हरेक सम्बन्ध जोडिनुका पछाडि कुनै न कुनै कारणले भूमिका खेलिरहेको हुन्छ । त्यही सम्बन्ध भत्किनुमा पनि थुप्रै कारणहरुको हात रहेको हुन्छ । सम्बन्ध भत्किँदै गर्दा त्यो सम्बन्ध भत्किनुमा त्यस सम्बन्धसँग जोडिएका दुबै पक्षको झन्डै बराबर भूमिका रहन्छ । कहिलेकाहीँ यो मात्रा तलमाथि पनि हुन सक्छ । तर कुनै एउटा पक्षको गल्तीका कारणले मात्रै सम्बन्ध सकिने भन्नेचाहिँ पक्कै हुन्न । एक हातले मात्रै ताली बज्दैन भनेजस्तै दुबैको भूमिका रहन्छ कुनै पनि सम्बन्ध सकिनुमा । भूमिकाको मात्रा भने कम बेसी हुन सक्छ ।  यहाँ मैले दुई प्रेमी प्रेमिका बिच हुने प्रेम सम्बन्धको कुरा गरिरहेको छु ।

जिन्दगीमा धेरै किसिमका प्रेम सम्बन्धमा परियो । तिनले अनेक किसिमका खुसी पनि दिए र छुट्टिएर जाँदा उत्तिकै पीडा पनि दिए । प्रेम जति गहिरो छ, त्यसबाट पाउने आनन्द पनि उति नै गहिरो हुन्छ । साथै, त्यो गहिरो प्रेम कुनै कारणले छुट्यो अथवा भनौँ सम्झौतामै छुट्टिनु पर्यो भने पनि त्यसले त्यति नै गहिरो खाडल मनमा पारेर जान्छ । जुन खाडल पुरिन वर्षौँसम्म लाग्न सक्छ । कहिलेकाहीँ जीवनभर नपुरिन पनि सक्छ । योचाहिँ व्यक्ति अनुसारको प्रेम अनुभव र भोगाइमा फरक पर्ने कुरा भए ।

प्रेम के हो ? – परिभाषा र यसको भोगाइ पनि मान्छेअनुसार फरक हुने नै भयो । कसैका लागि प्रेम जीवनदान हो भने कसैलाई त्यही प्रेमले आत्माहत्याको बाटोसम्म पनि पुर्याइदिन्छ । प्रेममा पागल भएर सडकमा कराउँदै हिँड्नेहरुको पनि कमी छैन संसारमा । कसैलाई फेरि त्यही असफल प्रेमले महान् व्यक्ति बनाएका उदाहरणहरू पनि थुप्रै छन् । मतलब, प्रेम सबैका लागि एउटै र उस्तै कुरा होइन । कसैले विवाहलाई प्रेमको अन्तिम रूप मान्दछन भने कतिले गुमाउनुलाई पनि प्रेम नै मानेको पाइन्छ । तर मैले चाहिँ गुमाउनुलाई प्रेम मान्ने गरेको छैन । किनभने, अपवाद बाहेक कसैले पनि कसैलाई गुमाउनका लागि प्रेम गरेको हुँदैन । हजार कोसिसका बाबजुद असफल हुनु आफ्नो ठाउँमा छ  । योचाहिँ मनको सन्तोषका लागि अथवा आफैँले आफैँलाई ढाडस दिँदै चित्त बुझाउनका लागि भनिने कुरा हो जस्तो लाग्छ । गुमाउनुलाई पनि प्रेम मान्नु भनेको स्यालले “अङ्गुर अमिलो छ” भनेर चित्त बुझाएजस्तै हो ।

ओशोले भनेको एक लाइन याद आइरहेछ – “प्रेम पाउनका लागि योग्यता चाहिन्छ । सिर्जनशीलता चाहिन्छ ।” यसको मतलब, योग्यता र बिना सिर्जनशीलताको मान्छे प्रेमको लायक पनि हुँदैन । मैले कसैबाट प्रेमको अपेक्षा गरिरहेको छु भने त्यो पाउने योग्यता ममा छ कि छैन भनेर आफैँलाई हेर्नु जरुरी छ ।

“तुलना नगर मेरो

कोही जस्तो छैन म

एकैछिन अगाडिको

मै जस्तो छैन म”

भनेर कवि नवराज पराजुली “तुलना” कवितामा भन्नुहुन्छ । म आफैँ त सधैँभरि एउटै रहिरहन सक्दिनँ भने मैले गरेको प्रेम सधैँ एउटै भइरहन्छ भनेर कसरी भन्न सकिएला ?

प्रेम मन र भावनाको खेल भएकाले यसमा अधिक उतारचढाव हुनु स्वाभाविक हो । मनको स्वभाव नै सधैँ चन्चल र अस्थीर हुनु हो । अनि त्यही अस्थीर मनले गरेको प्रेम स्थायी हुन्छ भनेर कसरी भन्न सकिन्छ ? कुनै दिन संसारकै सबैभन्दा प्रिय लागेको व्यक्ति कुनै दिन सबैभन्दा घृणित पात्र किन बन्छ ? सबैभन्दा ठुलो दुश्मन बनेर किन उभिन्छ ? तिमीबिना बाँच्न सक्दिनँ भनेकाहरूले उसैलाई मर्नु न बाँच्नुको दोसाँधमा छोडेर किन जान्छ्न् ?  किनभने, प्रेम मनको विस्तार हो र मन अस्थिर चिज हो । अनि प्रेमको धरातल नै अस्थिर भएपछि प्रेम अस्थिर हुनु स्वभाविक हुने नै भयो । मन मात्रै होइन, संसारमा हरेक कुरा परिवर्तनशील छ । सबै कुरा परिवर्तन भइरहेको बेला प्रेम मात्रै स्थायी हुने कुरा पनि आएन ।

प्रेम हुनु र छुट्नुलाई अस्विभाविक नमान्दा ठिक हुन्छ । छोटो समयको होस् अथवा वर्षौँदेखिको, प्रेम छुट्दा मन बेस्सरी दुख्नु पनि स्वभाविक नै हो । किनभने, मनको अर्को एउटा काम दुख्नु पनि हो । त्यही मन दुखेको बेला जसले मनलाई सम्हाल्न सक्यो र लडेकै ठाउँबाट हिम्मत गरेर उठ्ने प्रयास गर्यो, ऊ जीवनमा सफल बन्यो । मन दुखेको बेला आफू पनि दुखिरह्यो भने ऊ पतनको बाटो जान्छ । त्यसपछि उसलाई कि त भट्टीमा भेटिन्छ कि त सडकमा ।

प्रेम अन्धो हुन्छ भन्नुको कारण पनि सायद यही होला । तर यो अर्धसत्य मात्रै हो । खासमा प्रेम अन्धो हुने हैन । प्रेममा परेपछि मान्छेको भावपक्ष बलियो भएर आउँछ । जब भाव बलियो हुन्छ तब उसको बुद्धिले काम गर्न छोड्छ । जब बुद्धिले काम गर्न छोड्छ तब सही गलत छुट्याउन सक्दैन  । अनि प्रेमको नाममा जे पनि हुन्छ र जे पनि भइरहेका छन् । तर यो कुरा नबुझेर हामी सिधै प्रेमलाई नै अन्धो भनिदिन्छौँ ।

कसैप्रति प्रेम हुनु भनेको ऊप्रति विश्वास हुनु पनि हो । ऊप्रति भरोसा हुनु पनि हो । त्यसैले सम्बन्ध सकिँदा प्रेम मात्रै एक्लै सकिँदैन । प्रेमसँगै जोडिएर आएको विश्वास र भरोसा पनि एकसाथ सकिन्छ । अनि विश्वास र भरोसा सकिएपछि जिन्दगीप्रतिको बाँच्ने मोह सकिनु पनि ठिकै हो ।

भनिन्छ, प्रेम पवित्र चिज हो । यो कहिल्यै जुठो हुँदैन । हो जस्तो पनि लाग्छ । अनि विचार गर्छु, खासमा जुठो हुने भनेको त ओठहरु मात्रै रहेछ । त्यो पनि धोइपखाली गरेपछि अर्कोले चालै नपाउने रैछ ।

मैले पनि यो उमेरसम्म आइपुग्दा थुप्रै किसिमका प्रेमहरू अनुभव गरिसकेको छु । त्यसैले मैले आफूले आफूलाई “प्रेम पुजारी” भन्ने गरेको छु । जीवनमा भएका ती हरेक प्रेमको महत्त्व र मिठास पनि आ-आफ्नै थिए । जतिन्जेल उनीहरू साथमा थिए, सबै प्रिय नै थिए । एकपटक सलमान खानलाई सोधिन्छ, “तपाईंले जीवनमा थुप्रै जनासँग प्रेम गर्नुभयो, सबैभन्दा बेस्ट प्रेमिका को हो ?” मुसुक्क मुस्कुराउँदै जवाफमा सलमान भन्छन, “साथमा रहुन्जेल सबै नै बेस्ट थिए ।”

सलमानको कुरा मेरो जीवनमा पनि केहीहदसम्म लागु हुन जान्छ । प्रेम गर्छु भनेर जो-जो साथ दिन आए, एकै दिन सही साथमा हुन्जेल उनीहरू मेरा प्रिय थिए र म पनि उनीहरूको प्रिए भएँ । कतिपय प्रेम यस्ता पनि हुन्छन, जो छुटेको वर्षौँ भइसक्दा पनि सम्झना भने भई नै रहन्छ । चाहेर-नचाहेर उनीहरूको सम्झना मस्तिष्कमा आइरहन्छ । मनले उसैलाई खोजिरहन्छ । जीवनमा आएर गएकाहरु सबैलाई त त्यसरी सम्झिन पक्कै सकिन्न र सम्झिनु जरुरी पनि ठानिँदैनँ । तर कोही भने यस्तो खास हुन्छन्, जो सास फेर्दा पनि त्यही साससँगै मुटुमा छिरेको आभास हुन्छ ।

उनीहरू मेरो जीवनमा किन आए र कसरी आए भन्ने कुरा म यहाँ उल्लेख गर्न सक्दिनँ, तर प्रिय भनिएका प्रेम सम्बन्धहरु छुट्नुका कारणहरूलाई बुँदागत रुपमा पेस गरेको छुः

१) कसैसँग मेरो आर्थिक हैसियत मिलेन – ठिकै छ भनेँ ।

२) कसैँसँग मेरो शैक्षिक स्तर मिलेन – ठिकै छ भनेँ ।

३) कसैलाई म खाडीमा हुनु समस्या भयो – ठिकै छ भनेँ ।

४) कसैलाई मेरो लेखाइ समस्या बनिदियो – ठिकै छ भनेँ ।

५) कसैलाई मेरो आनीबानी मन परेन – ठिकै छ भनेँ ।

६) कसैसँग गोत्र एउटै परिदियो – ठिकै छ भनेँ ।

७) कसैसँग सपना मिलेन – ठिकै छ भनेँ ।

८) कसैलाई मैले विकल्पमा राखेंँ अरे – ठिकै छ भनेँ ।

९) कसैलाई मैले प्रेम गर्छु भनेर विश्वास दिलाउनै सकिनँ – ठिकै छ भनेँ ।

१०) कसैले ममाथि चिटिङ गरे – ठिकै छ भनेँं ।

११) कसैलाई मैले उनीहरूलाई चिट गरिरहेको छु भन्ने भ्रम भयो – ठिकै छ भनेँ ।

१२) कसैलाई प्रेमिका बनेर मलाई लुट्नु थियो, लुटे अनि गए – ठिकै छ भनेँ ।

१३) कसैलाई मबाट क्षणिक केही फाइदा लिनु थियो, लिए अनि गए – ठिकै छ भनेँ ।

१४) कसैलाई मेरा पूर्वप्रेम सम्बन्धहरुले दुखायो – ठिकै छ भनेँ ।

१५) कसैलाई मैले आफ्नो निहित स्वार्थ पुर्तिका लागि मात्र प्रेम गरेको भान भयो – ठिकै छ भनेँ ।

१६) कसैलाई यौन सम्बन्धका लागि मात्र मैले प्रेम गरेको भन्ने महसुस भयो – ठिकै छ भनेँ ।

१७) कसैलाई उनीहरूले चाहे जति समय दिन सकिनँ – ठिकै छ भनेँ ।

१८) कसैलाई उनीहरूलाई अनुकूल हुने समयअनुसार आफ्नो समय निकाल्न सकिनँ – ठिकै छ भनेँ ।

१९) कसैलाई  मसँगको सम्बन्ध समाजमा देखाउन सहज भएन – ठिकै छ भनेँ ।

२०) कसैले पूर्वप्रेमिकाहरुको चोट भुलाउन मात्र आफूसँग ठोकिन आएको आरोप लगाए – ठिकै छ भनेँ ।

२१) कसैलाई प्रतीक्षा गर्न गाह्रो भयो र म जहाज चढेर फर्किनुभन्दा पहिल्यै डोली चढेर गए – ठिकै छ भनेँ ।

२२) कसैलाई उनीहरूले चाहे जसरी उनीहरूमाथि पैसा खर्च गर्न सकिनँ – ठिकै छ भनेँ ।

यसरी यति धेरै सम्बन्ध भएर पनि त्यसलाई टिकाइराख्न नसक्नु अथवा भनौं नटिक्नुले मलाई दुखी पनि बनाउँछ र खुसी पनि । दुखी यस अर्थमा कि लामो समयसम्म अथवा भनौँ जीवनभर म कसैको बन्न सकिनँ/सकेको छैन । खुसी यस अर्थमा कि, जीवनमा अनेक किसिमका सम्बन्ध र प्रेमको अनुभूति गर्ने अवसर पाएको छु । जसलाई भोलिका दिनमा किताबका पानाहरुमा उतारेर म बेच्न सक्छु ।

“कविसँग प्रेम गरेर

तिमीले गल्ती गर्यौ

अब म तिमीलाई

शब्दमा उतारेर

बजारमा बेचिदिन्छु

जहाँ

तिमीले आफ्नै मूल्य पनि

आफैँ तोक्न पाउँदैनौँ…..”

आफ्नै यी पंक्ति पेश गर्न मन लाग्यो । सम्बन्ध टिकाउने र जोगाउने मामलामा संसारकै सबैभन्दा असफल प्रेमी सायद मै हो । मलाई यस्तो लाग्न थालेको छ अहिले आएर । २०६२ सालमा कलेज पढ्न थालेदेखि म प्रेममा पर्न थालेको हुँ, अथवा भनौँ मैले प्रेम गर्न थालेको हुँ । यो १८ वर्षको अवधिमा १८ जना भन्दा धेरैसँग मेरो सम्बन्ध भइसक्यो होला । यसमा पनि करिब ९० प्रतिशत त अनलाइन सम्बन्ध थिए । त्यसमा पनि कतिको त मैले नाम र अनुहार नै बिर्सिसकेँ भने कतिलाई अहिलेसम्म चाहेर पनि भुल्न सकेको छैन । तर, ती कोहीसँग पनि अहिले मेरो कुनै पनि किसिमको सम्वाद अथवा भनौँ सम्पर्क छैन । छन् त केही तीतामिठा यादहरु मात्र ।

यो १८ वर्षमा पहिलो १० वर्षको समय त पहिलो दुई जनाले नै खाइदिए । त्यसमा एउटीले ४ वर्ष र अर्कीले ६ वर्ष । यी दुबैलाई मैले मेरो जीवनको पहिलो प्रेम मान्ने गरेको छु । एउटा, जीवनमा मैले पहिलोपटक मन पराएको हिसाबले पहिलो प्रेम । जोसँग एकोहोरो मात्र प्रेम थियो र त्यसको पछाडि म ४ वर्षसम्म लगातार पागल भएर कुदेँ । अनि हातालाग्यो शून्य । अर्को, दोहोरो रुपमा प्रेम भएर सम्बन्ध स्थापित भएको हिसाबले पहिलो प्रेम, जोसँग पुरापुरी ६ वर्ष सम्बन्ध चल्यो र टुङ्गियो । जीवनमा सबैभन्दा धेरै दुखाएको र दुखाइरहने प्रेम पनि यही बन्न पुग्यो । किन भने सबैभन्दा धेरै प्रेम मैले उसलाई गरेँ । सबैभन्दा धेरै विश्वास पनि उसैलाई गरेँ । सबैभन्दा धेरै गाली र शंका पनि उसैलाई गरेँ । रुपमा सबैभन्दा राम्री पनि उही थिई । “योसँग चाहिँ बिहे गर्न पाए जिन्दगीमा अरु केही पनि चाहिँदैन थियो” जस्तो पनि उसैसँग मात्र भयो । जिन्दगीको सबैभन्दा ठुलो सपना पनि उही थिई । ऊसँग सम्बन्ध सकिनु भन्दा अघिसम्म उसलाई पाउनु बाहेक मेरो अर्को कुनै सपना नै थिएन । त्यही सपनालाई साकार पार्नकै लागि भनेर पढाइ बिचैमा छोडेर म प्रवास यात्रामा निस्किएँ । तर दुई वर्ष परदेश बसेर फर्किने बेलासम्म सम्बन्धको मैझारो गर्ने बेला भइसकेको थियो, कवि नवराज पराजुलीको “मैझारो” कविताले भनेजस्तै गरी । यो प्रेमको बारेमा अहिले धेरै नलेखौँ । किन भने फारु गरी-गरी जीवनभर लेखिरहनु छ ।

पहिलो प्रेम ब्रेकअप भएपछि म यसरी भत्किएँ कि अहिलेसम्म झन्डै डेढ दर्जन जनासँग सम्बन्ध राख्न पुगेँ । यसो हुनुमा धेरै कारण मध्ये मुख्य कारण भनेको मेरो अस्थीर मन नै हो । मन यति अस्थीर बन्यो कि कसैसँग पनि म लामो समयसम्म सम्बन्धमा बस्नै सकिन । कोनी के मा चुर्ना परेको जस्तो । पहिलो प्रेम भत्किनु अघिसम्म मलाई प्रेम भनेको “गर्ने” चिज हो जस्तो लाग्थ्यो । प्रेम भनेको “हुने” कुरा हो जस्तो लाग्थ्यो । तर ब्रेकअपपछि भने प्रेम भनेको गर्ने होइन “भोग्ने” चिज जस्तो लाग्न थाल्यो र म गर्नमा भन्दा पनि भोग्नमा बेसी केन्द्रित भएँ । यसो भनिरहँदा “नारीवादी” हरुलाई गाह्रो हुन सक्छ, होस् केही छैन ।

पछिल्लो ८ वर्षमा जति पनि सम्बन्ध भए ती सबै क्षणिक भए । जतिजति सम्बन्ध टुट्दै गयो, उतिउति विश्वास पनि टुट्दै गयो । जतिजति विश्वास हराउँदै गयो, उतिउति सम्बन्धको आयु पनि छोटो हुँदै गयो । जसले गर्दा छोटो समयमै धेरै जनासँग सम्बन्ध स्थापित हुन पुग्यो । यसलाई दुख भन्ने कि सुन्दर अवसर भन्ने ? दुख भनौँ, नयाँ-नयाँ प्रेमको स्वाद फेरिरहन पाइएको छ । अवसर भनौँ, छुट्दा मन-मुटु कटक्क भएको छ ।

जीवनमा जति धेरै किसिमका प्रेम र जति धेरै किसिमका प्रेमिकाहरु आए पनि उनीहरूबाट प्राप्त प्रेमको स्वाद भने झन्डै झन्डै उस्तै उस्तै थिए । जस्तो भए पनि प्रेम भइसकेपछि त्यसको सुखानुभूती लगभग उस्तै हुने रैछ भन्ने कुरा १८ वर्षे मेरो प्रेम जीवनले महसुस गरेको छ ।

प्रेमका नाममा कसैले डिपेन्डेन्टमा अमेरिका लान्छु भनेर सपना देखाए । कसैसँग सँगै अस्ट्रेलिया जाने सहमति भयो । कोहीसँग युरोप गएर लिभिङ टुगेदर बस्ने सम्मको सम्झौता भयो । कोहीसँग युरोप पुगेर उतै बिहे गर्ने र त्यतै घरजम गरेर बस्ने पनि सहमति भएको थियो । यता कसैसँग भने नेपालमै केही गरेर गरी खाने सम्मको योजना बन्यो । ती जो-जोसँग जहाँ-जहाँ जाने सपना बनाइएको थियो, उनीहरू आफू भने त्यहाँ पुगिसके । तर म आफू भने खाडीमा बसेर उनीहरूलाई सम्झिरहेको छु । छोडेर गएकाहरुलाई पनि मैले नै सम्झिनु पर्ने अनि पहिले साथमा हुँदा पनि मैले नै बेसी सम्झनु पर्थ्यो  । सम्झिने र सम्झाउने ठेक्का भगवानले मेरै भागमा मात्रै पारिदिए जस्तो लाग्छ । उनको जय होस् । उनीहरूसँगको सम्बन्ध सकिँदा केवल प्रेम मात्रै सकिएन, त्योसँगै ठुलो देश जाने मेरा सपनाहरूको पनि हत्या भएको छ । उनीहरूलाई मेरा सपनाको पाप नलागोस् ।

त्यसैगरी प्रेम सम्बन्धमा रहुन्जेल मलाई चाहिने सबै सामान किनिदिने प्रेमिका पनि आए । भात पकाउने राइसकुकर, तरकारी पकाउने फ्राइपिनदेखि मलाई आवश्यक पर्ने “A to Z” सबै सामान  उपहारमा दिने प्रेमिका पनि थिए । हरेक महिना आफूले उपहार दिनु पर्ने प्रेमिका पनि आए । मलाई अप्ठ्यारो  पर्दा एक-दुई लाख रुपैयाँ सापटी दिनेहरु पनि थिए भने आफूले खाएको रक्सीको पैसा तिर्नलाई ५/१० हजार अनुदान माग्ने प्रेमिकाहरु पनि थिए । एक दुई महिनाको प्रेम सम्बन्ध रहुन्जेल ममाथि दुई चार लाख खर्च गर्न सक्ने क्षमता भएका प्रेमिका पनि आए भने मेरो एक महिनाको पुरै तलब सापटी मागेर त्यो फिर्ता नगरी सम्बन्धबाट हराउने प्रेमिकाहरु पनि आए ।

साहित्य सर्जकदेखि पत्रकारसम्म, स्टाफ नर्सदेखि वकिलसम्म, स्कुल पढाउनेदेखि कलेज पढाउनेसम्म, पढ्दै गरेका विद्यार्थीदेखि बैँकका कर्मचारीसम्म, गाउँमा घाँस दाउरा गर्नेदेखि सहरमा डिस्को जानेसम्म,  हाउसकिपिङदेखि सेक्युरिटी गार्डसम्म, शुद्ध  शाकाहारीदेखि मांसाहारीसम्म, दुध र जुस मात्र पिउनेदेखि

रक्सी चुरोट खानेसम्म सबै किसिमका गल्फ्रेण्डको प्रेममा परियो । मासु खानेले त मासु खाए नै, नाखानेले समेत मेरो मासु खाए । आफ्नै उमेर समूहका, आफूभन्दा एक-दुई वर्ष जेठी पनि कान्छी पनि, आफू भन्दा १० वर्ष कान्छी, त्यति नै वर्ष जेठीसम्म सबै उमेर समूले मलाई प्रेममा लोभ्याउन भ्याए ।

एक पटक त लेस्बियनसँग पनि प्रेम हुन पुग्यो । उनी लेस्बियन भन्ने कुरा चाहिँ पछि मात्रै थाहा भयो । अहिले उनी उनीजस्तै सँग बिहे गरेर जीवन बिताइरहेकी छिन । “मलाई त केटा मान्छेहरु पटक्कै मनै पर्दैन” भनिरहन्थिन । कुरो बुझ्दै जाँदा त्यस्तो रैछ । त्यसैगरी  “श्रीमती बनाएर घर लानु पर्दैन, तपाईंको नामको एक चिम्टी सिन्दुर र एउटा बाच्चा दिए पुग्छ” भन्नेहरू पनि आएका थिए जीवनमा । विचरा म सोझो मान्छे, उनीसँगै भावनामा बगेर “हस हुन्छ” भनिदिएको थिएँं । मैले “हुन्छ” भनेको २४ घन्टा पनि बित्न  नपाउँदै उनले मलाई सबै ठाउँमा ब्लक ठोकिन । सञ्जालबाटै गायब भइन । अहिले कसको सिन्दुर लगाएर, कसको बच्चा खेलाइरहेकी छिन ? मलाई थाहा छैन । त्यति मात्रै कहाँ हो र ? “म तिमीसँग बिहे चाहिँ  गर्न सक्दिन । तर तिमीले अरु सँगै बिहे गर्यौ भने पनि मलाई जीवनभर प्रेम गरिहनु । म तिम्रो प्रेमिका भएर जीवनभर बस्न चाहन्छु ।”

भन्ने प्रेमिका पनि थिइन । “तिमीले अर्कीसँग बिहे गर्ने बेला उसलाई सारी किनिदिँदा मलाई पनि किनिदिनु । उसलाई सिन्दुर, पोते र चुरा पनि पक्कै किनिदिन्छौँ, त्यतिबेला मेरो लागि पनि किन्नु । अनि म त्यही लगाएर तिम्रो बिहेमा नाच्न आउँछु” भनेर आफ्नो पागनपन सुनाउँथिन । उनको पागलपन देखेर म बबुरो मुस्कुराउँथेँ मात्र । अहिले उनी कहाँ छिन ? अत्तोपत्तो छैन । तर उनले भनेका ती कुराहरू सम्झेर म एकान्तमा पनि मुसुक्क मुस्कुराउँछु कहिलेकाहीँ । व्यवहारमा ती कुराहरु कति सम्भव थिए/थिएनन्, त्यो आफ्नो ठाउँमा छ । तर कम्तिमा त्यति भन्ने आँट त गरिन नि जस्तो पनि लाग्छ ।

बुर्जखलिफाको टुप्पोदेखि चोभारको डाँडोसम्म, माइखोलाको बगरदेखि समुन्द्री किनारसम्म, जामुनखाडीदेखि मिराकल गार्डेनसम्म, चन्द्रागिरी हिलदेखि डेजर्ट सफारीसम्म, मुक्तिचोकदेखि दुबईका गल्लीहरुसम्म पुगेर प्रेमका ठुला-ठुला वाचा कसमहरु पनि खाइयो । अहिले एक्लै अथवा नयाँ प्रेमिकाको साथमा ती ठाउँहरुमा पुगिरहँदा म उनीहरूलाई पनि सम्झिन्छु, जोसँग यी ठाउँमा आएर मेरो प्रेम पोखिएको थियो । उनीहरूलाई सम्झिँदै गर्दा ताजुब लागेर आउँछ । दिन यस्ता पनि थिए, जहाँ फोनमा कुराकानी  नभएको दिन भात निल्न गाह्रो हुन्थ्यो ।

आजभोलि न फोनमा कुराकानी हुन्छ, न कुनै म्यासेज नै आदानप्रदान हुन्छ, फेरि पनि भात त रुचेकै छ । नहुँदा पनि हुँदो रैछ त आखिर ! हिजो किन यस्तो लाग्यो कि ऊ नभए म बाँच्न सक्दिनँ ।

“धन्न पैले मैले

“तिमी बिना बाँच्न सक्दिन”

भनिनछु

नत्र आज हेर त !

प्रेमको कत्रो

अपमान हुने थियो….”

केही समय पहिले आफैँले लेखेको यो पंक्ति याद आयो ।

यति धेरै जनासँग प्रेम भए पनि “तिमीबिना बाँच्न सक्दिन” भन्नेहरू चाहिँ कोही पनि निस्किएनन् । सायद उनीहरूलाई थाहा थियो कि, उनीहरूलाई मसँग भन्दा अरुसँग नै जीवन बिताउन सहज हुनेछ । त्यसैले त आउनेहरू कोही पनि लामो समय टिकेनन् । बरु “अरुसँग मेरो बिहे भयो भने, उसँग सेक्स कसरी गर्नु होला ? तिमीले जति सन्तुष्टि त दिँदैन होला मलाई” भन्नेहरू चाहिँ थिए ।

मेरो एउटा खराब बानी के भने, कसैसँग लभ पर्ने बित्तिकै घर परिवार र साथीहरूलाई सुनाइहाल्नु पर्ने । मनमा लुकाएर राख्नै नसक्ने । खसखस भइहाल्ने । अनि सुनाइहाल्नु पर्ने । “बिहे चाहिँ गर्नु पर्दैन, खाली लभ मात्रै गर्दै हिँड्” हरेक पटक आमाको डाइलग यही हुन्थ्यो । कतिलाई त मैले घरमै पनि लिएर गएँ, कोही चाहिँ जान मान्दैन थिए । छिमेकीहरु पनि दङ पर्थे, मैले गल्फ्रेन्ड फेर्दै घर लगेको देखेर । अपवाद बाहेक सबैले मलाई छोडेका हुन । कारण माथि उल्लेख भइसकेको छ । केहीलाई चाहिँ म आफैँले छोडेको हुँ । त्यसको पनि कारण माथि छ । छोड्ने र छोडिने क्रम धेरै भएर होला अहिले कसैले “म तपाईंलाई प्रेम गर्छु” भन्यो भने “कहिलेसम्मलाई हो ?” भनेर सोधिहाल्छु । किन भने प्रेमको आयु लामो हुन्छ भन्ने कुरामा मलाई विश्वास लाग्न छोडिसकेको छ । “म त विश्वास हराएको मान्छे हुँ” मेरो एउटा कविता छ । पछि कुनै दिन सुनाउँला ।

एक दिन गल्फ्रेन्डसँग कुराकानी गरिरहेको बेला मेरो मोबाइल ह्याङ भयो । त्यतिकैमा उनले “यत्रो पैसा कमाउनु हुन्छ, एउटा नयाँ मोबाइल किन्नु नि !” भनिहालिन् । “गल्फ्रेन्ड हो र वर्षैपिच्छे फेर्दै हिँड्नलाई ?” मेरो मुखबाट पनि फुत्त जवाफ निस्किहाल्यो । मैले यति के भनेको थिएँ रिसाएर उनले फोन राखिन र सधैँका लागि सम्बन्ध सकिन् । अहिले उनी जर्मनीमा छिन । सम्बन्ध कायमै रहेको भए यतिबेला म पनि उनीसँगै जर्मनीमा हुन्थेँ । भाग्यमा नभएपछि सम्झिने पानी छम्किने !

बिहे गर्नलाई मात्रै हो धेरै थोक मिल्नु पर्ने, धेरै कुरा मिलाउनु पर्ने ।  प्रेम गर्नलाई त मन र कुरो मिले पुग्छ । शरीर त स्वत: मिलिजाने कुरा रहेछ ।  त्यसैले होला, बिहे जो कसैसँग हुँदैन अनि प्रेम जोसँग जतिबेला पनि भइदिन सक्छ । यसको मतलब बिवाहभन्दा प्रेम अलिक कम जिम्मेवारीको काम हो । बिहे गर्न जति सकस छ, त्यति नै सकस प्रेम गर्नमा पनि हुन्थ्यो भने १८ वर्षमा यति धेरै प्रेम कसरी सम्भव हुन्थ्यो होला र ? जसको अहिलेसम्म एउटा पनि बिहे हुन सकेको छैन । त्यसैले प्रेम गर्न सजिलो छ बिहे गर्नु भन्दा ।

अहिलेसम्मको जीवन यात्रामा जति पनि आए र गए, ती सबैले मलाई पीडा भने दिएनन् । वियोगमा मेरो हृदयले उतिसाह्रो रोइलो गरेन । किनभने, ती जसरी आएका थिए त्यसरी नै गए, बसपार्कमा आउने यात्रीहरु जस्तो । यात्रीहरु आउनु र जानुले बसपार्कलाई के फरक पर्ला ? हृदयले भारी महसुस गर्नु परेन । तर केही यस्ता पनि प्रेम भए, अहिले पनि सम्झिँदा भक्कानो छुट्न खोज्छ । ती प्रेम छुटेकामा कहिलेकाहीँ पछुतो पनि लाग्छ र दुःख पनि । पछुतोभन्दा पनि दुख बेसी ।

ती प्रेम साँच्चै मिठा थिए र लोभलाग्दा पनि, हातबाट उम्किएको माछो ठुलो लागेजस्तै । सायद तिनीहरूमध्ये कोही एक जनासँग यदि जीवन बिताउन पाएको भए आज उनीहरूलाई सम्झिएर यसरी शब्दहरूमा पोखिनु पर्ने थिएन । एउटा असल लोग्ने भएर जीवन गुजारा गरिरहेको हुन्थेँ होला ।

यति हुँदाहुँदै पनि म सुध्रिएको भने छैन र प्रेम गर्न छोडेको पनि छैन । यो क्रम तबसम्म चलिरहने छ जबसम्म जीवनभर टिक्ने कोही भेटिँदैन । प्रयास गर्नेहरू एकदिन अवश्य पनि लक्ष्यमा पुग्छन् भन्ने सुन्दै आएको छु । त्यसकारण पनि यो प्रयास जारी नै रहने छ । छुटेर गएकाहरू अहिले जहाँ-जहाँ छन्, पक्कै पनि मभन्दा राम्रो मान्छेसँग छन् भन्ने विश्वास छ । मभन्दा गतिलो पाउँछु भनेरै/पाएरै लत्याएका हुन् । अनि अहिले त्यति पनि हुन सकेन भने मसँग मुख कसरी देखाउँछन् ? कामना गर्छु, बाटोमा भेट्दा लाजले शिर नझुकोस् मेरो पनि र उनीहरूको पनि । उनीहरूलाई एउटै कुरा भन्न चाहन्छु, “कुनै दिन म पनि तिमीहरूको प्रिय पात्र थिएँ” भन्ने सम्झना कुनै दिन आयो भने म्यासेज गरेर सम्झिएको छु भन्ने जानकारी गराइदिनु, मलाई पनि खुसी लाग्नेछ ।

यदि कुनै दिन म पनि मैले चाहेको जस्तो गन्तव्यमा पुग्न सकेँ भने, उनीहरूलाई बिर्सिदिनेछु । जसरी अहिले उनीहरूले मलाई बिर्सिएका छन । प्रेम गर्नेहरूका लागि महान् पर्व मानिने यस प्रेम दिवसका अवसरमा सम्पूर्ण पूर्वप्रेमिकाहरुलाई एकसाथ सम्झिँदै शुभकामना व्यक्त गर्न चाहन्छु ।

जाँदाजाँदै, यो लेख तयार गर्दै गर्दा लेखिएको एउटा कविता राखेर म पनि तपाईंहरुबाट बिदा हुन चाहन्छु । तपाईंहरु पनि जानुस् र आफ्ना प्रेमी/प्रेमिका, श्रीमान/श्रीमतीलाई प्रेम दिवसको शुभकामना दिनुस् । हस् त धन्यवाद ।

कविता : भर्जिन

====

प्रेम परीक्षा पनि प्रतीक्षाको

जसमा तिमी असफल भयौ

सायद त्यसैले होला

तिमीलाई पाउने प्रतिस्पर्धामा

म पराजित भएँ

अब त म

उसैको हुन चाहन्छु

जसलाई पाउन मैले

कसैसँग प्रतिस्पर्धा गर्नु पर्दैन

यतिबेला म

यस्तो गुलाफको खोजीमा छु

जसलाई काँडाबाहेक

अरु कसैले छोएको नहोस्

र, म यस्तै

सहयात्रीको खोजीमा पनि छु ।

तर म आफू भने

हजारौँ ओठहरु चाहार्दै

यहाँसम्म आइपुगेको छु ।