सर्वाङ भुटानमा जन्मिएका जे. एन.दाहालको ‘लेखककी छोरी’ कथास‌ंग्रह (२०७६), र ‘प्रहेलिका’ उपन्यास (२०८०)
प्रकाशित कृति हुन् ।अमेरिका बसेर कलम चलाउने दाहाल  हाल ‘भुट्निज लिट्रेचर डट कम’मा सम्पादक रूपमा काम गर्छन् ।

प्रस्तुत छ, उनै  आख्यानकार जे. एन.दाहालसँग  साहित्यपोस्टका लागि जनक कार्कीले गरेकाे कुराकानीकाे सम्पादित अंशः

जे. एन.दाहाल

जे. एन. दाहाल

तपाईँको नवीनतम उपन्यास`प्रहेलिका´ सार्वजनिक भएको छ । यो उपन्यासमा के कस्तो विषयवस्तुलाई समेट्नु भएको छ ?

– यहाँ मुख्यतया ‘एल.जी.बि.टी.क्यू.आइ.ए’को एबाट एसेक्सुवल भन्ने विषय समावेश गरिएको छ । यद्यपि महिलाका घर व्यवहारका चुनौती, सम्बन्ध, यौन पनि जोडिएर आउँछ ।  आम मजदुरले जिविको उपार्जन गर्न झेलेको समस्या, कलेजको जीवन,  होटेल तथा बारमा हुने घटनाहरू यिनै विषय वरिपरि उपन्यासले फन्को लगाउँछ ।

प्रहेलिका´ उपन्यास लेख्छु भन्ने सोच आएको दिन यहाँसँग अलिखित रूपमा के कस्तो तयारी थियो ?

– पहिलो बसाइमा लेखिएको भनेको छोटो सारांश मात्र थियो । जहाँ मुख्य पात्रको कसैसँग सङ्गत हुन्छ । प्रेममा पर्छिन् । पछि उनीले यौनमा अनौठो महसुस गर्न थाल्छिन्  लगायतका कुरा थिए । के कारण मुख्य पात्र समस्या झेल्छिन् त ? किन उनको मस्तिष्कमा प्रश्नहरू मात्र छन् त ? उनी बिस्तारै खोतल्छिन्  । यही आकार तन्काउँदा पचास हजार शब्द सङ्ख्यासम्म पुगेको हो ।

यो उपन्यास लेख्न कति समय लगाउनुभयो ?

– पहिला त दिमागमा पकाउन नै तिन महिना जति समय लाग्यो । कहाँबाट सुरु गरौँ  अर्थात् कसको माध्यमबाट कथा भनौँ निश्चित नै थिएन । पछि लघुकथा जस्तो एक अनुच्छेदको सानो आकारको लेखन तयार भयो । त्यही थिमलाई तन्काएँ, पुनर्लेखन गरी एक वर्ष जति समय व्यतीत गरेँ  । अनि निर्माण भएर आएको हो – ‘प्रहेलिका’   ।

उपन्यासमा  कथावस्तु, कला, विचार र दर्शन जस्ता तत्त्व लेख्न यहाँ कस्तो-कस्तो अध्ययन र प्रक्रियाबाट गुज्रिनु भयो ?

– कथाको विषय वस्तु चाहिँ केही नौलो छ । लेख्ने क्रममा आफू पुरुष हुँ भन्ने बिर्सिएर उनीहरूको विचार प्रस्तुत गरेको छु । त्यसले नारी पात्रहरूलाई न्याय नै गर्छ । आफू विवाहित भएकाले नारीको मनोविज्ञान अलि नजिकबाट उतार्ने कोसिस गरेको छु । कुनै पनि लेखकले आख्यानमा दर्शन ल्याउनु चाहिँ कला पक्ष मजबुत हुनु हो । त्यसका केही झिल्का यहाँ पनि ठाउँ ठाउँमा देख्न मिल्छ, यद्यपि त्यो भर्न सिक्ने क्रममै छु । एसेक्सुवल विषयमा कलम उठाउनु अघि रिसर्च चाहिँ राम्रो गरेको छु भन्न धक मान्दिन ।

प्रहेलिका

प्रहेलिका

यो उपन्यासले पाठकलाई के भन्न चाहन्छ ?

– पाठक एकपल्ट अमेरिकाको भ्रमण गर्छन् ।  यहाँ व्यतीत गरिने जीवनशैली, सामाजिक गतिविधि, अमेरिकन संस्कृति, ऋतु परिवर्तन, लगायतका मानवीय तथा प्राकृतिक कुरा नजिकबाट पाठकले अवलोकन गर्छन् । यसका साथै एस अर्थात् एसेक्सुवालीटी भनेको के हो ? त्यसले के गर्छ ? भन्ने कुराको विस्तारमा ज्ञान पनि दिन्छ ।

तपाईँ आफैँ पनि अमेरिकामा बस्नुहुन्छ । अमेरिकी र नेपाली पात्र मिसाएर यहाँले त्यहाँको परिवेश, संस्कृति, जीवनशैलीलाई उपन्यासमा चित्रण गर्नुभएको छ । नेपालीले अमेरिकनसँग बिहे गरेपछि जीवन कतिको सहज वा अप्ठ्यारो हुने देख्नुभएको छ ?

– १३ सालदेखि यो समाजसँग साक्षात्कार गरी रहेको छु । ‘प्रहेलिका’मा नेपाली युवतीले अमेरिकनसँग विवाह गर्दा आइपरेका सम्बन्ध, घर व्यवहार र  यौनको अप्ठ्यारोपन खुलाएको छु । नयाँ परिवेशमा, अमेरिकन पात्रसँग सम्बन्ध हुँदा कठिनाइ अझ थपिनु, सधैँ चुनौती सामना गर्नु पर्ने बाध्यताले उनीहरूको दैनिकीमा कतैबाट पनि सहजता छैन । तर अन्त्यमा उनीहरू नौलो बाटो रोज्न सफल बन्छन् ।

लेखकहरू कहिलेकाहीँ आफ्नै पात्रको चरित्रबाट ह्याङओभरमा रहन्छन् भनिन्छ । तपाईँलाई त्यस्तो भयो ?

– प्रहेलिका निर्माण गर्ने क्रममा पुरुष पात्र अव्यवहारिक र महिला पात्रलाई चाहिँ  पिडा माथि पिडा थप्दा नरमाइलो लागेको सत्य हो । यस्तो आम लेखकमा हुनै नै भयो । लेख्ने क्रममा कथा वस्तु अनुसार केही मानसिक तनाव चाहिँ खेपेको छु । भाषा शुद्धताका लागि पाण्डुलिपि धकेलिएपछि पात्रको चरित्रकै कारण पछिसम्म  ह्याङओभर चाहिँ भएन । यद्यपि कतिको न्याय गरेँ भन्ने मनमा चिसो चाहिँ छ ।

यहाँ साहित्यमा कसरी र कहिलेदेखि साधनारत हुनुहुन्छ ?

– साहित्य अध्ययन चाहिँ बाल्यावस्था देखिकै हो । रहरै रहरमा सोह्र-सत्र वर्षको उमेर देखि लेख्ने कोसिस गरियो । सुरुवाती दिनमा  गद्य कविताबाट भएको हो । पछि गजल, रुवाइयात पनि लेखियो । चित्त बुझ्दो गजल रुवाइ लेख्न सकिएन र लेख्नै छाडिदिएँ । कविताको माया लाग्छ तर यसलाई पनि राम्ररी लेख्न सकेको अवस्था छैन । केही फरक गर्न भनी कथा, निबन्ध, उपन्यासतिर आकर्षित छु । पढ्ने र लेख्ने अभ्यास चाहिँ नियमित छ ।

यहाँलाई मनपरेको तीन वटा उपन्यासको नाम लिनुपर्दा ?

– मन परेका उपन्यासहरू धेरै छन् । तिनको मात्र नाम लिनुपर्दा मुगलान, घामका पाइला, सेतो धर्ती ।

यहाँलाई मनपर्ने तीनजना लेखक ?

– पारिजात, विश्वेश्वरप्रसाद कोइराला, ध.च गोतामे ।

अन्तिममा एउटा स्वतन्त्र प्रश्न जसमा यहाँले आफूले मन लागेको कुरा भन्न सक्नुहुन्छ ।

– एक त डायस्पोराको बसाइबाट लेखिएकाले र अर्को भुटानी पृष्ठभूमिबाट आएकाले हामीलाई खास्सै पढिन्न, खोजिन्न । कुन पुस्तक कहिले आयो–गयो, गन्तीसम्म लगाइन्न । यद्यपि म अपेक्षा राख्छु कि यो दृष्टिकोण पनि कुनै दिन बद्लिनेछ, परिवर्तन हुनेछ ।