१. मदनदास श्रेष्ठलाई पखाला चलाउने दरबारको डाइट

मदनदास श्रेष्ठ

कुरो कलाकार मदनदास श्रेष्ठको हो । मदनदास अर्थात् नेपाली रेडियो नाटकका पर्याय । यसभन्दा पढी परिचयको जरुरत् उनलाई छैन । अब सिधै दरबारतिरै हानिऔँ ।

अँ, कुरो २०२७ सालको हो । दरबारका लागि एउटा नाटक मञ्चन गर्नुपर्ने भयो । उक्त नाटकका एक कलाकार मदनदास पनि थिए । त्यसबेला नाटकको अभ्याससमेत दरबारबाटै हुन्थ्यो । उनीहरुलाई नाटक सिकाने कामचाहिँ नीरविक्रम प्यासीको थियो ।

एकदिनको कुरो हो । तत्कालीन राजा महेन्द्रले कसैलाई साधेछन्, ‘कलाकारहरुको अवस्था कस्तो छ ?’

दरबारको एक सचिवले भनेछन्, ‘नाटकको अभ्यास गरेपछि कलाकारहरु बाहिर गएर चना–चिउरा खान्छन् ।’

राजाले तत्कालै कलाकारहरुलाई राम्रो डाइट खुवाउन आदेश दिएछन् ।

राजाको आदेशपश्चात् भयो के त भन्दा, दरबारले नाटक अभ्यासका लागि प्रतिव्यक्ति ३० रुपियाँको दरले खाजाखर्च पठायो । त्यसबेलाको ३० रुपियाँ, जतिबेला नाटकको पारिश्रमिक नै प्रतिदिन ५–७ रुपियाँ हुन्थ्यो । मदनदासलगायत तिनछक्क पर्ने नै भयो ।

नयाँपत्रिकाका पवन बराइलीसँगको संवादमा मदनदासले भनेका छन्, ‘त्यसपछि बिहानको खाजा खान सबै व्यवस्था हुने भयो । त्यसवेला डेरीको दूध बोतलमा पाइन्थ्यो । सबैलाई एक–एक बोतल दूध र अन्य डाइट दिइयो । तर, दरबारको डाइटले नाटक अभ्यास गर्न झनै नसक्ने भयौँ । किनकि, हामी सबैलाई पखाला लाग्यो । पखालाले हामी शिथिल पो भयौँ ।

तीन–चार दिनपछि पुनः दरबारका मान्छे नाटकको अभ्यास हेर्न आए । तर यता कलाकारहरुले डाइटले बिरामी परेका थियो । त्यसपछि झन् के थियो, दरबारले कलाकारलाई कसरत गराउन उर्दी जारी गर्यो । र, आर्मी नै झिकाएर नाटकका लागि बिहान बिहान कसरत सुरु भयो ।’

कुरो सकियो ? सकियो सकियो । तर अलिकित मदनदास श्रेष्ठलाई नै पढिहाल्नुहोस्, ‘त्यसपछि बिस्तारै नाटक अभ्यास सकेपछि नाटक मञ्चन भयो । कलाकारलाई घरघर पुर्‍याउनका लागि गाडीको व्यवस्था पनि थियो । त्यसवेला नाटक गर्न निकै सकस हुन्थ्यो । नाटकका लागि बत्ती, पर्दाजस्ता सामग्रीको अभाव हुन्थ्यो । त्यो अभाव देखेर दरबारले पर्दा र बत्ती बेलायतबाट मगाएको थियो ।

अँ, ‘मदनदास श्रेष्ठका सात किस्सा : दरबारको डाइटले पखाला लाग्यो‘ नयाँ पत्रिकाको शनिबारीय विशेष ‘झन् नयाँ’मा पवन बराइलीका शब्दमा पढ्न सक्नुहुन्छ ।

===

२. पृथ्वीनारायण शाहको मृत्युको कारण के थियो ? यस्ता छन् इतिहासकारका दाबी

आज कुरा गरौँ आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको । तर उनको जन्म र जीवनको होइन, मृत्युको ।

कुरो के भने – पृथ्वीनारायण शाहको मृत्यु कसरी भएको थियो ? – प्रश्न यही हो । तर यसका कुरा भने अनेक छन् ।

वि.स. १७९९, चैत २५ गते २० वर्षकै उमेर गोर्खाका राजा बनेका शाहले ३२ वर्ष राजकाज गरे । र, ५२ वर्षको उमेरमा उनको निधन भयो । उनको निधन १८३१ सालको माघे सङ्क्रान्तिका दिन नुवाकोटमा भएको थियो । यहाँसम्म सबै ठिकठाक छ । तर उनको मृत्यु कसरी र के कारणले भएको थियो ? – योचाहिँ अहिलेसम्म नसुल्झेको प्रश्न हो ।

शाहको जन्म, शासनकाल तथा मृत्युको स्थानका बारेमा इतिहासले एकै कुरा भन्छ । तर मृत्युका बारेमा भने इतिहासकारहरुको मत एकआपसमै बाँझिएको छ । आफैँ इतिहास भइसकेका व्यक्तिका बारेमा थाहा पाउन इतिहास तथा इतिहासकारको सहारा नलिई उपाय छैन । फरक फरक इतिहासकारले फरक फरक कारण उल्लेख गरेका कारण उनको मृत्यु यसै कारणले भएको हो भनेर यकिन गर्न गाह्रो छ ।

अँ, अब इतिहासकै सहारा लिऔँ । इतिहासकारकै मतहरु हेरौँ ।

इतिहासकार रामजी उपाध्यायका अनुसार शाहको मृत्यु बाघको आक्रमणबाट भएको थियो । उनी ‘नेपालको इतिहास अर्थात् दिग्दर्शन’मा लेख्छन्, ‘पृथ्वीनारायण शाह सिकार खेल्न नुवाकोट पुगेका थिए । त्यहाँ प्रतिदिन सिकार गरेर एक महिना बितिसकेको थियो । एकदिन सिकार खेल्न जाँदा जङ्गलबाट एउटा भीषण बाघ बाहिर निस्किएर उनलाई आक्रमण गर्यो । उनले त्यस बाघलाई मार्न सकेनन् र त्यसैबाट उनको मृत्यु भयो ।’

नेपाली इतिहाससँगै जोडिएर आउने नाम हो सूर्यविक्रम ज्ञवाली । उनले आफ्नो पुस्तक ‘पृथ्वीनारायण शाह’मा लेखेका छन्, ‘तत्कालीन सिक्किम र तिब्बततिरका मानिसहरुले सुनेअनुसार शाहको जिउमा फोकैफोका आएका थियो, र त्यही घाउका कारणले उनको निधन भयो ।

इतिहासकार भगिराज इङ्नामले २०७९ पुसमा अन्नपूर्णमा प्रकाशित एक लेखमा उल्लेख गरेका छन्, ‘श्री ५ महाराजा पृथ्वीनारायण शाह नुवाकोट पाव लाग्नुभएको थियो । श्री ५ साहेब ज्यू सिंहप्रताप साह ञाहा हुनु हुन्थ्यो । तस्तै बीचमा बलभद्रले भडारषालमा सिवावलि दियो । तेसै दिन श्री ५ महाराजालाई बेथाले समात्यो । तेस्को आठौँ दिनमा श्री ५ महाराज पृथ्वीनारायण शाह श्री देवीघाटमा परलोक हुनु भयो ।’ यस लेखमा इङ्नामले ‘परराष्ट्र मन्त्रालयले राष्ट्रिय अभिलेखालयमा बुझाएको अभिलेख लिएको’ भनी उल्लेख गरेका छन् ।

काशीप्रसाद श्रीवास्तवको दिल्लीबाट प्रकाशित ‘नेपाली कहानी’मा भने गण्डक नदीको तटमा मोहन तीर्थमा एउटा सिँहसँग युद्ध गर्दागर्दै शाहको निधन भएको उल्लेख गरिएको छ ।
चार इतिहासरकार, चारै कुरो ! कुनलाई मान्ने आधिकारिक ? तर माथि उल्लेख गरिएको मध्ये कुनै एक त तपाईँलाई पनि पक्का थियो होला ! वा अन्य कुनै नयाँ कारण पो थाहा छ कि ! छ भने स्तम्भकारलाई सुटुक्कै भन्नुहोस् ल !

अन्त्यमा, चारलाई पाँच बनाऔँ । नेपाली इतिहास लेखनका हस्ती बाबुराम आचार्यले लेखेको कुरालाई विश्वास गर्दा उनको ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’मा माथिका दुईभन्दा फरक तथ्य उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘नुवाकोटमै रहँदा ज्वरोले सिकिस्त भएपछि पृथ्वीनारायण शाहलाई राजवैद्यहरुबाट उपचार सम्भव नभएपछि तादी र त्रिशूलीको दोभानस्थित देवीघाटमा लगिएको थियो । त्यहीँ ९ दिनपछि बिहान ७ बजे उनको मृत्यु भयो ।’

कुरो सकियो । तपाईँ माथि उल्लेखितमध्ये कुन कारणमा सहमतिको नजिक पुग्नु भयो ?

===

३. ज्यानमारा ‘एग फ्राई राइस’

आउनुस्, एउटा कथा सुनाउँछु । पत्याउने या नपत्याउने स्वतन्त्रता तपाईँलाई नै जिम्मा लगाउँदै अघि बढ्छु ।

एक समयको कुरो हो । चीनमा माओ जेदोङ नामका अत्यधिक शक्तिशाली नेताको शासन थियो । उनका छोरी थिए, माओ एनिङ ।

त्यो कोरियाली युद्धको समय थियो । कोरियामा पनि कम्युनिस्टहरुकै शासन थियो । कोरियामा कम्युनिस्टहरुको शासनलाई कायमै राख्न जेदोङले छोरा एनिङको नेतृत्वमा सेना पठाए । युद्ध दुवैतर्फ घमसान चल्यो । दुवैतर्फ भयानक क्षति पुग्ने नै भयो । तर सबैभन्दा ठुलो क्षतिचाहिँ माओ जेदोङले नै बेहोर्नु पर्यो । कारण, उनका छोराले सहादत प्राप्त गरे ।

भएको के थियो भन्दा छोरो माओलाई भोक लागेको थियो । उनी युद्ध क्याम्पमै थिए, उनलाई अण्डा–भात (एग फ्राई राइस) खान मन लाग्यो । उनले खाना खानेबेला भएपछि वरिपरिका झिँगडी भेला पारे र एग फ्राई राइस बनाउन तयार भए । खाना बनाउने क्रममा झिँगडीबाट धुवाँ पुत्पुतायो । त्यो धुवाँ नजिकै रहेका अमेरिकी सैनिकहरुको आँखामा पर्यो । र, उनीहरुले धुवाँलाई निसाना बनाई रकेट छोडे । यसरी, सन् १९५० नोभेम्बर २५ का दिन दुर्भाग्यपूर्ण तवरले माओ एनिङको ‘एग फ्राई राइस’का कारण मृत्यु भयो ।

तपाईँलाई यो कथा हावा लाग्न सक्छ । तर कुरो अझै बाँकी छ । अन्त्यमै नपढी नतिजामा पुगिहाल्नु हुँदैन ।

यो कथा केही समयअघि चिनियाँ सेफ वाङ ग्याङले ‘एग फ्राई राइस’ पकाउने कला सिकाउँदा सुनाएका थिए । ग्याङले रमाइलोका लागि यो कथा सुनाएका थिए जुन रमाइलो उनका कारण उनले अनेकन झमेला सहनु पर्यो ।

अब झमेलातिर लागौँ ।

झमेला के भने, सन् २०१८ मा चीनले एउटा विधेयक पास गरेको छ । जुन विधेयकमा राष्ट्रिय नायक तथा सहिदहरुप्रति कुनै पनि किसिमको अपमानजन व्यवहार गर्न नहुने उल्लेख गरिएको छ । अब वाङले गरेनन् त संविधानको उलङ्घन ?

अँ, वाङले यो भिडियो चिनियाँ युट्युब वेइबोमा हालेका थिए जहाँ उनका करिब ३३ लाख फलोअर थिए । त्यहाँ उनले यति धेरै गाली पाए कि अन्ततः माफी माग्दै उक्त भिडियो हटाउन बाध्य भए ।

अब कुरो के रह्यो भने, माथिको कथामा सत्यताचाहिँ कति छ ? – चीनको इतिहासमाथि काम गर्ने आधिकारिक संस्था ‘द चाइनिज एकेडेमी अफ हिस्ट्री’ले माओ एनिङको यो कथा वाहियात भएको बताएको छ । तर पनि, यो कथा चीनमा यति बदनाम छ कि, कसैले पनि चिनियाँ रेस्टुराँमा ‘एग फ्राई राइस’ माग्यो भने माओलाई नै अपमानित गरेको ठहरिन्छ ।

अन्ततः कुरो सकियो । यस्ता, विश्वका अनौठा कुराहरु थाहा पाउनचाहिँ लेखक तथा पत्रकार अच्युत कोइरालाको नागरिक नियमित स्तम्भ ‘यस्तो पनि !’ लाई पछ्याउनु पर्ने हुन्छ ।