लेखिका ग्लेनन डोयल

यतिबेला ४४ वर्षीया लेखिका ग्लेनन डोयल निकै चर्चामा छिन् । गएको मार्चमा मात्र उनले पछिल्लो तथा तेस्रो पुस्तक ‘अनटेम्ड’ बजारमा ल्याएकी थिइन् । बजारमा आउनेबित्तिकै उनको किताब बेस्टसेलरमा ह्वात्तै उक्लियो । यसअघिका दुई किताबको कथा पनि रोचक छ र स्वयं लेखिका ग्लेनन डोयलको कथा पनि कम्ता रोचक छैन ।

यसअघि सन् २०१३ मा ‘क्यारी अन, वारियर’ पुस्तक लेखेर चर्चामा रहेको लेखिका ग्लेननले पारपाचुके दिइन् । त्यति मात्र होइन, उनले जसलाई आफ्नो जीवनसाथी चुनिन्, त्यसले उनलाई ह्वात्तै चर्चामा ल्याइदियो । सन् २०१६ मा ‘लभ वारियर’ नामक बेस्ट सेलर लेखेकी उनले एबी वामबाकसँग आफ्नो बाँकी जीवन गुजार्ने घोषणा गरेर सबैलाई चकित पारेकी छन् ।

डोयलको लेखाइको हलिउडका चर्चित सेलिब्रिटीसमेत प्रशंसक थिए । तीमध्ये अस्कर अवार्ड विजेता रिजी विदरस्पुन र गायिका एडिली प्रमुख छन् । यिनले बोल्ने कार्यक्रम भनेपछि टिकट नै बिक्री हुन्थ्यो र त्यस्तो क्रेज चाहिँ ओप्रा विन्फ्रे, एलिजाबेथ गिल्बर्ट वा ब्रेने ब्राउनजत्तिकै थियो ।

ओप्रा विन्फ्रेलाई त तपाईंले चिन्नु भएकै होला । उनी अफ्रिकी अमेरिकी टेलिभिजन सेलिब्रिटी हुन् । त्यस्तै गिल्बर्ट बेस्ट सेलर लेखिका हुन् भने ब्रेने भने पछिल्लो समयकी शोधकर्ता र लेखिका पनि हुन् । ब्रेने सेल्फहेल्प जनरामा पछिल्लो समय राम्रो बिक्री हुने लेखिकामध्येमा गनिइन्छिन् ।

यस्ता तगडा लेखिकाहरूले पनि मान्ने ग्लेनन डोयल अमेरिकाको भर्जिनियास्थित बर्कीमा जन्मिएकी थिइन् । युवावस्थामा उनलाई लागू औषधको कुलत भयो, डिप्रेसनको रोगी भइन् । उपचारका क्रममा चिकित्सकले उनलाई सुझाव दिए, हरेक दिन केही न केही लेखिरहू ।

त्यसपछि हरेक दिन केही न केही लेखेर मन हलुंगो पारेकी पछि शिक्षण पेशा रोजिन् । यसपछि उनी एक आकर्षक मोडल क्रेग मेल्टनसँग नजिकिइन् र पति वरण गरिन् । मेल्टनसँगको सम्बन्धबाट तीन सन्तान जन्माएकी उनले लेख्ने बानी छाडेकी थिइनन् र शुरू गरिन्, मोमास्टरी डटकम ।

यसमा उनले एउटी धार्मिक महिलाले कसरी छोराछोरी हुर्काउने भनी प्रायः लेख्ने गर्थिन् । उनको लेखाइ यति आकर्षक थियो कि सातामा ७० लाखले उनका लेख पढ्थे ।

आफ्नो लेखाइ यति मन पराइन्छ भन्ने थाहा पाएपछि उनले पहिलो पुस्तक ‘क्यारी अन, वारियर’ लेखिन् । जसमा उनले आफ्नो रक्सी र लागू औषधको समस्याले कतिसम्म सताएको थियो र त्यसबाट कसरी निस्किइन् भन्नेबारे लेखेकी थिइन् । यति मात्र होइन, उनलाई इटिङ डिसअर्डर (खाने कुरामा आफूलाई रोक्नै नसक्ने) थियो । उनका अनेकन् समस्याका कारण उनका परिवारका सदस्यले घर गरी नखाली भन्ने ठूलो चिन्ता थियो ।

किताब न्युयोर्क टाइम्स बेस्ट सेलरको तेस्रो नम्बरमा पुग्यो र दुई लाखभन्दा बढी प्रति बिक्री भयो । किताबको चर्चा चुलिएकै बेला उनका मोडल पतिको बयान बजारमा आयो कि कसरी उनले पत्नीलाई धोका दिएर अन्य स्त्रीहरूसँग रसरङ मच्चाए ।

यस बयानपछि दुवै छुट्टिए । कयौँ समय उनीहरूबीच बोलचाल भएन । तर उनलाई लाग्यो, सेल्फ हेल्पको किताब लेख्ने म, आफैँले सम्बन्ध जोड्न सक्दिनँ भने मेरो लेखाइको सार नै के भो ?

त्यसपछि उनले मोडल पति क्रेग मेल्टनसँगको बिग्रिएको सम्बन्ध सुधारिन् । उनीहरूको दाम्पत्य पुनः ठीक ठाउँमा आउन थाल्यो । यही विषयलाई लिएर उनले दोस्रो पुस्तक ‘लभ वारियर’ लेखिन् । पुस्तक छापिनुअघि नै उनको पुस्तकका अंशहरू विभिन्न पत्रपत्रिकामा छापिन थाले । बजारमा आउनुअघि नै ओप्रा विन्फ्रेले आफूले पढ्ने सूचीमा राखिन् । खासगरी ओप्राले एउटा बुक क्लब बनाएकी छन्, ओप्राज् बुक क्लब । यो क्लबमा किताब पार्न लेखकहरूले मरिहत्ते गर्छन् । तर उनको किताब भने छापिनुअघि नै क्लबमा छिरिसकेको थियो ।

किताब निस्कनुअघि अमेरिकाको सिकागो शहरमा आयोजना हुने साहित्य महोत्सवमा दोस्रो पुस्तकको परिचर्चा कार्यक्रममा बोल्न पुगिन् । त्यहीँ फुटबल खेलाडी तथा लेखिका एबी वाम्बाकसँग उनको भेट भयो । खासमा वाम्बाक एउटा स्रोताका रूपमा उनका कुरा सुनिरहेकी थिइन् । प्रश्नोत्तरका क्रममा वाम्बाकले उनलाई सोधेका केही प्रश्नले उनलाई तान्यो र त्यहीँ उनले सोचिन्, वाम्बाकसँगै मैले बाँकी जीवन बिताउँछु ।

त्यसपछि दुवैको भेट क्रमशः बढ्न थाल्यो र २०१७ मा उनले जब वाम्बाकसँग बिहे गर्ने घोषणा गरिन्, सबै चकित परे ।

लेखिका नव दुलही एबीसँग

उनको प्रकाशकले त किताब निस्किएका बेला यस्तो घोषणा गर्नु किताबको आम्दानी मार्नु हो समेत भने । त्यसैले किताब ननिस्किउञ्जेलसम्म उनले आफ्नो समलैंगिक सम्बन्धका बारेमा केही बोलिनन् । पछि उनले आफ्ना पतिलाई जानकारी दिइन्, अब मैले पुरूषसँग होइन, महिलासँगै जीवन बिताउँछु ।

यतिबेला बजारमा गएको उनको पुस्तक ‘अनटेम्ड’मा तिनै नयाँ पार्टनर र आफ्नो जीवनका बारेमा लेखेकी छन् । यो पुस्तक बजारमा आएयता ६८ हजार प्रति बिक्री भइसकेको छ ।

अमेरिकामा सेल्फ हेल्प पुस्तक तथा तालिमको बजार निकै ठूलो छ । तालिम दिने र पुस्तक बिक्री गर्ने लेखकको कुनै कमी छैन । एक अध्ययनअनुसार अमेरिकामा मात्र ९.९ अर्ब डलरको बजार छ । एक अनुमानअनुसार सन् २०२२ सम्म यसको बजार १३.२ अर्ब डलरको पुग्ने छ ।

यस्तो अवस्थामा अनुभवले खारिएका लेखक वा आफ्ना अनुभव लेख्ने वा शोधमा आधारित सेल्फ हेल्प लेख्ने लेखकको बजार अझै बढ्ने छ । यस्तोमा फाइदा पुग्ने भनेको यस्तै लेखकहरूको नै हो ।