नेपाली साहित्यमा आख्यानको मूलतः चार भेद छन् । पहिलो उपन्यास, दोस्रो कथा, तेस्रो छोटाकथा र चौथो लघुकथा हुन् । आख्यानको यो चार भेदमध्ये छोटाकथा आफैमा ओझेल परेको छ वा यो आफ्नै परिभाषाभित्र हराएको छ । छोटो कथालाई कथा वा लघुकथाको रूपमा बुझिदिँदा साँच्चै नै छोटाकथा आफैमा संकटग्रस्त छन् । संख्याको सिमाना र कथानकको सारमा पनि छोटाकथाहर कथा वा लघुकथाभन्दा भिन्न नै हुने गर्छन् । कथाकारहरूले आफ्ना कथाहरूमा कम्तीमा पनि पन्ध्र सय शब्दहरूबाट कथाको उठान गर्ने र पछिल्ला समयमा लघुकथामा देखिएको बाढीका कारण लघुकथाको समापन तीन सय शब्दभित्र लघुकथाकारहरूले गरिसकेका कारण पनि छोटाकथाहर ओझेलमा परेका छन् ।

वास्तवमा नेपाली साहित्यको आख्यानको विकासमा छोटाकथाहरूको महत्त्व र गरिमा उपल्लो छ । पञ्चतन्त्रका कथाहरू, अकबर र बिरबलका किस्साहरू, नीति र लोक–दन्त्यकथाहरू अनि गोनु झाका कथाकुथुङ्ग्रीहरूले नेपाली साहित्यमा छोटा कथाहरूको स्थानलाई आख्यान लेखन युगको सुरुवाती चरणदेखि नै पकड जमाउँदै पाठक र श्रोता तानिरहेकै हो । तर पछि छोटाकथाहर बिस्तारै लघुकथातर्फ ढल्किन थालेपछि हाल छोटा कथाहरू संकटमा परेको छ भन्दा सायदै अतिशयोक्ति होला ।

पछिल्लो समय नुवाकोटेली साहित्यिक व्यक्तित्व वासुदेव गुरागाईँले छोटा कथाहरूमा रुचि राखी लेख्ने, विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशन गर्ने र ती सबैलाई सङ्कलन गरी पुस्तकाकारको रूपमा प्रकाशन गर्ने काम पनि गरेको देखिन्छ । आजको दीपक दृष्टिमा स्रष्टा बासुदेव गुरागाईँको छोटा कथासंग्रह “अनुमानित निष्कर्ष’लाई केन्द्रमा राखी चर्चा चलाइने छ ।

“अनुमानित निष्कर्ष’लाई स्रष्टा वासुदेव गुरागाईँले स्माट साइजमा वइटलेस पेपरबाट नेपालमा गएको महाभूकम्पको लगत्तै प्रदीप गुरागाईँको सहयोगमा प्रकाशनमा ल्याएका हुन् । आवरणलाई सामान्य रुप रंगमा सजाएका वासुदेवले यस संग्रहमा आफ्ना २४ थान छोटाकथाहरूलाई स्थान दिएका छन् । केही कथाहरूको अपवादलाई छोडेर अधिकांश कथाहरू पाँच सयदेखि एक हजार शब्द सीमाभित्र रहेका छन् ।

स्रष्टा वासुदेव गुरागाईँ मूलतः पिँडालु पण्डितको प्रख्यातिबाट हास्य व्यङ्ग्यकार हुन् । उनीका नेता चिरञ्जीवी भव: हास्य व्यङ्ग्य काव्य, थोते हाँसो र बाजेको सेकुवा हास्य व्यङ्ग्य निबन्ध संग्रह प्रकाशित छन् । त्यसो त स्रष्टा वासुदेवका बास उठेका चराहरू र स्वागत नामको  काव्यसंग्रह र तँ अब बुढो भइस् नामक खण्डकाव्य पनि प्रकाशित छन् । वासुदेव  गुरागाईँ निर्वाचन विज्ञ पनि हुन् । उनीले नेपालको राष्ट्रिय निर्वाचनको विविध पाटोहरू औंलाएर पुस्तकहरू पनि लेखेका छन् । कुशल साहित्यिक संगठनकर्ता बासुदेवले आफू जन्मी हुर्केको गाउँलाई थप चर्चामा ल्याउन दुप्चेश्वर साहित्यिक समाज गठन गरी शिखर सौगात विशेषङ्कहरू पनि सम्पादन गर्दै आइरहेका छन् ।

अनुमानित निष्कर्ष

अनुमानित निष्कर्ष

स्रष्टाहरूले देखेको र भोगेको कुराहरूमा केही कल्पना मिसाएर आफ्नो सृजना गर्ने गर्दछन् । आफ्ना अनुभव र अनुभूतिहरूलाई स्रष्टा वासुदेव गुरागाईँले “अनुमानित निष्कर्ष’ छोटाकथाहरूको संग्रहमार्फत कथाकार पनि बनेका छन् । कथाकार वासुदेवका कथाहरू उनीले नै देखेको कथा, उनीले नै भोगेको व्यथा र उनी आफैले जानेबुझेको समाज, कुल्चेको माटो र दृष्टिपात गरेको वातावरणमा देखे भेटेका झिनामसिना विषयहरूलाई उनीले कथामा वीजको रूपमा प्रयोग गरेका छन् । हरेक कथाहरूले आदर्श समाजको परिकल्पना गरेका छन् ।

नामैले छोटा कथा भएकाले “अनुमानित निष्कर्ष’ संग्रहभित्र उनिएका हर कथाहरू छोटा जरुर छन् । छोटाकथाहरूको उठान सामान्य हुन्छन् र यसको बहाव पनि सामान्य नै हुन्छ । सामान्य र सरल हुनु नै छोटाकथाहरूको प्रमुख विशेषता हो । यही कुराको हेक्का राखी कथाकार वासुदेव गुरागाईँले आफ्ना कथाहरूलाई सामान्य र सरल बनाएका छन् । तर छोटाकथाहरूले अन्त्यमा दिने सन्देश जीवन उपयोगी हुन्छन् । गुरागाईँका हरेक छोटाकथाहर जीवन उपयोगी छन् ।

कथाकार वासुदेव गुरागाईँले “अनुमानित निष्कर्ष’ छोटाकथासंग्रह मार्फत राजनीति र सामाजिक विसङ्गतिलाई पर्दाफास गर्ने प्रयास गरेका छन् । उनीकै छोटा कथा शम्शेरवहादुर शीर्षकको कथाले पर्दाभित्रको मान्छेको स्वरूप बताई दिएको छ र मानिसका दुई रूपको बारेमा जान्दा जान्दै पनि आम मानिस चुपचाप बस्नु पर्ने कुरो औल्याइदिएको छ । यस कथाले नेपाली राजनीतिमा देखिएको विसङ्गतिलाई सिधै गोली मारेको छ ।

कथाकार वासुदेव गुरागाईँले आफ्ना छोटाकथाहरूमा प्रकृतिको स्वछन्द वर्णन गरेका छन् । आफ्नो गाउँघर, माटो र बाटोहरू उनका कथाहरूमा बग्रेल्ती पाइन्छन् । कति कथाहरूमा पूर्वस्मृतिहर भेटिन्छन् भने कथामा नै मनोभाव र मनोविज्ञान पनि सलबलाई अन्त्यमा त्यही कथामा नीति वा शिक्षा छोड्न पनि कथाकार वासुदेव चुकेका छैनन् । यसको उदाहरणको लागि केशरमानको कथालाई लिन सकिन्छ । यहाँ कथाकारले नोस्टाल्जिक बनेर प्रकृतिको सुन्दर वर्णन र कुलतको परिणाम र बाँकी जीवन सुधार्ने उपाय पनि कोरेका छन् । उनीलाई नजिकबाट चिन्नेले कतै यो कथा कथाकारले आफैमाथि लेखेका हुन् भनी कल्पना पनि गर्न सक्छन् ।

“अनुमानित निष्कर्ष’ छोटाकथासंग्रहभित्र एउटा अद्भूत कथा छ, मैयाको जिज्ञासा । विषय सूची हेर्दै पढ्ने हर पाठकको रोजाइमा यो कथा अगाडि नै पढ्ने सम्भावना प्रचुर छ । कथा संवादबाट मज्जाले सुरु हुन्छ । पहिला पाठक यौनकथाको अनुमान गर्दै पढ्ने छन् । तर जब कथाले थारु समाज, त्यसभित्र रहेको अलिखिन कमैया प्रथा र गरिबी, रहर र भोकको एउटा सिङ्गो समाज देख्छ त्यसपछि पाठकको मनमा रहेको कल्पनाको यौन तहस नहस हुन्छ र सामन्ती समाजको विरुद्धमा मनमनै एक सलाई काँटीको झिल्का निकाल्छ । वास्तवमा कथाकार वासुदेव गुरागाईँ आफ्ना कथाहरूमा पाठकहरूलाई झिल्का निकाल्न नै लागि परेका छन् । “अनुमानित निष्कर्ष’ छोटाकथाहरूको संग्रह पढेपछि पाठकले आफ्नो मनमा एक झिल्का निकाल्न सक्नु नै कथाकार वासुदेव गुरागाईँको लेखनको जीत हो ।

कथाकारले यस संग्रहमा विविध कालखण्डहरू पनि छोड्ने प्रयास गरेका छन् र पाठकहरूलाई ती कालखण्डमा पुर्याएर त्यही समयमा टक्क अडिंदै सोच मग्न बनाउने प्रयास पनि कथाकार वासुदेव गुरागाईँले गरेका छन् । यसको उदाहरणको लागि बेखालालको विवशता कथा पढ्न सकिन्छ । यस कथामा नेपालमा गएको महाभूकम्पको चर्चा गरिएको छ । एउटा सहर पुरै ध्वस्त छ र त्यही सहरको एक घनी बेखालाल ध्वस्त सहरको बिचमा उभिएर आफ्नै विवशता हेरिरहेको छ । यस कथाले जीवनलाई नजिकबाट व्याख्या गरेको छ ।

मूलतः कथाकार गुरागाईँ “अनुमानित निष्कर्ष’ कथासंग्रहबाट प्रकृतिप्रेमी र सुधारवादी कथाकार हुन् । उनीका प्राय कथाहरूमा प्रकृतिको चोखो र कुमारी वर्णन पाइन्छ । तर यसो हुँदा हुँदै पनि प्रकृतिमाथिको ह्रास र दोहनमा पनि उनीले गतिलो आवाज उठाएका छन् भने मानवमा देखिएको विचलन पनि कथाकार वासुदेवको एक एजेण्डा हो । राजनीति मूल नीति बन्न नसक्नुलाई कथाकारले आफ्नो छोटाकथाहरूमा छोटकरीमा घुसाएका छन् । उदाहरणको लागि एक्लिएको वरपीपल कथालाई लिन सकिन्छ । यस कथामा एउटा बूढो कथाकारले आफ्ना जवानीका सारा अनुभव र भोगाइहरू कथामा उतार्दै पाठकलाई गुनासो पोखेका छन् ।

यस कथासंग्रहको शीर्ष कथा नै हो अनुमानित निष्कर्ष कथा । यस कथामा कथाकार वासुदेव गुरागाईँले चरा र मानिसका सम्बन्ध र स्वभावहरूको विशिष्ट वर्णन गरेका छन् । कथाले प्रकृति र पन्छीको पूजा गर्न सिकाउन खोजेको छ तर मानवीय स्वभावको पनि जबरजस्त वर्णन गरेको छ । कथामा कथाकार वासुदेव गुरागाईँले प्रकृति र मानवबीचको यथार्थ द्वन्द्व देखाएका छन् ।

वासुदेव गुरागाईँको यस संग्रहभित्रका हर कथाहरू छोटा र छरिता छन् । कथाहरूले सरलताको मार्ग समाएर नीतिलाई पाठकको मस्तिष्कमा सजाउने प्रयास गरेका छन् ।  शिक्षा, धर्म, राजनीति, समाज, मानव र प्रकृतिभित्रका विसङ्गति र विकृतिहरूलाई सूक्ष्म रूपले प्रस्तुत गरी पाठकहरूलाई समतामुखी समाजमा र प्रकृतिको यौवनामा विचरण गराउन स्वैरकल्पनामा रहेका कथाकार वासुदेव छोटा कथाहरू लेखनमा सफल छन् ।

आधा परिवेश बिग्रिसकेको हाम्रो लोक सुधार्न नीति, शिक्षा र अनुभवलाई शब्दमा उतारी पाठकलाई पस्किएका यी कथाहरूलाई सहरको अल्भी पाठकहरूलाई पठाउनु भन्दा पनि अब “अनुमानित निष्कर्ष’ छोटाकथाहरुको संग्रहहरूभित्र रहेका कथाहरूलाई देशको दूरदराजमा रहेका विद्यालयका कौमार्य पाठकहरूलाई पठाई उनीहरूको दिमागबाट सम्भावना र सत्मार्ग खोजिनु आवश्यक छ । यसो गर्न सकिएमा कथाकार वासुदेव गुरागाईँको भित्री आशयको जीत र “अनुमानित निष्कर्ष’ कथासंगहभित्रको कथाहरूले सही पाठक पाउने छन् । यस्तो परिपाटीको विकास गर्नु हाम्रो साहित्यलागि अति आवश्यक छ ।