खोजका आयामहरू नगण्य छन् । व्यक्तिको फैलावटले खोजको परिधिलाई फुकाउन सक्ला । खोजको तगारो भय हुनेछ र व्यक्ति बारम्बार लङ्गडो बन्नेछ । सत्यको दैलोमा जब व्यक्ति पुग्नेछ तब भयको अवसान हुनेछ । यसरी हेर्दा खोजको उत्कण्ठामा सत्य र भयको द्वन्द्व चलिरहनेछ । दृश्य भित्रका अदृश्य आकाशको खोज चराचर जगतको सायदै प्राणीलाई थाहा होला । तर ध्यानमार्गको उकालो ओरालोमा एकाग्र रहेका ती मनुष्य जसले कुनै सुइँको पाउँछन् होला भन्ने ठम्याइ पङ्क्तिकारलाई भने कता कता लागिरहन्छ । खोजका लागि शिष्य बन्नु अर्को धैर्यता हो । शिष्य अर्थात् समर्पण ।
दृश्य जस्तो देखिने अँध्यारो उज्यालोको एक कदम पङ्क्तिकारले यो लेखमा प्रस्तुत गर्न खोज्दैछ ।
बुबाले पेन्सन् थाप्न पोखरा झर्दा यो सहरसँग अलिलि परिचित त थिएँ । तर यो पटक भने परीक्षा सकाएपछि यतै बस्ने गरी झरेँ । बसाइ बिन्ध्याबासिनी मन्दिरको अलि उतापट्टि अर्चलबोट भयो । उबेला एस एल् सी दिएपछि कि कम्प्युटर कि अंग्रेजी भाषा सिक्ने लहर चलेको थियो । म यसैको लागि पोखरा थिएँ । दुई घण्टाको क्लास सकिएपछि दिनभरि समय नै समय थियो । त्यही समयको सदुपयोगमा मेरा पाइला पोखरा सहरका गल्ली गल्लीमा भौँतारिए । कहाँ के छ भन्ने अड्कल सजिलै लगाउन सक्थेँ ।
साथीहरू बढ्दै गए । बिन्ध्याबासिनी मन्दिरको उत्तरतिर सानो गोरेटो बाटो थियो । त्यही बाटो हुँदै पिएन क्याम्पस जानु मेरो दिनचर्या हुन थाल्यो । धोबीगौँडा, बागबजार, ट्याक्सी चोक हुँदै पिएन क्याम्पस । यो बाटो सैयौँ पटक ओहोरदोहोर गरियो । तर सरुभक्त र तीर्थ श्रेष्ठ यही बाटोका रैथाने हुन् भन्ने कुरा कहिल्यै कल्पना गरिएन । अचेल सम्झँदा विरक्त लाग्छ । मैले सैयौँ पटक ओहोरदोहोर गरेको यो बाटोका रैथानेद्वय साहित्यकार सरुभक्त र साहित्यकार तीर्थ श्रेष्ठसँग मेरो भेट निकैपछि अस्ति भर्खर भएको हो ।
म परदेश हुँदा साथीहरूले सरुभक्त र तीर्थ श्रेष्ठसँग उभिएर खिचेका तस्बिरहरू सञ्जालतिर राख्थे । म सोच्थेँ, कसरी उभिन सकेका होलान् साथीहरू सँगै !
छुट्टीमा नेपाल आउँदा मेरो पहिलो साहित्यिक भेट अमृत सुबेदी गुराँससँग भयो । उनी त्यो बेला हटलाइन पत्रिकामा काम गर्थे । उनले कम्प्युटरमा नेपाली शब्द यसरी ठटाउँथे कि देख्नेहरू अवाक् भैजान्थे ।
बिस्तारै साहित्यिक सर्कलमा जोडिने क्रम बाक्लियो । मैले नजिकबाट सरुभक्त र तीर्थ श्रेष्ठलाई देख्ने र सुन्ने सुअवसर प्राप्त गरेँ । साथीहरूले दाइ भनेर सहजै कुरा गर्थे । उनीहरू पनि सहजै प्रस्तुत हुन्थे । तर मसँग सुन्ने बाहेक अरू विकल्प थिएन ।
अस्ति भर्खर कवि सञ्जिव पौडेलमार्फत मेरो तीर्थ दर्शन कवि तीर्थ श्रेष्ठसँग भएको हो । जीवन रहस्यमय छ । त्यही रहस्यमय जीवनको एक कुइनेटोमा एउटा सुखद आश्चर्य दर्शन पाएको थिएँ कवि तीर्थ श्रेष्ठको ।
यो बेला सेवानिवृत्त जीवन बाँचिरहेको मसँग साहित्य बाहेकको अर्को हुटहुटी छैन । साहित्यिक अध्ययनको फराकिलो यात्रामा पुस्तकहरूसँग एकोहोरो संवाद गरिरहेछु ।
यस्तो हुनुमा तीर्थ भेट मुख्य पाटो हो । तीर्थ दाइलाई भेट्दा दाइ भनूँ कि अंकल म दोधारमा थिएँ । तर दाइ नै हाबी भयो । तीर्थ दाइ, कवि सञ्जिव र म सिन्धुलीगढीको यात्रामा थियौँ । होटलमा खाना खाँदै थियौँ, खाना थप्ने भाइले तीर्थ दाइलाई ‘के थपिदिऊँ बा ?’ भन्यो । दाइले खाना थप्ने भाइलाई पुर्लुक्क हेरे र भने, ‘आमा !’ केटो सहित कवि सञ्जिव र म ट्वाँ पर्यौं । यसरी हाँसिएछ कि खाने मेसो नै पाइएन । तब लाग्छ मैले तीर्थ दाइ भनेर ठिकै गरेछु । सोच्छु, अंकल भनेको भए मेरो हालत के हुन्थ्यो होला ?
तीर्थ दाइसँगको एकाध वर्षको सानिध्यले साँच्चिकै म धन्य भएको छु । वर्षौँ पहिलेदेखि दाइसँगको सङ्गतमा हुनेहरू त झन् के के होलान् ! हरेक विषयमा सहज र सम्प्रेषणयुक्त बोल्ने दाइले नजानेको विषय के होला ! म यसै यसै सोचिबस्छु । हरेक प्रश्नका जवाफहरू दाइको मुखमा तयार भई बसेका छन् । उत्तरपछि जन्मने प्रश्नको ज्ञान पनि दाइलाई छ । तब प्रश्न जन्मन नपाउँदै उत्तर पाएपछि अरू वाहियात प्रश्न तेर्स्याउँदै प्रश्नकै अपमान हुने डर उस्तै छ ।
साहित्यिक कार्यक्रम त छँदैछ । सामाजिक, राजनीतिक र विभिन्न संघ संस्थाका कार्यक्रममा प्रमुख अतिथि भएर जाँदा दाइका र्याण्डम मन्तव्यले जो कोहीलाई मुग्ध पार्छ । ४३ सालमा २७ वर्षको कलिलो उमेरमै पोखराको उपप्रधानपञ्चको बाग्डोर सम्हालेका तीर्थ श्रेष्ठ एक कुशल प्रशासक पनि हुन् । विद्यार्थी राजनीतिले दाइको वाणीलाई पक्कै निखार दिएको होला भन्ने मेरो ठम्याइ हो । तीन पटकसम्म पोखरेली युवा सांस्कृतिक परिवारको अध्यक्ष रहेका उनी हाल सल्लाहकार छन् । पञ्चायत व्यवस्थालाई नजिकबाट नियालेका तीर्थ दाइको संगत् कोसँग छैन होला !
राजा बीरेन्द्रसँग चार पटक संवाद गर्ने अवसर जुरेको याद दाइलाई अझै ताजा छ । भेटका विभिन्न चरणमा विश्वविद्यालय स्थापना, हरियाली पोखराको खाका र खानेपानीको समस्याका बारे कुरा राखेको दाइ बताउँछन् । कवि क्षेत्रप्रताप अधिकारीको संयोजकत्वमा ५५–५६ साल तिर रत्न मन्दिर परिसरमा कविता वाचनको आयोजना हुँदा अरू कविहरू पिउन हिचकिचाएको र आफू बारमा रक्सी र चुरोट खाएको सम्झना पनि उनी गर्छन् । तथापि राजा आए भन्ने थाहा पाएपछि तान्दै गरेको चुरोट निभाएको र पिउँदै गरेको रक्सीको गिलास टेबलमुनि लुकाएको सम्झना पनि उनीसँग छ । राजा बीरेन्द्रले ‘कविहरू लिने होइन !’ भनेर आग्रह गरेपछि अरू प्याग थपेको सम्झना उनी सुनाउँछन् ।
‘सरकारलाई कविता कस्तो लाग्यो ?’
राजा खिस्स हाँसे र भने ‘मलाई भन्दा रानीलाई सोध्नू, उनी त कविता पनि लेख्छिन् ।’
ऐश्वर्यातिर फर्केर ‘बडामहारानी कविता कस्तो लाग्यो ?’
‘म आफै कविता लेख्ने मान्छेलाई कविता नराम्रो लाग्छ र ? नलेख्नेलाई सोध्नू न !’
केही ठट्टाको माहौल सम्झेर उनी रोमाञ्चित हुन्छन् ।
रानी ऐश्वर्या आफ्नो पसलमा कपडा किन्न आएको घटना पनि उनी सुनाउँछन् ।
३६ सालमा बिपी पोखरा आएको समय थियो । त्यस बेला बिपीको जनसम्पर्क समितिको सदस्यको रूपमा उनी सक्रिय थिए । त्यसै ताका स्याङ्जा, तनहुँ र कास्कीका विभिन्न ठाउँमा बिपीसँग उनको सङ्गत बढ्यो । र राजनीतिलाई अझै नजिकबाट बुझ्ने मौका पाएको उनी बताउँछन् ।
बिपीदेखि गगनसम्म, माधव घिमिरे, सत्यमोहन जोशी, अम्बर गुरुङ, सिद्धिचरण श्रेष्ठ, विजय मल्ल, हरिभक्त कटुवाल, अशेष मल्ल, उत्तम नेपाली, शशी शाह, किरण मानन्धर, उर्मिला गर्ग, रागिनी उपाध्याय, एरिना ताम्राकार, सरिता डंगोल, श्यामल, अमर न्यौपाने, नगरकोटी, प्रकाश थाम्सुहाङ, छवि अनित्य, रोशन तिमिल्सिनासम्म उनी उत्तिकै सहज छन् ।
‘मलाई कहिले एकदमै आदरसत्कार गर्ने र कहिले ठाडो आदेश दिने कवि तीर्थ श्रेष्ठ हो ।’ उनका घनिष्ठ मोहन कोइरालाले बेला बेलामा यस्तो भनेको कुरा उनी सम्झन्छन् ।
६ कक्षामा पढ्दा भीमनिधि तिवारीलाई चिठी लेखेको र जवाफ पनि आएको उनीसँग सम्झना छ । ७ कक्षा पढ्दा गंगालालको चिता नाटकमा आफू पुष्पलालको भूमिकामा खेलेको उनी बताउँछन् । निबन्ध, हाजिर जवाफ र एथलेटिक्स प्रतियोगिता जितेका सुखद समयको सम्झना उनीसँग छ । ९ वर्षको उमेरमा भित्ते पत्रिकामा पहिलो कविता ‘आकाश वारि आकाश पारी’ लेखेको धुमिल सम्झना उनी सुनाउँछन् । २९ सालतिर फेवाताल नामक समसामयिक पत्रिकामा प्रजातन्त्र शीर्षकको कविता छापिएको रहेछ । २९ सालकै सेरोफेरोमा मञ्जु शाक्यको सम्पादनमा अर्पण साप्ताहिक पत्रिकामा कथाहरू छापिएका रहेछन् । ३२ सालतिर श्रीधर खनाल सम्पादक रहेको संरक्षक पत्रिकामा ‘रक्सीको सहारा लिएर’ शीर्षकको लघुकथा केही दिनअघि साहित्यकार बज्रेश खनालले सरप्राइज स्वरूप म्यासेञ्जरमा पठाएको देखाउँदै उनी मन्द मुस्कुराउँछन् । यसरी शुरु भएको दाइको साहित्यिक यात्रा स्वर्णिम समयको सुन्दर उपहार हो ।
कवि सञ्जिव, कवि वसन्त विनोद र म, हेटौंडाको साहित्यिक यात्रामा दाइसँगै थियौं । सन्दर्भ थियो, तीर्थ श्रेष्ठ एकल कविता साँझको । दाइसँग जीवनका यति धेरै किस्सा थिए कि ती सुन्दा पोखरादेखि हेटौंडा कतिबेला पुगियो पत्तै पाइएन । सिरियस हुने कुनै समय थिएन । हरेक किस्सामा हाँसो थियो । दाइसँगको लामो सङ्गत गर्नेहरूलाई यो कुरा अझै बढी थाहा होला ।
जब दाइसँगको बसाइ हुन्छ तब सोच्नुहोस् कुनै न कुनै नयाँ कुरा सिक्न पाइने छ । सहजै खुलेर बोल्ने दाइसँगको सङ्गत गर्नेहरू बेफिक्री, बेहिसाब हाँस्न र रमाउन सक्छन् ।
पुछारसिटे अभियानले मेरो एकल कविता वाचन गर्ने भयो । श्रद्धेय कार्टुनिस्ट दुर्गा बराल वात्स्यायन र कवि तीर्थ श्रेष्ठ उक्त कार्यक्रमको अघिल्लो लाइनमा साक्षी थिए । म नर्भस थिएँ । तर तीर्थ दाइले सहजताका साथ वाचन वातावरण निर्माण गरिदिएका कारण म सहज भएँ । दाइ साक्षी बसेर मैले एकल कविता वाचन गर्नु मेरो जीवनको ठूलो उपलब्धि हो ।
हामी केही पटक दाइसँग होमस्टे पनि गएका छौँ । कहिलेकाहीँ होमस्टे जाँदा दाइ छुटे भने के के नमिले जस्तो अनुभव हुन्छ । फकाएर, फुलाएर, लतारेर जसरी हुन्छ दाइको उपस्थिति हामी अनिवार्य चाहन्छौं । यो दाइप्रतिको हाम्रो प्रेम हो । हामी यसको हकदार हौँ र छौँ भन्ने लाग्छ । किस्सा सहितका गम्भीर चिन्तन र गहन विषयमा दाइले सुनाउने अभिव्यक्ति अमूल्य छन् । उदार हृदय भएकै कारण दाइ सबैका प्रिय पात्र हुन् ।
हामी लामो यात्रामा थियौँ, पोखरादेखि इलामको । इलाम साहित्य महोत्सवको छेको पारेर कवि प्रकाश थाम्सुहाङले निम्तो पठाएका थिए । दाइलाई लिएर बिन्ध्याबासिनी मन्दिर हुँदै कवि प्राञ्जललाई पिकअप गर्नुथियो । प्राञ्जललाई गाडीमा बसाएपछि दाइले सँधैझैँ भने, ‘केटा हो ! अब घर छोडियो, घर छोडेपछि मुख छोड्ने हो, थाहा छ नि ?’ हामी हाँस्न नपाउँदै दाइले मुख छोडे । दाइको यो सरलताको व्याख्या मेरा शब्दहरूले थेग्दैनन् । लेखनाथ पुगेपछि कवि सञ्जिव जोडिए । गाडीमा बस्न नपाउँदै दाइले फेरि मुख छोडे । हामी पुनः उन्मुक्त हाँसो हाँस्यौँ । हामी दाइको बानीसँग अभ्यस्त भइसकेका छौँ । नजाने हामी जस्ता कति जना दाइका फ्यानहरू होलान् । कुनै साहित्यिक बसाइमा तीर्थ दाइ नभएको होस् र कुनै कारणवश दाइको अनुपस्थितिमा दाइको कुरा नभएको पल होस् । यो असम्भव जत्तिकै हो । हामीले त्यस्तो साहित्यिक र पारिवारिक अभिभावक पाएका छौँ, जसलाई पछ्याउँदा गर्व अनुभूति भइरहन्छ ।
कवि प्राञ्जलको हेटौंडामा मुक्तक कार्यक्रम भएका कारण उनलाई हेटौंडामै छोडेर हामी इलामको लामो यात्रामा बाटो लाग्यौँ । यो लामो यात्रामा मैले दाइको बाल्यकालदेखि हालसम्मको जीवनयात्रा सुन्ने प्रस्ताव राखेँ । दाइले सहजताका साथ लिए । दाइ बोल्दै गए, कवि सञ्जिव र म सुनी मात्र रह्यौँ । सधैँ प्रेरणा र उत्साह दिने दाइका दुःखका किस्साले हामीलाई भावुक बनायो । नभनिएका र दाइले नसुनाएका कतिपय किस्साहरू दाइले सुनाउँदै गए । लाग्यो जीवन रहस्यमय भोगाइ रहेछ । हामीले त छिस्स जीवनलाई भोगेका रहेनछौँ । लाग्यो जीवन त सुखमा उभिए जस्तो लाग्ने दुःखको पहाड पो रहेछ । तीर्थ दाइका भोगाइ सुन्दा हामी कतै रन्थनियौँ त कतै रोमान्टिक भयौँ ।
नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्य सचिव रहेका तीर्थ दाइ जीवनभरि कवित्व हृदयले बाँचिरहेछन् । जब हृदय उज्यालो छ तब तपाईँ कसैको कुभलो सोच्न सक्नुहुन्न । दाइको जीवन यस्तै छ, प्रेमले भरिएको । विभिन्न जिम्मेवार पदमा पुगेको यस्तो व्यक्ति यतिसम्म सरल हुनु सोच बाहिरको कुरा हो । कवि ईश्वरमणि अधिकारीले भनेको सम्झन्छु–‘सरल हुनु जतिको जटिल अरू हुन सक्दैन ।’ तीर्थ दाइ यति सरल हुन के गर्नुपर्छ ? मैले दाइलाई सोध्ने आँट गरेको छैन ।
भूपी शेरचन, चेतन कार्की, अम्बर गुरुङसँग धेरथोर सङ्गत गरिसकेका तीर्थ दाइका दौँतरी कवि श्यामलसँको किस्सा मलाई सधैं ताजा लाग्छ । कवि दिनेश अधिकारीसँग दाइको उस्तै प्रेम छ । जो हामीले बेला बेला सुन्ने अवसर प्राप्त गर्छौं । तीनचार घर यताउता जन्मिएका सरुभक्त र तीर्थ दाइको भेट अलि पछि भएको देखिन्छ । बेला बेला जिस्किँदा दाइद्वयको सम्बन्धको साक्षी बस्ने मौका पाउनु अर्को सुन्दर कुरा हो ।
रहस्यमय जीवनले रहस्य लिएर आइपुगे झैँ दाइसँगको भेट त्यस्तै भएको छ । विभिन्न बसाइमा विभिन्न शीर्षकमा सुनाइने बौद्धिक चिन्तन र बहसका कुराहरू, अनेक व्यक्तिसँग जोडिएका प्रसङ्गहरू र समयको मैदानमा भएका दाइका थुप्रै किस्साहरूलाई लिपिबद्ध गर्नुपर्छ भनेर मैले धेरै पटक दाइलाई भनेको छु । म जस्तै अरूले पनि भने होलान् । एक समय, – ल काम गर्नुपर्यो दाइ ! मैले अलि नै हठ गरेँ । दाइ लागे जस्तो गरे तर फेरि ओइलाए । दाइले लेखेनन् भने हामीले महत्त्वपूर्ण समयका अमूल्य घटनाहरूलाई सदाका लागि गुमाउने छौँ । तब दाइले लेख्नुपर्छ भन्ने हठ अझै पनि रहेको छ ।
लेकमा फुल्ने लालीगुराँसलाई बिन्ध्याबासिनी मन्दिरको प्राङ्गणमा फुलाउने दुःसाहस गर्ने तीर्थ दाइ हाल बिन्ध्याबासिनी मन्दिरको सदस्य सचिव रहेर सेवा गरिरहेका छन् । त्यस्तै प्राकृतिक चिकित्सालयको संस्थापक रही समाजलाई प्रकृतिमय बन्नुपर्छ भन्ने सन्देश बाँड्न तल्लीन छन् । साहित्यमा जिम्मेवारी हुनुपर्छ भन्ने उदार सोच लिएका तीर्थ श्रेष्ठ कवितामा मात्रै होइन सबै विषय र परिस्थितिमा संयम हुनुपर्ने धारणा राख्छन् ।
आमा हुनु
साह्रै असजिलो छ
पहाडजस्तो
उचाइमा पुगेर
मैदान भइदिनुपर्ने
मैदानमा पुगेर
उकालो भइदिनुपर्ने
संयोग यस्तो परेको छ कि माथिको कवितांशको रचनागर्भ मेरो गाउँ थियो । पञ्चासे जानेक्रममा साथीहरू सहित तीर्थ दाइको बिहानको खानाको मेसो पर्वतको दोबिल्ला भन्ने ठाउँमा थियो । रति र मोदी खोलाको दोभानमा सानो बजार छ दोबिल्ला । खाना बनुन्जेल दोभानको कुनै ढुङ्गामा बसेर उक्त कविताको जन्म भएको रहेछ । एउटा कवि जसको प्रख्यात कविताको सिर्जना मेरो गाउँमा हुनु मेरा लागि सुखद आश्चर्य हो । त्यो कुन ढुङ्गा थियो होला ? जसमा यति प्रख्यात कविताको जन्म भयो । मन खुल्दुलीले वशमा छैन । त्यही ढुङ्गा चिन्न, त्यही दोभानमा बसेर रति र मोदी खोलाको सुसेली सुन्न मैले दाइलाई प्रस्ताव राखिसकेको छु । म छिट्टै तीर्थ दाइसँगै तीर्थ यात्रामा हुनेछु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।