अमृता प्रीतम
अनुवादः अभय श्रेष्ठ
……………………..

म आफ्नो पूर्ण होसमा
लेखिरहेकी छु इच्छापत्र

म मरेपछि
खोतल्नू मेराे कोठा
पल्टाउनू हरेक चिज
ताल्चाबिना घरभरि
छरिएका छन् मेरा सामान !

दिनू मेरा सबै सपना
ती स्त्रीजनलाई
जो चुलोचौकादेखि ओछ्यानसम्म
खुम्चिएका छन्
हराएका छन् आफ्नै दुनियाँमा तिनीहरू
जसले वर्षैंअघि भुलिकेका छन् सपना देख्न !

बाँडिदिनू मेराे हाँसो,
वृद्धाश्रमका ती बुढाहरूलाई
जसका बच्चाहरू बेपत्ता छन्
अमेरिकाकाका झिलिमिली सहरमा

टेबलमाथि हेर्नू,
केही रङ्गहरू होलान्
रङ्गाइदिनु तिनले विधवाको फरिया
जसको पतिको रगतले रङ्गिएको छ सिमाना
झन्डामा बेरिएर जो ढलेकाे छ हिजो राति

मेरो आँसु दिनू
ती सारा शायरहरूलाई
मेरो कसम !
जसको हरेक थोपाबाट
पैदा हुनेछ गजल !

मेरो सम्मान, मेरो पवित्र अस्मिता
त्यो वेश्याको नाममा गरिदिनू
जो बेच्छे आफ्नो शरीर
छोरी पढाउनलाई !

यो देशका एक एक युवालाई
कठालाे पक्रेर
लगाइदिनू इन्जेक्सन
मेरो आक्रोशको
जसको जरुरत पर्नेछ
क्रान्तिका दिनमा तिनीहरूलाई !

मेरो पागलपन
पर्नेछ सुफीहरूको भागमा
जो निस्किएका छन्
सबै छाडी ईश्वरको खोजीमा !

बस् !
बाँकी रहने छन्
मेरो ईर्ष्या
मेरो लालच
मेरो क्रोध
मेरो झुट
मेरो स्वार्थ
तिनलाई मसँगै जलाइदिनू !!