गह्रुङ्गो झोला बोकेर भाइ दिदीको घर बास बस्ने गरी आइपुगे । उनले दिदीका अघिल्तिर झोला राखिदिए ।

“सानो बट्टामा दही, एकजोर सारीचोलो, भान्जाभान्जीका लागि मिठाई र खेलौनाहरू… ” उनले झोला फुकाइन् ।

गोठमा गाई भैंसी कराए । घाँस पराल गर्नुपर्ने, दुहुनुपर्ने । पछि कुरा गरौंला भन्दै दिदी गोठतिर झरिन् ।

भाइ सासूसँगै रहे । करिब दस मिनेट बात मारेपछि सासूले भनिन्, “बाबु ! बस्ने गरेर आउनु भो कि फर्कने गरेर ? नभए आज यतै बसे पनि भो ।”

यो वाक्यले साँझै परे पनि भाइले फर्कने बिचार गरिहाले ।

साँझमा दिदीले भाइलाई देखिनन् । उनले सासूको व्यवहारको अड्कलबाजी गरिन् ।

दुई महिनापछि भाइ फेरि दिदीकहाँ गह्रुँगो झोला बोकेर दिउँसै आए । सासूको अघिल्तिर झोला बिसाए । त्यहाँ एक माना घिउ, एकमाना मह, कुरौनी थियो । त्यति नै बेला भाइले भने, “मुमालाई भेट्न मात्र आएँ, अब जानुपर्यो ।”

वाक्य सकिन पाउँदै–नपाउँदै सासूले डाँकोले टिप्दै भनिन, “ए ! बल्लबल्ल महिनौं दिनमा आउनुभएको आज त जसरी भए पनि बस्नै पर्छ ।”