यो बलिउड हो । यो फिल्म उद्योगमा सेक्सको कुरा गर्नु प्रतिबन्धित छ ।

तैपनि हामी तपाईंलाई आफ्ना फिल्ममा भड्किला नृत्यगीत देखाउँछौँ । जहाँ अभिनेत्रीहरूले आफ्ना गोला नाइटो र खुला छाती देखाउँदै लामो श्वास फेरिरहेको देख्नुहुन्छ । महिलाका मुख्य भूमिका फिल्म यस्ता बन्छन् कि तिनले तपाईंलाई निराश नै बनाउँछन् ।

जब बलिउडमा महिलाको चित्रणका बारेमा कुराकानी हुन थाल्छ, यस्तै खाले दृश्य आँखासामु देखा पर्न थाल्छन् ।

खासमा बलिउडमा मात्र नभएर भारतका सबै ठूला फिल्म उद्योगमा नायिका सजावटका सामानभन्दा बढी केही होइन । फिल्ममा कुनै हिरो छ भने ऊ नै मुख्य भूमिकामा देखिन्छ । हिरोनीको काम प्रेम गर्नु र हिरोलाई पूजा गर्नु मात्र हुन्छ । जसै हिरो पर्दामा देखिन्छ, हिरोनी दृश्यबाट गायब हुन्छे ।

फिल्मका माध्यमबाट जाति र वर्गसँग जोडिएका वर्जित मुद्दाहरू उठाउने बेलामा भने हिरोनीहरूलाई सदुपयोग गर्नेहरूको कुनै कमी हुँदैनथ्यो । कुनै समय हलिउडमा पनि यस्तै हुन्थ्यो ।

लिपस्टिक अन्डर माइ बुर्का फिल्मको एक दृश्य

तर हलिउडमै पनि सन् १९५० पछि अवस्था बद्लियो । सन् १९६० को अवधि र त्यसपछि जब फिल्म भन्नु नै मनोरञ्जन हुन थाल्यो, साराका सारा नजर पुरूषमा टिक्न थाल्यो । महिला किनाराकृत भएर दोस्रो दर्जाकी नागरिक बन्न पुगी ।

ऊ चाहे आमा होस्, बहिनी होस्, पत्नी या प्रेमिका होस्, उसका लागि निश्चित भूमिका मात्र हुन थाल्यो । आमाहरू छोरालाई खुसी बनाउन गाजरको हलुवा खुवाउन थाले, आफ्नो सुरक्षाका लागि दिदीबहिनीले आफ्ना दाजुभाइलाई राखी लगाइदिन थाले, पत्नी र प्रेमिकाले आफ्नो नायकको लामो उमेरका लागि निराहार व्रत बस्न थाले ।

सन् १९९० को मध्यसम्म आइपुग्दा करण जोहरले एउटा नयाँ बलिउड रचना गरे । कुछ कुछ होता है को अन्त्यमा शाहरूख खानले वास्तविक प्यार पाउँछन् ।

फिल्मकी हिरोनी काजोलको चरित्र एउटा टमब्वाईजस्तो छ । ऊ छोटो कपाल बनाउँछे, राम्रो बास्केटबल खेल्छे । त्यतिञ्जेल हिरोले हिरोनीलाई वास्तै गर्दैन तर जब ऊ आकर्षक सिफनको साडी पहिरिएर हिरोलाई म्याच जित्न दिन्छे, त्यो बेला मात्र उसको ध्यान उसतर्फ तानिन्छ ।

यो फिल्म अत्यधिक हिट भयो र आधुनिक बलिउड रोमान्सको एउटा नयाँ उदाहरण बन्न पुग्यो ।

रत्ना पाठक लिपस्टिक अन्डर माइ बुर्का फिल्ममा

रत्ना पाठक लिपस्टिक अन्डर माइ बुर्का फिल्ममा

यतिबेला जब करण जोहरलाई टम ब्वाई हुनु के गलत हो ? वा टम ब्वाईलाई कम महत्त्व दिएर उनले गलत गरेनन् भनेर सोध्दा उनको उत्तर गलत भयो र गलत सन्देश सर्वसाधारणमा पुग्यो नै भनिरहेका हुन्छन् । जो महिला साडी लगाउँछे र लजालु हुन्छे, तिनलाई मात्र केटाहरूले मन पराउँछन् र अरूलाई मन पराउँदैनन् भन्ने सन्देश फिल्मले दिनु उचित नभएको जोहरको यतिबेलाको मूल्याङ्कन छ ।

महिलामाथि अपमानित गरिएका संवाद फिल्ममा निकै सामान्य भइसके । यति सामान्य कि अचेल कसैले त्यसलाई ध्यान नै दिन छाडिसके । नायिकाका सुन्दर शरीरलाई कारसँग तुलना गरिन्छ ।

पानी परिरहेका बेला वा झरनामा सेतो साडी पहिरिएर हिरोनीलाई भिजाउनु अझै पनि कताकति देखिन्छ । देखिएन भने यस्तै प्रकारका अन्य अवस्था फिल्ममा पर्याप्त हालिन्छन् । आधा कपडामा अटेस मटेस भएका शरीरका अङ्ग देखाउनु झरनामा सेतो लुगामा नुहाउन दिनु जत्तिकै त हो !

करिना कपुर खान

फिल्ममार्फत भारतीय समाजको अन्तसमा व्याप्त पितृसत्ता, लैंगिक भेदभाव र महिलाप्रति दुर्व्यवहारको वास्तविकता देखाएको भनेर फिल्म निर्माताले तर्क गर्न सक्छन् ।

तर हलिउडका चर्चित फिल्म निर्माता हार्भे वाइन्स्टिनमाथि लागेको यौन शोषणको आरोपपछि हलिउडमा पनि कास्टिङ कसरी गरिदोरहेछ भन्ने उदाङ्ग भएन र ? उसो भए बलिउड चोखो छ त ?

केही अभिनेत्रीहरूले कास्टिङ काउचको खतराका बारेमा बोलेर बलिउडमा बोलवाला चलाइरहेका पुरूषहरूलाई चुनौती दिइरहेका छन् ।

जो फिल्मकर्मी चलनचल्तीभन्दा बाहिरको फिल्म बनाउने प्रयास गरिरहेका छन्, तिनको कतै चर्चा हुँदैन । तर अचेल त्यस्ता फिल्म निर्मातातर्फ पनि सर्वसाधारणको चासो बढ्न थालेको छ ।

सन् २०१७ मा महिलाहरूको सशक्त भूमिका भएका फिमहरूका लागि गज्जबको वर्ष रह्यो ।

डेथ इन द गंज फिल्मको एक दृश्य

लिपस्टिक अन्डर माई बुर्का, अनारकली अफ आरा, ए डेथ इन् द गंज, तुम्हारी सुलुजस्ता फिल्मले सिनेमा हलमा पनि राम्रो व्यापार गरेका थिए । ती फिल्ममा महिलालाई कमजोर देखाइएको थिएन ।

ती फिल्मले स्त्री जातिको भावनात्मक र शारीरिक आवश्यकताका बारेमा प्रतिक्रिया जनाएको थियो । महिला भन्नु रूनु, आँछु पुछ्नु र पीडित भइरहनु मात्र होइन, आफ्नो परिस्थिति बदल्नका लागि बेग्लै बाटो चयन गर्नु पनि हो भन्ने ती फिल्मले देखाएका थिए । पछिल्लो समय रिलिज भएको ‘भक्षक’ले त एउटा महिला पत्रकारको साहसले ल्याउने परिवर्तन केसम्म हुन्छ भन्ने देखाएको छ ।

कटरिना कैफ र सलमान खान एक्लैले सारा जनताको ध्यान खिचिरहेका बेला यस्ता दमदार महिलामुखी चरित्रका फिल्मले पनि दर्शकलाई मोहनी लगाउनु चानचुने कुरा होइन ।