‘एमिली इन पेरिस’ नामक नेटफ्लिक्सको शृंखलाका कारण पर्यटकहरुको संख्या बढेको भन्दै यो शृंखलाको निरन्तरताका लागि पेरिस शहरले नेटफ्लिक्ससँग यसको निरन्तरताका लागि सम्झौता गरेको छ ।

खासगरी सो शृंखला केही वर्षदेखि नेटफ्लिक्समा चलिरहेको छ । यस शृंखलाले पेरिसको ‘क्लिसे’ अनुहार देखाएको भन्दै धेरैले गुनासो गर्ने गरेका थिए ।

तर फ्रान्सको पर्यटन बोर्ड एटोट फ्रान्सले भने अमेरिकी स्ट्रिमिङ कम्पनीले देखाएको ‘क्लिसे’ भन्दा पनि यसले पर्यटक लोभ्याउन खेलेको भूमिकालाई कदर गर्दै त्यसको निरन्तरता र अन्य थप फिल्महरु बनाउन विशेष सुविधा दिने बताएको छ ।

हालै नेटफ्लिक्सले गरेको एउटा सर्भेमा एमिली इन फ्रान्सको सन्दर्भ दिँदै अमेरिकी, जापानी र जर्मनबासीहरु पेरिस भ्रमण गर्न इच्छुक रहेको देखिएको थियो । यी तीन वटै मुलुक धनी मुलुकमा गनिन्छन् र त्यहाँका पर्यटकहरु खर्च गर्न डराउँदैनन् । यी पर्यटकले एमिली इन पेरिस हेरिसकेपछि अन्य गन्तव्यको साटो पेरिस भ्रमण गर्ने सम्भावना उच्च रहेको बताएका थिए । उनीहरुले पेरिसलाई प्रथममा राखेको पनि बताएका थिए । त्यस्तै एमिली इन पेरिस नहेरेकाहरुले भने पेरिसलाई प्राथमिकतामा नराखेको पनि सर्भेले देखाएको थियो ।

नेटफ्लिक्स र फ्रान्सेली पर्यटन बोर्डको सम्झौताअनुसार, अब नेटफ्लिक्सले आफ्नो वेबसाइटमा शृंखलाबद्ध रुपमा फ्रान्सका घुम्नलायक ठाउँहरुका बारेमा जानकारी राख्ने भएको छ । मूलतः नेटफ्लिक्स शृंखलाले देखाएका ठाउँहरु भने अनिवार्य रुपमा जानकारी दिनेछ ।

यसैगरी नेटफ्लिक्समा अर्को शृंखला पनि निकै हिट भएको थियो । ‘लुपिन’ नामक चोरमाथि बनाइएको थ्रिलरमा जुन जुन ठाउँ देखाइएको छ, नेटफ्लिक्सले ती ठाउँका बारेमा पनि जानकारी दिनेछ । यसैगरी अर्को फ्रान्सेली राजनीतिक धोकाधडी र भ्रष्टाचारमाथि टिप्पणी गर्ने शृंखला ‘मार्सेली’का ठाउँलाई पनि प्रमुखता दिइनेछ ।

सर्वसाधारणमा सबैभन्दा बढी चासो चाहिँ लिली कोलिन्सले अभिनय गरेको एमिली इन पेरिस नै हो । त्यहाँ उनले विभिन्न रेस्टुराँको भ्रमण गर्छिन्, गल्ली नाप्छिन् । त्यस्तै कतिपय चित्रकला प्रदर्शनी पनि हेर्न भ्याउँछिन् । नेटफ्लिक्सले अर्को एउटा गाइड पनि तयार पारेको छ, ‘पेरिसियन नाइट आउट पिवद एमिली ।’

त्यसो त पर्यटन बोर्डले नेटफ्लिक्ससँग यस्तो सम्झौता गरे पनि केही पेरिसबासीहरु खुसी छैनन् । नेटफ्लिक्सका कुनै पनि शृंखलाले त्यहाँका बासिन्दाको भावना र मर्म व्यक्त नभएको आरोप लगाउँछन् । त्यसैगरी कतिपय पर्यटकहरुले शृंखलामा देखाइएको विशेष बेकरी पसल पनि खास नभएर ज्यादै सामान्य ब्रेड बेच्ने ठाउँ रहेको भन्दै केहीले खिल्लीसमेत उडाएका छन् ।

गत साता मात्र शहरको खाली ठाउँमा ‘एमिली इज नट वेलकम’ लेखेर नेटफ्लिक्सको कामको खिल्ली उडाइएको थियो । पछिल्लो समय एमिली घुमेका ठाउँमा पर्यटकहरुको ओइरो लागेपछि केहीले दिक्क मान्दै त्यस्तो लेखिएको बताइएको छ ।