निलञ्जना रोय

पुस्तक प्रेमीका लागि सबैभन्दा सुन्दर शहर त्यो हो, जहाँ पुस्तकालय हुन्छ । जहाँ गज्जबका किताब पसल हुन्छन् । पठन संस्कृति हुन्छ, लेखक र पाठकका लागि सुन्दर ठाउँ सिर्जना गरिन्छन् ।

मेरालागि त्यस्ता शहरमा न्युयोर्क, लन्डन, डब्लिन मात्र होइन, केरलाको कोजिकोडी पनि हो । कोजिकोडी त युनेस्कोले छुट्याएको ५३ साहित्यिक ठाउँमध्ये पर्छ र यो भारतको पहिलो त्यस्तो शहर पनि हो ।

दुई वर्षअघि कोजिकोडीमा भारतभरबाट गज्जबका लेखकहरू निम्त्याइएको छ । यहाँको समुद्र किनार उस्तै आकर्षक छ । यहाँको मालाबार किनार त प्रख्यात नै भइहाल्यो ।

यो शहरमा ५५० पुस्तकालय छन् । यहाँ ७० प्रकाशक छन् । १०० भन्दा बढी पुस्तक पसल जहमाँतहीँ देखिन्छ । कोजिकोडीको सबैभन्दा राम्रो पक्ष भनेको यहाँ पाठकलाई इज्जत गरिन्छ । उनीहरूका लागि पढ्ने, चिन्तन गर्ने ठाउँ छ । पठन शहरको जीवनशैलीमा बगेको छ ।

युनेस्को सिटी अफ लिटरेचरका लागि निवेदन दिनुपर्छ, त्यसै यो बन्दैन । एडिनबर्ग होस्, इओवा शहर होस् या बेरूत नै किन नहोस्, ती सबै पाठकका लागि अनपेक्षित ठाउँ हुन् । साउदी अरेबियाको तैफ र युक्रनेको एलभिभ पनि एतै शहर हो । एलभिभले त शरणार्थीको शहरबाट पाठकको शहरमा बदलिन ठूलो संघर्ष गरेको छ । अझ यो त युद्धले ध्वस्त समेत भएको छ ।

कुनै शहरले आफूलाई पाठकमैत्री शहर हुँ भनेर दाबी गर्नका लागि युनेस्कोले छानबिन गर्छ । यहाँका प्रकाशक गुणस्तरयुक्त छन् कि छैनन्, कति पुस्तक प्रकाशन गर्ने गर्छ, कित पुस्तक पसल छन्, साहित्य महोत्सव हुन्छ कि हुँदैन, कत्तिको सक्रिय अनुवाद क्रिया हुन्छ ? यी सबै कुरामा ध्यान दिन्छ । र, तीभन्दा पनि पाठक र लेखकले यहाँ घरजस्तो महसुस गर्न पाउँछन् कि पाउँदैनन् भन्ने पनि हेरिन्छ ।

अनौपचारिक ठाउँहरूले मान्छेलाई मान्छे बनाउँछन् । म कलकत्तामा हुर्किंएँ । म हुर्किंदाका बखत त्यहाँ खुब अड्डा हुन्थे । ती अड्डा युवापुस्ता, पाठक र लेखक झुम्मिने ठाउँ हुन्थ्यो । त्यहाँ छलफल हुन्थ्यो, सिर्जनात्मक कामहरू हुन्थे । तिनले शहरलाई जीवन्त बनाउँथ्यो । कला र सिर्जनाप्रति हुरूक्क पार्थ्यो ।

सन् २०२१ ताका बिबिसीमा यात्रा पत्रकार तानिया बनर्जीले लेखेकी थिइन्, ‘परम्परागत रूपमा गज्जबको अड्डाले सबै किसिमको विचार उत्पादनमा भूमिका खेल्छ । यसले राजनीति, कला, साहित्य, विज्ञान, वादविवाद, गसिप, ठट्टा, हल्ला, खाना, चुरोट र चियाको सम्मलिन गराउँछ । यस्ता ठाउँ तपाईंको निजी घरमा पनि हुनसक्छ, स्थानीय चिया पसल पनि हुनसक्छ, कतै पार्किङ स्थल वा कुनै ठूलो भवनको बरन्डामा पनि हुनसक्छ ।’

खासमा त्यहाँ भेला हुने मान्छेले ती ठाउँ, त्यो लोकेसनलाई जीवन्त बनाउँछन् । पाठकहरूका लागि ती निजी मामिला हुनसक्छन्, निजी छनोटका कुरा हुनसक्छन् । जस्तो कि रोहिन्टन मिस्त्रीको पुस्तक सच अ लङ जर्नी होस् या सल्मान रूस्दीको मिडनाइट चिल्ड्रेन होस्, तिनले ती ठाउँको झल्को दिन्छन् । त्यस्तै एलिजाबेथ स्ट्रोटको ओलिभ किटरिजमा व्यक्त गरिएजस्तो समुद्र किनार पनि हुनसक्छ ।

लेखकका लागि उम्दा ठाउँ कुन हो भन्ने कुरा उठ्यो भने त्यसका लागि एउटा लामो निबन्ध नै तयार गर्नुपर्ने हुन्छ । त्यहाँको तिर्न सकिने भाडा, चिया वा क्याफे, पार्किङ गर्ने ठाउँ, केही पार्क र खुला ठाउँ, जहाँ केही पाइला हिँड्न सकियोस्, जहाँ बिना अवरोध लेख्न सकियोस्, जहाँ कुनै उमेरको बन्धन नहोस्, कुनै जातपात र लैंगिक बाधा नरहोस्, जहाँ लेखकका लागि स्रोतकेन्द्र होस्, जहाँ पुस्तकालय, पुस्तक पसल पुग्न धेरै टाढा जान नपरोस् ।

सन् २०२३ मा अक्टोबर सिटिज नामक पत्रिकाले गरेको अध्ययनअनुसार अमेरिकाका विभिन्न शहरहरूमध्ये सिकागो, फिलाडेल्फिया, न्युयोर्कलाई सिटिज् अफ फिलिङको उपमा दिएको छ । ती सबै हुनका लागि त्यहाँको भाषा, छवि, आइडियाहरू, पुँजी, मान्छे र भौतिकीको भूिमका रहने बताएको छ । र, यी सबैलाई एकले अर्कोले भरथेग गरिरहेको हुन्छ ।

सिर्जनशील शहरका बनाउन युनेस्कोले पछिल्लो समय निकै मिहिनेत गरेको छ । अस्ट्रेलियाको मेलबर्न त्यस्तै प्रयासको नमुना हो । त्यहाँ साहित्य उत्सव गर्न पैसाको सहयोग गर्नेहरू छन्, शहरले विभिन्न लेखन वृत्ति प्रदान गर्ने गर्छ । स्वतन्त्र पुस्तक पसलेहरूलाई के कसरी सहयोग गर्न सकिन्छ भनी शहरले ख्याल राख्छ । विभिन्न शहरमा भएका अनेकन् लेखकहरूसँग मेलबर्नले सम्पर्क साँधिरहेको हुन्छ ताकि चाहिएका बेलामा आफूकहाँ डाक्न सजिलो होस् ।

तर यी सबका बीचमा पनि जनताको ठूलो भूमिका हुन्छ । जनतामा साहित्य र पुस्तकप्रति प्रेम भएन भने सिटिज् अफ फिलिङ बन्न सक्दैन । पहिलो पुस्तक निकाल्नका लागि त्यो शहर कत्तिको सहयोगी छ ? स्वतन्त्र पुस्तक पसलेलाई व्यापार चलाउन शहरले कति थोरै पैसामा भाडामा दिन सक्छ ? वा ठूला मलले पुस्तक पसल राख्न कत्तिको चासो दिन्छन् ? अनि, शहरले आफ्नो मुटुमा पुस्तकालयहरू कति बनाएको छ ?

महान् साहित्यिक शहर यत्तिकै बन्दैनन् । पेरिसदेखि ओरेगन राज्यको पोर्टल्यान्डसम्म अस्तित्वमा आउनका लागि तिनका बासिन्दाले ठूलो मिहिनेत गरेका हुन्छन् ।

(फाइनान्सियल टाइम्सबाट अनुदित ।)