आफ्नो पुरानो गोलो पावरचस्मा पुछेर सकेपछि चाउरी परेको नाक र कानमा काम्दै अढ्याउँछ । पुरानो धमिलो सिसाको सामुन्ने उसले आफ्नो नजरलाई एकटक बनाउँछ र मक्किएको झ्यालको कब्जामा हातलाई विश्राम दिन्छ । सिसाबाट पानीका थोपा विस्तारै तल झरिरहेको हुन्छ, उसको आँखाबाट पनि आँसुका थोपा विस्तारै खस्न थाल्छ । आँसुले पखालिन्छ । निराशाका मुस्लाहरू नाचिरहन्छन ऊभित्र । तातो भएर रातो बनेको फलामको ‘रड’ जस्तो उसको शरीरले उसलाई नै गिजाइरहेछ । …. किन ?

सोच्छ, आजको ‘ऊ’ र हिजोको ‘ऊ’ मा केही पनि मिल्दैन । यदि आकार र अनुभवहरूमा जीवनको परिभाषा भेटिन्थ्यो भने किन सम्पूर्ण वर्तमान र भविष्य आँखैअघि नाँचिरहँदा पनि अतितका स्मृतिहरू कोट्याइरहन अभ्यस्त हुन्छ मान्छे ? किन सबथोक भएर पनि शून्य छ जगत ? किन शून्यताको परिधिभित्र बाँधिएको सपना मात्रै खोजिरहन्छ जहिले पनि मान्छे ?

कैयौँ दिनहरू रातमा बदलिए, कैयौँ रातहरू दिनमा बदलिए । तर उसको उमेर घटिरह्यो, चाह बढिरह्यो । उसको मन त्रसित भई मृत्युलाई पर्खिरह्यो । बस्, उसको जीवन फगत थोत्रो भयो । उसले दुइटा महिना यस्तै कुरा मनमा खेलाउँदै झ्यालमा बसेरै सकायो ।

सिसाको झ्यालबाट उसले एक घर देख्थ्यो, जहाँ सबै जना खुसी थिए । एउटा बच्चा सधैँ आँगनमा खेलिरहेको हुन्थ्यो । त्यस घरलाई हेरेर ऊ झन् शून्यतामा पुग्थ्यो । आँसु अझ बढी शक्तिशाली बन्थे ।

उसको हृदयको एउटा कुनामा बाक्लो झाडी थियो, जसमा उसका अव्यक्त सन्नाटाहरूले फुलका थिए । तर उसको मस्तिष्कभित्र प्रश्नहरूको कोलाहल थियो । सुनसान वातावरण ,स्तब्ध उसको मन र शून्य उसको शरीर । अविरल बगिरहेको आँसु… लाग्दथ्यो, ऊभित्रको उसले नै उसलाई मार्ने प्रयत्न गरिरहेको छ ।

अव्यक्त थकान बोकेर सुनसान दोबाटोहरूमा अल्मलिएको एउटा गन्तव्यविहीन यात्री जस्तो थियो ऊ । ढल्न लागेको बूढो रूख र उसको आकृती उस्तै, दुवै एकअर्कालाई कुरिरहेका थिए; एक चिहानको चिर्पटो बन्न र अर्को त्यसमा चिर्पटोको सारथि । उसका मौन सपनाहरूको बीभत्स हत्या भएका थिए, आफ्ना सुदूर अतीतका सम्झनाको तीतो केरेलाहरूलाई रात दिन आँसुको रक्सीका लागि सितान बनाइरहेको थियो । ऊ यही नसामा दिनहरूलाई समर्पित गरिदिन्थ्यो, नसालाई आफ्नो प्रेयसी बनाइदिन्थ्यो। एक अशक्त बूढो मान्छेको प्रेमिका र आँसुको नसा ….. !

बिपिन अर्याल

वृद्धाश्रमको एक बूढो मान्छेले अर्को मान्छेलाई प्रश्न गर्यो, ‘किन त्यो मान्छे आश्रम आएको यतिका दिन बितिसक्दा पनि भर्खरै घरबाट आएजस्तो झ्यालबाट बाहिर हेरेर रोइरहेको ?’

अर्को बूढो मान्छेले उत्तर दियो, ‘किन आँसु नझरोस्, बिचरा ! उसको घर त्यही झ्यालबाट हेर्दा देखिन्छ, जुन घरमा उसले आफ्नो अतीतका पलहरू संगालेको थियो ।’

भोलिपल्ट पनि ऊ त्यही झ्यालतिर फर्किएर घरलाई हेरिरहेको थियो । कहालीलाग्दो अँध्यारो रातमा माइलौँ दूरीसम्म यात्रीहरूको खोजमा, तारले बेरिएर मुन्टो झुकाउँदै पोलमा झुन्डिएर आत्महत्या गरिरहेका बत्ती झैँ निहुरिएर आफ्नाहरूको खोजमा टुक्रुक्क कुर्चीमा बसेर सोचिरहेको थियो । आफ्नाहरूलाई याद गर्दागर्दै चैतन्यचोला त्यागेर मृतसंसारको रगंमन्चमा होमिइसकेको थियो ।

झल्याँस्स निन्द्राबाट बिउँझन्छ । आडम्बर सपनालाई सत्य ठान्छ । आफैँलाई छाम्छ । चिमोट्छ। लामो सास लिन्छ । नजिकै रहेको पानी घट्घटी पिउँछ। उसले आफूलाई जिउँदो पाउँछ । बत्ती बाल्छ । नजर घडीमा अड्याएर समय हेर्छ । घडीले मध्यरात देखाइरहेको हुन्छ । ऊ हदैको प्रयासले एकाग्र हुन खोज्छ । दूर कतै छरिएका निद्राको सिला बटुलिरहन्छ । तर अहँ, सक्दै सक्दैन । तन ,मन, वदन खै के हो ? सुत्दै सुत्दैन । फरक हुँदो रहेछ, सपना खोज्दै निदाएको रात अनि निद्रा पर्खिएर निदाएको रात । निकै फरक हुँदो रहेछ !

अन्ततः नजिकिएको स्पस्टै दर्साउछन्- निभ्ने बेलामा धपक्क बलेको ज्योतिजस्ता आडम्बरहरू ।

हिजो ऊ आधा मरेको थियो, मुर्दाहरूको संसारमा जीउन चाहँदैन । उसको दिल पत्थर भएको छ । उसको मासुको हृदय त उहिल्यै मरिसकेको थियो, अरू बढी दुःख्नका लागि मान्छे हुन चाहादैन । ऊसँग अब मात्र बाँकी छ; अभिशप्त आशाहरू, कहिल्यै पूरा नहुने सपनाका रंगहरू, कट्कटिएको मैलो विश्वासहरू, दिनदिनै मरेर जिएका वर्षहरू ……. पात्रो फेरेर, कात्रो बेरेर दैडिरहेका समयहरू।

उसलाई समयदेखि घिन लाग्छ । हिजो चुम्बक जसरी टाँसिनेहरू,आज उसको जिन्दगी ‘खिया’ लागेको देखेर नै टाढिएका छन् । त्यसैले उसलाई कागजी बाँधभन्दा पृथक लाग्दैन सम्बन्धहरू । अन्ततः नजिकिएको स्पस्टै दर्साउछन्- निभ्ने बेलामा धपक्क बलेको ज्योतिजस्ता आडम्बरहरू ।

यस्तैमा ऊ आफ्नो शरीरलाई खाटमा सुताउँछ । ननिदाई आफ्नो बिगतलाई कोट्याउँछ । झरीमा जिउभरि हिलो बोकेर मान्छेसँग नजिकिएको भुस्याहा कुकुर जसले ह्वास्स दुर्गन्ध छोडिरहेको हुन्छ, त्यस कुकुरलाई गर्ने व्यवहार र उसमाथि उसको छोरा, बुहारीले गरेको व्यवहार तराजुमा तौलिँदा बराबर आउँछ । “बुबाआमाको माया छोराछोरीमाथि छोराछोरीको माया ढुङ्गामुडामाथि”, उसको जीवनँग यस उखानले मिल्तिछ ।

पत्नीको मृत्युपछि उसले आफ्नो छोरालाई माया दिनकै लागि आमाबुबाको दुवैको भूमिका निभाएको थियो । छोराकै लागि दोस्रो बिहेको कल्पना पनि गरेन । भोक प्यास नभनी दिनरात एक गरेर धनसम्पति जम्मा गर्यो । छोरालाई राम्रो शिक्षा दियो । तमझामका साथ बिहे गरिदियो । केही वर्षपछि उसले नाति पायो । हरेक दिन नातीलाई खेलाउँदै समय व्यतीत गर्थ्यो । तर एक्कासि उसलाई दम रोगले समायो । उपचार पश्चात् घर फर्कियो, घर फर्केको दिन नै बुहारीले छोरासँग गरेको गफ सुन्यो । यस्ता गफले प्रायःजसो उसलाई गलाइरहेको थियो,
“तपाईंलाई कुनै चिन्ता छैन है ! हाम्रो छोराको बारेमा ?”, बुहारीले छोरासँग प्रश्न गर्न लागिन्।
“किन के भयो र !”
“बुबा रोगले ग्रसित हुनुहुन्छ, छोरा जहिले बुबासँगै टाँस्सिएर बस्छ । उसलाई पनि यदि केही भइहाल्यो भने ? ….. फेरि हामि घरमा पनि हुँदैनौँ । जहिले काममा व्यस्त । , बुबाको ख्याल राख्न पनि त भ्याइँदैन । त्यसैले बुबालाई वृद्धाश्रम लैजाने व्यवस्था गरिदिनु भयो भने त सबैलाई राम्रो भयो नि !”
छोराले एकैछिन पनि नसोचिकन जवाफ दिन्छ, “हुन्छ, म बुबासँग कुरा गर्छु।’

रातभरको अनिँदोले मस्तिष्कको ढोका उघार्छ । बिहानै छोरा चिया लिएर ओछ्यानसम्म आउँछ । उसले छोरालाई भन्छ, ‘छोरा तिमीसँग एउटा कुरा गर्नु छ ।’

छोरालाई पनि सुनमा सुगन्ध मिल्छ । भन्छ, ‘बुबा मैले पनि हिजोदेखि हजुरलाई एउटा कुरा भन्ने प्रयास गरिएको थिएँ । जेहोस्, हजुरले पहिले भन्नुहोस् । के कुरा भन्न खोज्नुभएको थियो ?’

वृद्धाश्रम बनाउनको लागि मलाई धेरै ठाउँ चाहिन्छ । त्यसैले तिमीले आफू बस्नको लागि छुटै घर भाडामा लिनु पर्नेछ ।

‘छोरा मलाई पूर्ण बुढेसकाल लागिसक्यो । अब केही गरेर खान पनि सक्दिनँ । शरीर पनि बिरामी परिरहन्छ । कहिले ओछ्यानमै थला पर्ने हो, थाहा छैन। त्यसैले अब म आफू जस्तै वृद्धवृद्धाको साथमा बाँकी जीवन व्यथित गर्न चाहन्छु ।’, बुबाको यस्तो कुरा सुनेर मनमा खुसीको चङ्गा उडाउँदै उसले झुटको सहानुभूति दिन्छ, “हुँदैन बुबा, कहाँ वृद्धाश्रम जाने कुरा गर्नुभएको ? तपाईं हामीसँगै बस्नुपर्छ । तर तपाईंको यो अन्तिम निर्णय हो भनेचाहिँ म केही भन्दिनँ ।”

उसले बुबासँग रिसाए जस्तो अनुहार बनाउँछ । तर उसको मनले भने बुबालाई वृद्धाश्रममा छोडेर आइसकेको थियो ।

एकछिन कोठामा मैनता छाउँछ । दुःखी हुँदै बुबाले उत्तर दिन्छन्, “मैले वृद्धाश्रम जाने निर्णय गरेको होइन छोरा । हाम्रो यो घरलाई नै वृद्धाश्रम बनाउने र मजस्तो बूढा मान्छेहरूको सेवामा आफ्नो जीवन अर्पने निर्णय गरेको हुँ । मलाई भन्न अफ्ठ्यारो लागिरहेको छ । वृद्धाश्रम बनाउनको लागि मलाई धेरै ठाउँ चाहिन्छ । त्यसैले तिमीले आफू बस्नको लागि छुटै घर भाडामा लिनु पर्नेछ ।”, यति भन्दै बुबा चियाको चुस्की लिन थाल्छन् । छोरा स्तब्ध हुन्छ।