‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरूलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उद्देश्य हो । आगामी दिनमा पाठक तथा स्रष्टाहरूको सहयोगले यस स्तम्भलाई थप सशक्त रूपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ । हाम्रो उद्देश्य, साताभरिमा प्रकाशनमा आएका साहित्यिक पुस्तकहरूलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौँ – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटुन् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरू सम्भव भएसम्म आफ्ना नवीनतम साहित्यिक कृतिहरू साहित्यपोस्टको कार्यालयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।

यसै क्रममा ‘साताका पुस्तक’मा यो साता ३ पुस्तक – दलित : आत्मसम्मानको खोजी, सार्वजनिक जीवनमा महिला, रुद्र ज्ञवालीको ‘सीमान्त स्वर’ ।

० ० ० ०

१. दलित : आत्मसम्मानको खोजी

“तिम्रो मन्दिरको मूर्तिमा मेरो आरनको गन्ध आउँछ

ओदानमाथिको कराहीमा मेरो पसिनाको गन्ध आउँछु

आँखा जुधाउने आँट गर धर्माती मान्छे !

कि मेरो अस्तित्वलाई भुङ्ग्रोमा पोल र धर्म धान्ने आँट गर

कि मेरो अपमान गर्ने शास्त्रका पानालाई च्यात्ने या जलाउने साहस गर

म तिम्रो मन्दिरको देवता बनाउने कामी हुँ ।”

 

“दलित : आत्मसम्मानको खोजी” एक तस्बिर-पुस्तक हो । यसमा छ दशकदेखि नेपालका विभिन्न क्षेत्रहरूमा भएका दलित प्रतिरोधका तस्बिरहरूको सङ्कलन गरिएको छ । प्रस्तुत पुस्तकमा दलित सङ्घर्षको आर्थिक, सामाजिक र राजनीतिक आयामहरूको खोजी गर्ने निबन्धहरू पनि समावेश छन् ।

“यहाँ संकलित प्रायः फोटो गैरदलित फोटोग्राफरहरूले लिएका हुन् । उनीहरूको बाह्य दृष्टिविन्दुले यी तस्बिरमा देखा परेका विषयलाई कसरी प्रस्तुत गर्ने भन्ने तिनका निर्णयमाथि ठूलो प्रभाव पारेको हुन सक्छ । तैपनि यी फोटोमा दलितहरूले आफ्नो परिवेशलाई कसरी देख्छन् भन्ने सकेसम्म बुझेर प्रस्तुत गर्न प्रयत्न गरेका छौं । क्रोधलाई आत्मसम्मानको आकृतिमा र गरिबीले आक्रान्त शरीरहरूलाई कर्तृत्वका स्वामीमा रूपान्तरण गर्ने दलित आन्दोलनले अँगालेको लालित्य रणनीति नै यस पुस्तकमा समेटिएका यावत् विचारको मेरुदण्ड हो ।” दिवस राजा केसी लेख्छन्, दलित अनुभवभित्रबाटै सिर्जना हुने अवसरलाई प्रवर्धन गर्नाले हाम्रो परिवेशलाई कसरी हेर्ने, यसलाई कसरी बुझ्ने र यसको भाष्य कसरी निर्माण गर्ने भन्नेबारे नयाँ सिद्धान्तहरू प्रस्तुत गर्न सकिन्छ भन्ने हाम्रो विश्वास छ । यस पुस्तक निर्माणको क्रममा गरिएका प्रायः शैलीगत निर्णय यसै गौरवको भाषाबाट अभिप्रेरित थिए । नेपालको दलित संघर्षलाई कर्तृत्व र आत्मसम्मानका विषय वरपर केन्द्रित विवादको रूपमा प्रस्तुत गर्ने हाम्रो निर्णय पनि यही महत्त्वाकाङ्क्षाबाट निर्देशित थियो ।‍…यसमा आत्मसम्मानको अर्थ, राजनीतिका संयन्त्र, दलित पहिचानका विधि, इतिहास र स्मृतिको प्रयोगलगायत दलित अनुभवका विभिन्न पक्षबारे कसिलो टिप्पणी संलग्न गरेका छौँ । दलित समुदाय आफैमा विविधताले भरिएको छ, जहाँका भिन्न जीवन, काम र महत्त्वाकाङ्क्षा कहिले सहकार्य गर्छन् भने कहिले द्वन्द्वरत हुन्छन् । यसप्रति हाम्रो रवैया द्वन्द्वात्मक छ- हामी दलित अनुभवभित्रको विविधताबारे सचेत छौं र सँगसँगै दलित पहिचानको एकात्मकताप्रति पनि सचेत छौँ । आत्मसम्मान तथा कर्तृत्व खोज्ने दलित अभियानलाई यसले सघाउनेछ भन्ने हाम्रो आशा छ । तसर्थ यो पुस्तकको कुल परिप्रेक्ष्य पनि द्वन्द्वात्मक छ-दलित दुःखका यी तस्बिरले सान्त्वना दिने छैनन् तर तिनको सन्देश निराशाको उद्घोष पनि होइन ।”

नेपाल पिक्चर लाइब्रेरीद्वारा संचालित यस पुस्तकलाई दिवस राजा के. सीले सम्पादन गरेका हुन् भने नयनतारा गुरुङ कक्षपतिले प्रकाशनमा ल्याएका हुन् । २ सय ४५ पृष्ठमा आबद्ध यस पुस्तकलाई डिसेब श्रेष्ठद्वारा डिजाइन गरिएको पाइन्छ ।

० ० ० ०

२. सार्वजनिक जीवनमा महिला

महिलावादी स्मृतिको एक पहलको एक सफलता हो – “सार्वजनिक जीवनमा महिला” । यो नेपालमा महिलावादी सोच र इतिहासको परिदृश्य हो । यसमा नेपालमा महिलावादी अनुभवको विविधताको अभिलेख तथा नेपालमा महिलाबादी आन्दोलन निर्माणमा संलग्न सम्पूर्ण व्यक्तिहरूबारे साबितीको रूपमा भएको छ ।

५ सय ३८ पृष्ठमा मौलाएको यस पुस्तकलाई ‘जनताका माझ महिला, टुकीको उज्यालोमा पढ्दै, महिलाका रचना, महिलाका लागि महिला, संसार डुल्दा, प्रबन्धक संवाद, अनुक्रमणिका’ गरी ७ खण्डमा विभाजन गरिएको छ । र योगदानकर्ताहरूको नामावली समेत समावेश छन् ।

पुस्तकको कभर पृष्ठमा लेखिएको छ, “आमवृत्तमा आफ्नो उपस्थिति जनाउनु भनेको इतिहासमा देखिनु र गनिनु हो । घरेलु जीवनको सङ्कुचनबाट सार्वजनिक जीवनको फराकिलोपनसम्मको यात्रा बेनाम अँध्यारोबाट स्मृतिको उज्ज्यालोतर्फ जानु हो । सार्वजनिक जीवनमा महिला मा महिला अभिलेख निर्माण गर्ने नेपाल पिक्चर लाइब्रेरीको पहलको क्रममा सङ्कलन गरिएका सामग्री सामेल छन् । धेरै खण्डसहितको प्रदर्शनीको रूपमा तयार गरिएको यस कृतिले नेपाली महिला समुदायलाई एकै पटकमा सार्वजनिक स्मृतिमा ल्याउने प्रयत्न गरेको छ । यस कृतिमा विगतमा महिलाहरूले राजनीतिक सङ्घर्षमा सहभागी हुँदा, सभाहरूलाई सम्बोधन गर्दा, शिक्षामार्फत् नयाँ बाटो पहिल्याउँदा, विचार प्रकाशित गर्दै प्रभावित पार्दा, संसार डुल्दै त्यसको वणर्न गर्दा, अधिकारसम्पन्न व्यक्ति बन्दा, सामाजिक बन्देज तोड्दा र आदर्श नकार्दाका झलक देखिन्छन् । नेपालमा आमवृत्तमा सशक्त हस्तक्षेप आफैँमा कसरी महिलावादी प्रमुख रणनीतिको रूपमा स्थापित भएको छ भन्ने यथार्थ यसमा देखिन्छ ।”

प्रबन्ध संवादमा नयनतारा गुरुङ पक्षपति लेख्छिन्, “हाल प्रचलित नवउदारवादी मार्काको महिलावाद समस्याले ग्रस्त छ भन्ने म पनि स्विकार्छु—यसले महिलावादी विचारलाई दुई–चार बुँदामा सीमित राख्न खोज्छ, किनभने यसले व्यक्तिगत सफलता तथा उत्पादकत्व र तिमीले भने झैँ ’प्रगति’ बारे अवधारणाहरूमाथि धेरै जोड दिन्छ । एफएमपीले महिलावादी इतिहासको सकारात्मक समीक्षा मात्रै गरिरहेको छैन बरु अतितबारे आलोचनात्मक आँकलन पनि गर्दैछ भन्नेबारे हामीबीच पहिले पनि छलफल भएकै हो । एफएमपीमा काम गर्न पाएर अहिलेको नेपालमा महिलावादी परिस्थितिबारे पहिलेभन्दा धेरै सूक्ष्म बुझाइ निर्माण गर्न मलाई सघाउ पुगेको छ । र म यसकालागि धेरै नै कृतज्ञ पनि छु । आफू अघिका पुस्ताका महिलावादीहरू कस्ता सामाजिक, राजनीतिक, आर्थिक तथा वैयक्तिक सन्दर्भमा सोच्दै र सक्रिय हुँदै थिए भन्नेबारे सिक्न पाउनुले हामीले छिचोलिरहेको अहिलेको अत्यन्तै भिन्न सन्दर्भहरूलाई बुझ्न पनि मदत गर्छ ।”

यो फोटो संग्रहलाई नेपाल पिक्चर लाइब्रेरी फोटो.सर्कलद्वारा संचालन गरिएको हो ।

० ० ० ०

३. सीमान्त स्वर – रुद्र ज्ञवाली

साहित्यकार तथा शक्तिशाली विद्रोही कवि रुद्र ज्ञवालीद्वारा छन्दोबद्ध कवितासंग्रह हो – “सीमान्त स्वर” ।

यसमा ‘नेपाल वन्दना’, ‘भैरहवा’, ‘अभेद्य दुर्ग हो ! उठ’, ‘आमाबिनाको घर’, ‘मनको घर’, ‘प्रेमको आयाम’, ‘माटो’, ‘रेसुुङ्गा’, ‘विषवृक्ष’, ‘हामी रहन्छौँ कहाँ’ लगायत ४८ कविता संग्रहित छन् ।

“थोरै शब्दमा भन्नुपर्दा, ’सीमान्त स्वर’ कवितासङ्ग्रहका कविता विषयका दृष्टिले बहुविषयक छन् । यिनले नेपालको सामाजिक, राजनीतिक तथा राष्ट्रियताका समस्यालाई सबैभन्दा बढी महत्त्व दिएर सम्बोधन गरेको पाइन्छ भने दोस्रो तहमा प्रकृतिसौन्दर्य र उत्पीडित नेपाली जीवनलाई महत्त्व दिएको देखिन्छ । भावका दृष्टिले यी कविता मूलतः वीर तथा रौद्र रसले भिजेका छन् भने विचारका दृष्टिले प्रगतिवादी चेतनाले सम्पन्न छन् । यसैगरी, वर्गीय पक्षधरताका दृष्टिले यी कवितामा उत्पीडित तथा श्रमजीवी वर्गप्रतिको पक्षधरता पाइन्छ भने लयविधानका दृष्टिले यी कविता पिङ्गलशास्त्रीय छन्दहरू (मूलतः अनुष्टुप्, शार्दूलविक्रीडित, भुजङ्गप्रयात, इन्द्रबज्रा आदि) मा लेखिएका छन् ।” भूमिकामा डा. रामप्रसाद ज्ञवाली लेख्छन्, “कलामूल्यका दृष्टिले यहाँका कविताहरू उपमा, रूपक, उत्प्रेक्षा, स्वभावोक्तिजस्ता बहुप्रचलित अलङ्कार तथा सहजबोध्य विम्ब प्रतीकहरूले अलङ्कृत देखिन्छन् भने प्रकृति, जीवन र समाजबाट ग्रहण गरिएका विम्बप्रतीक आदि उपकरणहरूको उपयोगका कारण यी कविता कलात्मक समेत बनेका छन् । शैलीका दृष्टिले अधिकतम सरल र आलङ्कारिक छन् भने केही कवितामा व्यङ्ग्यशैली र समस्यापूर्ति गर्न उपयोग गरिने शैलीको उपयोग पनि गरिएको छ । रीतिका दृष्टिले मूलतः वैदर्भी र पाञ्चाली रीतिका कविता बढी छन् भने गुणका दृष्टिले प्रसाद र माधुर्य गुणका कविताको आधिक्य रहेको छ । भाषाप्रयोगका दृष्टिले बहुप्रचलित र सरल पदपदावलीको प्रयोग गरिएको पाइन्छ भने सम्प्रेषणीयताका दृष्टिले सबै कविता सहजबोध्य छन् ।”

पुस्तकलाई शिखा बुक्सले प्रकाशनमा ल्याएको हो । १ सय १५ पृष्ठमा आधारित पुस्तकको मूल्य ३ सय ५० रुपियाँ रहेको छ ।