तपाईंले हस्ताक्षर गर्नु भएको कागज कति पैसामा बिक्री हुन्छ ? अनि कुनै सेलिब्रेटीले हस्ताक्षर गरेको कागज नि ? पक्कै पनि केही हजार वा लाखमा । तर यहाँ अज्ञात व्यक्तिले गरेको हस्ताक्षर भने निकै महँगोमा बिक्री भएको छ ।
हालको इराकमा पाँच हजार वर्ष पहिले मेसोपोटामियान सभ्यता थियो । सोही सभ्यतामा हिसाबकिताबको बही खाता राख्न कागजको चलन शुरू भइसकेको थिएन । हिसाब किताबका लागि माटोको विशेष किसिमको ‘ट्याब्लेट’ चल्तीमा थियो । सोही ‘ट्याब्लेट’मा गरिएको एउटा हस्ताक्षरलाई संसारकै ‘प्रथम’ हस्ताक्षरको नाममा २ लाख ३० हजार डलरमा बिक्री गरिएको छ ।
सो ट्याब्लेटमा ईशापूर्व तीन हजार वर्षअघि चल्तीमा रहेको रक्सी खरिदबिक्रीको हिसाब किताब राखिएको छ । सँगैमा नाम पनि राखिएको हुँदा सो नामलाई कुनै व्यक्तिको हस्ताक्षर रहेको पनि दाबी गरिएको छ । सो दाबीसँगै अमेरिकाका एक धनी व्यक्तिले २ लाख ३० हजार डलरमा खरिद गरेका हुन् । डाक बढाबढमा गरिएको सो ट्याब्लेट खरिद गर्ने व्यक्ति को हुन् भनी खुलाइएको छैन ।
मेसोपेटोमिया सभ्यतालाई सुमेर सभ्यताका रूपमा समेत चिनिइन्छ । एन्सेन्ट ओरिजिन्स नामक म्यागेजिनका अनुसार प्राचीन मेसोपेटामिया सभ्यतामा पटक-पटक नाम आउने उरूक सहर छेउमा फेला परेको हो । जुन हालको इराकमा पर्छ ।
यो प्राचीन ट्याब्लेटलाई सोयेन कलेक्सन नामक एक निजी संग्रहालयले धेरै वर्ष राखेको थियो । र, यतिबेला बिक्री गरिएको हो ।
यस ट्याब्लेटको सबैभन्दा माथि छेउमा ‘कु’ र ‘सिम’ दुई अर्थ लाग्ने हस्ताक्षर गरिएको विज्ञहरूको धारणा छ । जसलाई विज्ञहरूले ‘कुसिम’ नामक कुनै व्यक्तिको नाम हुनसक्ने बताइरहेका छन् । ‘कुसिम’ नामक कुनै व्यक्तिले बियर खरिदबिक्रीको रेकर्ड राख्ने गरेको हुनसक्ने केहीको आँकलन छ ।

प्राचीन शहर उर
त्यसो त केहीले भने ‘कुसिम’ कसैको नाम नभई कुनै सरकारी कार्यालय हुनसक्ने आँकलन पनि गरेका छन् । यो नाम अन्य १७ ट्याब्लेटमा समेत फेला परेको हुनाले र फेला पारिएको कतिपय अन्य ट्याब्लेटमा ‘संघ’ पनि भनिएकाले यस्ता ट्याब्लेटमा गरिएको हस्ताक्षर कुनै संस्थाको हुनसक्ने आँकलन गरिएको हो ।
सो ट्याब्लेट अध्ययन गर्ने क्रममा इजरायली लेखक युअल नोह हरारीले ‘सेपियन्स’ पुस्तकमा भने यही ट्याब्लेटलाई अर्थ्याउने हिसाबले ‘३७ महिनाभित्र कुसिममा २९,०८६ को संख्यामा जौ ल्याइएको’ अभिलेख रहेको भनी उल्लेख गरेका छन् ।
त्यो बेला जौबाट रक्सी बनाइने हुनाले सुमेरहरूले खरिद बिक्री गरेको जौको संख्या र त्यसको हिसाबकिताब रहेको ठहर धेरैको छ ।
सो ट्याब्लेटमा जौलाई बियर बनाउने तौरतरिकासमेत अभिलेखीकरण गरिएको छ ।
बेलायतको लन्डनमा भएको यो ट्याब्लेटको आकार तीन इन्च लम्बाई चौडाईको रहेको छ ।
‘यस्तो लेखोट विरलै पाइने तत्त्व हो,’ ब्लुम्सबरी अक्सनका विशेषज्ञ तिमोथी बोल्टन भन्छन्, ‘झन् यसमा लेखिएका चिजबिजहरू अहिलेसम्म साबुतै रहनु अर्को आश्चर्य हो । हाम्रा लागि हाम्रो नाम कति महत्त्वको छ । झन् यति पुरानो नाम फेला पारिनु गज्जबकै कुरा होइन त ?’
दुई लाख डलरभन्दा केही थोरै रकममा यसलाई बिक्रीमा राखिएको थियो ।
त्यसो त सुमेरमा फेला पारिएका अन्य ट्याब्लेटमा मान्छेले बियर पिइरहेको दृश्य अंकित गरिएको छ । रोचक त के छ भने त्यस्तो बियर चाहिँ तोङ्बा तान्दा पाइपजस्तै गरी पाइपबाट तानिएको दृश्यले दर्शकलाई निकै रोमाञ्चक बनाइदिन्छ ।
सुमेरहरूको जीवनमा, धर्म र समाजमा यस्ता रक्सीले निकै ठूलो भूमिका खेलेको केही विज्ञ बताउँछन् । यस्ता रक्सीलाई त्यो बेला पैसाकै तहमा लेनदेनसमेत गरेको पाइन्छ ।
यस्ता अन्य लेखोटहरू इराकमा अस्थिरता भइरहेका बेला लुटिएका सामग्री हुन् । अस्ट्रेलियाको सिड्नीस्थित म्युजियम विज्ञ क्रेग बार्कर भन्छन्, ‘यसरी लुटेका सामग्रीलाई यसरी धनीमानीहरूले किनबेच गर्नु अश्लील कृत्य हो । इराकको समृद्ध संस्कृति र इतिहासलाई ध्वस्त पारेर यस्ता सामग्री चोरिनु दुखद् कुरा हो ।’
सन् २०१८ मा मात्र इराकबाट सुमेर ट्याब्लेटहरू ४५० वटा लुटिएका थिए । पछि ठूलो होहल्लापछि केही ट्याब्लेटलाई इराक फिर्ता गराइएको थियो ।
लेखोट, लेखनीजस्ता कुरामा सुमेरहरूको ठूलो योगदान छ । ६ हजार वर्षअघि सुमेरहरूले नै यसको प्रादुर्भाव गरेको दाबी लेखक रोजर ब्रिगम्यान उनको पुस्तक थाउजन्ड इन्भेन्सन्स एन्ड डिस्कभरिजमा गरेका छन् ।
सुमेरपछि चिनियाँहरूले लेखोटलाई सरलीकृत गरेका थिए । चीनमा साढे तीन हजार वर्ष पहिले लेखनीलाई सरलीकृत गरी प्रयोगमा ल्याउन थालेका थिए ।
चिनियाँहरूले अक्षरहरूलाई ट्याब्लेटमा नराखी, काठ, हड्डी आदिमा लेख्ने गरेका थिए ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

