चोखो मायालाई
गुलाफले चिन्दैन
चोखो मायाले
गुलाफलाई किन्दैन
किनकि
हाट बजारमा
छ्यास्छ्यास्ती भेटिने
छद्मभेषी माया
त्यति दीगो हुन्न
गोजी समाउने
काखमा थमाउने
खान पाउञ्जेल
भजन गाउने
कलियुगको प्रेक्षालयमा
सहमत जनाउने
कृत्रिम चमत्कारको
भागबन्डा गर्दै
सुखमा रमाउने भन्दा

झरीमा बर्साती ओढाउने
ज्वरोमा पानीपट्टी लगाउने
प्रचण्ड गर्मीमा शितलता
चिसो ठिहीमा न्यानो
जिजीविषाको यात्रामा
बर्कतअनुसार
फाटेका तनमा
सियो धागो बनी
हमेसा दुःखमा
हृदयले सघाउने
माया र प्रेम
प्रकृति जस्तै पवित्र हुन्छ

भन्थे बुढाबुढीहरू
कुरा खस्रा मीठा
रोटी चिल्ला मीठा
काँचुली फेर्दै
छलाङ मार्दै
पलाङमा पुग्नेहरू भन्दा

सानो झुपडीमा
पातीले बारी
लिउन लगाउने
हातेमालो गर्दै
संयुक्त पौरखले
ऊर्जा झुलाउने
परेको घडी
भद्र नहेरी
साहस दिनेको
प्रेम भित्रको माया
वर पिपलको छायाँ
दुबै सदा
जीवन्त गाढा हुन्छ

सच्चा प्रेम गर्नेले
फूलको हत्या गर्दैनन्
उल्टै खोजेरै
तिर्खाएका फूललाई
जरुवा दिन्छन्
जब रङ्गीचङ्गी
सरिता मुस्कुराउन थाल्छन्
तब प्रेमिल जोडी नजर
एकआपसमा
माधुर्य भर्न
तल्लिन हुन्छन्
~~~~~

गजुरी-५,धादिङ