प्रसिद्ध ब्रिटिस दार्शनिक, गणितज्ञ, राजनीतिज्ञ, समाजशास्त्री तथा मानवतावादी लेखक लर्ड बर्दान्ड रसेलको जन्म लन्डन नजिकै ट्रेलेक भन्ने ठाउँमा १८ मे १८७२ मा भएको थियो । जन्मेको दुई वर्षपछि उनकी आमाको देहान्त भएको थियो भने तीन वर्ष पुग्ने बित्तिकै सन् १८७६ मा उनका बाबुले पनि उनलाई छोडेर गए । टुहुरा रसेलको पालनपोषण उनकी
हजुरआमाको संरक्षणमा भयो । बाल्यकालमै एक्लिएका रसेल प्रेम, ज्ञान र मानव वेदनाको सूक्ष्मभन्दा सूक्ष्म रहस्यको खोजी कार्यमा तल्लीन थिए ।
उनले ट्रिनिटी कलेज, क्याम्ब्रिजबाट सन् १८९३ मा बि.ए. पास गरे । ट्रिनिटी कलेजमा अध्ययन गर्दा खुल्ला प्रतिस्पर्द्धाबाट उनले छात्रवृत्ति प्राप्त गरे र गणित र नीतिशास्त्रमा प्रथम श्रेणीको पुरस्कार पाए। २८ वर्षको उमेरमा उनले प्रसिद्ध कृति गणित सिद्धान्तको भूमिका जेलमै लेखे । उनी एक साहित्य सर्जक र वैज्ञानिक पनि मानिन्छन् ।
विश्वभर अशान्ति भइरहेको अवस्थामा रसेल युद्धको विरोधमा क्रियाशील थिए, उनी साम्राज्यवाद विरोधी थिए । युद्ध विरोधी नीतिका कारण पहिलो विश्वयुद्धमा उनी जेल परेका थिए । तुलनात्मक रूपमा हिटलरको नाजी जर्मनी बढी खतरनाक भएको उनको निष्कर्ष थियो । भियतनाम युद्धमा संयुक्त राज्य अमेरिकाको संलग्नताको उनले खुलेर विरोध गरेका थिए। उनी आर्णावक निशस्त्रीकरणका प्रस्तावक थिए । आणविक निशस्त्रीकरणको आन्दोलन गर्दा ८८ वर्षको उमेरमा उनले जेलको सजाय पनि भोग्नु पर्यो। उनी मानवीय पीडा, गरिबी र एक्लोपनालाई जीवनमाथिको व्यङ्ग्यको रूपमा हेर्थे। मानवीय आदर्श र विचारको स्वतन्त्रताका पक्षमा खुलेर लेख्ने भनी उनलाई सन् १९५० को साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो ।
युद्धपछि उनी ब्रिटेनको लेबर पार्टीको सदस्यका रूपमा एक प्रतिनिधि मण्डल सहित रुस गए । त्यहाँ आफूले देखेका कुरा बोल्शेभिज्म भन्ने पुस्तकमा व्यक्त गरेका छन् । सन् १९२० मा उनी चीन गए र पेकिङ्ग विश्वविद्यालयमा स्वभाववाद (Behaviourism) बारे वक्तव्य दिए। उनले चीनको समस्या नामको पुस्तक लेखे जसमा बिसौँ शताब्दीका चीनका सम्भावित कार्य बारे विश्लेषणात्मक तर्क पेस गरिएको थियो ।
सन् १९४० मा उनी न्युयोर्क कलेजमा प्राध्यापक भए । त्यसको चार वर्षपछि उनी बेलायत फर्के । बर्टान्ड रसेल रसेल शान्ति संस्थाका संस्थापक हुन् । उनले छोटा कथा पनि लेखेका छन् । उनका ४६ ओटाभन्दा बढी कृति छन् । उनका केही विश्वविख्यात कृति हुन् :-
१. विवाह र नैतिक चरित्र (१९२९), २. पाश्चात्य दर्शनको इतिहास, ३. नैतिकता र राजनीतिमा मानव समाज (१९५४), ४. स्मृति चित्र (१९५६), ५. बाहिरी जगतको हाम्रो ज्ञान, ६. दर्शन शास्त्रको समस्या र ७. मेरो दार्शनिक विकास ।
२ फेब्रुअरी १९७० का दिन संयुक्त अधिराज्यको वेल्समा ९७ वर्षको उमेरमा उनको देहान्त भएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ कार्तिक २०८२, शुक्रबार 










