चिएनले ‘म निर्दोष छु ! भनी त्यसको चित्त बुझाउने धेरै कोसिस गर्‍यो, तर पिट्न छोडेर येन त्यसका कुरा के सुन्थ्यो ? कुनै नोकरले बिचमा परेर तिनलाई छुट्ट्याउने आँट पुऱ्याउनै सकेन । आखिरमा चिएनले आत्तिएर कराउँदै गुहार माग्यो । हल्लीखल्ली सुनेर काओका मानिसहरू पनि के भयो भनी हेर्न किनारमा उत्रेर त्यतैतिर दौडे। बदमासजस्तो एउटा मानिसले दुलहालाई त्यसरी पिटिरहेको देख्ता तिनीहरूले कारण बुझ्न सकेनन् । र, ती हत्तपत्त तिनीहरूलाई छुट्ट्याउन लम्के । तर, तिनीहरूको केही सीपै लागेन ।

त्यस्तो तमासा देखेर काओले येनका नोकरचाकरहरूसित के भयो भनी सोध्यो । अव किमार्थ कुरो लुकाउन सकिने होइन भन्ने देखेर तिनीहरूले भएका सारा कुरा साँचो साँचो भनिदिए । कुरा सुन्नासाथ बुढो जागेर लमीलाई सराप्न लाग्यो ।

“लुच्चो कहीँको, यस्तो जाल गर्ने तेरो आँट कसरी पुग्यो !” भन्दै दगुरेर गई त्यसले यू चेनलाई ठटाउन थाल्यो ।

काओका नोकरचाकर पनि रिसले मुरमुरिँदै अनुहार नपरेको त्यस नौलो मानिसलाई साफसित चुट्न जाइलागे । येनका घरका मानिस पनि आफ्ना मालिकको रक्षाका लागि जम्मा भएर काओका दलसित जुधे। पहिले त चिएन, काओ र यू मात्र जुधिरहेका थिए, अब भने दुई दलकै बिच घम्साघम्सी मच्चियो । रमितेहरू पनि धमाधम जम्मा हुन थालेकाले छिटै बाटो पनि छेकिन गयो र सवारी चल्न नै रोकियो ।

भाग्यले त्यसै बखत त्यस ठाउँका मेजिस्ट्रेट आफूभन्दा माथिका कुनै अफिसरलाई भेटी तामदान चढेर उत्तरीय द्वारमै आइपुगे । कोहोलो मच्चिएको सुन्नाका साथै कुटामारीसमेत चलिरहेको देखेर तिनले त्यहीँ अडिई साथका सिपाहीहरूलाई हुल्याहा जति सबैलाई समात्ने आज्ञा दिए। भिड त तुरुन्तै छाँटियो, तर येनले चिएनलाई अहिले पनि अँठ्याइ नै रहेको थियो, र काओ त्साङले पनि यू चेनलाई उम्कन दिएको थिएन। ती चारै जनाले एकै स्वरमा कराएकाले मेजिस्ट्रेटले तिनका कुरै बुझेनन्। तसर्थ, राम्ररी जाँचबुझ गर्न भनी उनले तिनीहरूलाई अड्डामा हाजिर गर्ने आज्ञा दिए ।

ती चार जनामा काओ नै सबभन्दा जेठो थियो। तसर्थ, मेजिस्ट्रेटले त्यसैलाई सबैभन्दा पहिले बयान दिन डाके ।

काओले निवेदन गयो, “श्रीमान्, मेरो घर टुङटिङ द्वीप हो । मेरो नाम काओ त्साङ हो । मैले आफ्नी छोरीका लागि एउटा रूपवान् र बुद्धिमान् वर रोजेँ । यसै महिनाको तेस्रो दिन उनी दुलही लिन भनी आए । त्यस दिन आँधी गर्दा उनीहरू फर्केर जान नसक्ने भएकाले मैले आफ्नै घरमा बिहे सिद्ध्याइहाल्न राजी गराएँ। लौ हेर्नुहोस् त श्रीमान्, आज यहाँ आइपुग्दा यस कुरूप साइँदुवालाई आफ्ना ज्वाइँमाथि आइलागेर साफसित कुटेको देख्ता मलाई कत्तिको आश्चर्य लाग्यो होला ? कारण बुझ्दा यसै घिनलाग्दो कुकर्मीले लमीलाई पैसा खुवाएर जालझेलमा पारी आफ्ना लागि मेरी छोरी मागिदिन चिएन बाबुलाई पठाएको थाहा पाएँ। श्रीमान्बाट लमीलाई नै सोधनी भयो भने यो नीच षड्यन्त्र सारा आफै खुलिहाल्ला ।”

मेजिस्ट्रेटले सोधे, “लमीको नाम के हो ? त्यो यहीँ छ ?”

काओले भन्यो, “त्यसको नाम यू चेन हो। उ क्या त्यहीँ छ ।’

त्यसपछि मेजिस्ट्रेटले काओलाई हटाएर यू चेनलाई अघि डाके ।

मेजिस्ट्रेटले त्यससित कडाइका साथ सोधे, “तेरै जालझेल र फुटले गर्दा यो सारा फरेब रचिएको हो। तसर्थ, यसका लागि तै पुरापुर जबाफदेही ठहर्छस् । अहिले साँचो साँचो कुरा गरिहाल्, नत्र भने कडा सजाय पाउलास्।”

मेजिस्ट्रेटले जागेर पिँडौला कसी सास्ती दिने यन्त्र नझिकाउन्जेल यू चेनले दोष नसकार्ने नै कोसिस गयो । तर, जतिसुकै बदमास भए तापनि त्यसले अघि त्यस्तो सास्ती कहिल्यै खप्नुपरेको थिएन । तसर्थ, त्यसले तर्सेर नढाँटीकनै केटी माग्न पठाएको, काओ त्साङले रूपवान् र प्रतिभाशाली ज्वाइँ पाउने अड्डी लिएको, येनका सट्टा चिएन चिङ गएको र अन्त्यमा त्यस्ता किसिमले बिहे हुन गएको सारा कुरा बेली विस्तारसाथ एक एक गरी जस्ताको तस्तै ओकलिदियो ।

मेजिस्ट्रेटले टाउको हल्लाउँदै भने, “कुरा साँचोजस्तो लाग्दछ । हुन त येन चुनले नदुखेको आफ्नो कपाल आफैँले डोरी लाएर दुखाएको हो, त्यसको फल चाहिँ अर्कैका हात लाग्न गएछ । त्यसैले त्यो यसरी जागेको रहेछ । त्यसमा आश्चर्यको कुनै कारण छैन । तर, त्यसले जालै किन गर्‍यो ?”

त्यसपछि उनले बयान लिन येन चुनलाई पेस गराए ।

यू चेनले भएका सारा कुराको साँचो बयान गरिसकेकै र मेजिस्ट्रेटले दयाभावै देखाएको देख्ता येनले गुहाई बक्नु नै ठिक ठान्यो । त्यसको र लमीको बयान मिल्न गयो ।

आखिरमा मेजिस्ट्रेटले चिएन चिडलाई डाके । त्यस्तो राम्रो केटोलाई त्यसरी चोटपटक लागेको देख्ता उनलाई पनि साह्रै माया लागेर आयो । उनले भने, “तिमी पढे लेखेका विद्वान् युवक रहेछौ । जिल्ला परीक्षा पनि पास गरिसकेका रहेछौ । अनि, अर्काका लागि दुलही ल्याइदिने यस्ता काममा कसरी हात हाल्न पुग्यौ ? यस्ता जाल फरेबमा कसरी सामेल भयौ त ?”

चिएनले जवाफ दियो, “मन नहुँदा नहुँदै पनि गर्नै पर्यो । येन चुन मेरा दाजु पर्ने हुन् । गरिब भएको हुनाले उनले मलाई आफ्ना घरमा ल्याई शरण दिए, र पढाइ जारी राख्ने मौकासमेत दिए । उनले साह्रै जिद्दी गरी गइदिन खुसामद गरेका हुनाले मैले करैसाथ भए पनि नगई भएन । त्यस बखत यसबाहेक गर्न मिल्ने अर्को कुरो हुँदै भएन ।”

मेजिस्ट्रेटले भने, “एक छिन पर्ख त ! आफ्ना नातादारको चित्त बुझाउन मात्र यति सब गर्नुपरेको भए केटीसित बिहे नै गरिहाल्न मन्जुर किन भयौ ?”

चिएनले भन्यो, “कुरो केटीलाई ल्याइदिनेसम्म मात्रको थियो । तर, तीन दिनसम्म आँधी चलेको हुनाले झिल तर्न असम्भव भयो । लगन बिताइहाल्न नचाहेका हुनाले श्रीमान् काओत्साङले बिहे तुरुन्तै हुनुपर्दछ भन्ने ढिपी गर्नुभयो ।”

“आफू त सट्टामा मात्र गइदिएको हुनाले तिमीले उनका कुरा नमान्नुपर्ने थियो ।”

यो बुँदा यसरी आउँदा येन चुनले अघि सरेर दण्डवत् गर्दै करायो, “हो श्रीमान्, बिहे गर्न मन्जुर गरेकैबाट यसको बेइमान चाला साबित हुन्छ ।” मेजिस्ट्रेटले गर्जेर भने, “चुप ! सिपाही, हटाऊ त्यसलाई !”

सिपाहीहरूले येनलाई घचेट्दै लगेर आफ्ना ठाउँमा थच्चाइदिए, र मॅजिस्ट्रेटले चिएनसित गर्न लागेको जिरह फेरि थाले ।

उनले सोधे, “शुद्ध निःस्वार्थी चित्तले नै बिहे गर्न मन्जुर गरेको हुँ भन्ने तिम्रो जिकिर हो त ?”

चिएनले भन्यो, “श्रीमान् काओसितै सोध्नुहोस्, मैले त बारम्बार नामन्जुर गरेको हुँ, उहाँले नै भन्नुहोला । ढिपी नै गर्नुभएकोले अब बढ्ता नाइँनास्ति गरेँ भने शङ्का पर्न जाला र दाजुको कामै बिग्रेला भन्ने डर लाग्यो । त्यसैले गराएबमोजिम पूजाआजा खुरुखुरु गर्दै जानुपर्‍यो । तीन रात दुलहीकै कोठामा थिएँ भन्नु ठिक हो । तर, त्यसबिच मैले न आफ्ना लुगै फेरेँ न दुलहीतिर एक पटक यसो हेरेँ। श्रीमान् काओले गएर सोध्नुभयो भने उहाँकी छोरीले पनि भनिहाल्लिन् । त्यसैबाट मेरो भनाइ झुटो साँचो के रहेछ, त्यसको जाँच भइहाल्छ।” त्यसका कुराको परीक्षा लिन मेजिस्ट्रेटले आफ्ना मानिसका साथ एउटी बुढीपाकी मिसिनीलाई नाउमा गई दुलहीबाट सारा कुरा राम्ररी जाँचबुझ गरेर आउन खटाई पठाए ।

बिचरी दुलहीलाई त्यत्रो रडाको परिसकेको पत्तै थिएन । ऊ बसेको नाउ त पछि मात्र आइपुगेको थियो । मिसिनीले गएर बुझ्दा त्यसले किन हो किन ? दुलहाले रिसाएजस्ता गरी, त्यसका मुखतिर हेर्नु त परै जाओस्, दिनभरि लाइराखेका लुगासम्म नफेरी तीन दिन, तीन रात त्यसै काटेका कुरा गरी।

मिसिनीले तुरुन्तै फर्केर आई मेजिस्ट्रेटलाई रिपोर्ट दिई ।

येन खुसीले चिच्यायो, “उसो भए त्यो मेरै स्वास्नी भई। मै त्यसलाई सकार्छु ।”

मेजिस्ट्रेटले हप्काएर भने, “आफ्नो मुख सम्हाल् ।”

अनि तिनले काओ त्साङलाई अगाडि डाकेर सोधे, “यी दुईमध्ये कुन चाहिँलाई छोरी दिन मन्जुर गर्छौ ?”

काओले भन्यो, “मैले त अघि नै चिएन बाबुलाई रोजिसकेको हुँ । मेरी छोरीको बिहे उनैसित भएको हो । जेसुकै होस्, उनीहरू अब सबैका अगाडि विधिपूर्वक पतिपत्नी भइसकेका छन् । अब त न म नै येन चुनलाई रोजुला, न छोरीले नै रोज्ली ।”

मेजिस्ट्रेटले भने, “मेरो पनि यही राय छ ।”

तर, चिएनले भने मानेन । त्यसले विरोध गर्दै भन्यो, “मैले जस्तो उचित ठानेँ, त्यस्तै गरेँ । त्यो केटी मेरै पत्नी भई भन्नुहुन्छ भने मैले आफ्नो आत्मा मारेर यतिसम्म गरेको सबै त्यसै खेर जाने भयो । बरु केटीका लागि अर्कै वर खोज्नुभए बढिया हुने थियो । मानिसलाई शङ्का हुने र तिनले कुरा काट्ने यस्तो काम त गर्न चाहन्न ।”

मेजिस्ट्रेटले भने, “केटीले अर्कैसित बिहे गरी भने त्यसका बाबुलाई ठग्न भनी दुई दुई पटक गएबापत तिमीमाथि मुद्दा चलाउनुपर्ने हुन जान्छ । त्यसो हुँदा तिम्रो भविष्यमै धक्का पर्न जाला । होइन, केटीलाई पत्नी मानेर खुरुक्क लैजान्छौ भने अहिले आचरणमा देखिन गएका आफ्ना खराबीलाई पछि सुधार्न सकिहाल्छौ । उता, तिम्रो नियत चोखै भएको पनि छर्लङ्गै भइहाल्यो । वधू पक्ष पनि मन्जुरै छ । अनि अब कसले तिम्रो नियतमा शङ्का गर्ने ? भन्या मान, लिँडे ढिपी नगर। मैले त फैसला गरिसकेँ।”

त्यसपछि बुरुस टिपेर उनी धमाधम फैसला लेख्न लागे-

काओ त्साङ छोरीका लागि जोडा मिल्ने एउटा बर खोज्दछ । त्यो स्वाभाविकै हो । येन चुन आफ्ना सट्टा गइदिन एक जनालाई राजी तुल्याउँछ – यो चाहिँ कतै नसुनिएको कुरो हो। त्यस रूपवान् वरलाई रोज्दा तिनीहरूका मनमा यो त अर्काका सट्टा आइ मात्र दिएको हो भन्ने शङ्कु परेको थिएन ।

चिएन चिङ दुई पटक फिलपारि गयो र तीन दिन, तीन रात वधूका साथ रह्यो । तर, त्यसले दाजु चाहिँको कुनै कुभलो चिताएन। आँधी आएर त्यसले रोकिनुपरेको देख्ता ईश्वरले नै यो बिहे होस् भन्ने चाहेको देखिन्छ । यस प्रकार एउटा प्रतिभाशाली युवकको बिहे एउटी रूपवती कन्याका साथ हुन जान्छ । ती दम्पतीको जोडा पनि मिलेको छ ।

पत्नी नपाएकोमा यत्रो विधि षड्यन्त्र रच्नेले आफैलाई दोषी ठान्नुपर्छ । कन्याको बिहे चिएनसित भई नै हालेको हुनाले अब त्यसका लागि अर्को कुनै विधि विधान गरिरहनु पर्दैन ।

येन चुनमाथि यो सारा षड्यन्त्र रचेको र आफ्ना हितैषी मित्रलाई कुटपिटसमेत गरेको दोष लाग्दछ । तर, त्यसका सारा जालझेल विफल भएकाले त्यसलाई अब अर्को कुनै थप सजाएँ दिइन्न । बिहेका लागि त्यसले लगाएको पैसा कुटाइ खाएबापत चिएनलाई नै हर्जानास्वरूप माफी दिइन्छ । यी सारा टन्टा फसादका लागि यू चेन नै जिम्मेदार छ । यस कारण त्यो कडा सजाय पाउँछ ।

यति फैसला लेखिसकेपछि मेजिस्ट्रेटले आफ्ना सिपाहीहरूलाई यूलाई लगी बाँसको गह्रौँ चाहिँ लाठोले तीस पटक बजाएर निकालिदिने आज्ञा दिए । चिएन चिङ अर्काको सट्टा गयो भन्ने कुरो सबैलाई थाहा नहोस् भन्ने विचारले मेजिस्ट्रेटले यूलाई त्यसका साबिती बयानमा सही गर्न लाएनन् ।

त्यसपछि काओ र चिएनले कृतज्ञतापूर्वक परम्परमा ढोगाढोग गरे, र सबै जना अड्डाखानाबाट निस्के ।

येन चुन लाजले भुतुक्कै भयो । मुन्टो निहुराएर ऊ लुसुक्क एकातिर लाग्यो । धेरै महिनासम्म त्यसले बाहिर निस्केर कसैलाई आफ्नो अनुहार देखाउने आँटै गरेन ।

यू चेन चाहिँ घाउमा ओखती लाउन सरासर घरैतिर लाग्यो ।

काओले चिएनलाई आफ्ना नाउमा डाकेर लगी असाध्यै धन्यवाद दियो ।

त्यसले भन्यो, “तपाईको घतलाग्दो र भलाद्मी सुहाउने चालाले मेजिस्ट्रेट साहेबको मन जितेको नभए मेरी छोरी, लौ त भनूँ भने, पक्कै पनि त्यस साइँदुवालाई सुम्पिइसकेकी । घरमा तपाईंका को को छन् ? मलाई विशेष थाहा छैन । तसर्थ, आज त म तपाईलाई मेरै घर फर्की जाऊँ र केही दिन त्यहीं बसूँ भन्ने प्रार्थनै गर्दछु ।”

चिएनले भन्यो, “मेरा आमावावु दुवैको स्वर्गवास भइसकेको छ । नजिकका अरू नातादार पनि कोही छैनन् ।”

काओले भन्यो, “उसो भए हामै घरमा बस्नुहोस्, र पढाइ नसकुन्जेल हामीलाई नै आफ्नो हेरविचार गर्ने मौका दिनुहोस् । कसो भन्नुहुन्छ ?”

चिएनले भन्यो, “यहाँले त्यति मिलाइदिनुभयो भने त म ज्यादै गुन मान्ने थिएँ, मुखले कति भन्नु !”

त्यसै साँझ बुचियाङबाट प्रस्थान गरेर तिनीहरू भोलिपल्ट बिहानै पश्चिमी टुटिङ पुगे। तिनका कुरा सुनेर द्वीपका मानिसहरू छक्कै परे । चिएनको आत्मबलको प्रशंसा नगर्ने कोही भएन ।

पछि चिएनले उच्चतम परीक्षा पास गर्दै गयो, र एक दिन ऊ अफिसर पनि भयो । ती पति पत्नी बुढाबुढी हुन्जेलसम्म सुखपूर्वक बाँचिरहे ।

छल जति रचिएचे हात ती पार्न कन्या

सब युवक चिएन्कै पक्षमा काम लागे ।

                                                                                    मधुमय पथ पार्छन् चन्द्रमा झिललाई

गुंडतिर अब लाग्यो हंसको एक जोडा ॥