फेन्टासी विधामा जेके रोलिङले बालबालिकालाई यसरी भुलाइन् कि उनी एक मात्र अर्बपति लेखिकाका रूपमा दरिइन् । यतिबेला फेन्टासी विधाका विविध प्रयोग साहित्य जगत्मा भइरहेको छ । पछिल्लो उदाहरण सारा जेनेट मास बन्न पुगेकी छन् । उनले ह्यारी पोटरभित्रका अचम्मका प्राणीहरूलाई आफ्नो प्रेरणा मान्दै यस्ता कथा बुनिरहेकी छन्, जसले ‘अश्लील’ साहित्य रूचाउने महिलाका लागि स्वादिला उपन्यास सर्जकका रूपमा चिनिन थालेकी छन् ।

खासमा साराले आफ्नो सिर्जनाको एक मात्र प्रेरणाको स्रोतका रूपमा लर्ड अफ दि रिङ र यसका सर्जक जे.आर.आर. टोकिन ठान्छिन् ।
बाल्यकालमा पढेका फेन्टासी लोककथाहरूबाट हुरूक्क भएकी उनको जीवनमा नयाँ मोड ल्याउने काम भने सन् २००१ को सेप्टेम्बर ११ को
घटनाले गर्यो । सारा संसार नै सिद्धियो कि झैँ मिडियाहरू आतङ्कवाद सिध्याउन लाग्दै गर्दा उनी भने लर्ड अफ दि रिङका सबै शृंखलाहरू
एकपछि अर्को गर्दै सिध्याइन् र दोहोर्याइरहिन् । यति पढिन् कि उनलाई त्यसका प्रत्येक पात्रहरू कण्ठस्थ भए । त्यसपछि उनले आफ्नै मिथकीय
पात्रहरू सिर्जना गरिन् र तिनलाई फेन्टासीको स्वादमा पस्कन थालिन् ।

यतिबेला ३७ वर्षकी मासका पात्रहरू लगभग अश्लील कोटीमा पर्न थालेका छन् । विगत १२ वर्षमा उनले एक दर्जन पुस्तक लेखिसकेकी छन्
। उनको लेखन प्रेमिलदेखि अश्लीलसम्म पर्ने भएकाले नयाँ विधा थपिएको छ, ‘रोमान्टासी’ अर्थात् रोमान्स फेन्टासी विधा ।

उनका किताब यति धेरै बिक्री भए कि प्रकाशक ब्लुम्सबरी यतिबेला मालामाल बनेको छ ।

त्यसो त उनको करियर पहिले यस्तो आकर्षक भने थिएन । सन् २०२० को कोरोना सङ्कट र विश्वव्यापी महामारीका कारण घरैमा थन्किएका
महिलाहरूको फुर्सद चोर्ने पुस्तकका रूपमा यो जन्मियो । जब टिकटकमा केही पाठकले यसका रसिला पङ्क्तिहरू वाचन गर्न थाले, सर्वसाधारणमा चासो बढ्न थाल्यो । र, अन्ततः उनका किताब बिस्तारै खासखुस खासखुस हुँदै बिक्री हुन थाले ।

यी पुस्तकका प्रशंसक र क्रेताहरूमा अधिकांश महिला रहेको बताइएको छ । अहिले उनका किताबमा आधारित ट्याटु बनाउने, रात्रिकालीन पार्टीको थिम बनाउने, लुगाको डिजाइन हुने तथा फिटनेसका चुनौतीजस्ता भिडियोसमेत बनाइन थालेको छ ।

सारा जे. मास

उनको लोकप्रियता कतिसम्म छ भने पछिल्लो पुस्तक हाउस अफ फ्लेम एन्ड स्याडो रिलिजको एक सातामा मात्र तीन लाख ६० हजार बिक्री भएको छ । मासका एक दर्जन पुस्तकहरूको बिक्रीको कुल संख्या चार करोड प्रति पुगेको छ भने प्रकाशकले शुरूवाती वर्षमा नौ करोड ८०
लाख कमाएकामा यतिबेला २४ करोड ६० लाख डलर उठाएको छ ।

सन्तान जन्माउन नसकेका एक जोडीले मासलाई छोरीका रूपमा घरमा भित्र्याएका थिए । मासले न्युयोर्कमा बाल्यकाल बिताइन् । उनका अभिभावक वकिल र न्यायाधीश छन् । धनी बाउआमाका कारण उनले न्युयोर्ककै सबैभन्दा महँगो स्कुलमा शिक्षादीक्षा लिइन् । उनी स्कुलमा
छँदै लर्ड अफ दि रिङ्स क्लब गठन गरेकी थिइन् ।

१६ वर्षको उमेरमा उनले पहिलो उपन्यास लेखिसकेकी थिइन्, थ्रोन अफ ग्लास । सिन्ड्रेलाको कथालाई बेग्लै पारामा उनले लेखेकी थिइन्, जहाँ मुख्य पात्र सेलेना नोकर्नी हुनुको साटो हत्यारा हुन्छे । सो कथामा राजकुमारलाई भेटेर बिहे गर्नुभन्दा पनि उसलाई हत्या गर्नु प्रमुख उद्देश्य हुन्छ ।

यसपछि उनी कलेज तथा विश्वविद्यालयमा सिर्जनशील लेखन पढिन् । कलेज पूरा गरेपछि उनले पुस्तक पसल बर्न्स एन्ड नोबल्सका तीन शाखामा जागिर खान निवेदन दिइन् तर असफल भइन् । पछि तिनै ठाउँमा उनका किताबहरू बेस्ट सेलरका रूपमा प्रदर्शित हुँदा उनी निकै रोमान्चित भइन् ।

सन् २०१० ताका उनले एक जना एजेन्ट फेला पारिन् । उनले ‘थ्रोन अफ ग्लास’ किताब देखाइन् र सो उपन्यास सन् २०१२ मा प्रकाशित भयो ।
यसपछि कलेज सकिएको बेरोजगारीका बेलामा ‘अ कोर्ट अफ थ्रोन्स एन्ड रोजेज्’ उपन्यास लेखिन् ।

उनका उपन्यासहरूमा तानाशाह छन्, गुमाउनुको पीडा र पाउनुको खुसी हुन्छन्, साथीभाइको सम्बन्ध, अचाक्लीको दुःखसँगै भिडन्त र केही सेक्स दृश्य पनि हुन्छन् ।

उनले विश्वविद्यालयमा पढ्दा आफ्नो पति फेला पारिन्, पछि बिहे गरिन् । उनी नै उनको प्रथम केटा साथी थिए । यतिबेला दुई सन्तानका मातापिता भएका छन् । उनको भनाइ छ, ‘मैले वास्तविक प्रेमका बारेमा लेख्न सक्नुका पछाडि वास्तविक प्रेम फेला पारेकाले पनि हुनसक्छ ।
मैले हरेक दिन प्रेमिल जीवन बाँचिरहेकी छु र प्रेमिल कुरा लेख्दा मलाई कुनै बनावटी कुरा खोजिरहनु पर्दैन ।’

अमेरिकामा रोमान्स विधाका पुस्तकहरू सबैभन्दा बढी बिक्री हुने गरेका छन् । तर यस्ता पुस्तकले भने समीक्षक र बुद्धिजीवीको ध्यान भने कहिल्यै आकर्षित गर्न सकेन । यसमा उनको आपत्ति छ, ‘सारा जनताले पढिरहेका कुरामा समीक्षक र बुद्धिजीवीहरूले सस्तो साहित्य भनेर बुझपचाएको देख्दा अनौठो लाग्छ ।’

अहिलेको समयमा कसैले कुनै पुस्तक पढ्न भनी उठाउनु भनेको चमत्कारभन्दा कम होइन । यस्तो बेलामा जुनसुकै विधाका पुस्तक उठाइएका भए पनि तिनलाई इज्जतका साथ हेर्नुपर्ने साराको आग्रह छ ।

यो आग्रह उनी लेखक भएका कारण मात्र होइन । ग्रोभ एटलान्टिक नामक प्रकाशक तथा पोहोर बुकर पुरस्कार हात पार्ने उपन्यास पल लिन्चको प्रोफेट सङका प्रकाशक यसलाई स्वीकार्छन् । भन्छन्, ‘रोमान्टासी विधा अचाक्ली बिक्री हुनु साँच्चिकै राम्रो कुरा हो । जुनसुकै विधाका
किताब भए पनि जब कसैले किन्छ, मलाई त असाध्य खुसी लाग्छ । यसमा नाक खुम्च्याउनु पर्ने कुरै छैन ।’

चलेकै बेला उनलाई लेख्न दबाब आइरहेका बेला वर्षमा दुई वटा किताब भ्याइरहेकी उनी यसलाई कम गर्ने प्रयासमा छिन् । उनका एक छोरा र एक छोरीले ज्यादै व्यस्त बनाएका कारण उनी वर्षमा एउटा किताब निकाल्ने पक्षमा छिन् तर के गर्नु, उनलाई यही बेला चार वटा उपन्यासका थिमले सधैँ थिचिरहेका हुन्छन् ।

बुकसप डट अर्गका संस्थापक एन्डी हन्टर्स भन्छन्, ‘प्रायः सामाजिक सञ्जालमा टेलिभिजन र फिल्म अनि सेलिब्रिटी गसिपको हल्ला भइरहेका बेला जब कुनै लेखक र उसको उपन्यासको चर्चा हुन थाल्छ, त्यो बेला हामीजस्ता किताबमै जीवन बिताउनेहरूको मज्जा दुई गुणा पुग्छ ।’

(फाइनान्सियल टाइम्सबाट अनुदित ।)