मान्छे जन्मँदै रुन र हाँस्न जानेको हुन्छ । समयक्रमसँगै उसले माया गर्न, घृणा गर्न, गाली गर्न, ढाँट्न, छल्न, नाच्न, गाउन, खेल्न र दुनियाँका तमाम बदमासी गर्न पनि सिक्छ । हुर्कंदै-बढ्दै गर्दा उसले आफ्नो समय, समाज र आफूले बाँचेको परिवेशसँगै तमाम सुख-दुख, अन्याय-अत्याचार, विद्रोह, तत्जन्य आक्रोश, जीवनका आरोह-अवरोह, आशक्ति र मूर्त-अमूर्त स्वप्नहरू पनि झेल्छ । जीवन भन्नु पनि आखिर यिनै भोगाइहरूको व्यक्त-अव्यक्त कथा जस्तै हो । जीवन आफैं अनेकन् कथा लिएर जन्मन्छ, असंख्य कथाहरूमा अनुदूत हुन्छ र कैयन् कथाहरू खुल्लै छाडेर अस्ताउँछ । त्यही आदि र अन्त्य बिचमा हजारौं उपकथाहरू जन्मन्छन् । कथाको जन्म पनि मान्छेको जन्म जत्तिकै पुरानो मान्न सकिन्छ । साहित्यका तमाम विधाहरू मध्ये पनि कथा सबैभन्दा जेठो विधा हो ।

पश्चिमाहरू ईशा पूर्व चार हजार वर्षदेखि कथासित परिचित भएको दावा गर्छन् । तीन हजार वर्षअघि ग्रीकमा छापिएको अन्पू र बाटा, इसा पूर्व ९०० ताकाको होमरको इलियड र ओडिसी, इसा पूर्व ६२० ताका ग्रीसमै जन्मेका इसपका नीतिकथाहरू या त्यसपछि चलेका जादुगरी कथाहरू, धार्मिक ग्रन्थ केन्द्रित किस्साहरू, इटालीमा उदाएका मासुचियो/सिन्थियो आदिका एक सय एक किस्साहरूदेखि शेक्सपियरको रोमियो र जुलियटसम्म आइपुग्दा पश्चिमा जगतमा पनि कथाले लामो राजमार्ग पार गरिसेको छ ।

नदीको राजमार्ग

नदीको राजमार्ग

ऋग्वेदका स्तुति-सुक्त, संवाद सुक्त, वेद-उपनिषद्का किस्सा, रामायण-महाभारतमा व्याप्त आख्यानको अथाह सागर पूर्वेली कथाको जननी मान्न सकिन्छ । पंचतन्त्रका किस्सा, अकबर-बिरबल किस्साहरू, विक्रमादित्य/भोज/भतृहरिका किस्सा, वाणभट्टको कादम्बरी, राजभट्टको हर्षचरित, हितोपदेशदेखि शक्तिबल्लभ अर्ज्यालको हास्य कदम्बसम्म आइपुग्दा कथाले आफ्नै स्वरूप ग्रहण गरिसेको छ । महाकवि देवकोटा भन्थे, ‘‘छोटो किस्सा यौटा सानो झ्याल हो, जहाँबाट सानो संसार चियाइन्छ ।’’ तर अहिले, त्यही सानो झ्यालको यौटा सूक्ष्म आँखीझ्यालबाट समेत सारा संसार चियाउन सकिने जमाना आएको छ ।

आउनुहोस्, केही बेर यी सबै कुरा छाडेर ‘नदीको राजमार्ग’ हुँदै यात्रा गरौँ ।

० ० ० ०

नदी राजमार्गको भाषिक सौन्दर्य र सबलता :

भाषागत आधारमा हेर्दा सघन कथानक, मुक्तकीय झट्का, उत्सुकताको प्रबलता, कथानक सूक्ष्मता, अनुभूतिको तीव्रता, सांकेतिकता, बिम्बात्मकता, शब्दशक्ति सामर्थ्य, काव्यात्मक भाषा शैली, सरलता र सजीवता यी तमाम सौन्दर्यले ओतप्रोत छन् नदीको राजमार्गका कथाहरू । यस मानेमा नदीको राजमार्गलाई समकालीन नेपाली लघुकथाको यौटा मानक लघुकथा भन्न सकिन्छ । मादी किनारको सुन्दर बस्ती सोतीपसल लमजुङमा जन्मेर रिस्ती, कलेस्ती र सेती सँगै हुर्केका साहित्यकार दीपक समीपले निर्माण गरेको नदीको राजमार्गको यात्रा कतै मादी जस्तै मार्ग फेर्दैफेर्दै विस्तारित छ त कतै सेतीजस्तै लुक्दै-निस्कँदै पनि छ, कैयन् रहस्यहरूको कतै उद्घाटन गर्दै त कतै झन् रहस्यमय बनाउँदै । समग्रमा, मनमोहक छ । कुनै दुर्घटनाको सन्त्रास छैन, नदीको राजमार्ग यात्रामा !

क्रमशःबाट सुरु भएको नदीको राजमार्गको यात्रा सन्तापमा पुगेर रोकिन्छ । पहिलो कथाले नै पाठकलाई झट्का दिन्छ । काव्यात्मक शैलीमा व्यक्त यो कथामा संगठित आकारको सुगठित संयोजनको उत्कृष्टता भेट्न सकिन्छ ।

क्रमशः

चौतारीमा सिरसिर हावा चलिरहेको थियो ।

टन्टलापुरे घाममा मकै गोडिरहेकी मनमाया तिर्खाले व्याकुल भई ।

धाराको पानी कलकल खाई । चौतारीमा थुचुक्क बसी र लामो सुस्केरा हाली ।

चौतारीमा सिरसिर हावा चलिरह्यो ।

मनबहादुर पनि गोठालो आएको थियो । घामले पुर्पुरो सेक्यो भनेर चौतारीमा शीतल बस्न आइपुग्यो ।

चौतारीमा सिरसिर हावा चलिरह्यो ।

दुवैको हेराहेर चल्यो । दुवैका ओठबाट मुस्कानका लहरहरू एकसाथ चले ।

अनि एक आपसमा सन्चो–बिसन्चोको सोधनी चल्यो ।

त्यस दिनपछि उनीहरूको नियमित जस्तै भेटघाट चल्यो ।

देख्नेहरूमा खासखुस चल्यो । गाउँघरमा गाइँगुइँ चल्यो ।

एक दिन मध्यरातमा दुवै मुग्लान चले ।

त्यसपछि दुवैका घरमा हुरी चल्यो ।

झट्ट हेर्दा सामान्य लाग्ने यो कथाभित्र कतै चोखो मायापिरती, सुन्दर ग्रामीण जनजीवन, त कतै नजानिँदो यौन मनोविज्ञान भेटिन्छ । सिरसिर हावा, तिर्खा, धाराको कलकल पानी, चौतारीको शीतलता, गोठालोको चौतारी आगमन, मुस्कानका लहर, खासखुस, गाइँगुइँ, मुग्लान, हुँदै हुरीसम्म चल्नु यी शब्द तथा वाक्यांशका बिम्बहरूले बोकेको विस्तृत आयाम र व्यञ्जना नै कथाकारको शक्ति हो, कथाको सौन्दर्य हो !

० ० ० ०

मानवीय संवेदना र सामाजिक मनोदशा:

फूल मानवीय संवेदनाले ढपक्कै ढाकिएको लघुकथा हो । मेहनत र पसिनाको प्रतिमूर्तिका रूपमा घरलाई उभ्याएर फूललाई प्रेम, मानवता, अस्मिता र सौन्दर्यका रूपमा अर्थ्याएका छन् कथाकारले यस कथामा । कथामा, यौटा अपरिचित एकाबिहानै मन्दिरको बाटो सोध्दै उसको घर आउँछ र कुरैकुरामा आँगनभित्र छिरेर उसले बडो जतनले फुलाएको फूल टपक्क टिपेर आफ्नो थालीमा राख्छ । अपरिचितको यस्तो हर्कत देखेर कथाकार भयभीत हुन्छ र आफ्नी सुकुमार छोरीतिर पुलुक्क हेर्छ । झट्ट हेर्दा, पढ्दा या सुन्दा के छ र यो कथामा खास ? तर अलिक गम्भीर भएर सोच्दा, के छैन यसमा ? हामीले बाँचेको समय, सामाजिक मनोदशा, मान्छेभित्रका तमाम मानवीय संवेदना, ऊभित्र झ्यागिंदै गएको परनिर्भरता, स्वार्थ, र स्वार्थी समाजको सजीव चित्र छ कथामा । कथाकारले घरसँग आस्था र फुलसँग मानवीय संवेदना जोडेका छन् र हामीले बाँचेको समाजको सामाजिक मनोदशा केलाएका छन् ।

पैसा पैसा भनेर पैसाकै पछि लागेको साहुको छोरो घाँटीमा पैसै अड्केर मरेको कथा र अनावश्यक र अस्वस्थ व्यापारिक प्रतिस्पर्धाले सडक झरेका व्यापारी तथा उद्योगीहरूको कथा पनि छ नदीको राजमार्गमा । त्यसो त, बस्तुभाउले खेती खाएको सामान्य निहुँमा हुँदाखाँदाका मिल्ने छिमेकीहरू बिचको झैझगडामा छिमेकीको घरमा आगो झोसेर मस्त निदाउँदा आफ्नै घर पनि जलेको छ ।

चातुर्यपूर्ण अन्त्यले सजिएका सुन्दर कथाहरू मध्ये सन्ताप पनि एक हो । लोग्नेको मनोदशालाई नजिकबाट केलाइरहेकी उसकी श्रीमतीसितको सामान्य पारिवारिक वार्तालाप जस्तो लाग्ने कथामा दिइएको चातुर्यपूर्ण समापन रोचक छ ।

कथाको उत्तरार्धमा उसको अर्थात् रोशनको दिमागमा तनावको आगो सल्किएको छ । त्यो आगो उसले निल्न पनि सकेको छैन र ओकल्न पनि। उसकी श्रीमती चिन्ताको कारण खोज्छे:- “किन चुप लाग्नुभा ! भन्नुस् न के भयो ?”

“अफिसकी पिए प्रेगनेन्ट भएकी छे । उसले एबोर्सन गर्न मानिरहेकी छैन ।”, ऊ सुस्तरी बोल्छ ।

“लौ न नि ! तपाईंको ?”

“हैन, छोराको !”

रातो गुलाफ प्रतिको आकर्षण, फूललाई आफ्नै गमलामा स्याहारसुसार र मोहक एकालाप, अचानक गुलाफप्रतिको मोहभंग र अन्य बैंशालु फूलका पछि दौडिरहेका आँखा, लालसा कथाको यो प्लटले नदीको राजमार्गको त्यो ऊ पात्रलाई चल्तीको पुरुषको देखाउन खोजिएको भान हुन्छ ।

मान्छेले किन मान्छे  खान्छ ? इकोसिस्टम नामक पर्याकथा र क्रान्ति पढ्दा सूत्र कथा पढेको भान हुन्छ पाठकलाई ।  शृंखलाबद्ध खोल ओढेको परिचय कथा पढ्दा गणितीय प्रोग्रामिङ् पढे जस्तो लाग्छ । सयपत्री र ग्रीन प्लान्टको मानवीकरण र वार्तालाप सुन्दर र सूत्रात्मक छ । जहाँ अर्को सुन्दर कथा छ उपहार । जहाँ सन् २०१० को भ्यालेन्टाइन डे को पार्टीमा अचानक आँखा जुधेका युवा-युवती २०११ को भ्यालेन्टाइन डे मा गुलाफ साट्छन्, २०१२ को भ्यालेन्टाइन डे मा प्रेमिकाले छोरो उपहार दिन्छे र बदलामा प्रेमी फरार हुन्छ ।

मुक्तक या लघुकथाको कुरा उठ्नासाथ म यौटा प्रसङ्ग सम्झन्छु- गाउँदेखि बुढी आमै छोराबुहारी भेट्न पहिलो पल्ट बजार झरिन् ।  बजारको चमकधमक तथा धमधडकादेखि धेरै दूर रहेकी आमैले गाउँमा ससाना पसल मात्रै देखेकी थिइन् । जहाँ चामल बेच्दा वा चिउरा किन्दा अलिकति फोस्सा लिने या दिने चलन  हुन्थ्यो । आमैले घरको भित्तामा ठुलो घडी राख्न पाए ओखती खाने समय सजिलोसित हेर्न मिल्ने विचार राखेसी छोरा/बुहारीले ठुलो राम्रो ट्वाकट्वाक गर्ने भित्ते घडी किने  । निस्किंदै गर्दा सोकेसमा सजिएको सानो पुन्टे घडी हेर्दै आमैले भनिन्, साहुजी यत्रो घडी किनेसी यो सानो यित्रिको पुन्टे घडी फोस्सामा दिन मिल्दैन ?  कम्ता महत्त्वको ठानिएको लघुकथा वा मुक्तक त्यस्तै सानो घडी जस्तै हो । फोस्सा जरुर होइन ।

० ० ० ०

 

नदीको राजमार्गमा मनोविज्ञान

मन, मान्छेको दमित इच्छाहरूको अचेतन भण्डार हो । अचेतन मन समुद्रमा तैरिरहेको बरफ जस्तै हो, थोरै देखिन्छ तर धेरै लुकेको हुन्छ, बदलामा चेतन मन मानिसको बाह्य जीवनमा बढ्ता रमाइरहेको हुन्छ । मानिसका सामाजिक नैतिक प्रभावबाट दमित इच्छा चाहनाहरू अचेतन स्वरूपमा जम्मा हुन्छन् र तिनैले पछि वासनात्मक स्वरूप ग्रहण गर्छन् र त्यही स्वरूप नै काम शक्ति हो भन्छन्-फ्रायड । जसलाई उनी जीवन ऊर्जा मान्छन्, स्वप्न चित्र मान्छन् । त्यही स्वप्न चित्र मलाई चाहिँ साहित्य सिर्जनाको यौटा सामल हो भन्ने लाग्छ । साहित्यकार स्वभावैले मनोरोगी हो । स्वप्नद्रष्टा हो । ऊ आफ्ना अतृप्त वासना र कुण्ठाको निकास  पनि अक्षरहरू बाटै होस् भन्ने चाहन्छ । नदीको राजमार्गमा पनि लेखकले धेरै कुराको क्षतिपूर्ति लिएका छन् या दावा गरेका छन् अक्षरका माध्यमले ।

एकाबिहानै उजेली फतफताएको सुनियो— “हेप्नुको पनि एउटा हद हुन्छ नि गाँठे ! घरमा लोग्नेमान्छे छैन भन्दैमा कति विधि हेप्न सकेका सक्न पनि ? हुँदाहुँदा अब त त्यसका घरका पशुले समेत हेप्न थाले, ए रात्तै !”

उसले अझै थपी—“त्यस घरको राँगो आउँछ–मेरै भैँसीमाथि उक्लन्छ । त्यस घरको बोको आउँछ; मेरै बाख्रीको अगाडि पछाडि सुँघ्छ । हुँदाहुँदा त्यसको जाबो कुखुराको भालेसमेत आएर मेरै घरको पोथीलाई लखेट्छ बा…!”

बन्द विचार लघुकथाको मध्यतिरको  रोचक एकालाप हुन् यी । जहाँ उजेली र चमेली नामका छिमेकी छन् । कथानक बढ्दै जान्छ र यता पुग्छ- यता हर्केले भने भित्रभित्रै उजेलीसम्म पुग्ने योजना बुनिसकेको थियो ।

हैन, हर्के कहाँबाट आयो ? पाठक रन्थनिन्छ ! ऊ कथामा फर्किन्छ हर्के खोज्न । उजेलीको घरमा लोग्नेमान्छे नै छैन, उसो भए पक्कै यो चमेलीको घरको लोग्नेमान्छे होला ! पाठकलाई सोच्ने स्वतन्त्रता छाडेका छन् कथाकारले र हर्केको मनोदशा केलाएका छन् ।

नियत लघुकथा पनि ऊ पात्रको मनोदशा केलाइएको अर्को सुन्दर कथा हो ! जहाँ घरबाट अफिस जान हिँडिरहेको ऊ एउटी सुन्दरी युवतीसित आमनेसामने हुन्छ । युवतीलाई बडो गहिरोसँग मुहार हुँदै  शिरदेखि पाउसम्म हेर्छ । युवती कतै नहेरी सरासर अगाडि बढ्छे । उसले झट्ट पछाडि फर्केर युवतीलाई एक नजर हेर्छ; छेउको फूल टिप्छ र हातमा लिएर कच्याककुचुक पारेर एक्लै मुसुक्क मुस्कुराउँछ र अगाडि बढ्छ ।

सामान्य परिचयबाट थालेर नाटकीय ढंगले प्रेमको बहानामा सम्बन्धलाई यौनालापसम्म पुर्याएर एकसय असी डिग्रीमा बाटो मोडिएको सम्बन्ध कथामा उनले मान्छेको मनोदशा केलाउन भ्याएका छन् । प्रशस्त सम्पत्ति जोडेपछि मान्छे किन र कसरी एक्लिन्छ ? अरू त अरू उसको मन पनि किन उसको वशमा हुँदैन ? मनको पनि मनोवैज्ञानिक विश्लेषण मनमोहक छ ।

संसार भरकी सुन्दरी खोज्न लगाएर बिहे गरेको राजा आफ्नै बिहे भोजमा त्यै सुन्दरी खोज्ने समूहको संयोजकलाई खुसी भएर सुनको चस्मा उपहार दिन्छ । जब भोजमा संयोजकको श्रीमती देख्छ, उसलाई असैह्य हुन्छ र आँखा फुटाइदिन्छ । अतृप्त नाम दिएर छापिएको यो लघुकथाको खास कथानक त कथा सकिए पछि झन् थपिन्छ । कथामा कथाको प्रभाव केही बाँकी छाडेर कथा अलिक अघि नै टुङ्ग्याउने वा मोड्ने कुरामा कथाकार सचेत देखिन्छन् ।

० ० ० ०

कुरूप राजनीतिको सुन्दर दृश्य

कुरूप दृश्यहरूको कोलाज सुन्दर हुनसक्छ कि सक्दैन ?  हामी किन अहिलेको समयका विद्रूप दृश्यहरूले सजाइएका वात्स्यायानका व्यंग्यचित्रहरूको सुन्दरता हेरेर मख्ख पर्छौं हरदिन । यस्ता धेरै कुरूपताको सुन्दर कोलाज लिएर बहेको छ नदीको राजमार्ग ।

बाँदरको हुलमा फेला परेको विचित्रको बस्तुलाई सत्ता करार गर्ने कथाकार भ्रष्ट नेताहरूलाई कारबाही गर्न खोज्ने जनताको सरकार कसरी ढल्छ भन्ने विडम्बनापूर्ण अवस्थाको चित्रण गर्न भ्याउँछन् । भ्रष्टाचार, मदिरापान, कमिसन र युवतीलाई नेता, पार्टी र नेतृत्व कमजोर पार्ने हिस्साका रूपमा अर्थ्याएर राजनैतिक कुरूपताको विद्रूप तस्बिर लिन भ्याएका छन् । अँध्यारोको चर्चा गर्दा पनि यति मज्जाले गर्छन् कि उनीभित्र उज्यालो बिउ विद्यमान छ ।

खाइनखाई गरेर दिनरात हाड घोटेर आफ्नो बनाएको ट्याक्सी बन्दका दिनमा चलाएको भनेर बन्द समर्थकले जलाउँदाको अन्धकारमय परिदृश्य कहालीलाग्दो छ । हामीले बाँचेको युगको, हामीले प्राय देखे/भोगेकै घटनाहरूको सूक्ष्म अध्ययन अधिक भेटिन्छ उनका प्राय लघुकथाहरूमा ।

कुरूप राजनैतिक परिदृश्यको यथार्थ चित्रण गरिएको नदीको राजमार्ग भित्रको यौटा सशक्त लघुकथा हो विकास ।

विकास – गाउँको खोलामा पक्की पुलको माग भयो । यो माग पहिलो पटक उठेको भने थिएन । पटकपटक गरिएको मागको निरन्तरता थियो । यसपालि कसोकसो सङ्घीय सरकारले सुन्यो र बजेट पास गरिदियो ।

पास गरेको बजेटबाट सङ्घीय सरकारले नै केही रकम झिकेर प्रदेश सरकारमा पठायो । प्रदेश सरकारले त्यहाँबाट केही रकम झिकेर गाउँपालिकामा पठायो । सो रकममध्येबाट केही आफैँसँग राखेर गाउँपालिकाले बाँकी रकम वडामा निकासा ग¥यो । वडाले केही रकम आफूसँग राखेर बाँकी उपभोक्ता समितिलाई हस्तान्तरण ग¥यो । सो रकमबाट उपभोक्ता समितिले खोलामाथि काठको फड्के हाल्यो ।

अहिले त झन् गाउँ गाउँमा सिंहदरबार पुगे देखुन्, यस्ता विकासको कुनै अभाव छैन जनतामा !

० ० ० ०

जीवन दर्शन

जीवनप्रतिको मोह सबैको हुन्छ । बाँच्नकै लागि हरक्षण हाड घोटेर पसिना बहाउन बाध्य पात्र रामे र रोगैरोगले ग्रस्त भएर पसिना बहाउन निस्कने श्यामलालको तुलनात्मक कथा छ पसिना कथामा । हुँदाखाने रामेलाई प्रोटिनयुक्त र पौष्टिक खानेकुरा के हो थाहा छैन उता श्यामलाललाई त्यस्ता खानेकुरा खानु भाछैन । दुख, संघर्ष गरेर खाने बस्ने ठेगान नहुँदा खानसक्ने सामर्थ्य भएन, अहिले हुनेखाने भएका बेला केही खान हुँदैन । यौटा  बेमेल बेमेलको जीवन गणित प्रस्तुत गरेका छन् उनले आफ्ना कथाहरूमा ।

अवसरका लागि हर सम्भव कोसिस गर्ने ऊ पात्र र हात बाँधेर संघर्षदेखि भाग्ने म पात्रको मनोदशा केलाएर अवसरको ढोका आफैले ढकढक्याउनु पर्छ भन्न पनि भ्याएका छन् अवसर कथामा । कर्मलाई पूजा र श्रमलाई मन्दिर मान्ने मान्छेले  जीवनमा कहिल्यै पछुताउनु पर्दैन भन्ने जीवन दर्शनको प्रतिछाया देखिन्छ कथामा ।

हुँदाखानेबाट अलिअलि हुनेखाने हुनासाथ सम्पत्ति र श्रीमती बाहेक कोही कसैलाई नचिन्ने भएको ऊ पात्रको श्रीमतीले जब बाटो फेर्छे अनि ऊ अचानक सडकमा आउँछ । अनि उसलाई पनि समय र समाजले चिन्दैन, आफन्तहरूले पनि चिन्दैनन् । इन्कार कथाको यो जीवन दर्शनले पैसाको पछि मात्रै लाग्ने द्रव्य पिचास चरित्र र छोटो बढेपछि भारी फुर्ती ढाँचा बढाउँछ भन्ने नैतिक दृष्टान्त स्मरण गराउँछ । अत्यन्त कम शब्दमा धेरै बोल्न सक्ने सामर्थ्य अत्यन्त कम लघुकथाकारमा छ र त्यसमा नदीको राजमार्गका स्रष्टा पनि पर्छन् ।

मान्छे आफ्नै जीवन र त्यसका तमाम सौन्दर्य भुलेर या त्यसप्रति  मोहभंग भएर अथवा  अरूको जीवनप्रति नचाहिँदो डाह, ईर्ष्या र महत्त्वाकाङ्क्षा पालेर घोर तपस्या गर्छ र चराको जुनी प्राप्त गर्छ । चरा भएर निर्धक्क के उडेको हुन्छ, शिकारीको निसानामा पर्छ र मर्छ । यसलाई विनास नाम दिएर उनले नचाहिँदो महत्त्वाकाङ्क्षाले विनास निम्त्याउँछ मात्रै भनेका छैनन्, आफ्नो प्राप्ति र सत्त्वको सम्मान गर्नुपर्छ पनि भन्न भ्याएका छन् ।

० ० ० ०

सामाजिक विकृति र विसङ्गति

जङ्गलबाट छोपेर ल्याइएको पट्टु पिंजडामा कैद छ । उसलाई निर्धक्क आकाशमा विचरण गर्ने मन छ । आफ्नै पखेटाको भरमा देश देशावर गर्ने मौका छोपेर बसेको उ मौका पाउनासाथ भुर्र उड्छ । तर उड्न पाउँदा नपाउँदै बाजको नजरमा र हत्त न पत्त पिंजडामै फर्कन्छ । सुरक्षा शीर्षकको यो लघुकथाले वर्तमान समय र समाजको तस्बिर उतारेको छ । यहाँ को कहाँ सुरक्षित र  स्वतन्त्र छ ? यो असुरक्षाको सन्त्रास कहिलेसम्म ? छन् अनगिन्ती प्रश्नहरू अनुत्तरित छन् ।

जिन्दगीलाई पाल्ने कैयन् उपायहरूबाट निरुपाय बनेको आस्था कथाको पात्रले अचानक अनौठो आकृतिको ढुङ्गा भेट्छ र त्यसैमा अलिकति फूल अबिर छरेर आफ्नो अनुकूलको दोबाटोमा राख्छ । अहिले त्यही ढुङ्गालाई दुनियाँले देवता मानेका छन् । फूलप्रसाद र दक्षिणा चढाएका छन् । र त्यसैले उसको गुजारा चलेको  छ । यसले समाजको अन्धविश्वास र कुरीति पनि देखाएको छ र सँगै मान्छेका मनमा जीवन्त रहेको ईश्वरीय आस्थाको पनि संकेत गरेको छ । ढुङ्गाले पनि ठाउँ पायो भने ईश्वर बन्दो रहेछ र कम्तीमा कोही कसैको उद्धार गर्ने रहेछ ।

यौटा भयानक सडक दुर्घटनामा श्रीमती गुमाएको माहिलालाई श्रीमतीको काज किरिया नसकिंदै अर्को बिहेका लागि उकास्ने समाज त्यही दुर्घटनामा श्रीमान् गुमाएकी साहिंलीलाई आजन्म एकल बस्न बाध्य पार्छ । समाज शीर्षक दिएर कथाकार समीपले समाजको चित्र उतारेका छन् । त्यसो त उमेर, ऊर्जा, बैंस र जवानी हुन्जेल गुण्डागर्दी, व्यभिचारी र हप्ताअसुली गर्ने लम्पटहरू उमेर ढल्कँदै गर्दा क्रमशः धर्मकर्मको नाटक गर्ने र अझै नैतिकताको पाठ पठाउँदै हिंड्ने घटनाको कुरूप दृश्यको अर्को यौटा सुन्दर सामाजिक कथा पनि छ नदीको राजमार्गमा । समाजका तमाम पाटाहरूलाई स्पर्श गरेर बहेको छ नदीको राजमार्ग ।

छालाले मोहोरिएको खोललाई खोलेर हेर्नुहुँदैन, हेर्यो भने अनिष्ट हुन्छ, बस्  यत्ति थाहा थियो, कृष्णमानलाई । निकै  वर्ष उसले केही नसोची पूजा गर्यो । एकदिन अचानक छाला के खोलेको थियो, ऊ आश्चर्यचकित भयो । उसको देउता अँध्यारो कोठामा पनि टलक्क टल्कियो । देउता कुनै मूर्तिको आकृतिविहीन पत्थरका रूपमा देख्यो । उसलाई लाग्यो यो चानचुने पत्थर होइन । कसैले दस लाख, कसैले बीस लाख, कसैले असी लाखको मोल लगाए । उसलाई अझै चित्त बुझेन । खबर फैलिएर प्रहरी कार्यालय, पुरातत्त्व हुँदै सरकारसम्म पुग्यो । बजार मूल्य पचास करोड रुपैयाँ अनुमान गरियो र उक्त बहुमूल्य पत्थर उसबाट खोसेर सरकारको अधीनमा राखियो । सायद गोरखातिर कतै यस्तै प्रकृतिको कुनै समाचार केही महिना अघि कतै पढेको घुर्मैलो याद छ मलाई । झन्डै त्यस्तै परिवेशलाई उनले  देउताको मूल्य कथामा सुन्दर ढङ्गले उनेका छन् ।

बिहान बेलुकीको छाक समेत टार्न नसकेर, कहिले साहुको अनुहार त कहिले हाकिमको अनुहार पालैपालो सम्झेर जिन्दगीदेखि दिक्दार यौटा पात्र आफ्नो स्वाभिमान बचाउने नाममा नाइलनको डोरी लिएर जङ्गलतर्फ गएको छ । यहाँनेर कथाकारको चतुर्याइँ देखेर रोमाञ्चित छु म ।  कथाकारले मात्रै नाइलनको डोरी लिएर जङ्गल पठाएका छन्, पाठकले पक्कै नि उसले आत्महत्या गर्यो होला भन्ठान्छ । आत्महत्या नै गर्न लगाएको भए कायर पात्रको पृष्ठपोषण गरेको बात लाग्न पनि सक्थ्यो कथाकारलाई । यस्तो खाले परिपक्वता अन्य थुप्रै कथाहरूमा छ । जहाँजहाँ, यौनजन्य विषय आउँछ, केही नलेखी नभनी सबैथोक लेख्न र भन्न भ्याउँछन् उनी ।

नदीको राजमार्गको बिचोबिचतिर पुगेपछि नदीको राजमार्ग भेटिन्छ । जहाँ पहिले नदी बहेकै ठाउँ अहिले बगर बनेको छ र त्यही बगरलाई आफ्नो दाबी गरिरहेछन् मुखिया र जमिन्दारहरू । झगडा यसरी बढेको छ कि, मुद्दा अदालत पुगेको धेरै वर्ष भैसकेको छ, एक बर्खा नदीले पुरानै बाटो लिन्छ तर झगडाको तारिक अझै छ । मादी, आँधी, दरौंदी लगायत धेरै नदीका यी र यस्ता सामाजिक विषयहरू पनि छन् नदीको राजमार्गमा ।

For sale: baby shoes, never worn. अर्थात्, विक्रीमा: शिशुका जुत्ता, कहिल्यै नफाट्ने, अर्नेस्ट हेमिङग्वेको छ शब्दको यो प्रचलित लघुकथालाई अहिलेसम्मकै सबैभन्दा छोटो लघुकथा मानिएको छ र सामान्यतः २५० शब्दभन्दा कम शब्द नै अपेक्षा गर्छ लघुकथाले । त्यसो त लघुकथालाई कम्तीमा पनि दुइटा घटना समावेश भएको झन्डै एक पृष्ठको उपन्यास पनि भनिएको छ । नदीको राजमार्गका सबैजसो लघुकथा झन्डै यस्तै सीमाभित्र छन् । संग्रहको सबैभन्दा छोटो कथा, चार वाक्यमा संगठित छ र जम्मा ३४ शब्दको छ र यस्तो छ ।

० ० ० ० 

हैसियत

गाईको कल्चौँडोभित्र रहेको दूधलाई उसले दुहेर एउटा भाँडामा राख्यो । दूध शान्तसँग भाँडामा बस्यो । जब उसले भाँडालाई अगेनामा राख्यो र आगो लगायो, शान्त दूधले आफूलाई शक्तिशाली सम्झ्यो र भकभक उम्लन लाग्यो । परिणामतः दूध भुइँमा पोखियो ।

लघुकथाका आफ्नै मान्यताहरू छन् । सीमा र सौन्दर्यहरू छन् । लघुकथा लामोकथाको सारांश होइन न त कुनै चुट्किला, ठट्यौलीको कथानक रूपान्तरण नै । जटिल कथानक, अनावश्यक वर्णन, विश्लेषण, टिप्पणी, असम्बद्ध कला शून्य शीर्षक, आत्मचिन्तन, वास्तुहीन कथा, मूल रहस्यको  सुरुमै रहस्योद्घाटन, कथ्यमा असङ्गति, आदिले लघुकथा कमजोर र फितलो बन्छ ।  यौटा संग्रहका सबै रचना उत्तिकै सुन्दर र शक्तिशाली हुनै सक्दैनन् । त्यहींभित्र पनि यौटा रचना बढी सुन्दर र शक्तिशाली हुनु भनेको अर्को स्वाभाविक रूपमा त्यो भन्दा कमजोर हुनु हो । फेरि कसैलाई कमजोर लागेकै लघुकथा अरू कसैलाई बबालको लाग्न पनि सक्छ । ‘नदीको राजमार्ग’मा पनि सबैकथा उत्तिकै प्रभाव र स्पर्श सामर्थ्य भएका पक्कै छैनन् । यो सब पर्गेल्ने काम अब पाठकको हो ।

तर, यति निर्धक्क भन्न सक्छु, ‘नदीको राजमार्ग’ हुँदै लघुकथाको सागरसम्मको यो अनन्त यात्रा सफल छ, सार्थक छ र सुन्दर छ !