हेमन्त शिशिरको शीतनिद्रामा
बसेका प्राणीहरू जागृत गराएर
सलबलाई दिएजस्तै
मेरो शीतनिद्रे जडचेतलाई
अलिकति चलमलाइदेऊ न है वसन्त
मलाई परमार्थको परम सुख चाहिएन
कमसेकम
जनमानसको सचेतना जगाइदेऊ-
मलाई घाउ दुखोस्
मलाई आगो पोलोस्
मलाई काँडा घोचोस्
ऊसँगै म हाँस्न सकौँ
उस्को गीतमा नाच्न सकौँ
तिनीहरूको गीतमा सुसेल्न सकौँ
चलमलाइदेऊ न है वसन्त !

जाडो छल्न परदेशिएका चराहरू
वशीकरण गरेर थातथलो फर्काएजस्तै
सधैँ अरुतिर फर्कने मेरा औँलाहरू
अलिकति मतिरै फर्काइदेऊ न है वसन्त
मेरो अहंले मोटाएको `म´
अलिकति गल्थेँ कि!
मेरो अरु मात्र दोषी देख्ने `आँखा´
अलिकति पोल्थेँ कि!
मेरो राग र ईर्ष्यामा दन्किएको `अभिमान´
अलिकति जल्थेँ कि!
अरुको झुपडी डढाएर बनेको मेरो महल
अलिकति ढल्थेँ कि!
फर्काइदेऊ न है वसन्त !

नयाँ पालुवा, कोपिला र फूलहरूले
प्रकृतिलाई बेहुली सिंगारेझैँ
मेरो मन पनि
अलिकति वैराग्यले सिंगारी देऊ न है वसन्त !
म होशमा बाँचौँ
तर
मान- अपमान समान होस्
धन – निर्धन एकै होस्
आफ्नो- अर्को भेद नहोस्
जन्म- मरण उस्तै होस्
सबै व्यर्थ लागुन्
सबै अर्थ लागुन्
सबै दु:ख बनुन्
सबै सुख बनुन्
सिगारिदेऊ न है वसन्त !

मेरो पुकार
सुनिदेऊ न है वसन्त !