कोभिड १९ को अवधिमा संसारै ठप्प थियो । दिनभरि घर बस्नु मात्र दैनिकी रहेका बेला बेलायतका चिफ साइन्टिफिक एडभाइजर सर पेट्रिक वालेन्सले डायरी लेख्न थाले । यतिबेला जब उनले दोहोर्याएर त्यो डायरी पढे, उनलाई असिम आनन्द आयो । भलै यसलाई प्रकाशन गर्नेतर्फ उनको ध्यान गइसकेको छैन ।
डायरी लेख्दा मानसिक चुनौतीसँग जुझ्न निकै सहयोग पाइने लन्डनस्थित मनोचिकित्सक तथा ग्रिफ वर्क्सकी लेखिका जुलिया स्यामुअलको धारणा छ । जुलियाले अहिलेसम्म लेखनमार्फत पीडाबाट उन्मुक्ति कसरी पाइन्छ भनी तीन पुस्तक लेखिसकेकी छन् ।
उनी भन्छिन्, ‘जसरी हामीले कसैसँग आफ्नो पीडाबारे कुरा गर्यौं भने आनन्द आउँछ, उसैगरी डायरीमा केही कुरा लेख्नु भनेको आफैँसँग कुरा गर्नु हो । कुरा गरिसकेपछि हामीलाई उसरी नै आनन्द आउँछ । पीडाको गहिरो आघातबाट हामीले मुक्ति पाउँछौँ ।’
कुरा गरेर थेरापी भएजस्तै डायरी लेख्नुले पनि फाइदा दिलाउँछ । डायरी लेख्नुले तनाव र अवसादका क्षणहरूलाई राम्रो बनाउन सकिन्छ । यसले मनोभावहरूलाई नियन्त्रण गर्न सहयोग गर्छ । यति मात्र होइन, मूड स्विङको अवधिमा पनि सहयोगी हुन्छ । भाव अभिव्यक्ति गर्दा र लेख्दा चित्त शान्त हुनु अति राम्रो पक्ष हो ।
मानसिक समस्याबाट मुक्त हुन हातले लेख्नु अझ राम्रो हुने केही विशेषज्ञको भनाइ छ । लेख्दा मस्तिष्कले सोच्छ, फेरि त्यसलाई क्रमबद्ध पार्छ, हातले लेख्दा एउटा न्युरो पाथ पनि बन्ने गर्छ । हातले डायरीमा लेख्नुको अर्थ हाम्रो शरीरका विभिन्न सेन्सहरूले एक साथ काम गर्नु पनि हो ।
अहिलेको डिजिटल युगमा हातले लेख्नु कत्तिको महत्त्वपूर्ण होला त ? किनभने, मानिसले दिनमा करिब डेढ लाख विचार उत्पादन गर्छ । ती विचार आउँछन्, जान्छन् । दिनभरिमा जम्मा ९ वटा विचार मात्र लामो समयसम्म टिक्छ ।
त्यसैले ती विचारलाई टिप्नु जरूरी छ । के थाहा तीमध्ये केही तपाईंलाई काम लाग्ला कि ? मनोचिकित्सकहरूले यस्ता विचार टिप्न लगाउँछन् । यस्तो थेरापीलाई थट लग पनि भनिन्छ ।
मनमा जति पनि भाव आउँछन्, चाहे ती नकारात्मक, दबाब, रिस, घृणा, भविष्यका आशङ्का, विगतका खेद, अपराधबोध, ती सबैबारे लेख्दा त्यसले तनाव कम गर्न सहयोग पुर्याउँछ । यसका अतिरिक्त हामी आफैँसँग जोडिएको महसुस गर्छौं । र, यो मानसिक स्थितिका लागि उत्तम नै हुन्छ भन्ने साइकोलजिस्ट तेजश्विनी कुलकर्णीको धारणा छ । उनी मुम्बईमा उपचार गर्ने गर्छिन् ।
धेरै जना डायरी लेख्न डराउँछन् । उनीहरू भन्छन्, मलाई राम्रो लेख्न आउँदैन । खासमा डायरी लेख्नका लागि राम्रो लेख्न आउनुपर्छ भन्ने छैन । जस्तोसुकै भाषा भए पनि लेख्नु उत्तम हो । मानसिक स्वास्थ्य उत्तम बनाउनका लागि नभएर आफ्नै विकासका लागि लेख्न जरूरी छ ।
डायरी लेख्दा अर्को एउटा चिन्ता हुन्छ । कसैले पढे भने ? यही डरले धेरैले डायरी लेख्दैनन् । तर विज्ञहरू भने एक दुईपटक लेख्दै जाँदा यस्तो अप्ठेरोपन हराएर जान्छ ।
मेरो डायरी कसैले पढे भने ? भन्ने डर चाहिँ प्रायः महिलाहरूमा हुने गर्छ । खासमा डायरी भनेको डायरी मात्र होइन, ती तपाईंका मनोभावको अभिव्यक्ति हो । त्यसैले त्यसलाई जहाँतहीँ नराख्नुस् । त्यसलाई सम्हालेर राख्नुस् ।
बेलायती चिकित्सक एडम के भने अरूले पढ्न सक्छन् भन्ने चिन्ता छ भने आफ्ना भावनालाई अझ उत्कृष्टताका साथ पस्कनु राम्रो हुने सुझाव दिन्छन् । कहिलेकाहीँ यो पछि छापिन पनि सक्छ भन्ने आत्मविश्वासका साथ खुलेर लेख्दा भोलि के थाहा साँच्चै किताबकै रूपमा पनि त आउन सक्छ !
एडम केले सन् २०१६ मा आफ्नै डायरीलाई किताबका रूपमा प्रकाशन गरेका थिए । दिस इज गोइङ टु हर्ट त पछि किताबका रूपमा मात्र प्रकाशित भएन, यो त अवार्ड जित्ने टेलिभिजन शृंखलाका रूपमा समेत आयो ।
कयौँ डायरीहरू त पछि प्रख्यात पुस्तकसमेत बनेका छन् । एन फ्य्राङ्कको डायरी, एलन क्लार्क, टोनी बेन, एलन रिकम्यान, क्याप्टन स्कटले लेखेका डायरीहरू पछि यति रोचक पुस्तक बने कि तिनले एउटा उदाहरण नै पेस गरेका छन् ।
हिन्दीमा पनि श्रीराम शर्मा, उपेन्द्र नाथ अश्क, अज्ञेय, गजानन माधव मुक्तिबोध, हरिवंश राय बच्चन, रामधारी सिंह दिनकर, रघुवीर सहाय, जयप्रकाश नारायण, मोहन राकेश, कमलेश्वर, शमशेरबहादुर सिंह र श्रीकान्त वर्माजस्ता लेखकका डायरीहरू प्रकाशित मात्र भएनन्, तीमध्ये कतिपय त प्रख्यातसमेत रहे ।
आवर हिस्ट्री अफ द ट्वेन्टिथ सेन्चुरीः एज टोल्ड इन् डायरिज्, जर्नल्स एन्ड लेटर्सका लेखक ट्रेभिस एलबरा त डायरी लेख्नुलाई सामाजिक योगदानसमेत रहेको बताउँछिन् ।
डायरी लेखनले व्यक्ति स्वयंलाई मात्र नभएर समाजका लागि फाइदाकारी छ र भविष्यमा पनि फाइदाकारी नै रहनेछ भन्ने उनको धारणा छ ।
डायरी लेखन कति सशक्त कुरा हो भने तपाईंले सुनेका कुरा र भनेका कुराहरू बिर्सिइन्छ तर लेखिएका कुरा प्रायः बिर्सन गाह्रो हुन्छ । त्यसैले हातले लेखिएका कुराहरू लामो समयसम्म स्मृतिमा रहिरहन्छन् ।
कम्प्युटरमा लेख्नुभन्दा अब डायरीमा लेख्न थाल्ने होइन त ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।