयता र साहित्यमा हुर्किँदै गरेको पुस्तालाई प्रोत्साहित गर्ने उहाँको शैलीप्रति म सधैँ आकर्षित हुन्छु । उहाँको यो शैली, व्यवहार र युवामा उत्साह थप्ने बुलन्द आवाज गुरु गोविन्दराज भट्टराईको जस्तै लाग्छ । गोविन्द गुरु हरेक युवाशक्तिमा विवेकको चेतना भरेर साहित्याकाशमा उड्न हौस्याइरहनु हुन्छ । एलबी सर मोफसललाई नै साहित्यको केन्द्र बनाएर सिर्जनाका नयाँ बिरुवा रोपिरहनु भएको छ ।
साँच्चै, आज केन्द्रको तुलनामा मोफसल साहित्यिक कर्ममा जुरमुराउँदै उठेको छ । हरेक ठाउँमा नयाँ-नयाँ केन्द्र बन्दै छन् । हिजोजस्तो काठमाडौलाई केन्द्र मान्ने समय अब रहेन । त्यो बिस्तारै भत्किएर समथर मैदानमा रूपान्तरण हुँदै छ । चितवनमै कविडाँडा साहित्य समाजले नयाँ उचाइ बनाइसक्यो । चितवन साहित्य परिषद् झनै सशक्त रूपमा उठेको छ । यी सिर्जनाका नयाँ केन्द्र हुन् ।
पूर्व इलामदेखि सुदूरपश्चिम महेन्द्रनगरसम्म साहित्यका अगणित केन्द्र बनेका छन् । तिनको काठमाडौंसँग साइनो र सम्पर्कको जुइनो जोडियो होला तर तिनले आफ्नै अस्तित्वको धरा खडा गरेका छन् । यस्ता नयाँ केन्द्र निर्माण हुँदै जानुमा गोविन्द-एलबी गुरुहरूको अथक योगदान देखिन्छ । लाग्छ- उहाँहरूको ध्येय साहित्यको बगैंचामा अनेकन् फूलका बेर्ना हुर्काएर राष्ट्रिय-अन्तर्राष्ट्रिय जगतमा सार्दै जानु हो ।
यतिखेर, म सरका कुरामा भुल्दै चितवनको विकासलीला नियाल्न थालेँ-
इतिहासले चितवनको उत्पत्ति धेरै पछि भएको बताउँछ । नेपाल एकीकरणका सुत्रधार राष्ट्र निर्माता पृथ्वीनारायण शाहका माहिला छोरा बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले चितवन बसाएका रहेछन् । शत्रुभञ्जनले वि.सं. १८८५ चैत १ गते उपरदाङगढी बनाएपछि यसलाई सदरमुकाम घोषणा गरेका रै’छन् । चितवनलाई पहिले चित्रवन भनिन्थ्यो रे । ठूलो वन क्षेत्रमा थारूहरूका राजा चित्रसेनले राज्य गर्दथे भन्ने किम्बदन्ती पनि छ । चित्रसेन राजाको वन भएकोले चित्रवन भन्न थालियो । समयान्तरमा चितवनमा रूपान्तरण भयो । आज पनि थारूहरूले हरिवोधनी एकादशीमा भगवान ‘चित्रसेन बाबा’को पूजा गर्ने गर्छन् ।
अब, यो हिजोको चितवन रहेन । पहाडबाट बसाइँ आउनेहरूले चारकोसे झाडी फाँडेर यहाँ बस्ती बसाए ! काँसे झाडी जसले जति फाँड्न सक्यो, सालका रूख जति पल्टाउन सक्यो उति नै आफ्नो बनाउन सकिने त्यो जमाना कस्तो होला ? ‘पहाडमा दुःख भयो’ भनेर मधेस झरेकाहरूले यता पनि कति दुःख गरे होलान् ? हात्ती, बाघ, गैंडा, मृग, चित्तल, बदेलसँग कति पौंठेजोरी खेले होलान् ।
चारकोसे झाडीमा नाच्ने मयुरका जोडीसँग प्रीति लाए होलान् । वन्य-जीवनको वासस्थान खुम्च्याउन जिजुबा, हजुरबा र हजुरआमा पुस्ताले निकै मिहिनेत गरे । हो, त्यसैले आज चितवन जवानीको झ्याल खोलेर बैँसको रुमाल हल्लाइरहेको छ । हजुरबा पुस्ताको बल, बैँस र जवानीले सिञ्चित यो ठाउँ आज उत्तरआधुनिकताको कमिज लाएर झ्याउरे नाचिरहे जस्तो देखिन्छ ।
घरघरै फराकिला पक्की बाटा जोडिएका छन् । हिजो झोडी फाँडेर बसेको पुस्ताका दिन फिरेका छन् । तिनका जग्गा सुन होइन, हीरा भए । बसाइँ आउनेको ओइरो, तिनले जग्गामा खन्याएको दाम र चुली टेक्दै गएको जग्गाको भाउले यहाँका मान्छे आर्थिक रूपमा जुरुक्कै उचालिए । आज, पूर्व इलाम झापादेखि पश्चिम दाङ, रोल्पासम्मका मान्छे यतै भेटिन्छन् । तिनको थातथलो, कमाइधमाइ, घुमाइ चितवन बन्यो ।
त्यसरी बसाइँ आउनेहरूले डोको-नाम्लो, हलो, कुटो-कोदालो, दाम-पैसा, बोली र लवज मात्र ल्याएनन् । बालन, मारुनीदेखि झ्याउरे, सालैजो, ठाडोभाका, यानीमाय, रोइला, चुड्का, बालन र टप्पासम्मको राग उँगाएर ल्याए । यी संगीतका प्राकृतिक राग चितवने थारु भाका र लठ्ठी नाचको मौलिकतासँग मिसिएर विविधतामा एकताको इन्द्रेणी बनेको देखिन्छ । आज यहाँ के छैन ? धन छ, मन छ । पुँजी छ, अर्थतन्त्र जुरमुराउँदो छ । शिक्षा, स्वास्थ्य, सिँचाइ, खानेपानी पुग्दो छ । औद्योगिक विकासले लय समातेको छ ।
पर्यटक लोभ्याउने आधा दर्जन बढी तालहरू यहीँ छन् । ती तालहरू सम्झिन कस्तो मीठो तान बनेको- चितवनका नन्द-भाउजू गडुवाल घुम्न जाँदा तमोर-घैलामा बीस हजारको मुजुरा र सोह्र हजारको कसरा किनेका थिए । यत्ति जानेर म आफैँ पनि मख्ख छु । सौराहा, नारायणी नदीको तट र हात्ती-गैंडा, मयुरजस्ता पर्यटकीय रत्न छन् । यसर्थमा चितवन उपकेन्द्र होइन, काठमाडौं जस्तै विशाल केन्द्र बनिसक्यो ।
तर्कनाका तार तन्किँदै थिए । सरले मोटरको हर्न बजाउँदा झल्याँस्स भएँ, हामी कविडाँडा हाइट पुगिसकेछौँ । म ओर्लेर कालो फलामे दैलो उघारेँ । मोटरले आफ्नै विश्रामस्थल लियो; म ‘एलबी-मीना निवास’को आतिथ्यालयमा । फराकिलो क्षेत्रफलमा फैलिएको निवास, त्यसको पूर्वी सिरानमा कविडाँडा हाँसिरहेको । जहाँबाट, मन्द-मन्द साहित्यिक सुवास फैलिइरहेको अनुभूत भयो ।
मैले छेवैको टेबलमा झोला बिसाएर दायाँबायाँ आँखा दौडाएँ । माथिल्लो चोटामा मेडमले कुचो लाउँदै हुनुहुन्थ्यो । मैले अभिवादन टक्र्याएँ । अनि, आगन्तुक कुरेर बसेका कुर्सीमा सुस्ताएँ । सरले मेडमसँग मेरो पुरानो परिचय दोहोर्याउनुभयो । म यसअघि २०७८ सालमा पनि पहिलो पटक यहाँ आएको थिएँ । त्यो वर्ष असार १८ गतेको बिहानै सिमसिमे पानीले चितवनको जमिन सेचन गरिरहेथ्यो । म स्कुटरको कान बटारेर हुइँकिएको थिएँ, कविडाँडातिर ।
पिरपिर परेको पानीमा परिरहेको थियो । हल्का रुझाइमा पुतलीजस्तै फुर्किँदै बिहानीको शीतल ग्रीष्मकालीन बतासलाई पच्छ्याउँदै म गुडिरहेँ । करिब ८ बजेतिर यो निवासको कालो द्वारबाट म भित्र प्रवेश गरेको थिएँ । सर दैलैसम्म लिन आउनुभएको थियो । उहाँसँगको त्यो भेट मेरो जीवनको ज्यादै महत्त्वपूर्ण क्षण बन्यो । उहाँले ‘आधा घन्टा समय दिन्छु’ भन्नुभए पनि झण्डै डेढ घन्टासम्म थोरै पारिवारिक, केही व्यक्तिगत र बढी साहित्यिक वार्तालाप भएको थियो ।
म त्यो साढे दुई वर्ष अगाडिको भेट सम्झिन्छु- मेरो जिज्ञासा बढी जसो नवीन र उत्तरचेतका कथा लेखनमा थियो । मैले त्यसअघि नै उहाँका ‘व्रत भङ्ग’ र ‘इन्द्रमायाको देशमा’ कथा-कृति पढिसकेको थिएँ । मलाई उहाँका छोटा, मर्मस्पर्शी, चोटिला, प्रेमिल कथाले लोभ्याउँछ । म आफैँलाई सोध्छु, ‘तीन-चार सय शब्दभित्रै कथाको उठान, पात्र-संयोजन, पात्रको भूमिका र बैठान सम्भव होला ?’ सम्भवतः मैले कहिल्यै यसरी लेख्न सक्दिनँ । मैले उहाँसँग छोटा कथा लेखनको काइदाबारे भरपूर जिज्ञासा राखेको थिएँ ।
त्यो डेढ घन्टे बसाइमा नेपाली कथा लेखनमा अलग्गै मानक राखेर गएका गुरुप्रसाद मैनाली, पुष्कर शमशेर, वीपी कोइराला, विजय मल्ल, गोविन्द गोठाले, रमेश विकलका लेखनीको परिचर्चा भयो । उहाँले ध्रुवचन्द्र गौतम, पारिजात, प्रेमा शाह, मदनमणि दीक्षित, मोराश, मनु ब्राजाकी, परशु प्रधान, वानिरा गिरी, ध्रुव सापकोटादेखि राजेन्द्र पराजुली र नयनराज पाण्डेसम्मलाई विश्लेषण गर्नुभयो । तब, मभित्रको जिज्ञासाको राप सेलाएको थियो ।
उहाँले कथाका सन्दर्भमा बोलेका केही वाक्यांश मैले अझै सम्झिरहेको छु- सबैले आ-आफ्नो वर्तमान लेख्ने हो । पूर्वजले त्यही लेखे । वरिष्ठले आफ्नो र आजका लेखकले आफ्नो लेखिरहेका छन् । मैनाली र वीपीका कथा युगौँयुग बाँचिरहने छन् । यो पनि बिर्सन हुन्न, उहाँहरूजस्ता लेखक प्रत्येक युगमा बाँचिरहनु हुन्छ । हिजोका लेखकलाई श्रद्धाका साथ सम्झिँदा आजका अग्रज एवम् वरिष्ठ कथाकारलाई पनि सम्मान गर्नुपर्छ ।
वर्तमानकाले अग्रजबाट प्रेरणा लिने हो । अग्रज वा पूर्वजलाई कपी गर्ने होइन । लेखकले आफ्नो शैली आफैँ निर्माण गर्ने हो । प्रत्येक युगका लेखकले भविष्यका लागि एउटा गोरेटो कोरेको हुनुपर्छ । लेखकमा भविष्य चिन्तन हुनुपर्छ । त्यही चिन्तनलाई सार्थक बनाउन लेखकले आफ्नो शैली निर्माण गर्न सक्नुपर्छ । हिजो र आजका लेखक बीचको भिन्नताको कुरा गर्दा आजका युवा लेखकमा मैले कल्पना गरे जस्तो भविष्य चिन्तन छैन कि ? जुन दिन लेखकले ‘मैले त अब सबै जाने, सबै सिकेँ, पुग्यो । अब, अरूलाई पढ्न पर्दैन’ भन्छ, त्यो दिन ऊभित्रको लेखकको मृत्यु हुन्छ ।
‘अब, अरूलाई पढ्न पर्दैन’ भन्छ, त्यो दिन ऊभित्रको लेखकको मृत्यु हुन्छ भन्ने वाक्यांशले म झस्केको थिएँ । आजका लेखक कति उम्दा वा कति कमजोर ? त्यो नापतौलको तुलो मसँग छैन; न म त्यस्तो ल्याकतको पात्र हुँ । यद्यपि, समयको धारमा आफूलाई उध्याएर पाठकको रुचि नठम्याउने हो भने पक्कै हरेक लेखक मर्दै जालान् । कुनै दिन यस्तो पनि नआओस्, अक्षरहरू मृत लेखकका मलामी गइरहेका होउन् । मलाई यो कायाकल्पले सधैँ तर्साइरहन्छ । त्यतिबेलै, यसबारे केही लेखुँला लागेको थियो तर दैनिक कामको घोडा दौडाइले मलाई उछार दिएन । आज, यहाँ त्यसको एक फुर्को जोड्न मात्र सकेँ ।
====
तरङ्गका लहरा मच्चिइरहँदा मेडमले किस्तीमा दुई कप कालो चिया र बिस्कुटका प्याकेट ल्याएर टेबलमा राख्नुभयो । चियाको चुस्कीसँगै म सरसँग वार्तारत रहेँ । यता, कामको चापले दिमागमा घन ठोकिरहेको थियो । भोलि बिहान ११ बजेसम्म काठमाडौं नपुगी भएको थिएन । दिमागले भोलि बिहान भाले नबास्दै हिँड्ने ताउरमाउरको पोको बाँधिसकेको थियो । मैले दिमागको कुरो सरलाई सुनाएँ । उहाँले थोरै तिक्तता पोख्नुभयो, ‘तपाईंलाई हतारै हो र जानै पर्छ भने म अहिल्यै नारनघाट पुर्याइदिन सक्छु । अनि, नाइट बसमा जानुस् !’
त्यत्रो स्नेहील अभिभावकत्वको अपहेलना म कसरी गरूँ ? ‘आज यतै बसम्’को न्यानो सम्बन्ध कसरी चुँडाऊँ ? उहाँले जो कोहीलाई त्यसो भन्नुहोला ? सायद, स्नेहको अँगालोमा पर्न सफल थोरै अनुजहरूमध्ये म पनि थिएँ र यसरी यो ‘प्रेमबाग’मा आउने साइत जुर्यो । उहाँको मप्रतिको त्यो अगाध स्नेहमा ठेस पुर्याउन कत्ति इच्छा भएन । विचार गरेँ, ‘भोलि बिहान जहाजबाटै जान्छु ।’
मेरो अनुहारमा दगुरिरहेका बेचैनीका रेखाचित्र उहाँले सजिलै पढ्नुभयो । आखिर, तीसौं वर्षसम्म हजारौं विद्यार्थीका अनुहार पढेर खारिएको विलक्षणताले ‘म मनुवा’को मनोदशा पढ्नु नौलो पाठ थिएन । मेरो भावभङ्गी पढेपछि सर कुर्सीबाट जुरुक्क उठ्नुभयो, ‘नआत्तिनुस्, उपाय निस्किन्छ ।’
मैले पनि उहाँलाई पच्छ्याएँ । उहाँ विश्राम स्थलको मोटर स्टार्ट गरेर मुख्य द्वारतिर सोझिनुभयो । मैले नै त्यो कालो द्वार खोलेँ र उहाँसँगै मोटरमा बसेँ । केही मिटर नगुड्दै मोटर रोकेर ओर्लिनुभयो । सडक किनारमा एउटा अटो कसैलाई कुरिरहेथ्यो । उहाँ चालकसँग कुरा गर्न थाल्नुभयो, ‘भोलि बिहानै नारानघाट जान सकिन्छ ?’
चालकले प्रश्न गरे, ‘कति बजे, सर ?’
जवाफ मैले दिएँ- ४ बजे ।
चालक पाँच सय रुपैयाँमा पोखरा बसपार्कसम्म पुर्याइदिन तयार भए । मैले फोन नम्बर टिपेँ । उनले ‘बिहान साढे ३ बजे फोन गर्नू’ भने । अब ढुक्कसँग मोटरमा आएर बसेँ । सरले ‘उपाय निस्केन त’ भन्दा म मुस्कुराएँ मात्र ।
====
सरले मोटर चोकबाट पूर्व सोझ्याउनुभयो । म उहाँका कुरा सुन्न निमग्न भएँ । मोटरको गति सुस्त-सुस्त, त्यही गतिमा उहाँको बोलीको प्रवाह । उहाँले घरै नजिकको पर्खालतिर इंगित गर्नुभयो, ‘यी यहाँदेखि ऊ त्यो परको घरसम्म हाम्रो जग्गा हो, साढे ३ विघा । साढे २ बिघा बेचिदिएँ । मलाई जग्गाप्रति विमोहन छैन, लक्ष्मन । यही पैसाले मेडम र म युरोपदेखि अमेरिकासम्म घुम्यौँ । खुब मज्जा गरियो ।’
सुनेर म चकित परेँ । जमाना फेरिएको छ । मान्छेहरू धनको गजुर उभ्याउन सुनमा, कि त जग्गामा पैसा खन्याउँछन् । राज्यकोष लुँड्याउनेहरू भूमिकै आयतन बढाउन मरिमेट्छन् । घरजग्गा व्यवसायले धेरैलाई लखपति वा करोडपति बनाएकै छ । यता, यी बूढा ‘जग्गा बेचेर मस्ती गरेको’ सुनाउँछन् । पत्याऊँ कि नपत्याऊ ? केही क्षण दिमागका नसा फनफनी घुमे ।
वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरबाट अंग्रेजीमा स्नातकोत्तर गरेका उहाँका एक विद्यार्थी (मेरा आफन्त ऋषिराम रिजाल) ले कुनै समय ‘एलबी उवाच’ सुनाएका थिए, ‘बूढा पढाउन माहिर । उनले पढाउने कक्षामा विद्यार्थी भरिभराउ हुनुपर्थ्यो । त्यसरी पढाउनुमा उनी निकै रौसिन्थे । मान्छे असाध्य रसिक । कुनै दिन कक्षामा केटीहरू भएनन् भने भन्थे, ‘नो गर्ल, नो क्लास ।’
उपरोक्त सन्दर्भ कति सत्य हो/होइन म कसरी जाँचूँ ? तर, जग्गा बेचीबेची पश्चिमा मुलुकको रसस्वादन गरेकोमा थोरै पत्यार लाग्यो । पहिलो भेटमै मलाई पनि सर निकै रसिक लागेको हो । उहाँका गफ, किस्सा, सामाजिक परिवेश वा साहित्यिक वार्ता प्रेमिल हुन्छन् । लाग्छ- उहाँको दृष्टिमा दुनियाँ फूलैफूलको बगैंचा हो । फूलफूलमा उहाँ भमरा बनेर नाचिरहनु हुन्छ । रङ्गीबिरङ्गी फूलको रसपान गर्नुहुन्छ । मलाई सधैँ चम्किरहने उहाँको मुहारको स्फटिक देखेर ताजुब लाग्छ- यी बूढा अहिले त यस्ता रङ्गिला । यिनको बैँस कस्तो हुँदो हो !
हामी पूर्वबाट उत्तर मोडियौँ । त्यहाँ पनि सरले आफ्नो जग्गा रहेको र अहिले बेचिसकेको सुनाउनुभयो । उत्तरबाट पश्चिम मोडिने चोकमा एउटा निक्कै पुरानो इनार देखियो । मोटरको स्टेरिङ छोडेर उहाँले त्यतै हात तन्काउनुभयो, ‘त्यो इनार मेरी आमाले बनाउनु भएको हो ।’ साँच्चै, बा-आमाका स्मृति र तिनले छोडेर गएका भौतिक वस्तुहरू कति प्रिय हुन्छन् । जुनसुकै उमेरमा पनि अभिभावकको सम्झनाले धेरैलाई रोमाञ्चित, हर्षित र दुःखित तुल्याउँछ । ती जीवनको देउरालीमा हल्लिइरहने सम्झनाका बिम्ब हुन् । तिनले उभ्याएको विरासतले एउटा इतिहास कोरेर छोडेको हुन्छ । त्यही इतिहास अनन्तसम्म पुस्तान्तर हुँदै जान्छ ।
सर केही नोस्टाल्जिक हुनुभयो- लक्ष्मन, मेरा बा-आमाबीच रोजै मारपिट हुन्थ्यो । त्यो घरायसी कलह, अभाव र गरिबीसँग लड्दैभिड्दै परदेशमा हामी एउटा कोठामा हुर्केका हौँ । बाले खुबै मीठो गीत गाउनु हुन्थ्यो । त्यतिकै राम्रो नाच्नु हुन्थ्यो । रिअल्ली हिज डान्स वाज अम्याजिङ । आमा त्यस्तै मीठो गाउने । मेरा बा-आमा उत्कृष्ट कलाकार हुनुहुन्थ्यो । परदेशमा सबै नेपालीहरू हाम्रोमा जम्मा हुन्थे । खुब नाचगान हुन्थ्यो । रमाइलो सकिएपछि हामी भुइँमा पल्टिन्थ्यौँ । क्षणभरमै निदाउँथ्यौँ । त्यसपछि, बा-आमाबीच के हुन्थ्यो, हामीलाई थाहा हुन्थेन …
आमाले गाइरहने लोकगीत अहिले सरले गाउनुभयो- म तिम्रो होइन र, निरिमया ठूली … । बालाई सम्झेर अर्को स्याङ्जाली सालैजो गुन्जियो- किन हो र साइँला दाइ, नबोलाई जानी मयाले, … भीडमा हराएको मान्छे कविता संग्रहको ‘म र मैले बुझेको कविता’मा उहाँले यो गीत परदेशको घरमा गुर्सीनी सानिमाले गाउने गरेको लेख्नुभएको छ ।
त्यो गीत मेरी मावली हजुरआमाले समेत खुब गाउनु हुन्थ्यो । मलाई समेत असाध्य मन पर्ने यो भाका मैले पनि सरसँगै गुन्गुनाएँ । एकछिन त म उमंगले उचालिएँ । दुई-अढाई घन्टाको निकटता र मोटरभित्रको सुस्त-सुस्त परिभ्रमणले उहाँसँग म यति खुल्दै, एउटै धूनमा गुनगुनाउने तहसम्म पुगेछु । यस्तै पलहरूले नै त जीवनको अँध्यारो यात्रामा दियोको काम गर्ने होलान् । स्मृतिमा खाप्पिएर जीवनको पूर्वार्द्धलाई नोस्टाल्जिक बनाइदिने होलान् ।
अब मोटर पश्चिम मोडियो । सरको मोबाइलमा कवि गणेश श्रमणको फोन आयो । उनी र सरबीचको संवार्ताले मलाई हर्षित तुल्यायो । सरले म पनि सँगै रहेको जनाउनुभयो । गणेश दाइ ‘एलबी-मीना निवास’ पुगिसकेका रहेछन् ।
‘ल कवि, हामी आइहालेम् । दाउरा बटुल, भरे रमाइलो गर्नुपर्छ ।’
रसिलो साँझमा घोलिन अर्का कवि सुरेन्द्र अस्तफल पनि आउने सल्लाह रै’छ तर अस्वस्थताले नआउने भएछन् । खासमा आज, सर कविडाँडामा साहित्यिक महफिल जमाउने धूनमा हुनुहुँदो रै’छ ।
मैले कविडाँडाको सेरोफेरो नियालेँ । नजिकै विशाल क्षेत्रफलमा फैलिएको ‘चितवन मेडिकल कलेज (सिएमसी) छ । यो देशकै चर्चित मेडिकल कलेजमा गनिन्छ । मैले गमेँ- चितवनमा क्यान्सर अस्पताल छ । सिएमसीले चर्चा कमाएकै छ । अचेल, चितवन डाक्टर नर्स अध्ययन गर्नेको रोजाइमै पर्छ । यी उपलब्धिले स्वास्थ्य क्षेत्रमा समेत चितवन केन्द्रको रूपमा उभिँदै गएको छ ।
गणेश दाइले इतिहासको कुनो उधिने- यो ठाउँको पुरानो नाम रामबाग हो । यहाँ मैले रामबाग बिलाउँदै र कविडाँडा अग्लिँदै गएको देखेँ । साँच्चै, समयले कति पुराना अतीत मेट्दै जान्छ; अनि नयाँ-नयाँ उभ्याउँदै । पुरानो मेटिनु, इतिहास हराउनु हो । इतिहास हराउनु, आफ्नै अस्तित्व पनि सक्किनु हो । मलाई इतिहास पढ्न, बुझ्न र सुन्न औधी रुचाउँछु । आज, एआइसँग नारिएर नहिँडी चुलो बल्दैन तर मलाई इतिहास बिर्सेर बेचल्तीको बाटो खन्न किमार्थ रुचि हुँदैन ।
लाग्छ, इतिहास नहुनेको जग हुँदैन । जग नहुनेको घर हुँदैन । घर नहुने, फकिर हुन्छ । कालान्तरमा फकिरको अस्तित्व हराएर जान्छ । देब्रे धारमा रमाएर ध्वंस, युद्ध र अराजकतामा समृद्धि देख्ने हूलले इतिहास नामेट पार्दै गएकोमा म कहिलेकाहीँ मुर्छा पर्छु र भोलिको पुस्ताले सम्झिने इतिहास कल्पेर कहालिन्छु । यहाँ पनि ‘रामबाग’ हराउँदै गएको झस्कोले चिमोट्यो । कहीँ न कहीँ त्यसको पुरानो छवी उभ्याएर राख्न सके ! त्यसले भोलिको पुस्तालाई इतिहास पल्टाउन घच्घच्याउँथ्यो कि ! यी कुराले मनलाई खुब पिङ खेलाए ।
सिएमसीको पूर्वतिर थप १६ बिघा जग्गा लिएर ‘देउराली जनता’ औषधी उद्योग खोल्ने उद्यममा रैछ । विकासका यी पछिल्ला गतिविधिले पनि चितवनलाई देशकै केन्द्र बनाइरहेकोमा द्विविधा रहेन । यो विशाल क्षेत्रफल, बाक्लिँदै गएको बस्ती-विकास, खानेपानी र ढल-निकासको व्यवस्था भने प्रभावकारी देखिएन ।
गणेश दाइ भन्दै थिए- घरघरै पक्की बाटा पुगे । पूर्वदेखि पश्चिमसम्मका मान्छे यता भरिँदै छन् । यहाँको सबैभन्दा ठूलो समस्या बर्खे पानीको निकास र ढल व्यवस्थापन बन्दै छ । माथिबाट पानी नपरेर मात्रै हो, यी घरहरू आधा डुब्छन् । गहिरा जग खनेर घरहरू अग्ला-अग्ला बन्दै गए तर बर्खेभेल निकासबारे कसैले सोचेका छैनन् ।
दक्षिणतर्फ राप्ती र नारायणी मिसिने गोलाघाट रहेछ । जुन, पर्यटकहरूको आकर्षणको केन्द्र हो । नजिकै डबका घोल । यसमा तालिएको पानी नजिकैको केरुङ्गे खोलामा मिसिँदो रहेछ । ४० सालमा दियालो बंगला हुँदै सितारामपुरसम्म बनेको नहर बसाइँसराइ, घरजग्गा किनबेच, प्लटिङ, सुकुम्बासी बस्ती जस्ता कारणले पुरिएछ । डुबानको समस्या विकराल बन्दै खोला नै बाँध बनेर बर्खाको भेल बस्तीतिर बसाइँ सर्दो रहेछ ।
म झस्याङ्ग भएँ । मेरो दिमाग ३६० डिग्री उल्टो घुम्यो । अघि भख्खर मैले देखेको समुन्नत चितवनको तस्बिर धमिलियो । साहित्यको केन्द्र, पर्यटनको केन्द्र, स्वास्थ्य-शिक्षाको केन्द्र, सिङ्गो देशको अर्थव्यवस्थालाई जुरुक्क उचाल्न सक्ने विकासको केन्द्र । यी सबै-सबैमा मैले खोट भेटेँ । अव्यवस्थित बस्ती विकास, बर्खेभेल तालिएर ‘तालमैदान’ बन्दै गएको भरतपुर क्षेत्र र भविष्यप्रति बेपरवाह मान्छेहरू देखेर असीम पीडा भयो । कुनै दिन राप्ती र नारायणी नै उठेर बस्तीतिर दौडिए के होला ?
हरेक बर्खामा राप्ती र नारायणीका मैदानमा सौराहा तैरिइरहेकै छ । अपवादबाहेक, प्राकृतिक रूपमा बग्ने नदी-खोलाले कहिल्यै मानव अहित गरेनन् होला । किनकि, विश्वमा मानव-सभ्यता नदी किनारमै विकसित भएर समुन्नत हुँदै आयो । जब मान्छेले नदीको क्षेत्राधिकारमा धावा बोल्छ, तब ऊ बहुलाएर नरसंहार गर्छ । नेपाल मात्र होइन, विश्वका धेरै देशमा यसका उदाहरण देखिएका छन् । कुनै दिन नारायणी र राप्ती हुँडलिएर भरतपुरबासीका घरघरमा भित्रिए भने अन्यथा नमाने भयो ।
त्यो परिकल्पना मात्रले पनि म छटपटिएँ । बैँसका पराआधुनिक जोर प्वाँख हाल्दै गएको चितवन र यसको एउटा महत्त्वपूर्ण अङ्ग भरतपुर; खोइ व्यवस्थित बस्ती विकास ? दैला-दैलामा एकछापे अलकत्रे बाटो पुग्नुमै विकासको उच्चतम नमुना हो ? बस्ती विकास र फैलाइसँगै खोइ ढल निकास ? खोइ बाटो र ड्रेनको व्यवस्था ? खोइ साइकल लेन ? खोइ कृषि भूमिको संरक्षण ? खोइ ठाउँ-ठाउँमा जेष्ठ नागरिकलाई टहलिने चौतारा ? भरतपुर मात्र होइन, यो समस्या सिङ्गो चितवन र देशभरि नै सरुवा रोगको महामारी जस्तै फैलिएको छ ।
बसाइँसराइ मानव विकासक्रमकै एक अविच्छिन्न प्रक्रिया हो । यो विश्वव्यापी बहावलाई कहीँ पनि छेकथुन गर्न सम्भव छैन तर नयाँ बस्ती विकास हुने सम्भावित क्षेत्रमा राज्यका निकायले त्यही अनुसार काम गर्नुपर्ने होइन ? सुन्दरताको जलप झल्काउँदै गएको भरतपुरको कुरूप भविष्य-चित्र देखेर मलाई औडाह भयो । विकासको चमत्कारिक उल्का झारेर नगरबासीका हरेक समस्या जादुसरी समाधान गरेकी मेयर रेणु दाहाललाई सम्झेँ । चमत्कार गरेकैले उनी दोस्रो पटक चुनिइन् ।
दुई-दुई पटकसम्म एकै व्यक्तिलाई विजयको माला पहिर्याइरहँदा भरतपुरबासीले उनीमाथि एउटा पनि प्रश्न गर्ने हिम्मत गरे ? मेयरज्यू, सडकसँगै पेटी चाहिन्छ । साइकल लेनको खाँचो हुन्छ । डुबान र ढल-निकासको यथोचित व्यवस्था हुनैपर्छ । नहरको निकासलाई खोलाको तटसम्म पुर्याएर नदीतिर तर्काउनुपर्छ । हिउँद होस् वा बर्खा बस्ती सुन्दर, सफा र वातानुकूलित हुनुपर्छ । तब मात्र, स्मार्ट सिटी बन्छ । रेणु दोस्रो पटक मेयर हुँदै गर्दा कसैले यी प्रश्न सोधे ? सोधेनन् भने यो कंक्रिट-वनभित्र तिनले आफ्नै पुस्ताका चिहान बनाउन खाल्टो खनिरहेको मान्नुपर्छ ।
भरतपुर र चितवन मात्रै होइन, देशभरि नयाँ शहरहरू विकास भइरहँदा राज्यका निकाय गम्भीर छैनन् । यतिखेर मैले पर्यटन तथा जलविद्युत् उद्यमी एवम् लेखक चितवनवासी जीवा लामिछानेको पुस्तक ‘सरसर्ती संसार’ सम्झेँ । त्यहाँ, डुब्दै गएको मालदिप्सको भयावह चित्र छ । ‘टापु नै टापुको माला’ शीर्षकको नियात्रामा त्यहाँका पूर्व राष्ट्रपति मोहम्मद नासीदले विश्वको ध्यान खिच्दै बोलेको भावविह्वल उद्गार छ- हामी यो सुन्दर तथा समृद्ध देश छाड्न चाहन्नौँ । पानी शरणार्थी भएर कुनै देशमा पालभित्र बस्न सक्दैनौँ ।
त्यहाँका नागरिक बिस्तारै भारत, हङकङ, सिंगापुर, थाइल्याण्ड तथा युरोप, अमेरिकातिर सर्दै छन् । आफ्नो देश समुद्रमा विलीन हुँदै गएको कारुणिक चित्र मन-मस्तिष्कमा टाँसेर बस्नेहरू कसरी बाँचिरहेका होलान् ? संयुक्त राष्ट्रसंघ छ, सयौं देश छन् । उनीहरूले पक्कै पनि हामीलाई हाम्रो देशसँगै डुब्न दिने छैनन् भन्दै आफ्नो मृत्यु आफैँले नियालिरहेको क्षण कति कहालीलाग्दो होला ? विश्व मानचित्रमा ‘कुनै समय माल्दिभ्स भन्ने देश थियो’ भन्ने पढ्दा भोलिको पुस्ताको मनोदशा कस्तो होला ?
हो, हामीले पनि आउने पुस्ताका लागि के छोडेर जाने ? जन्मिनै बाँकी कयौं पुस्ताका लागि हाम्रा शहरहरू र तिनको वैभव कस्तो बनाइदिने ? बुझौँ, आज गरेको मनपरी, लापरबाही र लहडबाजीको परिणाम झेल्ने डेढ-दुई सय वर्षपछिको पुस्ताले पक्कै सराप्छ । उदाउँदो पुस्ताले माल्दिभ्सको जस्तै पतनको लीला हेर्न नपरोस् भन्ने हो भने चितवनजस्ता महत्त्वपूर्ण शहरहरूको व्यवस्थापन, संरक्षण र संवर्द्धनमा चनाखो हुनैपर्छ । सयौं वर्षपछिसम्मको शहरको भविष्य बनाउन हरेक गलत योजना र कर्ममा प्रश्न उठाउनुपर्छ । औंलो ठड्याउनुपर्छ । नदी-खोलालाई तिनकै बाटोमा हिँड्न, हिँडिरहन दिनुपर्छ । बस्तीतिर पस्न किमार्थ निम्त्याउनु हुँदैन ।
दिमागमा चलेको आँधीबेहरीको चक्रवातलाई थामथुम पार्दै म सेलाउँदै गएँ । गोधूलि बाक्लिँदै थियो । ध्यान फेरि कविडाँडा हाइटतिरै सोझियो ।
====
आज एलबी सरको मुहारमा स्फूर्तिको भुरुङ नाचेको थियो । मेडम सन्ध्या आरतीमा लीन हुनुहुन्थ्यो । मैले यसो टाउको उचालेँ, कविडाँडा र ‘एलबी-मीना निवास’को धुरी करिब समान छ । यी धुरीले आ-आफ्नै महत्त्व र विरासत बोकेका छन् । यिनले ग्रीष्ममा शीतल र शिशिरमा घाम बनेर साहित्यानुरागीलाई जोगाइरहे झैँ लाग्यो । यही छहारीमुनि परागसेचन भएर साहित्यका कति बिरुवा हुर्के होलान् । कति हुर्किँदै छन् र कति हुर्किने छन् । यसर्थमा, चितवनभित्र पनि कविडाँडा साहित्यको केन्द्र बन्दै गएको मेरो आकलन रह्यो ।
गोधूलिका घामले अघि बिदा मागेका हुन् । साँझले एउटा उमंगको मादकता खसाल्दै थियो । आँगनको उत्तरतर्फ सिमेन्टको डिलले घेरिएको सानो फोहोटो छ । त्यहाँ, घोलाकार सिमेन्टको रिङभित्र दाउरा जम्मा भइसकेका थिए । छेवै कुर्सी टेबल । टेबलमा ठिङ्ग उभिएको सोमरस र गिलासले पर्खिरहेका । गणेश दाइले आगो सल्काए । आगो सल्क्यो, दन्किँदै गयो । दन्किँदो आगोसँगै हामीमा हर्षको मात बढ्दै गयो ।
हुरहुरी बल्दो आगोको ज्वाला, सरको प्रेमिल जोडी र हामी रातसँगै घोलिँदै गयौँ । अघि साँझ बाक्लो नहुँदै चिच्याउन थालेका स्यालका आवाज घनिभूत हुँदै थिए । ती रोएका हुन्, हाँसेका हुन् वा मान्छेलाई जगाइरहेका, कसरी बुझ्नु ? एउटा कुरा पक्कै होला, साँघुरिंदै गएको आफ्नो बस्ती सम्झेर ती चिन्तित बनेका होलान् । हो, मान्छेको हूल भीर र डाँडाबाट बगेर यता आएर थामियो । त्यसले, चितवनको घना सालका रूख लडायो, काँसेघारी फाँड्यो । ताल-तलैया, कुला-कुलेसा पुर्यो ।
प्राकृतिक मैदानमा मान्छेले मात्र स्वार्थी खेल खेल्यो । आफ्नो आयतन तन्काउँदै गयो; वन्यजन्तु, चराचुरुङ्गी र खोला-नदीको घरबास खुम्चिँदै । त्यसैले, वनवासी स्यालजातिले यसरी साँझ पर्ने बित्तिकै गुनासो पोखिरहेको होला । मान्छेले गरेको अत्याचार सहन नसकेरै होला, बेलाबेला ध्रुवे हात्तीहरू बहुलाउने गरेका । बाघ र गैंडाहरूले मनुष्य-बस्तीमा आतंका रचेका । मन वनतिर डुलिरहँदा मास्तिरबाट ताराहरूले खसालेको चिसोले पिठ्यु मुसारेको छनक पाएँ । तैपनि, अघिल्तिरको आगोको रापमा पग्लिँदै मैले गमिरहेँ- सायद, यी स्यालहरू गोधूलिसम्मै चिच्याइरहन्छन् । यसरी नै कुनै दिन हात्ती, गैंडा र बाघ चिच्याउँदै घरघरै आए भने ?
त्यहाँ, मेरो मन-लहरीको के हिसाब ? सरका प्रेमिल गफ, कविता र देशाटनको प्रसङ्गमा बढी रोचकता थियो । उहाँले आफ्नो नवीन कविता-कृति को हो त्यो मान्छेको शीर्ष कविताका केही हरफ वाचन गर्नुभयो-
को हो त्यो मान्छे ?
करबिरे, मनबिरे कि धनबिरे ?
को हो त्यो मान्छे ?
====
‘को हो त्यो मान्छे’मा हरेक मान्छे सिसिफस नियति बाँच्न बाध्य रहेको उद्बोध छ । सिसिफस संघर्ष हो । सफल हुने, लक्ष्य भेट्टाउने र जीवनको अन्तिम बिसौनीसम्म पुग्ने प्रयत्न हो । सर्वत्र चर्चामा रहेको यस कृतिबारे हामीले पनि कविडाँडामा कही बेर महफिल जमायौँ ।
हामी देशका कुरामा थियौँ, परदेश सुन्यौँ । महिला-पुरुष बीचका विभेद आए । सर अलिकति दर्शनतिर मोडिनुभयो- नारीवाद व्यक्तिवाद हो; महिलावाद परिवारवाद । उहाँले नर्वेजियन साहित्यकार हेनरिक इब्सन र अर्का नोबेल पुरस्कार विजेता साहित्यकार जर्ज बनार्ड शाको सिद्धान्तको तुलना गर्नुभयो । इब्सनको ‘ए डल्स हाउस’ नाटककी पात्र नोराले स्वतन्त्रता प्राप्तिका लागि घर र परिवार छोडेर हिँडेको उल्लेख छ । उता, बनार्ड शाको नाटक ‘क्यान्डिडा’की मुख्य पात्र क्यान्डिडाले अनेक असमझदारीका बीच पनि घर-परिवार निर्माणका लागि आफूले त्याग गरेकी छन् ।
म नारीवादलाई सम्मान गर्छु तर हामीले परिवार बनाउनुपर्छ । अतः म सधैँ महिलावादको पक्षमा छु । परिवार, सामूहिकता र एकताले संसार चल्ने हो । घर-परिवार फुटेर स्वतन्त्रताको उडान त भेटिएला तर सिर्जनशीलताको जग बनाउन गाह्रो हुन्छ । बिस्तारै व्यक्तिवाद, स्वतन्त्रता तथा सामूहिकता र परिवारवादको सन्दर्भ मत्थर हुँदै गयो । संसारको चलन जे जस्तो भए पनि उहिल्यैदेखि घरको राजमा ‘नारी’ नै राजा छन् ।
यहीँबाट, प्रसङ्ग सरका छोरीहरूतर्फ मोडियो । छोरीहरूले ज्वाइँका घाँटीमा बाँधेको घन्टी सम्झेर एलबी दम्पती मख्ख । छोरीहरूले पितालाई भन्छन् अरे, ‘आमाले हजुरलाई जसरी लगाम कस्नुभएको छ, हामीले त्यही सिकेका छौँ ।’
खोइ, महिला वा पुरुष कसले कसलाई लगाम कस्ने हो ? यसो घोत्लिन्छु- सृष्टिका अधिक पुरुषहरू स्वचालित मेसिनझैँ लाग्छन् । मेसिन खिइँदै जाँदा बगाउने आँसु पनि तिनका भागमा पर्दैन । ऊ सधैँ नहाँसे पनि हाँसिरहनुपर्छ । उसका लागि हरदिन, हररात सबै ठिकठाक हुनै पर्छ । खासमा मलाई पुरुषहरू परिवेश र परिबन्धको जुवामा नारिएका गोरुजस्ता लाग्छन् । तथापि, नारी-पुरुष कर्तव्य, जिम्मेवारी र दायित्वका साझेदार भए भने नै समाजको रथ अनन्तसम्म गुडिरहला !
एलबी जीवनका रोचकता थपिँदै थिए । उहाँ भारतीय सेनामा हुँदा सिम्ला सरुवा भएको र त्यहाँको तीन वर्षे बसाइको मधुमास सुनेर निकै रोमाञ्चित भइयो । उहाँको बोलीपिच्छे हिन्दी शब्द, लाहुरे बान्की र स्याङ्जाली भाषिका मिसिन्छन् । स्याङ्जा उहाँको जरो; त्यो शैली उहाँले बा-आमाबाट सिक्नुभयो । जन्म, बढाइ, पढाइ र हुर्काइ भारत । अनि, १६-१७ वर्ष भारतीय सेनामा सेवारत रहेकोले भाषिक मिश्रण हुने नै भयो । एउटा पक्ष भने गज्जब लाग्यो, भारतीय सेनाको पेन्सनरपछि उच्च शिक्षा अध्ययन गरी त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापकसम्म हुनु सामान्य थिएन । त्यो लगनशीलता र मिहिनेत गर्ने जाँगर कमैमा होला ! यसमा मेडमको भगीरथ तपस्या रहेछ ।
गणेश दाइको पुर्ख्यौली थलो पर्वत रै’छ । हामी भने गफका डोरीमा झुण्डिँदै स्याङ्जातिर हुर्रियौँ । म स्याङ्जाली परिचयमा पहिलो पटक यहाँ आउँदा सरले भन्नुभएको थियो, ‘हाम्रो पनि स्याङ्जा नै हो, नौडाँडा । यसपालि अलि खोर्याएँ, कहाँनिर पर्छ सर ? उहाँको उज्यालो मुखाककृति बोल्दै गयो, ‘पोखराबाट स्याङ्जा जाँदा नौडाँडामा ओर्लिने । सेती दोभान पुग्ने । रङ्गे ठाँटीबाट उत्तरतर्फ देखिन्छ, हाम्रो गाउँ सम्धीखोला ।’ मेडमको माइती पनि उतै वालिङतिर आँधीखोला पारि बाघखोरे राजाको दरबार छेउछाउ ।
एकछिन, मेडमले बाल्य र बैंशकालीन यामका रमाइला कुरा झिक्नुभयो । शीतकालमा बाहुनथानको डाँडाबाट ओरालो झर्ने न्याना घामका किरणमा त्यतै भुलियो । सायद, उहाँमा आँधीखोलाको छल्कोसँग रमाएका क्षण अझै उस्तै होलान् । उहाँलाई मैले पारिवारिक साइनोतिर ताने, ‘हजुर र म उतैका । अब, हजुरहरू त मेरा दिदी-भिनाजु । निभ्दै गएको आगो अगाडि एउटा हाँसोको झिल्को बल्यो । त्यसले, आत्मीयताको सन्निकट पुर्यायो ।
रात गाढा हुँदै थियो । घरका चारैतिर बलेका बिजुलीका बल्बले कालो आर्द्रता चिरिरहेथ्यो । घरनजिकै जस्तो गरी स्याल कान्छाहरू चिच्याइरहेकै थिए । तन, मन, वन र चेतनाका धून सुसेल्दै आजको वार्तालाप यहीँ टुंगियो । बसेकै ठाउँमा भोज्य बिखय आए । जीवनमा यति स्वादिष्ट भोजन मैले विरलै खाएँ । सायद, अपनत्वको भाव मिसिएर पनि होला !
सखारै हिँड्नु छ, मैले अहिले नै गणेश दाइसँग बिदा मागेँ । मेडमको स्नेह मिश्रित तातोपानीको जग समातेर माथिल्लो तलामा उक्लिएँ । जहाँ, कविडाँडा र ‘एलबी-मीना निवास’ले संयुक्त रूपमा आजको बास प्रबन्ध गरेका थिए । सर माथिसम्म आएर सुकलाको निरीक्षण गरेर ओर्लिनुभयो । बिहान तेस्रो प्रहरतिरै उठ्ने गरी मैले मोबाइलमा ‘आर्लम’ राखेँ । अनि, मोटो न मोटो भुइँ-विछ्यौनामा पल्टेँ । एकाध घन्टा त भुसुक्क भएछु । त्यसपछि, अल्प-अल्प निदाएँ । जति चोटी ब्युँझे पनि स्याल कान्छाहरूको कोलाहल सुनिन्थ्यो ।
बिहानै हिँड्नुपर्ने मनोचेतले होला, मोबाइलको भन्दा चाँडै दिमागको घडी बज्यो । म साढे २ बजे नै उठेँ । यतिबेला, स्यालहरूको रुवाई सुनिएको थिएन । ज्यान तनकतुनुक गर्दैमा एक घन्टा चिप्लियो । साढे ३ बजे सरको फोन आयो । म आफ्नो कुटुरो बोकेर मूल द्वारतिर तन्किएँ । सरले द्वार खोलेर एक अँगालो स्पर्शसहित बिदा गर्नुभयो । म पनि अभिवादन गर्दै बाहिरिएँ । म सडक किनारमा उभिएर मलाई पर्खिरहेको अटोभित्र पसेँ । अनि, समयमै काठमाडौं पुग्ने हर्कले हुस्सेको बख्खुभित्र अटोसँगै हराउँदै गएँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।