रानी भिक्टोरियाले यो युद्धलाई नजिकबाट हेरि रहनु भएको थियो। उहाँले युद्धका राज्य सचिव सिड्नी हरबर्टलाई एउटा चिठ्ठी लेख्नु भयो । उहाँका चिठ्ठीमा फ्लोरेन्स र उनका अरू साथीहरूलाई उहाँ धन्यवादी भएको कुरा बताई दिन भन्नु भएको थियो । उहाँले यो सन्देश पठाउनु भएको थियो ।

“हाम्रा आदरणीय घाइते र बिरामी सिपाहीहरू तिमीहरूको वास्ता, तिमीहरूको कष्टको अनुभव, तिमीहरूको साहसको प्रशंसा, तिमीहरूको बहादुरीको कदर तिमीहरूकी रानी र राजकुमारले सबैभन्दा बढी गरेका छौँ । रात दिन हामीले हाम्रा प्यारा सैनिकहरूको बारेमा सोच्छौ” ।

जब फ्लोरेन्सले चिठ्ठीको यो भाग प्रत्येक अस्पताल वार्डमा पढेर सुनाइन् सिपाहीहरू भावाकुल भए र कसैले त आँसु झारे । चिठ्ठीमा रानी भिक्टोरियाले आफूले गर्न सक्ने अरू केही छ कि भनेर सोध्नु भएको थियो । फ्लोरेन्सले तुरुन्तै पछि नहटीकन सैनिकहरूको तलब सम्बन्धी नियम परिवर्तन गर्न रानीको प्रभाव देखाउने कुरा राखिन् । रानीले यस विषयमा तुरुन्तै कदम चाल्नु भयो । त्यति मात्र हैन कि उहाँले एउटा पानीजहाज भरि टन्न सरसामानहरू पठाई दिनु भयो ।

यसमा वाटर बेडहरू, लुगाहरू, सुर्ती तमाखु खाने पाइप (सुल्फाहरू), लेख्ने कागजहरू, चिठ्ठी पठाउने लिफाहरू, मिठाई, बिस्कुट, साबुन, वाइन र अरू खाद्य पदार्थहरू, किताबहरू र खेलहरू थिए ।

सेलिना ब्रासेब्रिजले यो सित्तैको उपहारको जिम्मा लिइन र जहाँजहाँ खाँचो छ त्यहाँ बाडी दिइन् । यो बेलासम्म बेलायती जनताले समेत यस्ता कुराहरू दिन थाली सकेका थिए र स्टोरमा यी सामानहरू थपिन थाले ।

दि टाइम्स पत्रिकाका संवाददाता विलियम रसेल टर्की मै थिए । उनले यस्ता विभिन्न खालका रिपोर्टहरू पठाई रहेका थिए ।

तर त्यहाँ अझै केही अधिकारीहरू थिए जसले पहिलो रिपोर्टको सत्यतालाई इन्कार गरिरहेका थिए । टेलिग्राफ जस्तै फोटोग्राफ हालैको आविष्कार थियो । यसैले ती अधिकारीहरूले रसेल झुटो हो भन्ने साबित गर्न फोटो ग्राफर पठाउँथे ।

रोजर फेन्टनलाई अस्पताल भित्र छिर्न दिइएको थिएन । यसैले रसेलको रिपोर्ट झुटो थियो भन्ने प्रमाणित गर्न त्यसको जाँच गर्ने मौका मिलेन । मिलिटरी अधिकारीहरूले उनलाई क्रिमिया पठाएका थिए । उनले ३६० पट्टा फोटो लिएका थिए । तर कुनै पनि फोटो पत्रिकामा आएको थिएन । उनको धेरैजसो काम युद्ध क्षेत्रमा भएको थियो ।

फ्लोरेन्स आइपुग्नु भन्दा केही दिन अघि मात्र घाइते र मृत्युको मुखमा पुगिसकेका सिपाहीहरूलाई आत्मिक रूपमा विश्राम दिनको लागि च्याप्लिन ओसबर्न स्फुटारी पुगेका थिए। तर उनी त एम्पुटेशन गर्ने बेला सर्जनहरूलाई सघाउनतिर पो लागे । उनले आफ्नो नजिकको साथी सिड्नी हरबर्टलाई मिस नाइटिङ्गेल र उनका साथी नर्सहरूको उच्च प्रशंसा गर्दै चिठ्ठी लेखे । उनीहरू अर्थात् फ्लोरेन्सको टिम नभएको भए हामीलाई दोब्बर जनशक्ति चाहिन्थ्यो भनेर मारि स्टान्लिले अरू महिलाहरू भर्ती गर्दै छिन् भन्ने कुरा फ्लोरेन्सलाई चाहा थियो। तर सिड्नीलाई उनले (फ्लोरेन्सले अनुरोध नगरेसम्म अरू महिलाहरूलाई नपठाउन भनेकी थिइन्। अब सिड्नीलाई निश्चित भएन । उनी बढी काम गरेर चकित भएका हुन्थे। त्यहाँ ४४ जना महिलाहरू थिए । उनीहरू सबै जान चाहन्थे । यसैले सिड्नीले जाने अनुमति दिए ।

मारी स्टान्ली उनीहरूसित जाँदै थिइन् । उनको पार्टीमा १५ जना रोमन क्याथोलिक सिस्टरहरू थिए। २० जना नर्सहरू र ९ जना लेडीहरु तिनीहरू सबै नराम्ररी छानिएका थिए। लेडीहरु ननहरूको संगत गर्न चाहँदैनथे किनभने उनीहरू रोमन क्याथोलिक थिए ।

उनीहरू नर्सहरूसित पनि मिसिन चाहँदैनथे। किनभने उनीहरूले रक्सी खान्थे र नराम्रा शब्दहरू प्रयोग गर्ने। पूरा यात्रा भरी झगडा भएको थियो। र मारि स्टान्लिलाई तिनीहरूलाई कसरी अनुशासित गर्ने भन्ने कुरा थाहा थिएन । उनीहरू स्कुटारीमा डिसेम्बर १७, १८५४ का दिन पुगे । फ्लोरेन्स पुगेको ६ हप्ता पछि । त्यति बेलासम्म सबै कुरा राम्रो भई सकेको थियो ।

उनीहरूलाई भेट्न चार्लस् ब्रासेव्रिज फ्लोरेन्सको साथमा गए। उनीहरूलाई भेट्न र तिमीहरू यहाँ बस्न सक्दैनौ भन्न। कुनै कुनै रक्सीले हल्लिँदै थिए र यति मोटा थिए कि, झन्डैले डुङ्गा नै डुबाएका थिए ।

फ्लोरेन्स धेरै रिसाइन् । उनले डाक्टरहरू, अरू आर्मी अफिसरहरूको विश्वास जित्न कति कसरत गरिरहेकी थिइन् । उनको साथमा आएका अरू नर्सहरू कति अनुशासित थिए। तर यी आइमाईहरूले फ्लोरेन्सलाई चिनेकै थिएनन् र के भई राखेको छ केही पनि बुझेका थिएनन् । फ्लोरेन्स के गर्न के नगर्न सक्ने पदमा पुगेकी छिन् भन्ने तिनीहरूलाई थाहा थिएन । अर्कोतिर मारि स्टानलिले ती आइमाईहरूलाई आफ्नै तरिकाले काम लगाउने छिन् । उनीसित नर्सिङ ज्ञान केही पनि थिएन । परिणामस्वरुव सबैले सोचे जस्तै बेकामको भइने छ ।

तिनीहरूलाई १५ ब्रिटिस पाउन्ड दिएर २० माइल टाढा ब्रिटिस राजदूतको घरमा गएर बस्न पठाइन् । के गर्ने भन्ने कुरा म निर्णय गरेर बोलाउँछु भनिन् । एक हप्ता पछि मारि फर्केर आइन् र पैसा सकिएको कुरा बताइन् । फ्लोरेन्सले १०० पाउन्ड सापट दिइन र अरू ३०० पाउन्ड दिनेछु भनेर बाचा गरिन् ।

उनीहरू कुनै पनि तयारी नगरीकन आएका थिए । केही समय पछि उनीहरूलाई विभिन्न अस्पतालहरूमा काम गर्न पठाइयो । कुनै कुनैलाई क्रिमियामा पठाइयो । कसैकसैलाई समुन्द्री सैनिक अस्पतालमा पठाइयो । त्यो अस्पताल राम्रै अवस्थामा थियो किनभने समुन्द्री सैनिकहरू लडाइमा त्यति संलग्न भएका थिएनन् र बिरामी सङ्ख्या पनि थोरै थियो । अरूहरू ७५० बेड भएको अस्पतालमा पठाइए। १५ माइल टाढा कुलिली भन्ने ठाउँमा । पछि फ्लोरेन्सलाई थाहा भयो कि त्यहाँको स्थिति स्फुटारीको भन्दा पनि नराम्रो रहेछ । उनीहरूको प्रगति विवरण फ्लोरेन्स कहाँ आइरहन्थ्यो ।

उनीहरू फ्लोरेन्स कि दिदी पार्थेनोप जस्तै थिए । (पार्थेनोपले फ्लोरेन्सलाई नर्स हुनबाट रोक्न हरप्रयास गरेकी थिइन्) । उनीहरू दिनभरि राम्रा राम्रा लुगा लगाएर कहिले यता कहिले उता गरेर व्यस्त जस्तो देखिएर समय बिताउँथे । एकापसमा सानो-सानो कुरामा झगडा गर्थे । धेरैजसो जतिखेर पनि रक्सीले टिल्ल परेका हुन्थे ।

मारिले आफूलाई पठाइएको अस्पतालको खाना मिठो भएन, मलाई विशेष खाना चाहिन्छ भनेर ब्रिटिस राजदूतसित निवेदन गरेको कुरा सुनेर फ्लोरेन्स रिसले चुर भइन् । “उसले हेर्नु पर्ने बिरामीहरू भोकभोकै छन् । उसलाई विशेष खाना चाहिने” भनेर रिसले चुर भइन् फ्लोरेन्स । मारि स्टान्लि काम गर्न सक्ने जस्तो देखिइनन् वा उनलाई त्यहाँको मौसम मन परेन कि के हो केही हप्तापछि फर्कने बिचार गरिन् ।

फ्लोरेन्सले लिज हरबर्टलाई एउटा चिठ्ठी लेखेर अबदेखि यस्ता आइमाईहरू नपठाउन भनिन् । साँच्चिकै काम जानेकाहरू र साँच्चिकै काम गर्न सिक्न चाहनेहरूलाई मात्र पठाउन भनिन् । रक्सी खाने, मोटै न मोटा, हेर्दा पनि बुढी जस्ता देखिने त्यस्ताहरूलाई नपठाउन भनिन् । त्यस्ताहरूको लागि यहाँ ठाउँ छैन भनिन् । तर लिज आफैले छानेर राम्रो चरित्र भएका उत्तरदायित्व लिन सक्ने खालका महिलाहरूलाई पठाए राम्रै हुन्छ भनिन् ।

फ्लोरेन्सलाई सहयोग गर्ने उनका आफ्नै नर्सहरू बाहेक अस्पतालमा काम गर्ने मान्छेहरू थिए । यिनीहरूमा दयामाया, अनिच्छा, चिसो हृदय भएका र कुरताको मिसावट थियो ।

एकचोटी एकजना बिरामीले एउटी काम गर्ने आइमाइलाई धन्यवाद स्वरूप केही पैसा दिन खोज्यो । त्यो उसको हातमा देख्ने बित्तिकै उसको टाउकोमा हानेर त्यहाँबाट भागेर बेपत्ता भई त्यो आइमाई ।

कुनै कुनै काम गर्नेहरू मरिसकेका वा मर्न लागेको मान्छेको खुट्टामा भ्यागुता उफ्रने खेल खेल्न लागेको बेला पक्राउ खान्थे ।

अचम्मको कुरो त के भने अत्यन्त नम्र, अत्यन्त धन्यबादी बिरामीहरू सन्चो भए पछि त्यही काम गर्ने मान्छेको रूपमा काम गर्न थाल्थे र उनीहरू पनि त्यस्तै निर्दयी हुन्थे ।

तर सबै त्यस्ता हुँदैनथे । एकजना पेन्सन खाने आर्मी एकदिन आफूले आफैलाई यसो भन्दै थियो। “काम नलाग्ने सिल्ली, मूर्ख बुढो म। मैले अरूलाई सहयोग गर्न सकिन। तर त्यो मान्छेले बिरामी सिपाहीहरूको स्याहार सुसारमा र उनीहरूलाई आनन्द दिने काम गर्न हर प्रयास गर्दथ्यो ।

इन्केर्मान भन्ने ठाउँमा ११,००० रसियन सेनाहरू मारिएका थिए । जब जाडो सुरु भयो । बाँकी सेनाहरू न्यानो मौसम सुरु नहुँदासम्मको लागि सेवास्टोपोल कब्जा गर्ने कुरा स्थगित गरेर त्यहाँबाट भागे ।

जाडो मौसम नसकिँदै ब्रिटिस फौजको लागि न्यानो कपडा आयो ।

बालाक्लाभामा रसिएन सेनाहरूले हातले बुनेको कान ढाक्ने टोपी लगाएको देखिएको थियो। यो कुरा लेखेर घरमा (बेलायतमा) चिठ्ठी पठाए पछि आमाहरू, श्रीमतीहरू र दिदी बैनीहरूले त्यस्तै खाले टोपी हातले बुनेर पठाउन थालेका थिए ।

घोडचढी सैनिकका कमान्डर जेम्स रुडनेल जो कार्डिगानका सातौँ अर्ल थिए, उनले संधैजसो हातले बनेको ज्याकेट लगाउँथे । जब अरू सिपाहीहरूले यो कुरा लेखेर घर पठाए उनीहरूको लागि पनि यस्तै ज्याकेटहरू आउन थाल्यो र यसको नाम उनीहरूले कार्डिगान भनेर राखे ।

प्रचार कमान्डर लर्ड रेग्लानले यस्तै खाले ज्याकेट बनाउन सुरु गरे । वाटर लुको नेपोलियन लडाईमा उनले एउटा हात गुमाएका थिए। उनी बाक्लो खाले, पाखुरा ढाकिने, कपडाबाट बनेको ज्याकेटका सौखिन थिए । किनभने गर्हौं खाले कोट उनलाई असजिलो लाग्थ्यो। उनले यस्तै खाले कोटको बारेमा चिठ्ठीबाट बताए । यो सुनेपछि कार्डिगान कोट बनाउनेहरूले कोटको बाउलामा रेग्लान लेख्न थाले ।

सन् १८५५ को नयाँ वर्षसम्ममा क्रिमियामा ४०,००० सेना थिए । जसमध्ये २५,००० सेना बिरामी वा घाइते अवस्थामा थिए । त्यसमध्ये १२,००० सेना ब्यारेक भित्र कै अस्पतालमा थिए ।

लडाईमा लागेका घाउहरू देखिन कम हुन थाल्यो। तर अरू बिमारहरू नराम्ररी बढी रहेको थियो । र लडाईमा लागेको घाउ चोटबाट भन्दा अरू बिमारबाट सिपाहीहरू मरिरहेका थिए। दुई हप्तामा चारजना डाक्टरहरूको टाइफस भन्ने रोगबाट मृत्यु भयो । ब्याक्टेरिया सत्रौ शताब्दीमा पत्ता लागेको थियो । तर यसले रोग लगाउँछ भन्ने कुराको अनुभूति गरिएको थिएन । सन् १८४७ मा हंगेरियन डाक्टर इग्नाज सेमेल्वेजले बिरामीलाई छुनु भन्दा पहिले क्लोरिन पानीले हात धुँदा बिरामीको मृत्युदर घटेको कुरा देखेका थिए । तर किन त्यस्तो भयो भन्ने कुरा थाहा पाएका थिएनन् ।

स्कुटारीका एकजना प्रगतिशील डाक्टर यो सिद्धान्त जान्न इच्छुक थिए । एकजना काम गर्ने मान्छेलाई प्रत्येक बेडमा जाँदा उनलाई पछ्याउन लगाएका थिए । त्यो काम गर्ने मान्छेले एउटा भाँडामा पानी लगेर जान्थ्यो र उनले प्रत्येक बिरामीलाई हेर्नु भन्दा पहिले हात धुन्थे। तर हात पुछ्ने तौलियाको अभावमा एउटी नर्सले उनलाई हात ओबानो पार्नको लागि रुमाल दिन्थिन् । यिनै डाक्टरले घाउ सफा गर्दा छुट्टाछुट्टै स्वाबको प्रयोग गर्न थाले । यस अघि एउटै स्वाब पुरै वार्डका बिरामीहरूको लागि प्रयोग गरिन्थ्यो ।

यसबाट मृत्युदरमा कुनै फरक देखिएन । र अरू डाक्टरहरूले उनको गिल्ला गरेका थिए ।

यो एउटा हाँसो लाग्दो कुरो थियो कि युद्ध मैदान मै खुट्टा काटेको सिपाहीहरू जहाँ एनास्थेटिक नै थिएन, उनीहरू प्रायः छिटै सन्चो हुन्थे । तर अस्पतालमा क्लोरोफर्म भन्ने नदुख्ने औषधि प्रयोग गरेर अप्रेसन गरेका बिरामीहरूको घाउ झन् बिग्रँदै गएर केही दिनमै मर्थे । यसको कारण के हुन सक्छ भने फिल्डमा भएकाहरूको अप्रेसन उतिबेलै भएको हुन्थ्यो । उनीहरू तन्दुरुस्त अवस्थामा हुन्थे भने अस्पतालमा आउनेहरू दश दिन जति लगाएर अस्पताल आई पुग्नु पर्थ्यो । उनीहरूलाई अस्पताल ल्याई पुराउँदासम्म पानीजहाजको डेकमा एताउता पल्टिएर घाउहरू भैसकेको हुन्थ्यो । कतिपयको ढाडको छाला गई सकेको हुन्थ्यो । यो लडाईको बेला लागेको चोट भन्दा बढी पीडादायक हुन्थ्यो । उनीहरूको शक्ति घटिसकेको हुन्थ्यो । उनीहरूमा अप्रेसन सहन सक्ने क्षमता छिण भैसकेको हुन्थ्यो ।

सिपाहीहरूको दिनरात मृत्यु भई रहेको थियो । ती नर्सहरू अत्यन्त दुखित हुनु बाहेक अरू केही गर्न सक्ने उपाय थिएन ।

अस्पताल भनेको त सन्चो हुने ठाउँ हो । न कि मर्ने ठाउँ । तिनीहरूले प्रार्थना गरे कि कमसेकम कसैलाई त सन्चो भएको देख्न पाउँ भनेर । ताकि उनीहरूको प्रयास काम लाग्दो देखियोस् । तर यस्तो देखियो कि उनीहरूले गर्न सक्ने भनेको मृत्यु आई पुग्नु भन्दा पहिले दुःखमा आफू पनि दुःखित हुनु मात्र थियो ।

फ्लोरेन्स सधैँभरि कन्स्टान्टिनोपलमा ब्रिटिस राजदूतावासका कर्मचारी र आर्मी अफिसरहरूको ठुलो सहयोगी भएकी थिइन्। तर तिनीहरू त्यहाँ कहिल्यै आएनन् ।

फ्लोरेन्स संधैजसो सजिलै डिप्रेसनमा गए जस्तै कुनै बेला उनले आफूलाई एकदमै एक्लो महसुस गर्थिन् । सिड्नी हरबर्टलाई उनले लेखेको चिठ्ठीमा सिड्नी, ब्रासेव्रिजेज र उनी आफै बाहेक अरू कसैलाई केही वास्ता नभएको कुरा लेखेकी थिइन् ।

उनले तुरुन्तै उत्तरमा यस्ता कुरा लेख्दा होसियार हुनुपर्ने नत्र गलत मान्छेको हातमा पर्न सक्ने कुरा सम्झाएका थिए। उच्च ओहोदामा अझै पनि उनका विरोधीहरू थिए ।

त्यो जाडो मौसममा पाँच मैना भित्रमा ९,५०० जनाको मृत्यु भएको थियो । त्यसमा ८,००० जनाको हैजाको कारणले मृत्यु भएको थियो । फ्लोरेन्सले सिड्नी हरबर्टलाई फेरि चिठ्ठी लेखिन र सरकारलाई यस बारे छानबिन गर्न लगाउन भनिन् । यस्ता मृत्युहरू आवश्यक आपूर्तिको कमी र अस्पतालमा सरसफाइको कमिले गर्दा भएका हुन् भनेर छानबिन गर्न लगाउन अनुरोध गरेकी थिइन् उनले ।

सरकारले लडाईमा गरेको यस्तो लापरबाहीको फेब्रुअरी १८५५ मा सरकारको ठुलो आलोचना भएको थियो । यसबाट प्रधानमन्त्री तथा अवर्डिनका अर्लले राजीनामा दिनु परेको थियो । त्यसपछि फ्लोरेन्सका पुराना साथी लर्ड पाल्मर्सटन प्रधानमन्त्री भएका थिए ।

न्यू क्यासलका ड्युकले पनि राजीनामा गरे। उनी युद्धको लागि राज्य सचिव थिए । त्यसपछि लर्ड पानमुर र फेरि त्यसपछि अर्ल डालहाउजिले त्यो पद सम्हाले । लर्ड पानमुरले फ्लोरेन्सलाई चिनेका थिएनन् । तर उनको बारेमा सिड्नीबाट धेरै कुरा सुनेका थिए । उनी फ्लोरेन्सको प्रशंसा गर्न आएका थिए ।

उनी एउटा कूटनीतिज्ञ थिए । उनी विरोधीलाई रिस नउठाईकन कसरी आफ्नो काम बनाउन सकिन्छ भन्ने कुरा जान्दथे । उनले तुरुन्तै एउटा छानबिन टोली बनाएर स्कुटारी पठाए । सुधारको लागि जस्तोसुकै प्रस्ताव आएपनि तुरुन्तै लागू गर्ने अधिकार दिएर पठाए ।

डाक्टर जोन सुदरल्याण्डले यो छानबिनको नेतृत्व गरे र उनका सहकर्मीहरू लिभरपुलका स्वास्थ्य निरीक्षक र स्कटल्यान्डका गरिब उद्धार बोर्डका सदस्य थिए ।

जब अप्रिलमा उनीहरू त्यहाँ पुगे उनीहरूले यो कुरा पत्ता लगाए कि खानेकुरा दूषित थियो । मरेका जनावरहरू खानेपानीको मुहानमा सडेका थिए ।

त्यही मुहानबाट पानी अस्पतालसम्म आएको थियो । अस्पताल बाहिर चौरमा पच्चीसबाट मरेका सिनोहरू भेटियो। अस्पताल भवन मुनि नालीमा धेरै मुसाहरू यताउता गरिरहेका थिए ।

त्यो नाली सफा गर्ने आदेश दिइयो । भित्ताहरू सफा गर्न लगाइयो। कुनै पनि नयाँ बिरामीलाई पुरानो लुगामा सुताउन नपाउने आदेश भयो । र फोहोर लुगा लत्ता जलाउनु पर्ने आदेश भयो । यो ठुलो सरसफाइ अभियानको एक मैना पछि मृत्युदर ४२ प्रतिशतबाट घटेर २ प्रतिशतमा झर्‍यो । तर २,००० जना अरू थप सिपाहीहरूको यसै बिचमा मृत्यु भइसकेको थियो ।

जाडो मौसमको अन्त हुन लागेको थियो । जब हिउँ पग्लिन सुरु गऱ्य फेरि एकदम जाडो हुन थाल्यो । हिउँ पग्लिँदा पनि अझै घुँडासम्मको हिउँ बाँकी नै थियो। रोग बिमारबाट हुने मृत्यु सङ्ख्या त घट्यो तर घाइते हुनेहरूको सङ्ख्या बढिरहेको थियो । र मृत्युदर पहिलेको जस्तै बढ्दै थियो । लासहरू उनीहरूले लगाएकै कमिजसित कम्बलमा बेरिन्थ्यो । अव अर्को आदेश दिइयो । मृत शरीरलाई कम्बलले बेरेर नगाड्ने र मरेकाहरूले लगाएको लुगा पनि निकाल्ने ताकि अरूको लागि प्रयोग गर्न सकियोस् ।

जब यो कुरा उता बेलायतमा थाहा भयो, मान्छेलाई कुकुरलाई कै नाङ्गै बनाएर गाड्ने भनेर जनताहरू रिसले कराउन थाले । त्यसपछि तुरुन्तै बोरामा हालेर गाड्ने भन्ने आदेश दिइयो । दिनैपिच्छे नर्सहरू झ्यालमा उभिएर मलामीहरू लर्याङ्ग लर्याङ गर्दै हिँडेर मान्छे गाड्ने ठाउँतिर गएको हेर्थे । मान्छे गाड्नेहरू वार्डका काम गर्ने मान्छेहरू जस्तै भुईँ पुछ्नेहरू हुन्थे । मर्नेहरूको लागि शोक गर्ने कोही हुँदैनथ्यो । मृत शरीर गाड्नु भन्दा पहिले राख्ने बाकस पनि थिएन । बेलाबेलामा लास बोक्नेहरू थाकेर बिसाउँथे र पाइप तान्थे अर्थात् चुरोट कक्कड खान्थे । हाँसो ठट्टा गर्थे । त्यसपछि लास बोकेर फेरि आफ्नो यात्रा सुरु गर्थे ।

लास एउटा ठुलो चारपाटे खाडलहरूमा गाडिन्थ्यो । जब त्यो खाडल पूरा भरिन थाल्थ्यो साबेलले माटो हालेर ढाकिन्थ्यो र मान्छेहरूले त्यहीँ माटोमाथि खुट्टाले थिचे ।

एउटा सानो, शान्त कोठामा प्रत्येक बिहान फ्लोरेन्स र ब्रासेब्रिजको परिवारले अरू नर्सहरूसित प्रार्थना गर्थे । रोमन क्याथोलिकहरुको ठुलो सभा हुन्थ्यो । हिँड्न सक्ने घाइतेहरू ती दुई मध्ये एकमा जान्थे। तर बेडबाट उठ्न चल्न नसक्ने घाइतेहरू प्रार्थनाको लागि अर्ज बिन्ती गर्थे। च्याप्लिन (पाष्टर) लाई वार्डमा जान दिँदैनथ्यो । कारण त्यहाँ अरू धर्मका बिरामी, घाइतेहरू पनि हुन्छन्, उनीहरूलाई बाधा पर्छ भनेर ।

एक जना कर्नेल जब उनी सन्चो भए, उनले यो कुरा पत्ता लगाए कि यस्तो खालका नियमहरू आर्मीलाई लागू हुँदैन। यसैले उनले यो कामको जिम्मा लिए र सबै वार्डहरूमा गएर प्रार्थना गर्न थाले ।

मिस टेबिट नाम गरेकी एउटी नर्स त्यहाँ थिइन् । उनी युनिटारियन विश्वासी थिइन् । उनलाई यो थाहा भयो कि उनको आफ्नै भदै त्यहाँ कतै वार्डमा छ। उनी उसलाई खोज्दै भेट्न पुगिन् । त्यसवेला उसले उनीसित “खिस्टियन वर्ष” भन्ने किताब सापट माग्यो । यो किताब उसले पढी सकेपछि उ सुतेको बेडको छेउमा राखेको थियो । एक जना च्याप्लिनले यो देखेर के म यो लगेर पढ्न सक्छु ? भनेर सापट मागे ।

केही दिन पछि मिस टेविटले त्यो किताब फिर्ता मागिन् । त्यसबेला उनलाई आफ्नो धर्म प्रचार गरेर मान्छेहरूलाई आफूतिर तान्न खोजेको आरोप लाग्यो । नियम तोडेको आरोप पनि उनी माथि लाग्यो । त्यो किताब युद्ध अफिसमा पठाइयो । स्कुटारीमा कस्तो खालको हठ धर्म (Bigotry) प्रचार भई रहेको छ भनेर थाहा दिन त्यो किताब त्यहाँ पठाइएको थियो ।

त्यो किताब युद्ध अफिसमा जसको हातमा परेको भएपनि यस कुराको बुद्धिमानी ढङ्गले बेवास्ता गरियो । केही मैना पछि एकदम राम्रो काम गर्ने नर्स भएकीले मिस टेविटलाई निरीक्षकमा बढुवा गरेर अको अस्पतालमा पठाइयो ।

फ्लोरेन्सको नेतृत्वमा अहिले ब्यारेक अस्पतालहरूमा सरसफाइमा धेरै सुधार आएको थियो । खानेकुराको बारेमा पनि केही सुधार आएको थियो । तर सन्तोषजनक थिएन । बिरामी सिपाही जसलाई उनले छोराहरू भन्थिन् उनीहरूले अझ राम्रो खान पाउनु पर्छ भन्ने उनको धारणा थियो ।

उनले लन्डनमा रिफोर्म क्लव भन्ने खाना बनाउने रेस्टुरेन्टलाई एउटा चिठ्ठी लेखेर पठाइन र त्यहाँबाट सबभन्दा असल खाना बनाउन जान्नेहरू (सेफ) इटालीमा आएर यहाँका खाना बनाउन नजान्नेहरूलाई सिकाउँछन् कि भनेर आग्रह गरिन् ।

एक जना आलेक्सिस सोएर भन्ने सेफ आफू जान तयार भए र आफ्नो साथमा अरू चारजना सेफहरू लगेर जान तयार भए र लगेर गए ।

पकाउने आवश्यक भाँडाकुँडा र अरू चाहिने सरसामान जम्मा गरी सकेपछि त्यहाँका काम गर्ने मान्छेहरूलाई सिकाउन थाले । यी खानेकुराहरू देख्दैमा खाऊ खाऊँ लाग्ने, भोक जगाउने खालका थिए । यसबाट त्यहाँका बिरामी तथा घाइते सिपाहीहरू उनीसित धेरै खुसी भए ।

अब मर्नुको सट्टा उनीहरू सन्चो हुँदै जान थाले । उनीहरूले घरमा फ्लोरेन्सको बारेमा लेखेर पठाउन थाले ।

फौजीहरू जो सन्चो भएर आफ्नो घर बेलायत फर्कन तयार थिए, उनीहरूले त्यो सबै कुरा फ्लोरेन्सले छोटो समयभित्र गर्न सकेको कुरा बताउँथे ।

अब मृत्युदर घटिसकेको थियो । अस्पताल सफा भएको थियो । खानामा सुधार आएको थियो । यसैले फ्लोरेन्सले अरू कुराहरूको सुधार गर्ने बिचार गरिन् ।

एउटा मनोरञ्जन कोठा छुट्याइएको थियो । त्यहाँ पढ्ने, लेख्ने कामहरू हुन्थ्यो । जो पढ्न लेख्न नजान्ने, निरक्षरहरू थिए । उनीहरूको लागि फ्लोरेन्सले दुईजना शिक्षकहरू बेलायतबाट झिकाइन् । उनले किताबहरू, कापीहरू, लेख्ने कागजहरू, कलमहरू, मसी, खेलहरू, फुटबलहरू, चेस र छोटो नाटक लेखेको किताबहरू पनि मगाइन् ।

बुढा बुढा अफिसरहरू रिस र डाहाले चुर हुन्थे । यस्ता काम नलाग्ने केटाहरूलाई यस्ता यस्ता राम्रा राम्रा कुराहरू दिने भनेर उनीहरू डाहा गर्थे। फ्लोरेन्सको अर्को प्रोजेक्ट थियो, ती सिपाहीहरूले आफूले पाएको तलबबाट केही पैसा घर पठाउने व्यवस्था मिलाउनु । उनको यो विचार मिलिटरी अफिसरहरूले हाँसोमा उडाई दिए। उनीहरूले भने, “यिनीहरूले पाउने तलबको पैसा यिनीहरू आफैले उडाएर सक्छन् । जाँड रक्सीमा, सुर्ती तमाखु आदिमा ।” ती अफिसरहरूले भनेको कुरा गलत साबित भयो । पहिलो मैनामै ११,००० पाउन्ड घर परिवारको लागि बेलायत पठाइयो ।

फ्लोरेन्स मिलिटरि अफिसरहरूको सोचाई बदल्न सक्छ भन्नेमा कडा विश्वास गर्थिन् । सिपाहीहरू बन्दुके मात्र हुन् भन्ने सोचाई राख्नु हुँदैन । तल्लो स्तरकाहरु हुन् भन्ने सोचाई पनि राख्नु हुँदैन । उनीहरूले अरूलाई बचाउनका लागि आफ्नो जीवन र हातखुट्टा गुमाएका छन् । त्यही समाजको लागि जसले उनीहरूलाई तल्लो दर्जाको भन्छ । यसैले भविष्यमा उनीहरूले समाजबाट पाउनु पर्ने आदर सम्मान पाउनै पर्छ ।

सबै कुरा राम्ररी मिलेपछि उनले एक जना घाइते सिपाहीले भनेको कुरा सम्झिन् । उसले भनेको थियो कि बालक्लामाको तुलनामा स्कूटारी त स्वर्ग जस्तै थियो । अव जाने ठाउँ भनेको क्रिमिया हो । अर्थात् फ्लोरेन्स जाने ठाउँ । स्कुटारीको मिसन सकियो ।