हामीले धेरै कविका प्रेम-कहानी पढेका छौँ । सुनेका छौँ । सबै प्रेमकथा त्यति आकर्षित गर्ने खालको नहुन सक्छन् । पाब्लो नेरुदा प्रेमिल कविताका लागि सम्राट् नै मानिन्छन् । प्रेम नै उनको जीवनको व्याकरण थियो । उनको जीवनमा धेरैजना प्रेमिकाले प्रवेश पाए । तर मातिल्दा उरुत्तियासँगको उनको प्रेम निकै सुन्दर छ । अलग्गै ऊर्जाले घेरिएको छ । यी दुईका प्रेमकथा, सरसंगत, संस्मरण, नोकझोक स्मरणीय छन् ।

पाब्लो नेरुदा चिल्लीका कवि थिए । चिल्लीमा तानाशाहीको आगमनपश्चात् देश छोड्न पर्ने बाध्यता आइपर्‍यो । उनी कम्युनिस्ट विचारधाराका थिए । क्रान्तिकारी थिए । चारैतिर दुश्मनले घेरिएका थिए । उनको कुनै पनि बेला हत्या हुने संभावना थियो । सरकारले उनलाई विष पिलाएर मार्ने योजना पनि बनाएको थियो । नेरुदाका साथीहरूले मेक्सिकोमा लुकाएर राख्ने योजना बनाए । त्यतिबेला नेरुदा सिकिस्त बिरामी भएकाले एकजना केयरटेकर पनि खोज्ने योजना साथीहरूले बनाइरहेका थिए । उनीहरू यस्तो केयरटेकरको खोजीमा थिए, जसको नेरुदासँग कुनै सम्बन्ध नहोस् । यस्तो भएमा सरकारका जासुसलाई कुनै सुइँको पर्ने थिएन । नभन्दै एउटा त्यस्तै पात्र भेटियो । उनीहरूले यस्तो गायिका भेटे, जसले नेरुदाका कवितालाई एकदम प्रेम गर्थिन् । नेरुदाका कवितालाई गिटारको धुनमा सजाएर गाउने गर्थिन् । ती युवती थिइन्- मातिल्दा उरुतिया । उनले नेरुदाको केयरटेकर बन्ने प्रस्ताव स्वीकार गरिन् । नेरुदासँगको भेटले उनी अपरिचितबाट परिचित र परिचितबाट प्रेमिका बन्न पुगिन् ।

मेक्सिकोमा उनको प्रेमपूर्ण स्याहारसुसारले नेरुदाको स्वास्थमा निकै राम्रो सुधार आयो । मेक्सिकोमा पनि नेरुदाको ज्यानलाई खतरा हुने संभावना बढ्न थाल्यो । त्यहाँबाट नेरुदा युरोपतिर लागे भने मातिल्दा मेक्सिकोमै बसिन् ।

युरोपमा पुगेपछि नेरुदाले मातिल्दालाई भुल्न सकेनन् । कसैगरी मातिल्दालाई युरोप झिकाउने योजना बनाउन थाले । नभन्दै त्यस्तो अवसर बनाइहाले नेरुदाले । बर्लिनको एउटा पुस्तक मेलामा उनलाई झिकाइयो । मातिल्दा बर्लिन आउँदा नेरुदालाई खतरा हुनसक्थ्यो । त्यसैले उनले कुनै जासुसले जस्तो योजना बनाए । विमानस्थलबाट ओर्लिएर दुई तीनवटा गाडी फेर्दै मातिल्दालाई कार्यक्रम स्थलमा पुर्‍याइयो । नेरुदाको योजनाले मातिल्दालाई निकै उत्साहित बनाएको थियो । मातिल्दा पुस्तक मेलामा पुग्दा त्यहाँ पार्टी चलिरहेको थियो ।

नेरुदाले मातिल्दालाई तुर्की कवि नाजिम हिकमतसँग परिचय गराइदिए । नाजिम हिकमत पनि प्रेमको विषयमा लेख्ने चर्चित कवि थिए । क्रान्तिकारी पनि थिए । कवि नाजिम नेरुदा र मातिल्दाको प्रेम सम्बन्धबारे जानकार थिए । नाजिमले मातिल्दालाई एक टकले हेरिरहे । उचालेर काखमा राखेर निधारमा चुम्दै, `आइ एप्रुभड´ भन्न थाले । मातिल्दा एकदम आत्तिइन, डराइन् । जुन सम्बन्धलाई लुकाइराख्न मातिल्दा सधैँ मौन बस्थिन्, यहाँ त उल्टो भयो । नेरुदाले नाजिमलाई प्रेम सम्बन्धका बारे बताएको कुराले दंगदास भइन् । केही समयपछि क्युबाका कवि सोही पार्टीमा देखिए । उनले मातिल्दालाई देख्नेबित्तिकै भन्न थाले, `ओहो! मातिल्दा तिमी नै हौ? जसका बारेमा नेरुदा दिनरात कुरा गर्छन् !´ यति भनिसकेर कवि निकालोस रहस्यमय भावमा मुस्कुराउन थाले । मातिल्दालाई यो सब कुराले असहज बनाउँदै थियो । रातोपिरो हुन थालिन् । किताब मेलाको यताउताको स्टलमा मातिल्दा टहल्न थालिन् । पाब्लो नेरुदा आफ्नै काममा व्यस्त थिए । साँझ परिसकेको थियो । नेरुदा मातिल्दासँग आएर भने, `तिमी होटल जाऊ, कोठामा तिम्रो लागि एउटा उपहार राखिएको छ ।´

उनी होटलको कोठामा पुगिन् । त्यहाँ पुग्दा नेरुदा र नाजिम पहिल्यै कोठामा उपस्थित थिए । उनी अचम्मित भइन् । नाजिम हिकमतले भने, `म्याडम यो उपहार तपाईंको हो । हाम्रो समयको सर्वश्रेष्ठ कवि नेरुदा ।´

यो सुनेर मातिल्दाको खुसीको सीमा रहेन । नेरुदा आधिकारिक रूपमै उनको भएको जस्तो लाग्यो ।

मातिल्दाले पहिलोपटक भेटेको नेरुदा बिरामी, लाचार, ज्यान बचाउन दोस्रो देशमा शरण लिएको व्यक्ति थियो । वास्तविक नेरुदालाई उनले बल्ल भेटेको जस्तो लाग्यो । अप्ठ्यारो परिस्थितिमा पनि जिउन जानेको नेरुदा निकै रसिक किसिमका व्यक्ति थिए । उनी आफ्ना साथीभाइलाई सधैं आश्चर्यचकित बनाउन माहिर थिए ।

केही समय नेरुदा र मातिल्दा युरोपका शहरमा भ्रमण गर्दौ प्रेमिल जीवन बिताए । रोमानियामा बस्दा उनीहरूको केयरटेकरका रूपमा स्थानीय युवती थिइन् । जसले एकदम स्वादिष्ट खाना बनाउँथिन् तर समस्या के थियो भने उनीहरू एकाअर्काको भाषा बुझ्दैनथे । प्राय सांकेतिक भाषाले काम चलाउनु पर्थ्यो । एक बिहान नास्ताको समयमा एउटा मजेदार किस्सा घटित भयो । नेरुदाले महिलालाई अण्डा उमाल्न लगाए । अण्डाको सङ्ख्या बताउन उनले दुईवटा औंला देखाए । जसको मतलब दुईवटा अण्डा बनाऊ भन्ने थियो । केयरटेकरले मुस्कुराउँदै हुन्छ भन्ने भावमा अण्डा उसिन्न भान्सामा लागिन् । एकछिन पछि उनले एघार वटा अण्डा उसिनेर ल्याइन् । सो ठाउँमा दुईवटा औंलाको अर्थ एघार बुझिने रहेछ । यो कुरा मातिल्दाले आफ्नो संस्मरणमा उल्लेख गरेकी छिन् । त्यतिबेला पाब्लो नेरुदा र मातिल्दा केयरटेकरलाई हेरेर फूल भोल्युममा हाँसेका थिए ।

मेक्सिकोमा सँगै बस्दा मातिल्दाको गर्भमा नेरुदाको प्रेमको चिनो हुर्किरहेको थियो । मातिल्दाको खराब स्वास्थको कारण तीन महिनामा नै गर्भपतन हुन पुग्यो । त्यसपछिका दिनमा मातिल्दामा निराशा छाएको थियो । उनलाई नेरुदासँगको यात्रा लामो हुन सक्दैन भन्ने सन्देह थियो । उनी सोच्थिन्, नेरुदाको कवितालाई प्रेम गरेको हो यो प्रेम दुई व्यक्तिको नहुन सक्ने वा हुनपर्ने कुरामा अलमल थिइन् । परिचित भएपछि वा अपरिचित हुँदा पनि नेरुदाका कवितालाई उनले रुँदै वाचन गरेकी हुन्थिन् । सिरानीमुनि नेरुदाको कवितासङ्ग्रह राखेर निदाउँथिन् । उनलाई यो प्रेम अस्थिरताको समयमा भएको र आकर्षणले भएको हो भन्ने लाग्थ्यो । त्यसैले पनि यो प्रेम सम्बन्धको आयु लामो छैन भन्ने कुरा उनी सोचिरहन्थिन् ।

युरोपमा बस्दा नेरुदा र मातिल्दासँग सहवास, प्रेम,अनुभवलाई नेरुदाले कवितामा उतारेका थिए । सो सङ्ग्रहलाई उनले `क्याप्टेन भर्सेस´ नाममा प्रकाशित गरेका छन् । युरोपको समुधर दैनिकीमा प्रत्येक दिन नेरुदाले मातिल्दालाई कविता कोरेको कागज दिएर भन्थे, `जब तिमी एक्लै हुन्छौ । त्यतिबेला यी कागजका कविता पढ्नू ।´ मातिल्दाले कागजमा भएका कविता रातभर अनिदो बसेर दोहोर्‍याई दोहोर्‍याई पढ्थिन् । मातिल्दाको जीवनमा प्रफुल्लताको फूल फुलेको थियो । बेहद् हर्षित थिइन् तर पनि कताकता मन बेचैन थियो । लुकाएर गरेको प्रेम सम्बन्धको औचित्य लाग्दैनथ्यो उनलाई । यो सम्बन्ध टिकाउ नहुने कुराले उनलाई पिरोल्न थाल्यो । अशान्त मन र चिन्ताले उनलाई एकदिन कठोर निर्णय लिन बाध्य बनायो । उनले अब आफू नेरुदासँग नबस्ने र मेक्सिको फर्किने कठोर निर्णय लिन पुगिन् । नेरुदाले उनलाई मनाउने हरसंभव प्रयास गरे तर सकेनन् । उनले आफ्ना कवि मित्र नाजिम र निकानोरलाई पनि सम्झाइदिन लगाए तर सफल भएनन् । मातिल्दा आफ्नो निर्णयमा अडिग रहिन् । उनको जिद्दीपनका अगाडि केही नलागेपछि मातिल्दालाई पेरिसको घरमा पठाए, जुन घर नेरुदाले भाडामा लिएका थिए । मेक्सिको जाने प्रक्रिया मिलाउन केही दिन उनलाई पेरिसमा बस्नु पर्‍यो ।

उता नेरुदाको मुसाफिर जीवन युरोपका विभिन्न शहरमा यताउता घुम्दै बित्दै थियो । एकै ठाउँमा बस्दा उनलाई ज्यानको जोखिम थियो । यता लाखौं कोसिस गर्दा पनि मातिल्दा मेक्सिको फर्किन सकिरहेकी थिइनन् । नेरुदाको प्रेमले उनलाई भित्रभित्रै खाइरहेको थियो । नेरुदालाई छोडेर जान पनि सकेकी थिइनन् र नेरुदासँगै बस्न पनि सकेकी थिइनन् । दुविधाको ह्याम्मरले उनको कोमल मनलाई हिर्काइरहन थाल्यो । यस्तै उथलपुथलका बीच उनले पेरिसमा एक महिना बिताइन् । एक महिना निकै विचलित भएर बित्यो । उनको मनभित्र एउटा झिनो आशा थियो कि नेरुदा भेट्न आउँछन्, रोक्न आउँछ्न् भन्ने । उनलाई नेरुदाले फोन गरेर, भेटेर तिमी बिना बाँच्न सक्दिनँ भनिदियोस् भन्ने भावना आउन थाल्यो । मेक्सिको जाने निर्णय उनलाई गलत लाग्न थाल्यो । दुविधाको बीचमा उनले एक साँझ मेक्सिकोको टिकट खरिद गरिन् । जुन दिन उनले मेक्सिको जाने टिकट लिएकी थिइन्, त्यही साँझ नेरुदाको फोन आयो । नेरुदाले भोलिको मध्याह्न कतै नजानु एउटा पार्सल आउँछ भन्ने जानकारी दिए । यो सुनेर मातिल्दा फूलजस्तै फक्रेर आइन् । त्यतिबेला नेरुदाको कविता सङ्ग्रह पनि प्रकाशित हुँदै भएकाले सायद किताबकै पार्सल हो भन्ने कुरा अड्कल लगाइन् । नेरुदाले अहिलेसम्म पनि मातिल्दालाई आफ्नो मनबाट ननिकालेकाले खुसी भइन् ।

भोलिपल्टको मध्याह्न उनका आँखाले नेरुदाका पार्सललाई प्रतीक्षालय बनेर पर्खिरह्यो । मध्याह्नमा कुनै त्यस्तो पार्सल आएन । तारा हराएको आकाशजस्तै मन खिन्न भयो । साँझमा उनको घरको डोरबेल बज्यो । उनले ढोका खोलिन् । ढोका खोल्दा नेरुदाका पत्रकार मित्र थिए । पत्रकारलाई मातिल्दाले राम्रैसँग चिनेकाले गफगाफ भयो । अनि उनले आफ्नो पार्सलको बारेमा जिज्ञासा राखिन् । पत्रकार मित्रले पार्सल आफू नै हो भन्ने कुरा जानकारी दिए । उनले पाब्लोको सुचना प्रवाह गरे, `नेरुदा दुब्लाएका छन् । बिरामी छन् । अस्तव्यस्त भएका छन् । चिडचिडापन बढेको छ । साथीसंगी पनि गुमाउँदै छन् । आज बिहानै नेरुदाले मलाई तिमीलाई लिएर आउनु भनेकाले म यहाँ आएको हुँ ।´

नेरुदाको हालत देख्दा उनले मातिल्दासँग बिछोडिएका कारणले यस्तो अस्थिरता आएको भन्ने प्रष्ट बुझिन्थ्यो । मातिल्दाले भने घुर्काउन थालिन् । उनी मेक्सिको जान सबै प्रक्रिया पूरा गरिसकेकाले अब आफू फर्किन नसक्ने बताइन् ।

ती पत्रकारले भने, `नेरुदाले तिमी आउन नमाने अपहरण गरेर भए पनि ल्याउन भनेका छन् । उनले जेनेभाको विमानस्थल बाहिरको क्याफेमा तिमीलाई पर्खिरहेका छन् ।´

मातिल्दा नेरुदाको प्रेम गर्ने पागलपनको तरिका देखेर खुसी भइन् । आखिर मातिल्दाले जे होस् भनेर मनमनै सोचेकी थिइन् त्यस्तै भयो । भोलिपल्ट बिहानै पत्रकार र मातिल्दा जेनेभा गए । क्याफेमा नेरुदा र मातिल्दाको मिलन भयो । त्यसपछि लामो समय उनीहरूले सँगै बिताए । प्रेमको सागरमा डुबुल्की मारे । एकाअर्काको परिपुरक बने । एउटा पौष्टिक समय बिताए ।