आज बिहान घरबाट निस्कँदै गर्दा आँगनमै बिरालोले बाटो काट्यो । त्यो पनि कालो बिरालोले । अब केही अशुभ हुने भनेर मेरो मनले सोचिहाल्यो । सोच्दैन भन्दा भन्दै पनि मनले किन मान्थ्यो र ? सोचिरह्यो । गतिलो सोच त किन आउँथ्यो र ? दिनभरि काट्ने कुरा नै मनमा अड्किरह्यो अनि काट्ने कै बारेमा केही लेख्न मन लाग्यो ।

सानो हुँदा मेरो लागि काट्ने भनेको घाँस, दाउरा, अन्न बाली, तरकारी र मासु काट्नु मात्र हुन्थ्यो । त्यही सिलसिलामा कहिलेकाहीँ हात पनि काटिन्थ्यो । तर जब मैले सोह्र काटेँ अनि त्यही सँगसँगै एसएलसीको गौँडो पनि काटेँ र एक दिन रात्रि बसको टिकट काटेर म थानकोटको सीमा काटी राजधानी अवतरण गरेँ ।

त्यसपछि मेरो काट्ने प्रक्रिया बुझ्ने दायरा दिन प्रतिदिन बढ्दै गयो । सबभन्दा पहिले त मैले काठमाडौँका व्यस्त सडकमा गुडिरहेका गाडीहरू दायाँ–बायाँ हेरेर बाटो काट्न सिक्नुपर्थ्यो । सिकेँ पनि । त्यसपछि क्याम्पसमा मैले साथीहरूले मेरो कुरा काटेको सुनेपछि आफूले पनि साथीहरूका कुरा काट्न सिकेँ । कुरा काट्न सिकेपछि पढ्न किन मन लाग्थ्यो र ? राम्रोसँग पढिएन । जाँच आयो । तयारी राम्रो थिएन । प्रश्नपत्रले आँखा तिरमिराए । अलि अलि त लेखियो तर त्यति उत्तरले मात्र उत्तीर्णाङ्क काट्ने सम्भावना नदेखेपछि मैले पहिले लेखेजति सबै उत्तर काटेर उत्तर पुस्तिका बुझाएँ ।

देशमा भर्खर प्रजातन्त्र आएको थियो । तर त्यो प्रजातन्त्रले जनताहरूले आफ्नो जीवन राम्रोसँग काट्न नसक्ने निर्क्योल गरेर एउटा विद्रोही समूहले मान्छेका टाउका काट्ने अभियान सुरु गर्‍यो । हजारौँ मान्छेका टाउका खसीका टाउका काटे झैँ काटिए । सरकार झन् त्यो भन्दा अगाडि बढेर मान्छेका टाउका काट्न आदेश दिनेहरूका टाउका काटेर झोलामा बोकेर ल्याउनेलाई लाखौँ पुरस्कार दिने घोषणा गर्‍यो । देश अस्तव्यस्त बन्यो । व्यवस्था असफल भयो । नियम कानुन निष्क्रिय जस्तै भए । भिन्न जाति, भिन्न समूह, भिन्न भाषा, भिन्न धर्म, भिन्न भूगोलका जनता बीच काटाकाट सुरु भयो ।

एक दशकको काटाकाट पछि देशमा जसोतसो शान्ति त आयो तर काटाकाट गर्ने नेपालीको बानी भैसकेकोले त्यसपछि पनि काटाकाट चाहिँ रोकिएन । मान्छेका टाउका नकाटे पनि नेपालीहरूले जे पाइन्छ त्यही काटेर आफ्नो तलतल मेटाउन थाले ।

व्यापारीले डाँडा पाखा काटेर हराभरा पहाडहरू पहेँला र फुस्रा बनाउन थाले ।

तस्करहरूले वन जङ्गल काटेर देश नाङ्गो बनाउन सुरु गरे ।

मन्त्रीहरू सडकका डिभाइडर नाघेर बाटो काट्न थाले ।

प्रधानमन्त्रीले विदेश जासुससँग छलफल गर्दै रात काटे ।

अर्थ मन्त्रीले व्यापारी पोस्नको लागि बजेट बनाउन सिसिटिभीको तार काटे ।

नेताहरू पूरा नभएका योजनाको उद्घाटन गर्न हरेक दिन रिबन काटेर आफ्नो ‘काट्ने’ प्यास मेटाउँछन् ।

नेता र व्यापारीहरूले सरकारी जग्गा किर्ते गरी प्लटिङ गरेर बेच्न आज पनि कित्ता काट गरिरहेका छन् ।

अहिले हरेक दिन हजारौं नेपाली युवाहरूले वैदेशिक रोजगारमा जान प्लेनको टिकट काट्छन् ।

चोर बाटोबाट शरणार्थी बनेर विदेश जानको लागि नेता र नेताका श्रीमतीहरूलाई पैसा बुझाउन धेरैले लाखौँको चेक काटे ।

यस्तो काटाकाट देखेर जनता आजित भएको बेला अदालतले अलिकति आशा देखायो । अदालतले हत्यारा, आतंककारी र तस्करहरू विरुद्ध पक्राउ पुर्जी काट्यो, तर उनीहरू त प्रधानमन्त्रीको कार्यालयमा गएर प्रधानमन्त्री, ठूला दलका ठुला नेताहरू र गृह मन्त्रीसँग केक पो काटे ।

अदालतले जगाएको थोरै आशा पनि हरायो ।

काट्ने चलन रोकिएको छैन, झन् बढ्दै पो छ ।

यही काट्ने चक्करमा नेताहरूले देश विदेशमा नेपालीहरूको नाक काटिरहेका छन् ।

यो सबै देख्दा यस्तो लाग्छ- ‘काट्ने’ काम नेपालीहरूको रगतमा बगिरहेको जस्तो छ । र यो काट्ने सिलसिला त्यति सजिलै रोकिने सम्भावना छैन । नेता र व्यापारी मात्र हैन हामी सबै नेपालीहरू पनि हरेक दिन केही न केही काटिरहेका हुन्छौँ- अरू केही काट्न पाएनौँ भने दिनभरि गाउँ र टोल डुलेर अर्काको कुरा काटेर समय काट्छौँ ।