
“भात पस्किसके, खान आऊ है सबै जना”, आमाले बुइगलबाटै कराउनु भयो ।
भोकले पेट अघि देखिनै बटारिरहेको अवस्थामा ‘भात पस्किसके’ भन्ने आमाको बोलाइ ‘के खोज्छस् कानो, आँखो’ भने झैँ भयो ।
म दौडे भान्छातिर । त्यहाँ भात मात्र थिएन ।
सोधे आमालाई, “आमा ! भात खान आऊ भनेर बोलाउनु हुन्छ तर भात मात्र हुँदैन । भातसँग दाल अनि तरकारी पनि हुन्छ फेरि किन ‘भात खान आऊ’ भन्ने कथन चल्या होला हगि ? दाल खान आऊ भने हुन्थ्यो । अझ तरकारीको नामै लिएर ‘रायो को साग’ खान आऊ भने नि हुन्थ्यो ।”
आमाले विस्तारपूर्वक सम्झाउनु भयो, “यो परम्परादेखि चल्दै आएको कुरा हो, हाम्रा भान्छामा ‘भात खान आऊ’ हुन्छ । ठुला बडालाई यही कुरा ‘भुजा ज्युनार गर्न सवारी होस्’ हुन्छ भने गरिबको चुलोमा ‘ए भाते, घिच्न आइज’ हुन्छ । कुरो एउटै हो तर भनाइ फरक छ बाबु ।”
मैले बुझे झैँ टाउको हल्लाएँ । बा “भात पचाएर आउँछु” भन्दै निक्लनु भयो । म चाहिं स्कूलतिर दौडिएँ । भर्खर आठ कक्षामा पढ्दै गरेको मेरो दैनिकी बिहान भात खाएरै शुरु हुन्थ्यो । स्कूलको ढोकामा साथी भेटे झोक्राएर बसेको ।
सोधे उसलाई, “भात खा छैनस् कि क्या हो ? किन न्याउरो मुख लगाएर बसेको ?”
बिस्तारै बोल्यो ऊ, “आमाले बासी भात दिनु भो, पेट दु:खिरा’छ ।”
उसको दुखेको पेट लिएरै हामी कक्षा कोठातिर छिड्यौं । नेपाली पढाउने गुरु बा आउनुभयो कक्षा कोठामा ।
“ढ्याउ !” उनले डकारेको सबैले सुने । ठुलो हाँसो गुन्ज्यो कक्षा कोठामा ।
“के भो गुरु बा, डकार त दह्रो छ नि ?” मैले जिस्काएँ ।
“के हुनु नि बाबु, बिहान भात अलि धेरै खाइयेछ ।” कुरा त यहाँ पनि भात कै रहेछ !
स्कूल छुट्टि हुने बेलामा दुई केटाहरूको ढोकैमा मारमुंग्री पर्न थाल्यो ।
“ए भाते तेरा बाउको के खाइदया छ र ? मलाई जथाभाबी भन्छस् ?”
अर्को उता गर्जिंदै थियो, “तँ भतुवा, तैंले हैन मलाई अस्ति गाली गरेको ?”
उनीहरूको झगडाको संवादमा पनि भातले नै प्रभुत्व पाइरहँदा मलाई भात भन्दा अरू कुनै ठुलो र महत्त्वपूर्ण खानेकुरा संसारमा नै छैन भने झैँ लागेथ्यो ।
स्कूल सकाएर घर फर्कें । आमा अगाडी नै हुनुहुन्थ्यो । सोधे, “खाजा के छ?” आमाले सजिलै उत्तर दिनुभयो, “भुटेको भात” । खाजा कतिखेर सकिसकेछ, आफूले थाल चाटिरहेको देखेर आमाले “खाजा पुगेन कि कसो” सोधे पछि झस्केको थिएँ म ।
स्कूलको गृहकार्य गरेर बसिरहेको बेला बा छिर्नु भयो घरमा । “भातमाराहरूले देशलाई सिद्ध्याएरै छोड्ने भए”, उहाँ आफ्नै तालमा गाली गर्दै हुनुहुन्थ्यो कसैलाई । राजनीतिमा मलाई चासो थिएन तर कुरा बुझ्ने भै सकेको थिए । देशको सम्पत्तिमा ‘भतेर’ लगाउँदै वाह वाह लुट्ने नेताहरूलाई ‘भातमारा’ को संज्ञा दिंदा म अचम्मित भइनँ ।
त्यही बेला बाले टिभी खोल्नु भयो । समाचार आइरहेथ्यो – “जुम्ला, हुम्ला लगायत कतिपय जिल्लामा मान्छेले भात खान पाएनन् रे ।” बा फेरि गाली गर्न थाल्नु भयो, “भातमाराहरूलाई कसले खान पायो, को भोकै छ के मतलब ।”
बाको गालीको बीच आमाको आवाज सुनिएन । उहाँ कराइरहनु भएको रहेछ, “भात पाक्यो, खान आउने होइन ?” हामी बाउ–छोरा लाग्यौं भान्छातिर फेरि भात खान ।
भात खाइरहँदा आमाले भन्नु भयो, “हामीलाई पनि भोली भुजा खान निम्तो छ काजीसापको घरमा ।”
“ओहो ! हामीले पनि भुजा खान पाइने भो”, मैले आफ्नो खुशी व्यक्त गरेँ । तर बा किन हो खुशी देखिनु भएन । भन्नुभयो, “त्यो काजीले कतिको भात खाने खेत खाइदिएको छ । गाउँमा निमुखाहरूलाई बिचल्ली पारेर आफू चाहिं भुजा खाको भन्दै फुर्ती लाउँदै हिंड्छ । त्यसको भाते भुँडी कुन दिन बेलुन फुट्या जस्तै ‘ड्वाङ्ग’ फुट्छ हेरिराख्नु ।” भुजा खाने निम्तोले रमाएको बेला बाको ताल न तुलको कुरालाई त्यति ध्यान दिइनँ मैले ।
भोलीपल्ट बिहान किन हो मलाई पेट दुखिरहेको थियो । सुनाएँ आमालाई । “हिजो भात धेरै खाको थिस् त्यसैले होला । आज एक दिन भात नखानु ठिक हुन्छ ।”
साथीलाई सम्झें । उसले त बासी भात खाएथ्यो । तर मलाई किन दुख्यो ? थोरै भए पनि भोक लागिरहने धेरै भए पेट दुख्ने, कस्तो यो भात पनि । आमाले एक दिन अब भात नखानु भने देखिनै मन विचलित भै रहेथ्यो काजीसापको निम्तोमा भुजा खान नपाइने भयो भनेर ।
काजीसापका जानुअघि आमाले ‘भातको भाइ’ भन्दै कचौराभरि लेराइदिनु भयो । पछि थाहा पाएँ, त्यसलाई जाउलो भन्दो रहेछ । भात र दालको मिश्रित रूप रहेछ त्यो । काजीसापको घरमा भुजा खान नपाएको मैले त्यही ‘भातको भाइ’ खाएर दिन गुजार्नु पर्यो ।
आमा बा घरमा नभएको मौका छोपी तल्लो घरको च्यान्टे आयो मसँग खेल्न । मलाई देख्ने बित्तिकै भन्यो, “हाम्रा घराँ भातै पकाउन्नन् आमोइले । भात खान देऊ भन्यो कि ‘तँ भातेलाई काँबाट पकाएर भात खुवाउनु अब ! पकाको जति तेरा बाउलाई जाँड बनाउँदै ठिक्क छ’ भन्छिन् । म त भात खान नपाएर कस्तो भै सके ।” लौ न ! मान्छेलाई खान यहाँ भात छैन, यसका घरमा चाहिँ जाँड बनाउन भात पाक्दो रहेछ । म छक्क परें कुरो सुनेर ।
मैले बुझिसकेको थिएँ, भात एउटा यस्तो खाना हो जो जति खेर खाए पनि हुन्छ, जसरी खाए पनि हुन्छ । जे मा मिलाए पनि हुन्छ । यसका विभिन्न प्रकार हुन्छन् र त्यसबाट बन्ने कैयौं परिकारहरू अझै पनि अनुसन्धानमै छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

