न तज्ज्ञानं न तच्छिल्प न सा विद्या न सा कला ।
ना सौ योगो न तत्कर्म नाट्येक्स्मिन् यन्नदृश्यते ।।

अर्थात्, कुनै ज्ञान, कुनै सीप, कुनै विद्या, कुनै कला, कुनै योग वा कुनै कर्म यस्तो छैन, जुन नाट्यमा उल्लेख नगरिएको होस् ।

मोहनप्रकाश

पूर्वीय काव्य परम्पराका आदिकाव्यकार भरत मुनिको जीवनकाल ईसापूर्व २०० तिर भएको अनुमान छ । कसैले ईपू ४०० देखि २०० को बीच त कसैले ५०० देखि १०० बीच हुनसक्ने अनुमान पनि गरेको पाइन्छ । आजका मितिसम्म पनि भरत मुनिको जीवन कालको सही मिति कतै प्रमाणित भएको देखिन्न । भरत मुनिको कालक्रमका बारेमा विद्वानहरूको मत एक नभए पनि ईसापूर्व नै हो भन्नेमा कसैको विमति देखिन्न । त्यस समयमा रचना भएको उनको ‘नाट्यशास्त्र’ आधुनिक विश्वका समस्त रङ्गकर्मीहरूका लागि समेत ‘नाट्यसूत्र’ भने हुन्छ । किनभने त्यो बेलाको समयमा रचना भए तापनि आधुनिक रङ्गमञ्चमा प्रयोग हुने गरेका हरेक क्षेत्र र पक्षको उक्त नाट्यशास्त्रमा गहिराईमा पुगेर विस्तृत व्याख्या गरिएको छ । मैले हिन्दीमा अनुवादित डा. ब्रजवल्लभ मिश्रको ‘भरतके नाट्यशास्त्र’ र भरत मुनिका बारेमा पाएसम्मका दर्जनजति सामग्रीका आधारमा यो सानो आलेख तयार पार्नेसम्मको धृष्टता गरेको हुँ । र, यो आलेख नाट्यशास्त्रको संक्षिप्त परिचयको प्रयास मात्र हो ।

नाट्यशास्त्रको अध्याय एकको प्रारम्भमा सर्वप्रथम ग्रन्थकारले भगवान शिवलाई प्रणाम गरेको उल्लेख छ । त्यस्तै एकदिन स्नान–ध्यानबाट निवृत्त भएर ऋषिगणले भरत मुनिलाई– ‘नाट्यवेदको उत्पत्ति कसरी र किन भएको ?’ भनेर प्रश्न गरेको उल्लेख छ । यो प्रश्नको उत्तरमा भरत मुनि भन्छन्– ‘देवताहरूको प्रार्थनापश्चात् ब्रह्माजीले चारवेद र उपवेदको ध्यान गरेर त्यसबाट सामग्री लिनुभयो र पञ्चम्वेदको रूपमा नाट्यवेदको सृष्टि गर्नुभयो । ब्रह्माजीकै आज्ञानुसार मैले आफ्ना सयपुत्रलाई यसको शिक्षा दिएँ । श्रृंगार रसको लागि यसमा स्त्रीहरूको कमी थियो । ब्रह्माजीले २४ अप्सराहरू दिनुभयो । नारदजीले गन्धर्ववेदको शिक्षा दिनुभयो । भगवान् शिवको आज्ञाले तण्डुले मलाई नृत्यको शिक्षा दिनुभयो । सबै देवतागणले हामीलाई आशीर्वाद दिनुभयो । त्यसपछि नाटकको प्रतिष्ठा यज्ञ र जपको सामग्री मिल्यो । यस कार्यबाट मनुष्यलाई शुभ फल प्राप्त हुन्छ र सत्य र सदाचारको शिक्षा मिल्छ ।’

डा. मिश्रका अनुसार– ‘नाट्यशास्त्रमा उल्लेख भएका भनिएका भरतका सयपुत्र उनका शिष्य हुन् ।’ अर्थात् भरतका तिनै सय शिष्य आदिम रङ्गकर्मी हुन् भनेर बुझ्नु पर्छ ।
यसरी प्रारम्भ भएको नाट्यशास्त्रको नाटक प्रस्तुतिपूर्व र नाटक सम्पन्नपश्चात् सामूहिक मङ्गलाचरण उच्चारण गर्ने विधि–विधानको पनि उल्लेख गरिएको छ । रङ्गमञ्चमा विध्न–बाधा नआओस् भनेर सूत्रधारसहित नट(नाटक) समुदायबाट प्रारम्भमा मङ्गलाचरण अर्थात् ‘नान्दी’ पाठ गर्ने र नाटक समाप्तिपछि अभिनेता र लोकको कल्याण होस् भनेर ‘भरत वाक्य’ले मङ्गल कामनासहित नाटक टुङ्ग्याउने रीत एवम् प्रचलनको पनि उल्लेख छ ।

पञ्चम्वेद वा नाट्यवेद
जग्राह पाठ्याम् ऋग्वेदात् सामभ्यो गीतमेव च ।
यजुर्वेदाद्भिनयान् रसानाथर्वणादपि ।
(नाट्यशास्त्र, १–१७)
अर्थात्, ब्रह्माजीले ऋग्वेदबाट पाठ्य, सामवेदबाट गान, यजुर्वेदबाट अभिनय र अथर्ववेदबाट रसतत्त्व लिएर नाट्यवेदको रचना गर्नुभयो ।

भरत मुनिले नाट्यशास्त्रको सृष्टिकर्ताको श्रेय स्वयं ब्रह्मालाई दिएका छन् । ब्रह्माण्डको सृष्टिकर्ता स्वयं ब्रह्मा भएको र नाट्यशास्त्रको ज्ञानको स्रोत पनि ब्रह्मा नै भएकाले भरत मुनिले यसको सृजनाको श्रेय ब्रह्मालाई दिएका हुन् भन्ने पनि स्पष्ट हुन्छ ।
नाट्यशास्त्रमा प्रयुक्त चारवेदका तत्त्वहरू के के थिए त भन्ने कुरा पनि नाट्यशास्त्रमा उल्लेख भएको पाइन्छ । जुन तल चर्चा गरिन्छः
ऋग्वेदबाट पाठ्य अर्थात, व्याकरण, भाषा, कथा, संवाद आदि । नाट्यशास्त्रको अध्याय १७, १९, २० र २६ मा यी कुरा स्पष्ट र गहिराईसम्म पुगेर विवेचना गरिएको छ । अध्याय १७ लाई ‘भाषा–लक्षण’ शीर्षक दिइएको छ, जसमा भाषा बोल्ने विधिका बारेमा उल्लेख छ । अध्याय १९ को शीर्षक ‘इतिवृत्ति रचना’ दिइएको छ, जसमा कथा रचनाका बारेमा उल्लेख छ । त्यस्तै अध्याय २० लाई ‘वृत्ति लक्षण’ शीर्षक दिइएको छ, जसमा वाचन शैलीको उल्लेख छ । र, अध्याय ३६ लाई ‘नाटयशाप’ शीर्षक दिइएको छ, जसमा कथा–शैलीको बारेमा उल्लेख छ ।

यिनमा यति सूक्ष्म कुरा समाइएको छ कि जस्तैः अध्याय १७ को ‘भाषा–लक्षण’ शीर्षकमा प्राकृत भाषाको लक्षण, शब्दको देशज र विभ्रष्ट रूप, असंयुक्त अक्षरको भ्रष्ट रूपको नियम, भाषाका अति भाषा जाति भाषाका रूप, नायक आदिद्वारा संस्कृत र स्त्री तथा निम्नवर्गीय पुरुष पात्रहरूले बोल्ने भाषा प्राकृत भाषा उल्लेख छ । प्राकृतमा पनि पात्र–पात्राहरूको श्रेणी मर्यादाअनुसार शौरसेनी, मागधी, आवन्ती आदि विभाषाहरू प्रयोगको उल्लेख छ भने विभिन्न क्षेत्रमा बोलिने भाषा उच्चारणका भेदको विस्तृत वर्णन छ ।
सामवेदबाट गान अर्थात्, सो समयमा सङ्गीत शब्द नभएर हुन सक्छ गन्धर्ववेदको उल्लेख छ । माथि अध्याय एकमा नारदजीले गन्धर्ववेदको शिक्षा दिनुभएको कुरा पनि आइसकेको छ । यसको बारेमा नाट्यशास्त्रको अध्याय २८ अर्थात् ‘आतोद्य–विधान’ शीर्षकमा गन्धर्वविद्याको विस्तृत चर्चा छ । यसबाहेक अध्याय ३, ५, १०, १५, २९, ३०, ३१, ३२, ३३ र ३४ मा वाद्यको उत्पत्तिदेखि गन्धर्व जातिको, मुखले फुकेर बजाउने बाजाको, ताल र लयको सम्बन्धका साथै अध्याय ३२ को ध्रुवाध्यायमा ११० प्रकारका ध्रुवा–छन्दसम्मको विवेचना गरिएको छ ।

यजुर्वेदबाट अभिनय, नाटयशास्त्रको अध्याय ८ मा अभिनयका ४ भेद; आगिक, वाचिक, आहार्य र सात्त्विकको विस्तृत चर्चा छ । यसबाहेक अध्याय १४ मा बागाभिनय अर्थात् वाणी अभिनयको चर्चा छ । त्यस्तै अध्याय २१ मा आहार्य अभिनयको विस्तृत चर्चा छ । अध्याय २४ मा ‘प्रकृति लक्षण’ शीर्षकमा अभिनयका लागि स्त्रीका विभिन्न रूपको चर्चा छ । र, अध्याय २६ मा अभिनयका प्रकृतिहरूका बारेमा चर्चा छ । नाट्यशास्त्र अभिनयको यति गहिराईसम्म पुगेर चर्चा गर्छ कि अध्याय ९ मा ६४ प्रकारका हातका मुद्राको चर्चा छ । पात्रले अभिनयको बखत उसका हातका औंलाहरूको स्थितिसम्मको व्याख्या उल्लेख छ ।

वास्तवमा नाटकको अनिवार्य तत्त्व नै अभिनय हो । अवस्था अनुसारको अनुकरणलाई अभिनय भनिन्छ । अध्याय ८ मा उल्लेखित अभिनयका ४ भेदअनुसार आंगिकमा अनुकरणात्मक नृत्यको विभिन्न भावभङ्गिमा एवम् मुद्रायुक्त भाषा हुन्छ । यसमा लयात्मक वा गीतात्मक रचनाको पदार्थ अभिव्यञ्जित हुन्छ । त्यस्तै श्रृंगार, वीर, करुण आदि रसयुक्त वाक्यद्वारा मानसिक भावको अनुकरण गर्नु वाचिक अभिनय हो । पात्र अनुसारको वस्त्र, आभूषण प्रयोगको अनुकरणलाई आहार्य भनिन्छ भने हात, मुख आदिको विशेष भङ्गिमाबाट सात्त्विक भावलाई प्रदर्शित गर्ने अभिनयलाई सात्त्विक भनिन्छ ।

अथर्ववेदबाट रस, नाट्यशास्त्रको अध्याय ६ मा रसको चर्चा छ । भरत मुनि नाटकमा हास्य, करुण, रौद्र, वीर, भयानक, वीभत्स तथा अद्भूतसहित आठ रसको उल्लेख गर्छन् । प्रत्येक रसका स्वरूपलाई बिस्तारमा व्याख्या गरेका छन् । ती रसका सूक्ष्मादि–सूक्ष्म अंगको विवेचना गरिएको छ । रस र भावको सम्बन्धको व्याख्या गरिएको छ ।

पूर्वीय साहित्यमा रसलाई सर्वाधिक महत्त्व दिइएको छ । रसको मूल आधार नाटक हो । अभिनव गुप्तले ‘नाट्यमेव रसः’ भनेर स्पष्ट शब्दमा यसको समर्थन गरेका छन् । त्यसैले नाटकका लागि रसको परिपूर्णता अपरिहार्य मानिएको छ । रस शब्दको शास्त्रीय प्रयोग सर्वप्रथम भरतको नाट्यशास्त्रमा नै भएको थियो । भरतपछिका अधिकांश रसवादी चिन्तकहरूले रसलाई काव्यको आत्मा र ब्रह्मानन्द सहोदर मानेका छन् । र, पछि नाट्यशास्त्रमा उल्लेखित ८ रसमा शान्त रस थप गरी नवरस भनिएको हो ।

नाट्यशास्त्रमा चारवेदबाट प्रयुक्त भनिएका पाठ्य, गान, अभिनय र रस तत्त्वबाहेक अन्य अध्यायहरूमा नाट्यशाला निर्माण, नृत्य; जुन आज पनि भरतनाट्यम्का नामले दक्षिण भारतमा शास्त्रीयनृत्य शैलीले प्रचलित छ । भरतनाट्यम् सबैभन्दा प्राचीन नृत्य मानिन्छ । त्यस्तै पाँच प्रकारका भावको विवेचना गरिएको छ । मञ्चमा कसरी हिंड्ने, पात्र अनुसारको चाल कसरी गर्ने, मञ्चको विभाजन, ३६ प्रकारका अलंकार लक्षणको विवेचना गरिएको छ । नाटक प्रदर्शन वा प्रयोगका दश शैलीको व्याख्या छ । स्त्री र पुरुषका सम्बन्धका बारेमा चर्चा गरिएको छ । त्यस्तै मञ्च सज्जा, नाटकको नयाँ प्रयोगका बारेमा ‘सिद्धिभंजक लक्षण’ शीर्षकमा उल्लेख छ भने अध्याय ३६ वा ‘नाटयशाप’ शीर्षकमा मञ्च र नेपथ्यमा काम गर्नेहरूका बारेमा चर्चा छ ।
नाट्यशाास्त्रको अन्तिम ३७ औं अध्याय हो, जसलाई ‘गुह्यतत्त्व’ शीर्षक दिइको छ । यस अध्यायमा भरत मुनिले ‘हामी कसरी श्रापमुक्त भएर स्वर्गमा प्रस्थान गर्छौं’, भनेर प्रथम अध्यायमा उल्लेख भएको ‘नाटक प्रतिष्ठाबाट मनुष्यलाई शुभ फल प्राप्त हुन्छ र सत्य अनि सदाचारको शिक्षा मिल्छ’ भन्ने विषयलाई जोड्दै तारतम्य मिलाएर कथावाचनको अन्त्य गरेका छन् । एक ठाउँमा त उनले यहाँसम्म भनेका छन्– ‘नाट्य प्रदर्शनको ध्वनि जहाँ–जहाँ पुग्छ त्यहाँका देवगणहरू समेत उक्त ध्वनिले आकर्षण गरेर उक्त स्थानमा आइपुग्नेछन् ।’ भरत मुनिकानुसार– ‘स्नान र जपभन्दा अधिक फल नाटकले प्रदान गर्नेछ ।’ यसरी समग्ररूपमा नाट्यशास्त्रले पञ्चम्वेद वा नाट्यवेदको साकार रूप ग्रहण गरेको छ ।

नाट्यशास्त्रका बारेमा थप कुरा
ग्रन्थकार आदि भरतको नाट्यशास्त्रमा १२००० श्लोक सहित थप गंद्याश पनि रहेका थिए भन्ने उल्लेख पाइन्छ । यसैकारण यसलाई ‘द्वादशसाहस्री संहिता’ को नामले चिनिन्छ । तर कालक्रमअनुसार यसलाई ६००० श्लोकमा परिमार्जित गरियो । उक्त संक्षिप्त नाट्यशास्त्रलाई ‘षटसाहस्री’ भनियो । पछि जसले ‘द्वादशसाहस्री’ लाई ‘षटसाहस्री’मा परिमार्जित गरे उनलाई पनि भरत भनेर उल्लेख भएको भेटिन्छ । तर के पनि भनिन्छ भने आदि भरत र भरत दुई व्यक्ति नभएर एकै व्यक्ति थिए भन्ने मत पनि छँदैछ । प्रारम्भमा विस्त्रित खण्डमा रचना गरिएको नाट्यशास्त्रलाई उनै भरतले संक्षिप्त बनाएका हुन् । दोस्रो भरतको तात्पर्य परिपूर्ण संहिताकार हो भन्ने विद्वानहरू पनि भेटिन्छन् । यद्यपि यी दुवै कुरा यकिन मान्ने स्थिति छैन । विद्वानहरूले आ–आफ्ना तर्कलाई समाइरहेकै भेटिन्छ । सन् १८२५ अगिसम्म यो ग्रन्थ गुमनाम थियो । त्यसपछि विभिन्न अवस्थामा त्यसका अध्यायहरू फेला पर्दै गए । र, नाट्यशास्त्रको परिमार्जन गर्ने क्रम पनि कालक्रमिक विद्वानहरूबाट जारिरह्यो । त्यसैले पनि विभिन्न अध्यायमा भाषा शैलीमा समानता भेटिन्न । कहीं गद्यलाई त कहीं पद्यलाई महत्त्व दिइएको देखिन्छ ।

नाट्यशास्त्रलाई अन्य भाषामा अनुवाद गर्ने क्रममा, ‘शंकरले नृत्य र पार्वतीले श्रृंगार गरिदिनुभयो । विश्वकर्माले रङ्गशाला बनाइदिए । ब्रह्माको आदेशले भरत मुनि संसारमा नाटकको प्रदर्शन गर्दै डुल्न थाले’, जस्ता कुराहरू एकपछि अर्का भावानुवादहरूमा सर्दै गए र नाटकको यो प्रथम भनिएको ग्रन्थलाई मानवकृतको सट्टा देवकृत सिद्ध गरिएको पनि उल्लेख पाइन्छ । यस्ता कार्यले यसको मौलिकता र महत्त्वमाथि नै प्रश्न खडा गरिदिएको कतिपय विद्वान्हरूको मत छ । यस्तै एउटा घटना अङ्ग्रेजी अनुवादमा पनि उल्लेख छ ।
कलकत्ताका सुधी विद्वान डा. मनमोहन घोषले सन् १९५० मा नाट्यशास्त्रको अङ्ग्रेजी अनुवाद गरेका थिए । जुन एशियाटिक सोसाइटी अफ वंगाल, कलकत्ताबाट प्रकाशित भएको थियो । सो अनुवादमा २८ देखि ३३ सम्मका अध्याय नै थिएनन् । अनुवादित अंशमा पनि संस्कृतका मौलिक शब्दहरूका उचित अङ्ग्रेजी शब्दका सट्टा डा. घोषले अनगिन्ती सतही र मनपरी शब्दहरूको प्रयोग गरेका थिए भनेर हिन्दी अनुवादक डा. ब्रजवल्लभ मिश्रले आपत्ति जनाएका छन् । केही हिन्दी अनुवादकहरूले पनि अन्तिम अध्याय नै छुटाएर ३६ अध्यायसम्म मात्र प्रकाशनमा ल्याएको कुरा उल्लेख गर्छन् मिश्र ।
‘अभिनय भारती’ अहिलेसम्मकै उत्कृष्ट हिन्दीभाष्य ग्रन्थ मानिन्छ । स्वर्गीय एम. रामकृष्ण कविले ४५ वर्ष लगाएर नाट्यशास्त्रको अनुवाद गरेर यो कृति तयार पारेका थिए । हिन्दीमा अहिलेसम्मको यो नै आधिकारिक, सही र प्रमाणिक ग्रन्थ मान्छन् मिश्र ।

‘अभिनय भारती’ प्राच्य–विद्या–संस्थान, बडौदाले विभिन्न समयमा यसका संस्करणहरू प्रकाशमा ल्याएको थियो । पछि निर्णय सागर प्रेस, बम्बई तथा चौखम्बा संस्कृत सिरिज, बनारसले पनि यसका विभिन्न संस्करण प्रकाशन गरेका थिए ।
अन्त्यमा
भरतले नाटकको उत्पत्तिका सम्बन्धमा नाट्यशास्त्रमा एउटा रमाइलो कथा उल्लेख गरेका छन् । उनका अनुसार– ‘एक समयमा नाना प्रकारका रोग, शोक र सुर्ताले पीडित भएका स्त्री र शुद्रहरूको मनोविनोद र बुद्धिप्रवर्धनका लागि कुनै पञ्चम्वेदको सृष्टि गर्न ब्रह्माजीसित अनुरोध गरे ।’ र, त्यसैको परिणाम ब्रह्मज्ञानका सहाराले नाटकको सृष्टि भएको उल्लेख छ । त्यस समय प्रेक्षागृह प्रवेशमा शुद्रहरूलाई वर्जित थियो । तर भरतले नाटक सबैका लागि भएको हुनाले सोहीअनुरूप रङ्गमञ्चको विधान तयार गरेर ३ प्रकारका प्रेक्षागृहहरूको खाका तयार पारे । र, शुद्रहरूका लागि स्थान निश्चित गरे । त्यस्तै आरम्भमा नाटकका तीन वृत्ति भारती, सात्वती र आरभती मानिएको थियो । तर स्त्रीलाई प्रमुखता दिनका लागि एउटा नयाँ वृत्ति ‘कौशिकी’ थपियो । ‘कौशिकी’ हास्य–श्रृंगार नाट्यर्मभ दात्विका भनेर यसका सबै लक्षण प्रकृत रूपमा स्त्रीमा नै पाइन्छ भनिएको छ । यसैअनुरूप कौशिकी वृत्ति स्त्री जातिको प्रवृत्तिअनुसार प्रचलित भयो । नाट्यशास्त्रमा अभिनेतादेखि स्त्री र पुरुषको सम्बन्ध त्यस्तै मञ्च र नेपथ्यमा काम गर्नेहरू सबैको त्यत्तिकै महत्त्वका साथ चर्चा छ । नाटक र लोकको कस्तो सम्बन्ध हुनुपर्छ भन्ने कुरा नाट्यशास्त्रको यो श्लोकले नै सायद अझ पूर्ण पाठ गर्दछ–
वेदाध्यात्मोपपन्न तु शब्दच्छन्दस्समन्वितम् ।
लोकसिद्धं भवेत्सिदं नाट्य लोकात्मक तथा ।।
(नाट्यशास्त्र, २५–१२१)

अर्थात्, नाटक चाहे वाद्य या अध्यात्मबाट उत्पन्न होस् वा जतिसुकै सुन्दर शब्द वा छन्दमा रचिएको होस्, त्यो त्यतिखेर मात्र सफल मानिन्छ, जब लोकले त्यसलाई स्वीकार गर्छन् । किनभने नाटक लोकका लागि हुन्छ ।

कतिपय विद्वानहरू यो ग्रन्थमा के छ भन्नुभन्दा पनि के छैन भनेर खोज्नु राम्रो हुन्छ भन्छन् । यो नाटकको ग्रन्थ मात्र नभएर समग्र कला र साहित्यको ग्रन्थ हो । अझ उनीहरूको अभिप्राय यो समग्र जीवनको ग्रन्थ हो । प्रारम्भमा उल्लेख भएको श्लोकको तात्पर्यले यही कुरा स्पष्ट पार्दछ– ‘कुनै ज्ञान, कुनै सीप, कुनै विद्या, कुनै कला, कुनै योग वा कुनै कर्म यस्तो छैन, जुन नाट्यमा उल्लेख नगरिएको होस् ।’
अस्तु ।