कुनै पनि प्रकाशन उद्योग मज्जाले चल्नका लागि लोकप्रिय प्रकाशनहरूको जड मजबुत हुनुपर्छ । पश्चिमा मुलुकहरूमा थ्रिलर उपन्यास वा रोमान्टिक उपन्यासहरूको जड निकै मजबुत छ । त्यस्ता साहित्यका पाठक करोडौँमा छन् । त्यसैले त्यस्ता पाठकलाई केन्द्रित गरेर लोकप्रिय साहित्य सिर्जना गर्ने गरिन्छ । कहिलेकाहीँ त ती यति लोकप्रिय हुन्छन् कि फिल्म निर्माताका आँखामा पर्न जान्छन् र तिनले पर्दाको बाटो पाउँछन् ।

आज हामी यस्तै एक लेखकका बारेमा चर्चा गर्नेछौँ । डेभिड निकोल्सका रोमान्टिक उपन्यासहरू निकै लोकप्रिय छन् । उनले टोमस हार्डी र बिल्ली ब्रागको शैलीलाई अघि बढाए भनी केही विश्लेषकहरू भन्छन् ।

तर उनी आफूलाई त्यस्तो तीसमारखाँ सोच्दैनन् । उनी पहिला टेलिभिजनका लागि पटकथाहरू लेख्थे । त्यसबाट दिक्क लागेपछि उनले उपन्यासमा भाग्य चम्काउनेबारे सोचे । तर केही उपन्यासले कहिल्यै प्रकाशन हुने अवसर पाएनन् । बल्लतल्ल स्टाटर फर टेन नामक उपन्यासले केही होहल्ला मच्चायो र राम्रै बिक्री भयो । दोस्रो उपन्याससम्म आइपुग्दा उनले जम्मा गरेका सुन्दर कथाहरू सबै हालिसकेका थिए । जाने सुनेका फित्कौली पनि घुसाइसकेका थिए । बडो कठिनका साथ दोस्रो उपन्यास द अन्डरस्टडी सके । तेस्रो उपन्यास त अब के लेख्ने होला भन्ने उनलाई समस्या परिसकेको थियो ।

टेस अफ द अर्बनभेलले भने उनलाई एउटा गतिलो लेखकका रूपमा उभ्याइदियो । उनको यस उपन्यासलाई बिबिसीले उत्पादन गर्यो ।

४० वर्षे डेभिड लेख्ने बेलामा कुनै उपन्यासको एउटा अनुच्छेदबाट प्रभावित हुनसक्छन् । अनि, त्यस अनुच्छेदलाई उनी उपन्यासको पूरा विषय बनाउँछन् । त्यसपछि त्यसको छोटकरी कथा तयार पार्छन् ।

उनी त्यसपछि यो उपन्यास तयार पार्न लगभग नौ महिनाको समय लगाउँछन् । लेख्दै प्रिन्ट गर्दै र प्रिन्ट गरेका कुरामा परिवर्तन गर्नुपर्ने कुरा चिनो लगाउँदै र फेरि टाइप गर्छन् । लेख्दै गर्दा उनले पात्रलाई बिस्तारै अझ बढी चिन्दै जान्छन् । हरेक पात्रहरू उनका मिल्ने साथीजस्ता हुन पुग्छन् ।

कहिलेकाहीँ त केही उन्यासका प्लटहरू कयौँ वर्ष पुराना हुन्छन् । पात्रहरू पनि धेरै पुराना हुन्छन् । तिनले कयौँ वर्षपछि ठाउँ पाउँछन् । सन् १९९२ ताका ग्रिसमा बिदा मनाउन जाँदा फेला परेका केही पात्रले बल्ल यतिखेर उपन्यासमा ठाउँ पाइरहेका हुन सक्छन् ।

प्रायः टिनएजर लभस्टोरी लेख्दा उनी आफ्ना पुराना किशोर र टिन एजका तस्बिरहरू हेर्ने गर्छन् । त्यो जमानाका किताब पढ्छन्, त्यस बेलाका संगीत सुन्छन् र आफूलाई टिनएजर महसुस गर्दै उपन्यास लेख्छन् ।

यही विधि अपनाएर सन् २००९ को मेमा प्रकाशित भएको उपन्यास ‘वन डे’ले भर्खरै नेटफ्लिक्समा रिलिज हुन पाएको छ । यो उपन्यासले उनको पूरा जीवन नै बद्लिदिएको थियो । यो उपन्यास त्यो बेलाको बेस्टसेलर हुन पुग्यो ।

त्यसपछि उनका उपन्यासलाई पाठकहरूले गम्भीरतापूर्वक लिन थाले । उनको लभ मि डु र कमन पिपल निकै चर्चित भए ।

१६ देखि २२ वर्ष उमेरमा जुन जुन क्लासिक किताबहरू उनले पढे, त्यसको प्रभाव अहिलेसम्म रहेको उनी बताउँछन् । चाहे ती, जे.डि. सेलिङ्गर हुन्, एफ. स्कट फित्गेराल्ड, डिकेन्स, हार्डी या अन्य लेखक किन नहोऊन् । आफूले लेख्ने उपन्यासमा ती पात्र, ती उपन्यासको कतै न कतै, कहीँ न कहीँ गहिरो प्रभाव परेको उनी स्वीकार गर्छन् । भलै तिनको क्लासिकपना हराएर नयाँ गढिन्छन्, त्यो बेग्लै कुरा हो ।

त्यसो त बिबिसीले निर्माण गर्ने कतिपय शृंखलामा आफूले पटकथा लेख्दा गहिरो गरी क्लासिक उपन्यासहरू पढ्नुपर्ने भएकाले पनि आफूलाई तिनको शास्त्रीयताले गम्भीर घाइते बनाएपछि लेख्न घच्घच्याइरहने उनी बताउँछन् ।

उनले हालसम्म ६ वटा उपन्यास लेखिसकेका छन् । तिनलाई पाठकले रूचाइदिएकामा उनी कृतज्ञ छन् ।

उनले आफ्नो करियरको शुरूवात अभिनेताका रूपमा शुरू गरेका थिए । उनले पछि के महसुस गरे भने कलाकारिताका लागि व्यक्तिभित्र एउटा विशेष आकर्षण चाहिन्छ, जुन आफूमा छैन । उनले यो कुरा बुझ्न एउटा किताब पढ्नु पर्यो । पिजे कभारनागको द फर्फेक्ट स्ट्रेन्जरमा लेखकले आफ्नो बुद्धि कसरी फिर्यो, कसरी प्रेम फेला पारे र जीवनको नयाँ बाटोमा हिँड्न थाले भन्नेबारे लेखिएको यो संस्मरणात्मक पुस्तक पढेपछि भने उनले अभिनयलाई चट्टै छाडेर लेखनमा छिरे ।

वन डे उपन्यासका लागि ग्यालेक्सी बुक अफ दि अवार्ड २०१० पाएपछि सन् २०१४ मा उनले अस उपन्यासका लागि युके अथर अफ दि इयर पुरस्कार पाए ।

उनका उपन्यास सूची

वन डे (२००९)
अस (२०१४)
स्टार्टर फर टेन (२००३)
स्विट सरो (२०१८
द अन्डरस्टडी (२००५)
यु आर हेयर (२०२४)