My madness is dear to me. 

–        Allen Ginsberg

सम्भवत: सन् १९७० को एउटा कुनै महिनाको घटना हो, मलाई स्पष्ट सम्झना भएन । नयाँसडक पिपलबोटको जमघटमा मेरो भेट भएको थियो ऊसित । लंगडो र बहिरो त्यो जिनियससित म पहिलो भेटमै अत्यधिक प्रभावित भएको थिएँ ।

‘सन्तोष भट्टराई !’ पद्मोदय हाइस्कूल पढ्दाको मेरो एउटा सहपाठीले परिचय गरायो ।

‘जनकपुर कलेजमा पढ्थेँ । विद्यार्थी हडताल थियो । प्रिन्सिपललाई कुट्न नेतृत्व गरेको अभियोगमा म अहिले वारेन्टेड छु । त्यसैले भागेर काठमाडौं आएको’, सन्तोषले भन्यो ।

त्यसबेला नयाँसडकमा त्यस किसिमको निर्भीक अभिव्यक्ति पचाउने वातावरण थिएन । बोल्दा ज्यादै होस पुर्‍याउनुपर्थ्यो । त्यहाँ जताततै जासुसहरको पहरा हुन्थ्यो र उनीहरुका संवेदनशील कान सदैव जागा रहन्थे । त्यसैले धेरै मानिस सरकार र प्रशासनविरोधी कुरा गर्न डराउँथे ।

कुराकानी अझै अगाडि बढेपछि सन्तोषले भन्यो, ‘म कथा लेख्छु । आँखा पत्रिमा पनि एउटा छापिएको छ । पढ्नुभएन ?’

म भर्खर साहित्यतिर लागेको सिकारु थिएँ । ‘आँखा’ नामको पत्रिकाबारे केही थाहा थिएन मलाई । त्यसैले मैले भनेँ, ‘पढ्न पाएको छैन । खोजेर पढौंला ।’

त्यसैदिन उसले लेखनबारे आफ्नो मान्यता छोटकरीमा सुनायो । प्रगतिवाद र अराजकतावादको सिमानामा उभिएको थियो ऊ । उसले भन्यो, ‘हामीले आजसम्म समाजमा स्थापित तमाम मान्यताको विरोध गर्नुपर्छ । विद्रोह हाम्रो पुस्ताको महत्त्वपूर्ण विशेषता हो । म विद्रोह लेख्न चाहन्छु, आफ्ना कथाहरुमा ।’

मैले केही टिप्पणी गर्न सकिन । किनभने मेरो आलोचनाके सामर्थ्य अपर्याप्त थियो । अझै म नेपाली भाषाका धेरै शब्द बुझ्न असमर्थ थिएँ ।

छुट्टिने बेला उसले भन्यो, ‘भोलि पनि यहीँ भेटौं न, ल !’

‘हुन्छ’, मैले स्वीकृति दिएँ ।

सन्तोषसितको बारम्बारको भेट मेरा निम्ति अरु बढी आकर्षक र फलदायी रह्यो । त्यसताका म एकदमै निराश थिएँ । निराशाका थुप्रै कारण थिए । तीमध्ये मेरो पढाइमा उत्पन्न कठिनाइ प्रमुख थियो । बालककालदेखि नै ममा आफ्नो अस्तित्वबारे उग्र महत्वाकांक्षा थियो । सानो छँदा कक्षामा कसैले जितेनन् मलाई । पछि अलि हुर्किएपछि पनि म आफ्ना समकालीनमा सबैभन्दा तीक्ष्ण थिएँ । आठ कक्षासम्म पहिलो-दोस्रोको स्थितिमा रहेर उत्तीर्ण भएँ । एसएलसी पास गरेपछि मेरा पिताजीको आकांक्षा थियो, म डाक्टर बनूँ । तर, आईएस्सी मेरा निम्ति कठिन पहाड झैं गह्रुंगो बन्यो । भौतिकशास्त्र र जीवविज्ञानका ठेलीले मलाई किच्न थाले । जीवनमा पहिलो पटक अनुभव भयो- म एउटा असहाय यात्री भएर घना कुहिरोमा हराएको छु । त्यसैले मैले विज्ञान पढ्न छोडिदिएँ ।

त्यसपछि एउटा पीडित बेरोजगार झैं सडक नाप्नु मेरो नियति बन्यो । सुरुमा पढ्न छोडेको कुरा घरमा कसैलाई थाहा भएन, तर पनि मेरो भने अपराधबोधले आक्रान्त बन्न थाल्यो ।

बहुतै कष्टकर समय थियो त्यो मेरा लागि । मानसिक यातनाबाट मुक्त हुन म निकास खोज्दै थिएँ । त्यसैले मैले रोजेँ- साहित्य अध्ययन र सिर्जनाको चुनौतीपूर्ण यात्रा । म चाँडोभन्दा चाँडो धेरै कुरा सिक्न चाहन्थेँ । त्यो उद्देश्यमा मेरो सन्तोषसित परिचय अत्यत्नै फलदायी भएको मलाई अनुभव भयो ।

म एकातिर असफल भए पनि अर्कातिरबाट त्यसको क्षतिपूर्ति चाहन्थेँ । त्यसैबेला गिन्सबर्गको नाम सन्तोषकै मुखबाट सुनेँ ।

‘एलेन गिन्सबर्ग अमेरिकी कविताको इतिहासमा वाल्ट ह्विटम्यानपछिको सबैभन्दा प्रखर र शक्तिशाली कवि । परिवार, समाज, राज्य, युद्ध, सभ्यता र संस्कृतिका परम्परागत संरचनाको नग्नताबारे उसको साहसपूर्ण अभिव्यक्तिबाट म धेरै प्रभावित छु ।’

सन्तोषले यस्ता थुप्रै कुरा गर्‍यो ।

एक साँझ उसले भन्यो, ‘मेरो डेरामा हिँड्नोस् ।’

‘भाइ एक्लै छ । ऊसित पैसा छैन । म गइनँ भने भोकै पर्छ’, मैले भनेँ ।

‘त्यसो भए पहिले तपाईंको डेरामा जाऔं । तपाईं भाइलाई पैसा दिनोस् अनि मेरो डेरामा जाऔं । म तपाईंलाई रक्सी ख्वाउँछु । खूब रक्सी खाएर मात्न मन लागेको छ, आज मलाई ।’

‘रक्सी मैले आजसम्म छोएकै छैन । हाम्रो गाउँमा रक्सी खाने मानिसलाई अत्यन्त घृणा गर्छन्’, मैले भनेँ ।

‘त्यसो भए तपाईं अझै बालक हुनुहुँदो रहेछ ।’

‘किन, रक्सी नखाने जति सबै बालक हुन्छन् ?’

‘कवि, लेखक, विद्वान् र दार्शनिकहरु प्राय: सबैजसो खान्छन् । लक्ष्मीप्रसाद देवकोटा पनि खान्थे । बस्, कुरा त्यति मात्र हो ।’

‘देवकोटा पनि रक्सी खान्थे र !’ म छक्क परेँ ।

‘अवश्य खान्थे, तर लुकेर । तपाईंको समाज जस्तै कडा समय थियो उनको’, सन्तोषले भन्यो ।

सन् १८५५ मा वाल्ट ह्विटम्यानले भनेका थिए:

I harbor for goof or bad/I permit to speak at every hazard/Nature without check with original energy.

वाल्ट ह्विटम्यानको यो भनाइभन्दा ठीक एक सय वर्षपछि एलेन गिन्सबर्गले त्यही भावना कवितामा पुनरावृत्ति गरे । सन्तोयसितको संगतबाट गिन्सबर्गबारे अरु धेरै जानकारी प्राप्त भयो । तर, उनको कवितासंग्रह Howl and Other Poems पढ्न पाएको थिइनँ ।

त्यसबखत मसित समयको कहालीलाग्दो भण्डार थियो । पढ्न छोडेपछि बचत हुन थालेको त्यो भण्डारले मलाई विकराल राक्षसले झैं अत्याउन थालेको थियो । जब कसैसित काम हुँदैन, जब कसैले आफूलाई ढाँटेर अनिश्चित जोखिमतर्फ धकेलिरहेको हुन्छ, त्यसबेलाको जघन्य यातालाई वर्णन गर्न शब्दहरु समेत आफैंमा अपर्याप्त बन्छन् । म त्यसरी नै समयसित लडिरहेको थिएँ । म कुनै पनि शर्तमा समयलाई जित्न दिने पक्षमा थिइनँ । मैले अठोट गरेँ- समयको लगाम मैले आफ्नो हातमा लिनैपर्छ र त्यसमाथि शासन गर्नैपर्छ । यही दृढ अठोटको फलस्वरुप मैले काठमाडौंका सबै पुस्तकालयमा आफ्नो जीवनको ऊर्जायुक्त समय समर्पित गरेँ ।

भारतीय पुस्तकालयभित्र बसेर केही घण्टामा सकेको पहिलो किताप थियो- ‘पथ के दावेदार ।’ भारतीय स्वतन्त्रता संग्रामबारे लेखिएको त्यस उपन्यासका लेखक कुशवाहा कान्त वा शरच्चन्द्र को थिए, मलाई सम्झना छैन ।

त्यस पुस्तकबाट म धेरै प्रभावित भएँ । त्यसअघि हिन्दीमा यति ठूलो पुस्तक पढेको थिइनँ । त्यसअघि मेरो धैर्यपूर्क पढ्ने आत्मविश्वास चरम रुपमा जागृत भयो । त्यही कालखण्डमा मैले ‘विस्थापन’ शीर्षकको पहिलो कथा लेखेँ । त्यो कथा ‘दमना’ नामको सामयिक संकलनमा छापिएको थियझ ।

सन् १९७२ को सुरुमा म घरबाट भागेर दार्जिलिङतर्फ लागेँ । म आफ्नो लुकाएको कमजोरीबाट मुक्त हुन चाहन्थेँ । एउटा कमजोरीबाट भागेर म क्रान्तिको ओतमुनि बस्न चाहन्थेँ, तर लगभग एक महिनामै मेरो अपरिपक्व महत्त्वाकांक्षा चकनाचुर भयो । दार्जिलिङ पुगेकै दिन घरबाट चोरेर लगेको पैसा सकियो । त्यसपछि बाध्य भएर म घर फर्किएँ । घरमा मेरो भण्डाफोर भइसकेको थियो । पिताजी डरलाग्दो पहरोबाट खसेको मानसिक अवस्था लिएर बस्नुभएको थियो । मेरो पतनले आमालाई अझ बढी आघात पुर्‍याएको थियो । उहाँ दुब्लाएर सिट्टी हुनुभएको थियो ।

सन् १९७२ जुलाईमा मेरो विवाह भयो । पढाइ छोडेको दण्ड दिन यस्तो गरिएको थियो । मेरो सहमतिबिना कामकुरो छिनियो । मलाई केटी हेर्न लगिएन । ज्वरोले निस्लोट भएर सुतेको रात पिताजीले आमालाई भन्नुभयो- ‘कामकुरो छिनेर आएँ । आउँदो असरमा यो झन्झट सिध्याउनुपर्छ ।’

त्यस विषयमा मैले विरोध गर्न सकिनँ । विद्रोह गर्ने ऊर्जा मभित्र थिएन । पढाइ छोडेर बाआमाको सपना कुल्चिने अभियुक्तले कसरी विद्रोह गर्न सक्थ्यो !

बिहेपछि मैले लेख्न छोडेँ । म गाउँमै आएर बस्न थालेँ । करिब ६ महिना सन्तोष भट्टराई र साहित्य दुवै कुरा मेरो मानसपटलबाट धेरै टाढा भए ।

तर, एकदिन फेरि अचानक सन्तोषसित भेट भयो । पाटन सिनेमाहलको ढोकामा भेटियो ऊ ।

रेहना सुल्तानको सिनेमा ‘हारजित’ हेर्न म एक्लै गएको थिएँ । प्रेमवियोगमा पीडित नायिकालाई केन्द्रमा राखेर सिनेमा बनेको थियो । रेहना सुल्तानका अरु राम्रा सिनेमा पनि मैले हेरेको थिएँ ।  त्यस सिनेमामा पनि उनको जीवन्त भूमिका थियो प्रेममा धोका भएपछि कथा लेखक बनेकी उसले पछि आत्महत्या गरी ।

त्यो कथा हेरेर म निकै रोएँ । भावुकताको दबाव सिनेमा हेरेर बाहिर आउँदासम्म उत्तिकै थियो । म जीवनको अर्थ खोज्ने स्थितिमा पुगेर बितेको ६ महिनाको अकर्मण्यतालाई समीक्षात्मक मनले विश्लेषण गर्ने अवस्थामा थिएँ । सन्तोष भेटिएकोमा मलाई धेरै आनन्द अनुभव भयो । त्यस दिन मलाई घर फर्किन मन पनि लागेन । म सन्तोषसित बस्ने विचारले उसको डेरातर्फ लागेँ ।

सन्तोष धोबीचौरमा बस्थ्यो । नजिकै कवि माधव घिमिरे पनि बस्थे ।

‘बहुत घमण्डी रहेको त्यो कवि । मैले नमस्कार गर्दा पनि त्यसको उत्तर दिएन’, माधव घिमिरेबारे सन्तोषले भन्यो ।

‘नमस्कार गरेको देखेनन् होला ।’

‘किन नदेख्नु ! ठीक उनको अगाडि उभिएको थिएँ म’, यो प्रसंग हामीले धेरै लम्ब्याउन चाहेनौं ।

कोठा एउटा मात्र थियो । जीवनका निम्ति आवश्यक पर्ने सबै आधारभूत वस्तु यही कोठामा थिए । सुकुल, सतरन्जा, चारपाटे पातलो डसना, तन्ना, तकिया र खोल नभएको सिरकले बस्ने/सुत्ने खाँचो टारेका थिए । त्यस बाहेक कोठाको अर्को छेउमा स्टोभ, बाल्टिन, स्याँगी, थाल, गिलास, डेक्ची थिए । सुत्ने ठाउँसँगै केही पत्रिका र पुस्तक छरिएर रहेका थिए । अर्को एक ठाउँमा स्पेशल नं. १ लेखिएका हाफ र क्वार्टरका केही खाली सिसी लडेका थिए । कतै चुरोटका ठुटा फ्याँकिएका । नेपाली साहित्यको एउटा होनहार स्रष्टाको भौतिक वस्तुहरुसितको पहुँचको एउटा मानक त्यहाँ कायम भएको थियो ।

सन्तोष प्लास्टिकको बाल्टिन बोकेर खोच्याउँदै कोठाबाट बाहिर निस्कियो । म छरिएका किताब र पत्रिकामा अलमलिन थालेँ ।

उसले बाल्टिनको पानीसँगसँगै दुधियाका क्वार्टर साइजका दुइटा सिसी पनि बोकेर ल्यायो । पानीको बाल्टिन र दुधियाको सिसीलाई कोठामा बिसाउँदै उसले भन्यो, ‘मन्टोले एकपटक निकै ठूलो पुरस्कार पाए । पुरस्कारको रकम पाएपछि उनी बजार गए र सबै पैसाको रक्सी किनेर फर्के ।’

‘किन त्यत्रो पैसाको रक्सी किनेर फर्के ?’

‘किनभने मन्टोको विचारमा त्यसो गर्नाले पैसा नभएको बेला पनि रक्सी खान नपाइने त्रास समाप्त हुन्छ ।’

त्यसपछि सन्तोषसित फेरि मेरो मित्रता नवीकृत भएर गहिरियो । त्यस कालखण्डमा मैले अरु थुप्रै पुस्तक पढेँ र नेपाली साहित्यमा समय-समयमा उत्पन्न भएका विभिन्न साहित्यिक आन्दोलनसित मेरो जानकारी गहिरो । आयामेली, राल्फा, अस्वीकृत, अमलेख जमातका रचना गम्भीरतापूर्वक पढ्न थालेँ । भारतीय पुस्तकालयको नाटकको सिङ्गो र्‍याक मैले पढेर भ्याएँ र ब्रिटिस काउन्सिलमा गएर बर्नाड सदेखि एन्टी ड्रामासम्म फेला परेका सबै किताब सकेँ । यसरी ‘नयाँ सन्देश’ साप्ताहिकमा मसिना कविता छपाउनु र मधुपर्क, रुप-रेखा एवं अन्य साहित्यिक पत्रिकामा रचना पठाएर सम्पादकहरुलाई कायम पार्ने मानिसको सूचीमा म पनि थपिन पुगेको थिएँ । त्यस अवधिमा मैले हजारौं रद्दी कविता र सयौं स्तरहीन कथा लेखेँ । तर, तीमध्ये दुई चारवटा मात्र छापिए ।

सन्तोषको संगतबाट म सबैभन्दा बढी वैचारिक रुपमा प्रभावित भएको सन फ्रान्सिस्को स्कूलका कवि एलेन गिन्सबर्गबाट नै हो । उनका Howl and Other Poems (1956), The Fall of America (1972), Kaddish and Other Poems जस्ता कृतिले नेपालको बौद्धिक मथिङ्गललाई अत्यधिक रुपमा उत्तेजित तुल्याएका थिए ।

America I’ve given you and now I’m nothing.
America two dollars and twenty-seven cents January 17, 1956.
I cant’t stant my own mind.
America when we will end the human war ?
Go fuck yourself with your atom bomb…

(America, 1956)

गिन्सबर्गको यस कविताको रुप र अन्तरवस्तु दुवैले मलाई अत्यधिक रन्थनायो ।

जबसम्म मेरो दिमाग ठीक रहन्न
म कविता लेख्दिनँ
अमेरिका तिमी आफ्नो लुगा कहिले फुकाल्छौ ?
अमेरिका तिम्रा पुस्तकालयहरु
किन आँसुले भरिएका छन् ?
अमेरिका जब म सानो केटाकेटी थिएँ
म कम्युनिष्ट थिएँ
यसको मलाई कुनै पश्चाताप छैन
जब मौका पाउँछु
मारिजुआना पिउँछु
तिमी हेर
म मार्क्सलाई पढिरहेको  ।

(अमेरिका: १९५६)

गिन्सबर्ग चर्चाको शिखरमा भएका बेला भारतीय पुस्तकालयमा शरद देवडाले लेखेको एउटा पुस्तक भेटियो- ‘कलेज स्ट्रिटका नये मसिहा’ । त्यस पुस्तकमा बंगालको ‘हङ्ग्री जेनेरेसन’, गिन्सबर्गको भारत र नेपाल प्रवास, उनको समाजशास्त्रीय विचारहरुको पूर्ण वर्णन छ । बिट गायक पिटर ओर्लोवस्कीसित गिन्सबर्गको समलिंगी विवाह, बनारस र बौद्धमा चरेस खाएको सजीव वर्णन त्यहाँ छ ।

संसारको विनाश अनिवार्य छ । किनभने यो अप्राकृतिक जगमा उभिएको छ । सभ्यता, समाज, परिवार, विवाह, राज्य सबै अमानवीय संरचना हुन् । राज्यसत्ता चाहे जसको होस्, त्यो जनताको हितमा हुँदैन ।

नग्नता, नग्नता र नग्नता नै जीवनको एक मात्र सत्य हो ।

गिन्सबर्गका यी विचारले बंगालमा निकै कविलाई प्रभावित गरे । राजकमल चौधरीले यही आन्दोलनको प्रभावमा ‘मुक्ति प्रसंग’ लेखे ।

यो संसारको सबभन्दा नाङ्गो
सबभन्दा मजबुत आइमाईको नाम हो
भियतनाम ।
भियतनाम–
उत्तर भियतनाम र दक्षिण भियतनाम ।
उत्तर कोरिया र दक्षिण कोरिया ।
गोरो अफ्रिका र कालो अफ्रिका ।
पूर्वी जर्मनी र पश्चिमी जर्मनी ।
पाकिस्तान र हिन्दुस्तान
गोरो अमेरिका र कालो अमेरिका ।
जोन्सनको अमेरिका र गिन्सबर्गको अमेरिका ।
इन्दिरा गान्धीको हिन्दुस्तान र मलय राय चौधरीको हिन्दुस्तान
यस संसारका प्रत्येक बलिया आइमाईहरु
नाङ्गा र दुई भागमा बाँडिएका छन् ।
यो आइमाई मेरी आमा । मेरी स्वास्नी ।
मेरो देश मेरो जिन्दगी ।

– मुक्ति प्रसंग

हङ्ग्री जेनेरेसनमा सम्मिलित भएर समर्थ कविता लेख्ने भारतीय कविमा मलयराय चौधरी, कञ्चन कुमार, निर्भय मल्लिक, मणिका मोहिनी, मोना गुलाटी, श्याम परमार आदिको नाम अग्रपंक्तिमा पर्छ । त्यस अवधिमा हामीले धेरै उत्साहपूर्वक उनीहरुलाई अध्ययन गर्‍यौं ।

म गलत गर्भबाट जन्मेर
गलत नाम झुन्ड्याउँदै पच्चीस वर्षसम्म भट्किरहेँ
अब म आफैं समस्त पक्षको जाँचपडताल गरेर हेर्न चाहन्छु
कि कसलाई विष र कसलाई मलयराय चौधरी भन्छन्
म जान्न चाहन्छु
भारतवर्ष कसैको बिर्ता हो या होइन ?

(मलयराय चौधरी, ज्ञानोदय, नोभेम्बर १९६६)

 

नरमुण्ड लगाएर नाच्दै र दगुर्दै
आफ्नो कण्ठलाई सम्पूर्ण निल्छु
र नजानेर छुन पुग्छु नाङ्गो शिवलिङ्ग
छातीमा हुन्छ भूकम्प
र प्रकम्पन भएर छटपटाउँछ एउटा जनावर
जङ्गलहरु खोज्दै ।

(मोना गुलाटी)

 

बिहानदेखि दिन समाप्त हुन्जेल
म प्रतीक्षा गर्छु रातलाई
जब हामी दुवै एउटै कुनामा टाँसिएर
एक–अर्कालाई
कुकुरले जस्तै चाट्छौ,
विवाहपछि पनि बाँचिरहनका लागि
जनावर बन्न बहुत जरुरी हुन्छ ।

(मणिका मोहिनी)

 

सुन साथीहरु !
मृत्युपछि मेरो लाशमाथि
वीर्यपात गर्दै मुत्नु
र कुनै रजस्वला भएकी आइमाईको
कपडाले बेरेर
संसद् भवनमा फ्याँकिदिनु
कहाँ पाइन्छ यति धेरै मुर्दाहरुको भिड
यति धेरै चिहान हिन्दुस्तानमा ।

(निर्भय मल्लिक)

‘कलेज स्ट्रिटका नयें मसिहा’ का धेरै सन्दर्भ रोचक र विचारोत्तेजक थिए । खासगरी गिन्सबर्गले काठमाडौंको बौद्धनाथमा देखेको नरकंकालको चित्रसम्बन्धी टिप्पणी अत्यन्त शक्तिशाली थियो । गिन्सबर्गले भने, ‘मानव इतिहासको अवश्यम्भावी सर्वनाशमा खुसी व्यक्त गर्दै ताण्डव नृत्यमा लीन त्यो कृति संसारको चित्रकलाको इतिहासको सर्वोत्कृष्ट रचना हो ।’

किताब पढिसकेपछि मैले त्यो चित्र हेर्न धेरै प्रयत्न गरेँ । बौद्ध मेरो घरबाट नजिक पर्छ । त्यहाँ मेरा थुप्रै साथी छन् । उनीहरुलाई पनि सोधेँ- त्यो रचना कहाँ छ ? तर, कसैले बताएन । पिटर ओर्लोवस्कीसित गिन्सबर्गले समलिङ्गी बिहे गरेको सन्दर्भमा राजकमल चौधरीको उपन्यास ‘मछली मरी हुई’ को पनि चर्चा गर्नु उपयुक्त हुन्छ । त्यो उपन्यास समलिङ्गी आइमाई (लेस्बियन) को विषयमा लेखिएको थियो ।

सन् १९७४ तिर श्री छ को सरकारले साहित्यिक क्षेत्रमा प्रकाशित भइरहेका सामयिक संकलनमाथि प्रतिबन्ध लगायो । दर्ता नभएका धेरै पत्रिका बन्द भए । सरकारको त्यो कदमप्रति मुलुकका धेरै साहित्यकारले घोर आपत्ति जनाए ।

सामयिक संकलन बन्द गरिएपछि थुप्रै लेखकलाई अभिव्यक्तिको नयाँ संकट आइलाग्यो । कतिपय रचना ‘मधुपर्क’, ‘प्रज्ञा’, ‘कविता’ वा ‘रुप-रेखा’ मा छाप्न अप्ठेरो हुन्थ्यो । तानाशाही राजनीतिक व्यवस्थाका कारण ती संस्थामा असंख्य सीमा थिए । समाजको कुरुप र नग्न चित्रणले त्यहाँ स्थान पाउने कुनै गुञ्जायस थिएन । बहुलवादी राजनीतिक आग्रहलाई पनि निषेध गरिन्थ्यो त्यहाँ । त्यस समय थुप्रै रचना नछापिई तिनको अन्तिम नियति रद्दीको टोकरीमा पुगेर समाप्त हुन्थ्यो ।

नयाँसडकमा उभिई-उभिई हामीले यस विषयमा छलफल गर्‍यौं । शैलेन्द्र साकार, किशोर नेपाल, ध्रुव सापकोटा, सन्तोष भट्टराई आदिले यस विषयमा गम्भीर सरोकार देखाए । उनीहरुले युवा साहित्यकारको एउटा प्रतिनिधि साहित्यिक ग्रन्थ प्रकाशन गर्ने प्रस्ताव ल्याए ।

‘चन्दा उठाएर भए पनि यस्तो ग्रन्थ निकाल्नैपर्छ । भोलिदेखि नै यस कार्यमा जुटौं ।’

किशोर नेपाल र ध्रुव सापकोटाले व्यापारी र उद्योगपतिबाट चन्दा उठाउने जिम्मा लिए ।

त्यसै समय सन्तोष भट्टराईका केही कथा चर्चित भए । अराजकतावादी शैली र अन्तर्वस्तुमा ती रचना हङ्ग्री दर्शनसित सामीप्य राख्थे । भोक, नग्नता, विद्रोह र असामाजिक तेवरका कारण उसको एउटा कथा ‘खापीभित्रको नगरा’ मलाई अत्यधिक मन परेको थियो ।

सधैं झैं हामी त्यो साँझ पनि नयाँसडकमा उपस्थित भयौं । किशोर र ध्रुवहरु पनि एङ्ग्री योङ म्यान झैं क्रुद्ध भएर त्यहाँ आए । हामीसँगको भेटको पहिलो झमटमै किशोरले भन्यो, ‘साला व्यापारीहरुले हामीलाई के ठान्या छन् ? तिनीहरुको दयामाया नभए संसार चल्दैन ? हामी पनि आफ्नै बलबुतामा केही गरेर देखाउन सक्छौं ।’

त्यसबीच उनीहरु कुनै व्यापारीकहाँ चन्दाको निम्ति गएछन् । त्यस व्यापारीले भोलि-भोलि भन्दै तीन दिनसम्म हल्लाएछ ।

‘साथी हो, हामीले यस देशलाई देखाउनैपर्‍यो कि यो देशका लेखक पनि केही हुन् । बुटपालिस गरेर अर्थ संकलन गरौं र किताब छापौं ।’

‘ठीक हो, हामी बुटपालिस गर्छौं ।’

किशोरको प्रस्ताव अनुसार भोलिपल्टदेखि नै त्यो अभियान थाल्ने निर्णय गरियो ।

‘यो बहुत राम्रो काम हुन्छ । यसबाट निरंकुश सरकारलाई पनिस ठूलो चुनौती हुन्छ ।’

भोलिपल्ट बिहान पन्ध्र जना लेखक आफ्नै घरको ब्रुस र पालिस बोकेर नयाँसडकमा जम्मा भए । हामी रमागृहको रातो भित्तामुन्तिर पलेँटी कसेर बस्यौं । केही पोस्टर र प्लेकार्ड पनि टाँसिए त्यहाँका भित्तामा । ‘युवा लेखकहरुको रचना प्रकाशनार्थ अर्थ संकलन अभियान’ भनेर लेखिएका पोस्टरमुनि जगदीश घिमिरे, शैलेन्द्र साकार, कविताराम, भाउपन्थी, प्रेम कैदी, सन्तोष भट्टराई, काशीनाथ तमोट आदि प्रतिष्ठित युवा लेखक जुत्ता चम्काउन सक्रिय भए । त्यो घटना एकैछिनमा ठूलो खबरको विषय बन्यो । देशीविदेशी प्रचारमाध्यमको ओइरो लाग्यो । अन्य मानिस पनि धमाधम जम्मा भए । दिनभरि भेला जस्तै भयो त्यहाँ । त्यो काम भएपछि राजनीतिमा पक्ष-विपक्षबाट विभिन्न प्रतिक्रिया आए । पञ्चायती तानाशाहीका प्रमुख संवेदन केन्द्रहरु तिलमिए-

‘अराष्ट्रिय तत्वहरुले यो के गरे ?’

‘यसलाई कसरी नियन्त्रण गर्ने ?’

‘होइन, लेखक कलाकारहरुलाई चलाउनु हुँदैन । यसले अन्तर्राष्ट्रिय रुपमा नराम्रो हुन्छ ।’

हिप्पी शैलीको लामो कपाल पालेको थिएँ मैले । मेरो लवाइ र वेशभूषा परम्परागत ढाँचाभन्दा अलि अलग्गै थियो । म समर्पित भावले त्यस अभियानमा संलग्न भएको थिएँ ।

दिउँसो चार बजेतिर प्रसिद्ध लेखक बालकृष्ण सम रिक्साबाट ओर्लेर हाम्रोछेउ आए । लेखकहरुले बुटपालिस गरेको खबरले उनी पनि उत्साहित भएका रहेछन् । उनी हाम्रो नजिक आउनासाथ बाजले चरा झम्टे झैं मैले उनको जुत्ता समातेँ ।

समको जुत्ता पालिस गर्दै थिएँ म । त्यो एकदमै रोमाञ्चकारी अनुभूति थियो मेरा लागि ।

लगातार तीन दिन त्यो अभियान सञ्चालन गरियो । त्यहाँ कसैले पनि जुत्ता समाउन दिएनन् । सबैले पैसा मात्रै दिए । ध्यानगोविन्दले कक्षामा गएर पैसा उठाएर ल्याए । सायद उनी त्यहाँ विद्यार्थी थिए । तत्कालीन राजकुमार धीरेन्द्र शाहले पनि दस रुपैयाँको एउटा नोट प्रदान गरे । पर्सिपल्ट भक्तपुरमा पनि त्यो अभियान सञ्चालन भयो ।

यी तीनै दिन किशोर नेपाल आएन, के समस्या पर्‍यो कुन्नि उसलाई !

नेपाल र भारका सबैजसो प्रतिष्ठित अखबारले अत्यन्त महत्त्वसाथ यसको समाचार छापे । दिनमानले निकै लामो टिप्पणी छाप्यो, तर त्यहाँ आन्दोलनमा सहभागी नै नभएका लेखकको पनि चर्चा गरिएको थियो ।

त्यसै सन्दर्भमा शैलेन्द्र साकारको अगुवाइमा ‘यु राइटर्स फ्रन्ट’ गठन भयो ।

बुटपालिस अभियानमा सामेल भएपछि सन्तोष भट्टराई आत्मगौरवले ओतप्रोत भयो । ऊ निकै खुसी देखिन्थ्यो ।

‘स्थापित मूल्य र मान्यताको जग हल्लाउन यस्ता गतिविधि भइरहनुपर्छ । भारतमा पनि लेखकहरु यस्तो गर्छन् । बंगालमा मलयराय चौधरीहरु नाङ्गै सडकमा निस्किए र घण्टौं चक्काजाम गरिदिए ।’

‘नेपालमा अहिलेसम्म सम्पन्न भएका कुनै पनि आन्दोलनभन्दा यस आन्दोलनको स्वरुप भिन्न छ । तेस्रो आयाम, अमलेख, अस्वीकृत जमात र राल्फा आन्दोलनले वैचारिक क्षेत्रमा नयाँ कुरा ल्याए, तर हामी त्यसभन्दा एक कदम अगाडि बढेर विचारका साथसाथै व्यवहारमा समेत ओर्लियौं । तानाशाही राज्य व्यवस्थालाई प्रतीकात्मक रुपमा व्यवहारद्वारा नेपाली लेखकहरुले सम्भवत: पहिलो पटक यसरी विरोध गरेका हुन् ।’

सन्तोषले आन्दोलनको महत्त्वलाई यसरी बुझेको थियो । तर, कवि विमल निभा र अरु कम्युनिष्टहरु यो आन्दोलनको पक्षमा थिएनन् । उनीहरुले भने, ‘यो स्टन्ट हो । सस्तो प्रचार र लोकप्रियताका निम्ति गरिएको काम ।’

आन्दोलनबारे वामपन्थी खेमाबाट आएको साझा विश्लेषण यही नै थियो ।

बुटपालिस आन्दोलन सकिएको केही समयपछि म आफ्नो गाउँ गएँ । पुगेपछि थाहा भयो- मेरो धेरै बदनामी फैलिएछ । पिताजीले केही भन्नुभएन, तर आमा एकदमै चिन्तित भएर रुनुभयो ।

‘ज्योतिषकुलमा जन्मेको मानिस सार्की भयो भनेर गाउँभरि हल्ला फैलेको छ । कान थुनेर हिँड्नुपर्ने भएको छ । तँ किन यसरी बरालिन्छस् ?’

श्रीमती पनि मेरो चालचलनबाट एकदमै आतङ्कित थिई । सायद ऊ मनमनै आफ्नो माइती खलकलाई सराप्थी:

‘आँखा फुटेर कस्तो घरमा दिएछन् !’

गाउँतिर घुम्न जाँदा मानिसहरुले क्वारक्वार्ती मलाई हेरे । केटाकेटीहरु नजिकै परेनन् । ‘सार्की’ भएको मानिससित उनीहरु औधि डराएका देखिन्थे ।

जति-जति समय छिप्पिँदै गयो, सन्तोष त्यति-त्यति बढी अराजक हुन थाल्यो । ऊ पेसेवर रक्स्याहा भइसकेको थियो । उसको अराजकतावादी आग्रह अब सीमाहीन आक्रोशमा रुपान्तरण हुन थाल्यो । नेपाली साहित्यको पुरानो पुस्ताका कुनै पनि लेखक/कलाकारलाई ऊ देखिसहँदैनथ्यो । साहित्यिक पत्रकार संघले बालाजु पार्कमा आयोजना गरेको एउटा वनभोज कार्यक्रममा उसले माधव घिमिरेको कोटको कठालो तान्यो । बालकृष्ण सम बोलिरहेका बेला मञ्चमा गएर दौरा समातेर लछारपछार गर्‍यो र हरिभक्त कटुवालसित ढुङ्गा हानाहानमा सामेल भयो ।

‘रक्सी नखाउन्जेल सन्तोष भगवान् जस्तो छ । तर, जब ऊ मात्छ, त्यसपछि राक्षस बन्छ’, सबै साथीहरु भन्थे ।

हङ्ग्री जेनेरेसनको प्रभावको समय सन्तोषको लेखन राजकमल चौधरी जगदीश चतुर्वेदी र सुविमल बसाकका अकविताहरुबाट धेरै प्रभावित रह्यो । सुविमललाई आफ्नो आदर्श मानेर थुप्रै कविता लेख्यो । सुरुमा ऊ कविता लेखेर छपाउँथ्यो । तर, पछि लेखेर च्यात्न थाल्यो ।

‘आमाले आफूले जन्माएको सन्तान कसरी मार्न पाउँछिन् ?’ उनलाई बचाउने अधिकार छ, मार्ने अधिकार छैन’, साथीहरुले उसलाई सल्लाह दिन्थे ।

‘उपदेश नछाँट ए पण्डित, यो मेरो निजी मामिला हो’, ऊ उग्र भएर कराउँथ्यो ।

सन्तोष दिनप्रतिदिन विक्षिप्त हुँदै गयो । रक्सीको नसामा पसलमा गएर एक न एक चिज उछिट्याउने उसको प्रवृत्ति बन्यो । सुरुमा यसलाई हामीले रमाइलै मान्यौं । एकदिन उसले हरियो लसुन एक मुठो मुठ्यायो । अर्को दिन एक बोटल स्क्वास र त्यसरी नै अर्को दिन, अर्को दिन… ।

पछिल्लो कालमा ऊ आफैंप्रति निर्मम बन्न थाल्यो । ऊभित्र हुर्किरहेको आत्महन्ता आवेशले धेरै साथीलाई चिन्तित तुल्यायो । एकदिन रक्सीको नसामा बिजुलीको नाङ्गो तार समात्यो । अर्को दिन धारिलो छुरी रोपेर आत्महत्याको प्रयास गर्‍यो र फेरि अर्को दिन धोबीखोलाको पुलबाट हामफालेर मर्ने प्रयत्न गर्‍यो । सबै घटनामा उसलाई साथीहरुले बचाए । सुरुमा उसका जति साथी थिए, पछि क्रमश: संख्या घट्न थाल्यो ।

त्यस समय मोहन घिमिरे पनि हाम्रो सुख-दुःखको सहभोक्ता थियो । जब रात पर्थ्यो, ऊ बेसरी ठर्रा खान्थ्यो र डाँको छोडेर रुन्थ्यो ।

‘यस देशमा कवि-लेखकको केही मूल्य छैन । यस देशले रिमाललाई मार्‍यो । देवकोटालाई मार्‍यो । कटुवाल र भूपीलाई पनि मार्दै छ । यो चुतिया देश हो’, हरेक रात ऊ यही कुरा दोहोर्‍याउँथ्यो र डाँको छोडेर रुन्थ्यो ।

सन् १९७५ को देवकोटा जयन्तीको अवसरमा सन्तोषले एउटा कविता पाठ गर्‍यो । त्यो कविता सुनेपछि सबै भलाद्‌मी साहित्यकार हाँसे, महिलाले लाजले टाउको निहुर्‍याए ।

‘म पहिलोपटक रजस्वाला भएकी कुमारीको गुप्ताङ्गबाट निस्केको रगतको टीका लगाउँछु’ भन्ने शब्द भएको त्यो कविता पढेपछि त्यसलाई धुजाधुजा पार्‍यो र त्यहीँ फ्याँकेर खोच्याउँदै बाहिर हिँड्यो ।

लगभग पाँच वर्षजति म हङ्ग्री जेनेरेसनको समर्पित कार्यकर्ता बनेँ । १९७५ पछि म बिस्तारै सन्तोषसित अलग्गिन थालेँ । त्यसपछि म शहरको डेरा छोडेर गाउँमा बस्न थालेँ । मेरो समाज, देश, आन्दोलन र दायित्वले मलाई त्यो पन्थबाट बिस्तारै अर्को राजमार्गतिर धकेल्यो । तर पनि मलाई सन्तोष, गिन्सबर्ग र खापीभित्रको नगराले बारम्बार ताजा बनाइरहन्छन् । इतिहासको त्यो क्रूर कालखण्ड पनि मेरो रचनात्मक संघर्षको एउटा महत्त्वपूर्ण समय थियो ।

Because in Vietnam
The vision of a Burning Babe
is multiplied, multiplied
the flesh on fire
not Chrit’s, as southwell saw it, prefiguring
the passion upon the eve of Christmas.

(Advent 1966, Denise Levertov)

 

(साभारः ढकालको निबन्धकृत ‘शोकमग्न यात्री’बाट)