आदरणीय पाठक ! समालोचना भावुकताको खहरे होइन । न त यो पाठकीय चेतनाले पक्रिन सक्ने तहभन्दा माथिको बिलासी बौद्धिक अभ्यास हो । यो त निरन्तर चलिरहने सृजनशील पठन हो । समालोचना सिद्धान्तपरक हुनुपर्छ । यस्तै मान्यताको जगमा उभिएको आन्दोलन चक्रव्यूह सञ्चेतना (Labyrinth Conscience) वि.सं. २०६० देखि नेपाली साहित्यमा विद्यमान छ । सिद्धान्तपरक एकाइहरूबाट काव्यकृतिहरूको विश्लेषण गर्नुपर्ने धारणासहित हामी यो आन्दोलनका अभियन्ता विभिन्न काव्यकृतिमाथि ऐकिक पद्धतिको विविधीकरण गर्दै आएको कुरा विदित नभएको होइन ।
सैद्धान्तिक नमूनाहरूको विकास, विस्तार र प्रयोग गर्ने विषयमा चक्रव्यूह सञ्चेतनाले उदार शैली अपनाई आएको छ । यसका लागि हामी संसारभरको ज्ञानशास्त्रले निर्माण गरेको जनुसुकै उपागम पनि आवश्यक्ता, रुची, पहुँच र औचित्य अनुसार प्रयोग गर्दछौं । ज्ञानशास्त्रलाई जव मानिसहरू निश्चित भूगोल, समुदाय र समयसीमाभित्र मात्र जोडेर त्यसको सार्थकता र निरर्थकताको कुरा गर्न थाल्छन्, त्यो बेला ज्ञान परम्परामाथि सङ्कट आइलाग्छ ।

समालोचकः सुरेश हाचेकाली
ज्ञान परम्परामाथि उदार दृष्टिकोण भएन भने आजको समाजले सम्वद्र्धन र प्रबद्र्धन गर्न खोजको लोकतान्त्रिक प्रणाली नै समाप्त भएर जान्छ । तसर्थ चक्रव्यूह सञ्चेतनाले समालोचनामा सैद्धान्तिक उपागमहरूको आयात नेपाली, संस्कृत, अङ्ग्रेजी, नेपालका आदिवासी लगायत जनुसुकै अत्तर्राष्ट्रिय संस्कृति, सभ्यता र वाङ्मयबाट लिन सकिन्छ भन्ने प्रकारको उदारवादी अवधारणालाई आफ्नो स्थापनाकालदेखि नै अङ्गिकार गर्दै आएको विषय स्मरणीय छ ।
यो लेखमा हामी चक्रव्यूह सञ्चेतना अन्तर्गत समालोचनामा सैद्धान्तिक एकाइको प्रयोगको मान्यता अनुरुप नेपाली साहित्यका एक गम्भीर र दर्शन विचारद्वारा निर्देशित भएर साहित्य लेख्ने लेखक सरुभक्तको अहम्केन्द्रित मानवताबाद (Ego-centric Humanism) को सिद्धान्तलाई एक सैद्धान्तिक औजारको रुपमा लिएर केही कविहरूको कविताको विश्लेषण गर्न लागेका छौं । यसका निम्ति हामीले तुलनात्मक रुपमा अलि बढी पढ्दै आएका कविहरू आहुती, विप्लव ढकाल, श्रवण मुकारुङ, मोमिला, भिष्म उप्रेती, शशी लुमुम्बू, मनु मञ्जिल, मणी लोहनी, आर.एम. डङ्गोल, रमेश श्रेष्ठ, प्रोल्लास सिन्धुलीय, ठाकुर बेलबासे, फूलमान बल, सरिता तिवारी, सरस्वती प्रतिक्षा, स्वप्निल स्मृति, केशव सिग्देल र रावतका कविताहरू लिएका छौँ । यो बेला हाम्रो ध्याउन्ना यी माथि उल्लेखित कविहरूका यहाँ उद्यृत गरिने कविताहरूमा कसरी अहम् अभिव्यक्त भएको छ भनेर बहस गर्नु हो । यहाँ लिइएका कविताहरू बाहेकका अन्य कविताहरूमा अहम्को विष्फोट अझ सशक्त रुपमा भएको हुन सक्छ । यी सवै कविका सवै कविताहरू पढी नभ्याएको अवस्थामा जे जति कविता लिइएको छ, तिनैलाई आधार बनाएर यो लेखमा अहम्को उद्वोधन केलाउने प्रयास गर्नेछौँ ।
प्रिय पाठक ! यो समालोचकीय अनुष्ठानमा हामी कतिपय अवस्थामा कविताभित्र विभिन्न पक्ष, पात्र र परिस्थितिबीच अहम्को घर्षण कसरी भएको छ भनेर हेर्न सक्छौँ । यसका अतिरिक्त कतिपय अवस्थामा कविको निजी अहम् अथवा लैङ्गिक, बैचारिक, जातीय र राष्ट्रिय अहम्को प्रकटीकरणलाई नियाल्ने छौँ । माथि उद्घोष गरे अनुसार सरुभक्तको दार्शनिक विचारलाई प्रयोग गर्नेछौँ । उनका अनुसार अहम् अथवा अहङ्कार अथाव इगोट्रोन एउटा नैसर्गिक प्राणिजन्य शक्ति हो यसको रुपान्तरण सम्भव छ तर निषेध सम्भव छैन ।
वि.सं. २०४१ मा प्रकाशित भएको सरुभक्तको नाटक इतिहासभित्रको इतिहासको अग्रखण्डमा समाविष्ट ‘शुन्यवाद : दर्शनको खोज’ भन्ने लेखलाई यहाँ मुख्य सैद्धान्तिक आधार बनाइएको छ । उक्त लेखमा सरुभक्तले आफ्नो अहम्केन्द्रित मानवताबादको सिद्धान्तलाई विस्तृत रुपमा व्याख्या गरेका छन् । सरुभक्तद्वारा प्रतिवादित सिद्धान्तलाई चस्मा बनाएर माथि उल्लेखित कविहरूका यी कविताहरूको पठन गर्दा अहम्लाई विश्लेषणसूत्रको रुपमा प्रयोग गरिनेछ । यसको अर्थ यी कविहरूका यी कविताहरूमा अहम् एउटा आयाम हुनसक्छ तर सम्पूर्ण हैन । अहिलेका लागि अहम्को एकाइ एउटा एकाइ हो । अरु कैयौँ सैद्धान्तिक एकाइहरू यी कविताहरूमा प्रयोग हुन सक्छन् तर सवै ती एकाइलाई एकै पटक उजागर गर्न सकिन्न । चक्रव्यूह सञ्चेतनाको मान्यतामा एकाइ नै एकाइको योगले सम्पूर्णता निर्माण हुन्छ । तेस्राो आयाम आन्दोलनले सम्पूर्णतालाई एकैचोटी ठम्याउन सक्ने दावी गरेपनि त्यो असम्भव छ । आयामेलीहरूले अंश र एकाइलाई बेवास्ता गरेको कुरो चक्रव्यूह सञ्चेतनाको घोषणापत्रमा पहिल्यै उल्लेख गरिएको छ । समालोचनामा एकाइहरू मार्फत सम्पूर्णताको खोजी अभियान प्रारम्भ गर्नुपर्दछ भन्ने मान्यतामा चक्रव्यूह सञ्चेतना अडिग छ ।
सामाजिक यथार्थ र उच्चकोटीको काल्पनिकीको प्रयोग गरी लेखिएको उपन्यास पागल बस्ती सरुभक्तको सृजनात्मक कृति भए पनि उनले यसमा आफ्ना पात्रहरूमार्फत यथेष्ठ रुपमा अहम्केन्द्रित मानवतावादको सिद्धान्त बोलेका छन् । तसर्थ उक्त उपन्यासभित्रका कतिपय दार्शनिक हरफहरू पनि सिद्धान्तको रुपमा यो लेखमा उद्यृत हुने कुरा हामी पाठकसमक्ष निवेदन गर्दछौँ ।

सरुभक्त
इतिहासभित्रको इतिहास नाटकको अग्रखण्डमा सरुभक्तले यसो भनेका छन्,— “आदिम पाषण युगबाट आणविक युगसम्म— मानव सम्भयताको उद्गमदेखि उत्कर्षसम्मको इतिहास अध्ययन—विश्लेषण गर्दा एउटा निष्कर्ष—सूत्र अवगत गरेँ— मानव् सभ्यता अहम्केन्द्रित छ” (अः) । यही सिद्धान्तको आलोकमा हामी माथि उल्लेखित कविका कविता पठन गर्दैछौँ ।
माक्र्सवादी दर्शनलाई समातेर आफ्नो सृजनात्मक अहम्मार्फत जीवन र समाजको व्याख्या गर्ने कवि आहुतीले ‘ऐनाको जिन्दगी’ कवितामा ऐनाको विम्ब प्रयोग गरेर आफू चाहिँ परिवर्तन नहुने तर अरुलाई मात्र परिवर्तन हुन सिकाउने मान्छेको कथा भनेका छन् । उनले चित्रित गरेको एउटा मान्छे आफू सम्म आएका विचारहरूलाई परावर्तन मात्र गर्दछ जसरी एउटा ऐनाले आफूलाई प्राप्त दृष्यहरू सिर्फ फाल्ने गर्दछ । त्यो मान्छे आफू चाहिँ बिल्कुल ऐनाजस्तै यथास्थितिमा बाँचिरहन्छ । समाज परिवर्तनको यथेष्ट आवाज बुलन्द गर्ने आहुती चेलाहरू मात्र हैन गुरुहरू पनि परिवर्तन हुनुपर्ने सोच राख्छन् । अझ अगाडि व्यक्ति सैद्धान्तिक रुपले मात्र हैन व्यावहारिक रुपले नै परिवर्तन हुनुपर्छ भन्ने कविको सोच देखिन्छ । आहुतीको यो परिवर्तनकामी अहम्ले व्यावहारिक धरातलमै परिवर्तनको माग राख्दछ । उनले उठाएको यो समस्या नै समाजव्यवस्था र अर्थव्यवस्थामा आवश्यक रुपान्तरणका निम्ति मूल समस्या हो । उनको अहम्ले कवितामा वर्णित ऐनाजस्तो मानिस कहीं तपाइँ त हैन भनेर प्रश्न आफूतिर हैन अरुतिर तेर्साएको छ । उनको अहम्ले मसहित तपाइँ पनि त्यो मान्छे त होइन भनेर सोध्न नसक्नुको कारण हामी मानिसहरू आफ्नै अहम्लाई केन्द्रमा राख्दछौँ । सरुभक्तलाई साथ लिएर भन्ने हो भने हामी कोही पनि अहम्मुक्त छैनौँ । जे होस् आफ्नो वर्गीय अहम्लाई केन्द्रस्थलमा राखेर लेखिएका उनका कवितामा परिवर्तनको तीव्र अभिलाषा पाइन्छ । तलको उदाहरण हेरौँ—
हामीमध्येको एउटा मानिस
जे–जे ठोकिन्छ उसको मस्तिष्कमा
सवै परावर्तन गर्छ
बदल्ने जिम्मा सब अरुलाई बाँडेर
आफू जीवनमा फड्को नमारिकनै कतै अड्किन्छ
हामी मध्येको एउटा मानिस ऐना झैँ बाँच्दछ
ऐना झैँ मर्दछ ।
आहुतीको अको कविता ‘गहुँगोरो अफ्रिका’ मा जातीय उत्पीडनको लामो श्रृङ्खला भोगेर आएका दलितहरूको पीडा र आक्रोशको काव्यीकरण गर्नुका साथै श्रमजीवी वर्गको परिवर्तन आकाङ्क्षी अहम् बोलेको छ । यो कविताको शीर्षकमा नै एउटा शाहसी प्रयोग छ । अफ्रिका कालो छ र यो बहिस्कृत, अपहेलित एवं शोषित छ । यद्यपी कविले अफ्रिकालाई गहँुगोरो भनेका छन् । यसको मतलव उनले वर्णव्यवस्थाको कुरुप र विभेदकारी नेपाली प्रणालीको किनारामा रहेका गहुँगोरो वर्णका दलितहरूलाई बुझउने अर्थमा गहुँगोरो अफ्रिका भनेका हुन् । सरुभक्तले भनेका छन्, “साहित्यमा मानवीय अहम् ‘अहम्सहित’ पनि व्यञ्जित हुन सक्छ, अहम्रहित पनि” (ज्ञ, इतिहासभित्रको…) । यो सैद्धान्तिक अडानलाई साथ लिएर भन्दा ‘गहुँगोरो अफ्रिका’मा कवि आहुतीको अहम्रहित जातीय अहम् यसरी प्रकट भएको छ—
कि मलाई जनावरसँग बाँध
र घाँस खुवाउने आँट गर
कि तिमी आफूलाई
जनावरभन्दा फरक पार्ने साहस गर ।

आहुती
अमेरिकी स्वच्छन्दावादी कवि इमर्सनले “मान्छेको भौतिक अस्तित्व उसको आधा हो, बाँकी आधा उसको अभिव्यक्ति हो” (५५८, क्रिटिकल…) भनेका छन् । यसै सन्दर्भमा कवि विप्लव ढकालको ‘अलिकति हल्लाहरू हुनुपथ्र्यो’ कविताले मानिससँग स्वाभाविक रुपले हुने अभिव्यक्ति अहम्लाई प्रष्ट्याएको भन्न सकिन्छ । विप्लवको यो कविताले निर्जन र निरवतालाई चिरेर केही न केही हल्ला र सक्रियताको आवश्यक्ता संसारलाई पर्छ भन्न चाहेको हुनुपर्छ । उनी लेख्छन्—
अलिकति हल्लाहरू हुनुपथ्र्यो
आखिर किन नहोस्—
पशुपतिनाथको छानामा
विचारको ढुङ्गाले हिर्काएर
अलिकति आवाजहरूको
सृष्टि गर्नुपथ्र्यो ।
मनिसले आफूलाई अभिव्यक्त गर्ने सयौँ तौरतरिका हुनसक्छन् । मान्छेभित्रको अभिव्यक्तिमूलक अहम् (Expressive Ego) मर्यो भने यो संसार सपना निख्रिएको बाँझोबारी बन्ने खतरा हुन्छ । श्रृष्टिको बोली फुटाउने काम कविहरूले नै गरेका कारण सम्भवतः सवैभन्दा बढी अभिव्यक्ति अहम् कविहरूसँग नै हुन्छ । ‘च्याउको जङ्गल’ विप्लव ढकालको एउटा चर्चित विम्बात्मक कविता हो । माओवादी शसस्त्र युद्धमा लडाकु भएर फर्किएको एक पूर्वलडाकुको परिवर्तित मनोदशा यो कविताको पृष्ठभूमि भए पनि यो कवितालाई त्यही परिवेशभित्र मात्र सिमित गर्न मिल्दैन । तसर्थ यो कविताको द्वैध महत्व छ ।

कवि विप्लव ढकाल
निश्चित आर्थिक, सामाजिक र ऐतिहासिक परिस्थितिमा ‘लोकेट’ गरेर हेर्ने हो भने नेपाली समाजको निश्चित समयसन्दर्भमा मानवहत्याको विभत्स खेलमा रमाएको एउटा व्यक्तिको स्वीकारोक्ति, पलायन र पश्चातापको एक शसक्त दस्तावेजको रुपमा यो कविता सृजित भएको छ । यसलाई अप्रासाङ्गिकीकरण (Decontextualization) गर्ने हो भने वैविध्य, हरियाली र सृजनशीलता नभएको च्याउको पट्यारलाग्दो जङ्गलबाट प्रेम, करुणा, सहअस्तित्व र विचारैबिचारको पुञ्ज भएको स्वतन्त्र परिवेशतिर फर्किने उत्कट अभिलाषाको अभिव्यक्ति हो । यो कविताको बकन्ते आफ्नो ध्वङ्सात्मक अहङ्कारको अध्याय छिचोल्दै आफूसँगै आफ्नो बिद्रोह जागृत गरेर अहङ्कारशून्यतामा आइपुगेको जस्तो देखिए पनि उसको अहङ्कारको रुप परिवर्तन भएको छ । ऊ आफ्नो पछिल्लो समयको विचारशुन्यतालाई विचार बनाउने र आफूले पहिले अवलम्वन गरेको विचारविरुद्ध आक्रमण गर्ने अहम्को विकास गरिरहेको छ । कविताको बकन्तलेले आफ्नो विचारशून्यता नै आफ्नो शक्ति हो भनेर दाबी गरे जस्तै उसको झट्ट हेर्दा देखिने अहम्शून्यता नै अहम् हो । बिर्सन नहुने कुरो ऊ आफ्नो विध्वङ्सकारी अहम्लाई लोककल्याणकारी अहम्मा रुपान्तरण गर्ने प्रकृयामा छ । यो कवितामा विप्लवले विध्वङ्सात्मक अहम्को स्थानमा रचनात्मक अहम्को आवश्यक्ता औँल्याएका हुन् भन्न सकिन्छ । एउटा उदाहरण हेरौँ—
हतियार र औजारले पिटीपिटी
प्वाल पार्छु मस्तिष्कमा
र बनाउँछु रोटी !
त्यही रोटीको
गोलाकार सुरुङबाट बाहिर निस्केर
म उड्छु अव यो नीलो आकाशमा ।
प्रिय पाठक ! अहम्को विश्लेषण–सूत्रको आधारमा अव हामी श्रवण मुकारुङका केही कविताहरू हेर्दैछौँ । ‘जाडो’ शीर्षकको कवितामा एउटा नाटकीय अवस्थाको चित्रण गरेका छन् कविले । छोटो तर तीक्ष्ण भाव बोकेको यो कवितामा जाडो विपन्नताको प्रतीक हो । कविको मानवतावादी अहम्ले युगौँदेखि अहिलेसम्म कायम रहेको जाडोबाट भोलिका नानीहरू के बालेर कसरी बाँच्लान भन्ने जीवन्त प्रश्न उभ्याएको छ । यो कविता पढ्दा यस्तो लाग्छ कविताको बकन्ते सडकैसडक हिडिरहेको छ र उसले ल्याम्पोष्टमुनि आगो तापिरहेका सम्भवतः सडक बालबालिकाहरू देख्छ । त्यसपछि उसको मानसपटलमा अहम्को आगो सल्किन्छ । एक पटक यो छोटो कविताका सम्पूर्ण पङ्ति हेरौँ—
ल्याम्पोष्टमुनि आगो तापिरहेछन्— नानीहरू
युगौँदेखि छ जाडो
उहिल्यै त दाउरा बाल्थे रे ताप्न
बाल्थे रे— पानी र हावा
हामीले बाल्यौँ टायर भत्केका मिनिबसका
बाल्यौँ खवरकागज र राजनेताका पम्प्लेट
आज नानीहरू बालिरहेछन्— धर्मग्रन्थका अन्तिम पृष्ठ
फिल्मफेयर र आधुनिक कविता
के बाल्लान् भोलिका नानीहरू ?
के बाल्लान् हँ…?!
युगौँदेखि छ— जाडो
ल्याम्पोष्टमुनि आगो तापिरहेछन् — नानीहरू ।
जाडोको श्रृङ्खला युगौँदेखि चलिरहेको छ । तीव्रतर रुपमा प्रतीकात्मक यो कविताले इतिहासको गतिलाई मापन गरेको छ । सम्भवतः कृषि युगसम्म मान्छेले जाडो भगाउन दाउरा बाले । औद्योगिक युगमा पानी र हावाबाट विद्युतीय ऊर्जा निकालेर जाडो भगाए । तर विद्युतीय ऊर्जाको पहुँच सहरका सडकमा बाँच्ने बालबालिकासम्म पुगेन । त्यसपछि बसका टायर, खवरकागज र राजनेताका तस्वीर अङ्कित पम्प्लेट बाल्ने प्रकृया सुरु भयो । त्यसपछि नानीहरूले धर्मग्रन्थका पृष्ठ, पिल्मका पोष्टर र कविताका पृष्ठ जलाउन थालेका छन् तर पनि जाडो गएको छैन । प्रतीकात्मक अर्थमा भन्दा धर्मग्रन्थ, फिल्म, कविताजस्ता कुनै पनि मानव सृजनाले जाडो अथवा विपन्नतालाई परास्त गर्न नसकेको पाइन्छ । यो कविताले समाजको ऐतिहासिक विकासक्रमको नजानिदो तरिकाले परावर्तन गरेको छ । दाउरा बाल्ने युगदेखि आधुनिक कविता लेखिएको युगसम्म आइपुग्दा पनि बालबालिकाले जाडोबाट मुक्ति पाएका छैनन् । जाडो विपन्नताको परिणती हो । भविष्यका बालबालिकाहरूले यो जाडोको सामना कसरी गर्लान् भनेर कविले यक्षप्रश्न सोधेका छन् । यो कविताले सडकमा जीवन बिताइरहेका बालबालिकाहरूको वर्गीय अहम्युक्त प्रश्न उजागर गरेको छ ।

श्रवण मुकारुङ
यसैगरि श्रवण मुकारुङको ‘पुरानो मानिस’ शीर्षकको कवितामा आदिवासी र सीमान्त समुदायको अस्तित्वको अहम् मुखरित भएको पाइन्छ । उनको अहम्ले ठान्दछ कि खेतमा धानको गन्ध, पहाडमा बतासको गन्ध र समुद्रमा पानीको गन्धजस्तै पुरानो मानिसको अस्तित्व नैसर्गिक छ । माथि उल्लेखित प्राकृतिक अवयवहरूलाई निमिट्यान्न पार्न नसकेजस्तै हतियार, सङ्कथन र सवैभन्दा शक्तिशाली मानिएको राष्ट्रले पनि पुरानो मानिसलाई मार्न नसक्ने भन्दै कविले दमनकारी प्रणालीलाई लक्षित गरेर अहम्मुक्त आदिवासी अहम्को अभिव्यक्ति दिएका छन् । उनी भन्छन्—
यस धर्तिको सवभन्दा पुरानो मानिसलाई मार्न
सवभन्दा नयाँ कुरा चाहिन्छ
तिमीसित अव
के छ त्यस्तो कुरा…?
सरुभक्तको अहम्बादले अहम्को सर्वव्यापकतालाई पुष्टी गर्ने क्रममा “मानव इतिहासको सापेक्षमा पृथ्वी इगोट्रोनहरूको द्वन्द्वात्मक खेलमैदान हो” (ध, इतिहासभित्रको…) भनेको छ । इगोट्रोन भन्ने शब्द सरुभक्तको नवप्रवर्तन हो । इलेक्ट्रोन, प्रोटोन, न्युट्रोन भने जस्तै उनले इगोट्रोन प्रस्ताव गरेका छन् । उनको बिचारमा नारी पुरुष सम्वन्धको बीचमा पनि अहम्कै महत्वपूर्ण भूमिका हुन्छ । यो मुहुर्तमा हामी लैङ्गिक सम्वन्धका बारेमा अहम्केन्द्रित मानवतावादको व्याख्यालाई केही क्षण बहस गरेर कवि मोमिलाको कविता ‘तिमी र म’ माथि छलफल गर्नेछौँ ।
भैतिक चुम्बकत्वको नियममा समान ध्रुवहरू बिकर्षित हुन्छन् भने विपरित ध्रुबहरू आकर्षित हुन्छन् भन्दै सरुभक्तले अहम चुम्बकत्वको नियममा “मानव इतिहासमा समान अहम्हरू आकर्षित हुन्छन् र असमान अहम्हरू विकर्षित हुन्छन् (ठ, इतिहासभित्रको…) भनेका छन् । अझ अगाडि बढेर सरुभक्तले नारी अहम् र पुरुष अहम्लाई विपरितार्थक मानेका छन् । उनको विचारमा “वैज्ञानिकताको रहरमा पुरुष र नारी सम्वन्धलाई दुई विपरित ध्रुव मानेर परस्पर आकर्षित हुन्छन् भन्ने तार्र्किकता खोज्न सकिन्छ, तर नारी पुरुष सम्वन्ध जैविक हुन्छ, ऐतिहासिक हुदैन” (ड, इतिहासभित्रको…) । उनले यहाँ पुरुष र नारी सम्वन्ध भन्नाले पुरुष र नारीबीचको यौन सम्वन्धलाई सङ्केत गरेका हुन् । पुरुष र नारीबीचको यौन आकर्षण र यौन सम्वन्ध विशुद्ध रुपले जैविक विषय हो भने उनीहरू बीचको लैङ्गिक द्वन्द्व ऐतिहासिक विषय हो । पुरुष इगोट्रोन र नारी इगोट्रोन एकआपसमा असमान छन् । अतः यिनीहरू एक अर्काप्रति विकर्षित हुन्छन् । अहम्वादको यही मान्यतालाई आधार दर्शन मानेर मोमिलाद्वारा लिखित कविता ‘तिमी र म’ हेर्दा नारी अहम् र पुरुष अहम्को सम्झौताबाट नै अहम्रहित हामी अहम्को निर्माण हुन्छ । मोमिलाको यो कवितामा ‘तिमी’ सर्वनामले पुरुष र ‘म’ सर्वनामले नारीलाई जनाएको छ । सो कुरा कविले कविताको शीर्षकमुनि कोष्ठकमा खुलाएकी छिन् । यो कवितामा बकन्ते पात्र नारी हो भने सम्वोधित पात्र चाहिं पुरुष हो ।
मोमिलाको यो कविताले प्रारम्भमै लैङ्गिक अमैत्री पितृसत्तात्मक व्यवस्थाले खडा गरेको नारी पुरुष बीचको बिभेदलाई चित्रित गरेको छ । उदाहरण हेरौँ—
हो, तिमी जन्मेको दिन
आमाको निधारको टिका एकाएक सूर्य भएर
घरआँगनमा उज्यालो झल्मलाइरह्यो
तर, म जन्मेको दिन
आमाको निधारको घामजस्तो टिका एकाएक धुम्मिएर
आफैँलाई बगाउने गरी आँखा अविरल बर्सिरह्यो ।
हरफहरूको लगत्तै पछि उनी नारी अहम् र पुरुष अहम् भने आ–आफ्नै शक्तिमा रहने कुरो बताउँछिन् । तलका हरफहरूमा उनी अस्तित्व भेट्ने आकाङ्क्षा भनेर अहम्लाई सङ्केत गर्दछिन्—
यसरी फरक नियति लिएर प्रारम्भ भए पनि
मान्छे हुनुको अर्थमा
हाम्रो अस्तित्व भेट्ने आकाङ्क्षा भने जरुर उस्तै छ ।

मोमिला
पुरुषको अहम्को बाटो आफ्नै हुन्छ । नारीको अहम्को बाटो आफ्नै हुन्छ । नारी र पुरुषबीच प्रेम हुनु, विवाह हुनु भनेको दुई विपरितार्थक इगोट्रोनहरूबीच सम्झौता हुनु हो । मोमिलाकै कविताका यी हरफहरू हेरौँ—
तिमी र म अर्थात हामी
फरक बाटो भए पनि
आज, एउटै सपनामा हस्ताक्षर गरेर हिडेका छौँ ।
पितृसत्ताले पुरुषलाई प्राथमिक र नारीलाई द्वित्तीय मानेको कुरोलाई उल्लेख गर्दै अघि बढेको यो कविताले नारी र पुरुष दुवैमा अहम् हुने तथ्य स्वीकारेर प्रेमलाई नारी अहङ्कार र पुरुष अहङ्कारबीचको सम्मिलन अथवा व्यवस्थापन मानेको छ । वास्तवमा यो कविताले नारी इगोट्रोन र पुरुष इगोट्रोनलाई नैसर्गिक मान्दै अहम्हरू भाँचिएपछि लैङ्गिक द्वन्द्व सम्वादमा टुङ्गिएर समाज परिचालित हुन्छ भन्ने समाजशास्त्रीय यथार्थलाई चित्रित गरेको छ । यो कविताले प्रस्तुत गरेको कथानकमा पुरुष जीवनको उचाइ भेट्न अहम्को पर्वत चढ्छ । नारी जीवनको गहिराइ भेट्न अहम्को पर्वत ओर्लन्छे । नारी र पुरुष दुई विपरित दिशातिर लागेका छन् । स्त्रीलिङ्गी अहम् र पुलिङ्गी अहम्बीच साम्यता स्थापना हुनुपर्ने भाव बोकेको यो कवितामा मोमिलाले लैङ्गिक अहम्को दार्शनिकतालाई सम्प्रेष्य र सूक्ष्म रुपमा प्रस्तुत गरेकी छिन् । एउटा घतलाग्दो उदाहरण हेरौँ—
अहा ! सभ्यताको सवैभन्दा सुन्दर दिन
त्यो दिन
हम्रो अहम्को दुरी भाँचिएको दिन ।
यसै गरी ‘प्रेम, पीडा, प्यास र पानी’ शीर्षकको मोमिलाको अर्को कवितामा अहम्शून्यता प्रस्तुत भएको जस्तो देखिए पनि वास्तवमा लास भएर बहेको, गोधुलीको तस्वीरजस्तो धुमिल अस्तित्व भएको, एक चुम्वनमा पग्लिएको, बरफ बनेर अस्तित्वमय हुनुको साटो पग्लिएर पानी भएको स्वीकारोक्तिसहित अहम्को अर्को बान्की प्रस्तुत भएको छ । सर्जकहरूसँग अहम्को डिग्री झनै उच्च हुन्छ । स्वीकारोक्ति प्रस्तुत गर्नु सर्जकको निम्ति अहम्को झन् ठूलो आराधना हो । मोमिला पनि यसको अपवाद हुन सक्दिनन् । सरुभक्तको दर्शन अनुसार भन्ने हो भने ध्यानी, योगी र महात्माहरू त झनै ठूला अहम्वादी हुन् । ख्याल गर्नुपर्ने कुरा चाहिँ यो छ कि उनीहरूको अहम् भनेको रचनात्मक तथा निर्माणात्मक हुन्छ । सम्भवतः हिट्लर, मुसोलिनी जस्ता क्रुर शासकहरू भित्र भने विध्वङ्शात्मक र प्रलयकारी अहम् थियो । त्यसैले अहम् मुक्ति एउटा असम्भव विषय हो । सृजनात्मक अहम् नै मानव सभ्यताले आजपर्यन्त आर्जन गरेका सौन्दर्यहरूको श्रोत हो । त्यसैले मोमिलाको यो कवितामा अभिव्यञ्जित भएको अहम्शून्यता रचनात्मक अहम्को बैकल्पिक पुनरोदय हो ।
अर्को कविता ‘सूर्य–समय’ मा मोमिलाले समयलाई सूर्यको विम्ब प्रयोग गरेर बुझ्ने प्रयास गरेको देखिन्छ । भोलिको समयलाई झोलामा बन्द गर्न पनि नसकेको र त्यसलाई बहिस्कार पनि गर्न नसकेको एक निरिह अवस्थासहित कविको दिग्भ्रमित मनोदशा प्रकट भएको छ । यहाँ मानव अहङ्कारले समयको अहङ्कारसँग पराजित भएको तथ्य प्रस्तुत गरेर कविले आफ्नो र रचनाकारिताको अहम्लाई प्रकट गरेको पाइन्छ ।

भिष्म उप्रेती
अब हामी एकैछिन अर्का सर्जक भिष्म उप्रेतीका कविताहरूको पठन गर्दछौं । सरुभक्तको भाषामा “मानवीय अहम्को सृजनात्मक बिष्फोटको सर्वोत्तम अभिव्यक्ति साहित्य हो” (स, इतिहासभित्रको…) । यस आधारमा भन्दा कवि भिष्म आफ्नो सृजनात्मक अहम्लाई दार्शनिक बान्कीबाट प्रकट गर्न रुचाउँछन् । उनी समाजका आर्थिक, सामाजिक ‘फेसनेबल’ मुद्धाहरूको बारेमा भन्दा पनि जीवनका स्थायी अवयवजस्ता लाग्ने कुरामा रुची राख्दछन् । ‘किताव’ शीर्षकको कवितामा उनी लेख्छन्—
कति पढ्नु एकोहोरो किताव मात्र
पत्र पत्र च्यातेर समयलाई
म आज दुःख र मान्छेको जीवन पढ्छु ।
भिष्मको काव्यिक अभिव्यक्तिमा एक प्रकारको स्तरीयता र चयन फेला पर्दछ । उनको अर्को कविता ‘हिउँ’ मा दुःख, चिन्ता र छटपटीलाई बुझाउने बृहत विम्बको रुपमा हिउँको प्रयोग भएको छ । उनका केही हरफ यस्ता छन्—
बेलुका ओछ्यानमा
ओभानै सुतेको म
बिहान हुँदा हिउँ नै हिउँले पुरिएको थिएँ ।
मृत्यु आफैँमा भयावह परिघटना हो तर त्यो मृत्युको भयावहतालाई कवि भिष्मको सृजनात्मक अहम्ले यसरी सेलिब्रेसन गरेको छ—
ढुकढुकाउँदैमा मात्र बाँचिने हो र ?
कहिलेकाहीँ मलाई
मृत्युबोधको झङ्कारले गहिरोसँग छुन्छ
मृत्यु पनि त्यसबेला सङ्गितजस्तो लाग्छ ।
यसपछि शशी लुमुम्बूका कविताहरूमा अहम्को निर्वाह कसरी भएको छ भनेर नियाल्नका लागि सरुभक्तको सिद्धान्तबाट हामी सर्वप्रथम एउटा वाक्य लिन चाहन्छौँ । उनी भन्छन्, “कार्ल माक्र्सको वर्गसङ्घर्षको इतिहास मूल रुपमा अहम् सङ्घर्षको इतिहास हो” (झ, इतिहासभित्रको…) । शशीका माक्र्सवादी चेतना सवार भएका कवितामा वर्गीय अहम् शक्तिशाली रुपमा प्रकट भएको पाइन्छ । ‘अन्तिम बिद्रोह’ कविताबाट एक उद्वरण हेरौँ—
खोसेर मेरो आवाज तिमीले
बनायौ गायत्रीमन्त्र
डाम्यौ मेरो
चेतनामा तातो पन्युँ
खोस्यौ— मेरो प्रिय गीत र बनायौ मलाई—
आफ्नै देशभित्र अनागरिक ।
शोषक र शोषितबीचको पर्खाल मानव सभ्यताबाट गायव भएको छैन । इतिहासको सर्पिल पदमार्गमा मानिसहरूबीच विभाजन र भेदको अध्याय लामो समयदेखि रहिआएको छ ।

शशी लुमुम्बू
एउटै भूमिका बासिन्दाहरूबीच अकल्पनीय पदसोपान छ । प्रमुख रुपमा शोषणको स्वरुप वर्गीय भएपनि लैङ्गिक, जातीय, सांस्कृतिक, सामाजिक र भौगोलिक स्वरुपहरूलाई नजरअन्दाज गर्न सकिदैन । शोषणका बहुआयामिक स्वरुपहरूले नेपाली समाजमा पारेको प्रभावबाट उत्पन्न चेतनाको प्रयोगद्वारा यो कवितामा श्रमजीवी वर्गको अहम्लाई काव्यिकृत गरिएको छ ।
स्वभावैले मानिस अहम्केन्द्रित हुन्छ । साहित्यकार सरुभक्तको अहम्केन्द्रित मानवतावादको दर्शनले यसै भन्छ । सिङ्गो मानवता नै अहम्ले निर्देशित हुन्छ । अहम्को सृजनात्मक प्रयोग सम्भव छ तर अहम्बाट मुक्ति सम्भव छैन । यही सिद्धान्तको फेर समातेर यो सिद्धान्तलाई अझै तन्काउदै हामी भन्न सक्छौँ— मान्छे अहम्केन्द्रित छ । समुदाय अहम्केन्द्रित छ । राष्ट्रियता अहम्केन्द्रित छ । शशीको अर्को कविता ‘तिमी मात्र सत्य होइनौ’ ले नकारात्मक शक्तिको रुपमा अहम्को विकास भयो भने त्यसले आफूलाई मात्र सत्य र सुन्दर देख्छ । बाँकी सवैलाई भ्रम देख्छ भन्ने प्रकारको अभिव्यञ्जना व्यक्त गरेको छ । उनले यो कवितामा आफू र आफ्नो परिवेश बाहिर पनि अस्तित्वहरू अस्तित्ववान् हुन्छन् तथा अरुहरूले पनि आफूले जस्तै रहर र सपना पालेका हुन्छन् भनेर बुझ्नु सवैको निम्ति अनिवार्य छ भन्ने आशय प्रकट गरेका हुन् । यही बोधको बिन्दुबाट नै सहिष्णुताको संस्कृति अगाडि बढ्दछ । यो कविताका केही हरफहरू हेरौँ—
मुच्र्छा पर्दै बौरिदै
मरुञ्जेली खोक्दै
ओरालैओरालो झरिरहेको बूढो जोगी
उसैलाई पच्छ्याइरहेको
नौजवान खहरे
र, छेवैको घनाजङ्गलबाट
सर्वत्र पैmलिरहेको रगतको आलो गन्ध
सवै सत्य हुन्…
तिमीमात्र सत्य होइनौ ।
अर्को कविता ‘अनागरिक आवाज’ मा शशी लुमुम्बूले बहिष्करणमा पर्नु र अनागरिक भएर बाँच्नुको पीडालाई उजागर गर्दै आफ्नै देशभित्र शरणार्थी हुनु र आफ्नै घरभित्र जागित्र हुनुको परिबन्दलाई देखाएका छन् । आफ्नै घरभित्र जागित्र हुनुको विम्बले देउतापितृको समकक्षताबाट बिमुख हुनुलाई सङ्केत गर्दछ । जागित्रले दोसाँधको अवहेलनापूर्ण जिन्दगी बाँचेको हुन्छ । अनागरिक र जागित्रको अहम्रहित अहम्लाई यो कविताले चित्रण गरेको छ ।
प्रस्तुतीकरणको छुट्टै अहम् बोकेर जन्मिएका मनु मञ्जिलका कवितामा एक प्रकारको मौलिक शिल्पविधान देखिन्छ । जङ्गलमा बस्नुपर्ने बाघ जव आफ्नो जङ्गली अहङ्कारलाई तिलाञ्जली दिएर इतिहासको पद्दतिभित्र छिर्छ तव उसको छुन नसकिने सौन्दर्य लोप हुनेछ र पुग्न नसकिने ओढार रहने छैन भन्दै ‘बाघ’ कवितामा मनु मञ्जिलले प्रकृतिको भयप्रदायक अहम्को बिस्थापनको डर बोकेका छन् । यसै गरी ‘जवाफ नभएपछि’ कवितामा उनले आफ्नो अभिव्यक्तिमूलक अहम्को तुष्टी गीत गाएर, स्वर भनेर, कथा सुनाएर, कविता सुनाएर गरेको खुलाएका छन् ।

मनु मञ्जिल
उनको ‘पुर्खाहरूप्रति’ कवितामा उनले आफ्नो सृजनशील अहम्मार्पत आफूलेलाई पुर्खाकै विस्तारित शाखा सम्झेका छन् । यो एक किसिमको आफ्नो अहम्को बिसर्जनजस्तो देखिए पनि प्रकारान्तरले पुख्र्यौली अहम्को पुनः प्रस्तुती हो । केही बाचाल हरफहरू यस्ता छन्—
म पुर्खाकै झ्यालमा बसेर इन्द्रेणी हेर्छुृ
पुर्खाकै बार्दलीबाट बादलहरूको मेला हेर्छु
बिहानसँगै उठेर
सुनौलो हिउँको घुम ओढेका शिखरहरू हेर्छु ।
कविताको अन्तमा बुद्ध र हिमालको परम्परागत विम्ब प्रस्तुत गरेर उनले नेपालीहरूको जातीय अहम्लाई ‘रिलोकेट’ गरेका छन् ।
अर्का कवि मणी लोहनीका कवितामा विध्वङ्सात्मक अहम्को बिपक्षमा शान्तिकामी अहम् उर्लिएको छ । उनी हत्या, हिंसा र आतङ्कको अन्त्य चाहदै मानवताको गजुरलाई अझै उँचो राख्न चाहन्छन् । सिद्धान्तकारको रुपमा सरुभक्त ठान्दछन्, “आदिम मानव झुण्ड निसर्गरुपेण पशुवत् यौन, भोक, आक्रमण र सुरक्षाका प्रकृयाहरूमा बर्वरतापूर्वक सापेक्ष हुनु मानव जातिको अहम्चेतनाको सवभन्दा तल्लो स्तर हो” (ग, इतिहासभित्रको…) ।

मणी लोहनी
आदिम मानवसँग भएका बर्वरताहरू आजको सभ्य भनिने समाजमा पनि निमिट्यान्न नभएका कारण कवितामा मणी लोहनीले बर्वर र विध्वङ्सात्मक अहम्को ठाउँमा सृजनशील र शान्तिकामी अहम् स्थापित होस् भन्न चाहेका हुन् । मान्छेको मन साँगुरिएको र मूलबाटै बाटो भएर मृत्युको पहिरो हिडेको देखेपछि ‘अखवार र बालकहरू’ कवितामा उनको श्रृष्टिप्रेमी अहम्ले यस्तो भन्छ—
बोक्सीको मनजस्तो कठघराभित्र
नागरिक अधिकारलाई खुट्टा बाँधेर
झुण्ड्याइएको देखेको हुँ सिलिङमा ।
अहङ्कारले उन्मत्त भएर हत्या, हिंसा र पशुवत प्रवृत्तिमा रमाइरहेको मान्छे सम्वेदनाशून्य हुदै गएपछि मान्छेभित्रको मन दुषित छ । यस्तो अवस्थामा “कहिले फर्केला मान्छेको मन” भन्दै ‘मृत्युको पहिरो’ कवितामा मणी लोहनी अहङ्कारले निम्त्याएको यस्तो दृष्य देख्छन्—
मुलबाटोमा को दौडिएको त्यस्तरी ?
को चिच्याएको पर जङ्गलमा ?
किन भागेका त्यस्तरी चराहरू ?
कसरी हिड्न सक्नु अब
त्यो लेकको घुमाउरो उकालो ?
कालिज लुक्ने घारीहरू किन बिष्फोट हुन्छ
हामीलाई चिस्याउदै बग्ने
त्यो कुलकुले खोली किन राताम्य देख्छु ?
समाज र जीवनलाई हेर्न, बुझ्न र व्याख्या गर्न माक्र्सवादी पाठशालाबाट चेतना निर्माण गरेका कवि आर.एम. डङ्गोल कवितामा वर्गीय द्वन्द्वको अहम्लाई प्रस्तुत गर्दछन् । ‘अन्तर’ शीर्षकको कवितामा उनी लेख्छन्—
म स्थिरतालाई सहन सक्तिनँ
ऊ हावाको झोक्कालाई सहन सक्तैन
एउटा अन्तर छ हामीहरूबीच
म भोको छु भन्छु
ऊ सहेर बस भन्छ ।

आर.एम. डङ्गोल
यो कवितामा उनले यथास्थितिबादी समूहको अहम् र परिवर्तनकामी समूहको अहम्बीच भिन्नता देखाएका छन् । यो भिन्नतालाई उनले माक्र्सवादी जीवनदर्शन अन्तर्गत वर्गीय नजरबाट हेरेको देखिन्छ । ‘अध्यारोमा कविता पढिदैनन्’ शीर्षकको कवितामा डङ्गोलले म र उनीहरूबीच विपर्यास खिचेका छन् । यो भिन्नता सम्भवतः अहम्को भिन्नता हो । कविले इङ्गित गरेको उनीहरूको विध्वङ्सात्मक अहम्पूर्ण चर्तिकला यस्तो छ—
अथवा आमाको काखबाट ओर्लिएर
अरुको उचाइ घटाउन
छुच्चो कैँची चलाउन सिक्छन् ।
यसै अनुरुप डङ्गोलको ‘फूलको कथा’ शीर्षकको अर्को कविताले पितृसत्तात्मक अहङ्कार पालेर बसेको हाम्रो समाजमा नारीमाथिको हिंसा मनोवैज्ञानिक र भौतिक दुवै तहमा क्रियाशील हुन्छ भन्ने देखाएको छ । हिंस्रक स्वरुपको पितृसत्तात्मक अहङ्कार नारी शरीरमाथि आक्रामक रुपमा लक्षित भएको प्रसङ्गलाई यो कविताले उठान गरेको छ ।
विम्बको विलक्षण बुनोट निर्माण गर्न खप्पिस कवि रमेश श्रेष्ठका कविताले बौद्धिकताको अहम् पालेको पाइन्छ । अमूर्त विम्बमार्पmत् सकेसम्म न्यूनतम सङ्केतहरू छोडेर पाठकको विश्लेषणात्मक क्षमताको अपेक्षा राख्नु उनका कविताहरूको विशेषता हो । उनी बैश्विक विषयवस्तुको उठान गरेर अभिव्यक्तिलाई बौद्धिकीकरण गर्दछन् । यही प्रसङ्गमा उनको पृथक अभिव्यक्तिको अहम्पूर्ण चाहना प्रकट भएको पाइन्छ । ‘पृथ्वीको साँझमा’ कविताबाट एक उदाहरण लिऊँ—
थाहै छैन
हिड्नेहरूलाई पनि
कहिलेसम्म हिड्छन्
खुट्टाहरू
मनको बुइ चढेर ।

रमेश श्रेष्ठ
रमेश श्रेष्ठको सृजनात्मक बौद्धिक अहम्ले कवितालाई स्तरीय र प्राज्ञिक विषय मान्दै कविताभित्र कला लगायत अन्य अन्तर्विषयक तत्वहरूको समावेशीकरण चाहेको बुझिन्छ । अस्तित्वको पीडा बोकेर उठेका रमेशका कविताले चोइटिरहेको समकालीन समय र चेतनालाई अहम्पूर्ण बौद्धिकीकरणसहित परावर्तन गरेको देखिन्छ । एक उदाहरण ‘कविको देश’ कविताबाट हेर्न सकिन्छ—
निरन्तर कुचीबाट बलात्कृत
क्यानभासहरूमा
रङहरू रुइरहेको देख्दा
मैले कविलाई सोधेँ
किन घाम हतारहतार
अस्ताउन खोजिरहेको छ
आकाशमा डढेलो लगाउँदै ?
पाठक महोदय ! अब हामी यो लेखमा प्रोल्लास सिन्धुलीयका तीन वटा कवितामा अहम्को विश्लेषणात्मक औजार लिएर प्रवेश गर्दैछौँ । उनको ‘झण्डालाई डिभी पर्यो भने के हुन्छ ?’ कवितामा नेपाली राष्ट्रियताको अहम् तीव्र रुपमा प्रकट भएको छ । हिमाल, पहाड र तराईका नागरिकहरू सके आफ्नो संस्कार र संस्कृतिको प्राचीन अहम्लाई बचाउँछन् । नसके आर्थिक उन्नति गर्लान् । त्यो पनि नसके व्यक्तिगत पतन होला तर झण्डालाई नै डिभी प¥यो भने के होला भनेर एउटा डरमर्दो जब्बर प्रश्न प्रोल्लासले तेस्र्याएका छन् । वास्तवमा झण्डा भनेको राष्ट्रियता, स्वाधीनता र सार्वभौमसत्ताको प्रतीक हो । प्रोल्लासको अर्को कविता ‘शव्दकोश र देश’ ले नेपाली भाषा, जाति र संस्कृतिको गौरवमय अहम्लाई पूनर्जागृत गर्ने अहम्युक्त चाहना प्रकट गरेको छ । वजनदार शव्दहरूको परम्पागत अर्थ आजको बिकृत बजारमा अलपत्र परेको हुदा हाम्रा गौरवमय मूल्यहरू धरासायी हुदै गएकोमा कवि चिन्तित देखिन्छन् । जव पावन अर्थ बोकेको शव्दलाई जथाभावी प्रयोग गरिन्छ, त्यसपछि शव्दले आफ्नो अर्थगत स्वत्व गुमाउछ र त्यो शव्दले बोकेको सामाजिक र नैतिक मूल्य पनि ह्रास भएर जान्छ । यतिमात्र हैन, विदेशी शव्दको बढ्दो प्रयोगले नेपाली शव्दहरूको अस्तित्वमा आएको सङ्कटप्रति पनि कविको सांस्कृतिक अहम् बोलेको छ ।

प्रोल्लास सिन्धुलीय
अर्को कविता ‘मेरी छोरी धेरैको सराप खाएर जन्मेकी छे’ मा कूलदेवतालई थर्काउने उनको नास्तिक अहम् प्रकट भएको छ । हाम्रो समाजसँग पितृसत्तात्मक अहङ्कार छ । पुरुषहरू मात्र हैन कैयौँ महिलाहरू पनि सोचले पितृसत्तात्मक छन् । पितृसत्तात्मक अहङ्कारलाई ठेस लाग्ने गरी लेखिएको यो कविताले स्त्री अहम्लाई अग्ल्याएको छ । उनी लेख्छन्—
सायद म पनि
तिनै अभागी बाबु मध्येको एक थिएँ
जसलाई छोरी जन्मेकोमा
बधाइ कम
समवेदना ज्यादा प्राप्त भइरहेको थियो ।
कवि ठाकुर बेल्बासे ‘त्रासमा ईश्वर’ शीर्षकको कवितामा हतियारधारी शासक र हतियारकै अतित बोकेका ईश्वरबीचको अहम्लाई प्रस्तुत गर्दछन् । शासकहरू विनाशकारी हतियार बनाएर त्रासको सृजना गरिरहेका छन् । जन साधारणको प्रतिनिधिको रुपमा बकन्ते त्रासबाट मुक्तिको लागि भगवानसँग प्रार्थना गर्दछ, तर अनपेक्षित रुपमा भगवान नै हतियार जोहो गरेर सुरक्षित हुन सल्लाह दिन्छन् भन्ने नाटकीय ढाँचामा बेल्बासेले युद्धको अहङ्कार बोकेको बर्तमान र इतिहास दुवैलाई चित्रित गरेका छन् ।

ठाकुर बेल्बासे
बेल्बासेको कवितात्मक कथानकमा टाउको चोरिएको भगवानको निरिह मूर्ति आफैँ असुरक्षित भएपछि आफ्नो भक्तलाई हतियार चलाउन सुझाव दिन्छन् । यो विसङ्गत अवस्थाको परिकल्पना गर्दै बेल्बासेले झगडालु शासकीय र ईश्वरीय अहङ्कारको चित्रण गरेका छन् । उनी भन्छन्—
संसारभरका राज्यबाट
लखेटिएको म
बिचारमग्न छु
बाँच्नका लागि
सर्वशक्तिमान आधुनिक हतियार चाहिन्छ
या आदिम ईश्वरको आस्था ।
यसरी नै अर्को कविता ‘जीवन पहाड’मा मान्छेको जीवनलाई पहाडको रुपमा आरोपित गर्दै कवि मान्छेको जिन्दगी किन हरदम चोइटिरहन्छ भनेर प्रश्न गर्दछन् । मानव जीवन चोइटिनुको कारण कविले नखोतले पनि आजको दुनियाँमा शासकीय अहम्का कारण जीवन र जगत बिखण्डित छ । तिमी र म भन्ने दुई विपर्यासयुक्त पात्रको चयन गरेर ठाकुरले ‘प्रिय मान्छे’ कवितामा दुःखैदुःखमा पनि सुखानुभूति गरेर बाँच्न सक्ने र सुखैसुखमा पनि दुःखानुभूति गरिरहने पात्रको दृष्य खिचेका छन् । अझ अर्को शव्दमा भन्दा उनले दुःखमा पनि सुख महसुस गर्न सक्ने सकारात्मक अहम् भएको पात्र र सुखमा पनि सधैँ अपूर्णताको नकारात्मक अहम् बोक्ने पात्र बीचको रमाइलो भिन्नता अङ्कित गरेका छन् ।
झट्ट पढ्दा विलियम सेक्सपियरको “मेरी मायालुको आँखा कदाचित सूर्यजस्ता छैनन्” भन्ने सनेट (चतुष्पदीय कविता) को झल्को दिने फूलमान बलको कविता ‘मेरी प्रेमिका’मा कविले आफ्नी प्रेमिकामा आत्मिक शान्ति दिन सक्ने शक्ति भए पनि उनी सांसारिक जीवनको अर्को नकारात्मक संवेग रीस भएकी प्राणी हुन् भनेका छन् । रीस अहम्कै एक खाले अभिव्यक्ति हुन सक्छ । उनीभित्र प्रेम र ममताजस्ता सकारात्मक संवेग मात्र हैन रीस जस्तो नकारात्मक ऊर्जा र दैहिक प्यासजस्तो प्राणीजन्य विशेषता पनि छ ।

फूलमान बल
कविको पुरुष अहम्ले उनका सवै सकारात्मक तथा नकारात्मक संवेग र ऊर्जालाई स्वीकार्दै जीवनको गीत गाएको छ । मानव मनका यी सवै खाले ऊर्जाले नै जीवनलाई सङ्गीतमय र महङ्गो बनाएको छ । सामथ्र्य मात्र हैन, सीमिततालाई पनि स्वीकारेर आफ्नो प्रेमिल अहम्लाई कविले उजागर गरेका छन् । उनी लेख्छन्—
उठ्न त उसलाई पनि उठ्छ रीस
मैले उसका आँखामा आगोको लप्का भेटेको छु
उसले मुठी बटार्दा
आगो, पानी, माटो, हावा
र आकाश हल्लिएको देखेको छु
तर उसको आँखामा आगो जत्तिकै
पानीको समुन्द्री प्यास पनि छचल्किन्छ ।
फूलमानको अर्को कविता ‘भ्यालेन्टाइन डेको जून’ पनि एउटा प्रेम कविता हो । तर यसमा हामीले अहम्को आयाम पहिल्याउनु छ । यसका निम्ति हामी एक पटक सरुभक्तको उपन्यास पागल बस्ती भित्र छिरौँ । उपन्यासमा आदिगुरु प्रशान्तले बिन्दु नामकी कुकुर्नीले गाईको बाच्छोलाई दुध चुसाएको घटनालाई बिजातीय मातृप्रेम नभनेर “मातृअहम्को सृजनात्मक महाजागरण” भनेको छ (२१४) । फूलमानमानको कवितामा धारिलो नाक र बाक्लो जुङ्गा भएको केटाले भ्यालेन्टाइन डेको दिन प्रेम र यौन दुवै दिएकी तामाङ केटीले आफू गर्भवती भएको कुरा गरेर आफू भित्रको मातृअहम् यसरी व्यक्त गरेको पाइन्छ—
र, भ्यालेन्टाइन डेको जून
विस्तारै विस्तारै पूर्ण हुदैछ
मेरो पेटमा ।
‘दुस्मन शहरमा दोस्रो जुनी’ शीर्षकको कवितामा फूलमानले जातकै आधारमा पूर्व राज्यसत्ताहरूद्वारा तामाङ समुदायमाथि अभ्यास भएका अवहेलनापूर्ण व्यवहारहरूको सूची नै तयार हुने गरी हरफहरूको निर्माण गरेका छन् । अहम्वादको सैद्धान्तिक दुरबिनले हेर्दा राज्यसत्ताहरूको विभेदकारी अहम्बिरुद्ध एउटा पत्रकारको ‘पोएटिक पर्सोना’ प्रयोग गरी आफ्नो समुदायको अहम्रहित अहम् कविले प्रयोग गरेका छन् । इतिहासमा अन्याय र विभेदभित्र हराएको तामाङ समुदायको जातीय अहम फूलमानमार्पmत् भूतपूर्व सत्ताहरूको अहम्सँग टकराव गरिरहेको छ । अतितमा तामाङहरूलाई सैनिक सेवामा प्रवेश निषेध थियो । उनीहरू पिपा मात्र हुन पाउँथे । पिपाको रुपमा अनगिन्ती जोखिमपूर्ण काम गर्न उनीहरू बाध्य थिए । कविले आफूलाई अघिल्लो जुनीको अपहेलित पिपा र यो जुनीको पत्रकारको रुपमा प्रस्तुत गरेका छन् । यस सन्दर्भमा फूलमान बलको यो कविताभित्र अग्रज कवि भूपाल राईको कविता ‘पिपा पल्टनको हिसावले कहीँ कतै पितृविम्बको रुपमा काम गरेको हुनसक्छ ।
वामपन्थी स्कुलिङबाट उठेका कवि लेखकहरू अक्सर साहित्यमा विचारको महत्वलाई बढावा दिन्छन् । उनीहरूको निम्ति विचार भनेको मुख्यतयाः माक्र्सवादी दिग्दर्शन नै हो । अर्को शव्दमा भन्दा परिवर्तनकामी सोच नै उनीहरूका लागि विचार हो । यसै सिलसिलामा सरिता तिवारीको कविता ‘विचारदंश’मा कविले आफूलाई पृथक रुपमा प्रस्तुत गर्न आफूसँग जीवनको अभेद्य पक्षको रुपमा विचार भएको तर्क गर्दै विचारको अहम् बोकेको पाइन्छ । यो कुनै नकारात्मक कुरो होइन ।

सरिता तिवारी
विचारको सृजनात्मक अहम् हो । सरुभक्तको भनाइमा व्यक्तिले आफूलाई केन्द्रमा राख्छ । आफ्नै अहम्को परिपोषण गर्छ भने झैँ सरिता पनि आफू विचारबाट बिल्कुलै विमुख हुन नसक्ने धारणा राख्दै भन्छिन्—
पूजाकोठामा, धारोमा अथवा लुगा सुकाइरहँदा छतमा
बसमा, कक्षाकोठामा, भीडमा वा एकांकीमा
जहीँकहीँ छायाँजस्तै
मसँगै हुन्छ विचार ।
सरिताको अर्को कविता ‘जराहरूमा’ले इतिहास, प्रादुर्भाव, मूल र जगको महत्वलाई उजागर गर्दै यसो भनेको छ—
कदाचित्
बिर्सिए भने जीवनका हाँगाहरूले जराको गुन
कुनै दिन
अवमूल्यन गरे भने जीवनका फूलहरूले जराको महिमा
रहने छैन जीवनको कुनै पनि मूल्य ।
जराको परमार्थी र सृजनशील अहम् सरिताको सृजनशील अहम्सँग एकाकार भएर कवितामा अगाडि बढेको छ । उनको ‘सुहागरात’ शीर्षकको कवितामा नारी अहम् र पुरुष अहम्को द्वन्द्वात्मक सम्वादबाट मनाइएको सुहागरातको मीठो सम्झना पोखिएको छ ।
अहम्केन्द्रित मानवतावादको दर्शन अन्तर्गत सरुभक्त भन्दछन्, “मानवीय ज्ञानका सत्यान्वेषी प्रचेष्टाहरूमा द्वन्द्वात्मकताको प्रयोग विश्लेषण दृष्टिका रुपमा प्राचीन समयदेखि नै प्रयुक्त रहेको छ…मानवीय ‘अहम्’ चेतनाको समग्र इतिहास ‘अहम्’को द्वन्द्वात्मक इतिहास नै हो” (थ÷द, इतिहासभित्रको…) । यो भनाइलाई आधार मान्दा केन्द्रमा रहेको पितृसत्ता र सीमान्तमा रहेको मातृसत्ताका बीचमा लैङ्गिक चेतनाद्वारा अहम्को घर्षण हुन्छ । कवि सरस्वती प्रतिक्षाको कविता ‘प्रतिपक्षको मान्छे’ले पितृसत्तात्मक अहम्सँग मातृ अहम्को द्वन्द्वलाई काव्यिकृत गरेको छ । उनले पितृसत्तालाई सत्तापक्ष र आफ्नो प्रतिवादी नारी अहम्लाई प्रतिपक्ष मानेकी छिन् । यो कवितामा सरस्वतीको जुझारु नारी अहम् झङ्कृत भएको छ । लैङ्गिक समानताको लडाइँलाई यो कविताले बुलन्द रुपमा प्रस्तुत गरेको पाइन्छ । नेपाली समाजको पछिल्लो कालखण्डमा जनजिविकाको लागि मान्छेहरू तातो मरुभूमिमा गएको सन्दर्भमा सरस्वतीले देश फर्किएर आएको माटोप्रेमी बकन्तेमार्पत् राष्ट्रियताको सृजनशील अहम्लाई व्यक्त गरेकी छिन् ।

सरस्वती प्रतिक्षा
सरस्वतीको अर्को कविता ‘मान्छे हुनुको अर्थमा’ले मानव जीवनको अहम् व्यक्त गरेको छ । सरुभक्तले सिंगो मानवता नै अहम्युक्त हने टिप्पणी गरेका छन् । पागलबस्ती उपन्यासमा उनको मुखपात्र आदिगुरु प्रशान्त भन्दछ, “…जीवन अहम्युक्त हुन्छ, अहम्मुक्त हुन सक्दैन । बुद्ध मेरो दृष्टिमा अहम्युक्त पुरुष हो, महाबीर र यिसु अहम्वादी व्यक्तित्व हुन् । सिजर, अलेक्जेण्डर, नेपोलियन र हिटलर अहमयुक्त पुरुष हुन्… सम्पूर्ण मानवीय भावनाहरू र विचारहरू अहम्केन्द्रित हुन्छन्” (५८÷५९) । सरस्वतीको कविताले ईश्वर हुनुको निस्सारता, गतिहीनता र ढुङ्गामा कुँदिएर बाँच्नुको निर्जीवतालाई खिसी गर्दै मानव हुनुको अहम्–अभिमानलाई बिस्तारित गरेको छ । उनी लेख्छिन्—
आत्महत्या
कि त कायरहरूले गर्छन्
कि त एउटै ढुङ्गामा कुँजिन मन पराउने
देवताहरूले
मलाई त ज्युनु छ
मान्छे हुनुको
अन्तिम सत्यसँगै जिउनु छ
पुरापुर जिउनु छ ।
श्रद्धेय पाठक ! तपाइँ धैर्यतापूर्वक केही समकालीन नेपाली कविहरूका कवितामा अहम् सरुभक्तको भाषामा इगोट्रोन कसरी बहुआयामिक रुपमा निर्वाह भइ आएको छ भनेर हामीले गरेको समालोचनात्मक अन्वेषणलाई पढेर साथ दिइरहनु भएको छ । नेपाली साहित्यमा समालोचनालाई सृजनाको अधीनस्थ शुष्क, प्राविधिक, पाण्डित्यपूर्ण र महत्वको हिसावले अप्राथमिक मान्ने परम्परागत मनोरोग छ । समालोचना आफैँमा सृजनशील पठन हो भनेर चक्रव्यूह सञ्चेतनाले भनेको छ । हामीले अभ्यास गरिरहेको समालोचना शैलीमा भावना, विचार, बौद्धिकता र यी तीनै पक्षलाई नियन्त्रण र संयोजन गर्न सक्ने बौद्धिक ल्याकत हुनुपर्छ भन्ने हाम्रो अटुट मान्यता छ । अतः समालोचना आफैँमा सृजना हो । रचना हो । “विभिन्न समालोचकीय पाठशालाहरूको विकास र विस्तारले मात्र काव्यहरूमाथि न्याय गर्न सकिन्छ” (१८०, ऐकिक…) भनेर चक्रव्यूह सञ्चेतनाको घोषणापत्रमा भनिएको छ । यसै अनुसार हामी यो लेखमा अहम्वादको समालोचकीय एकाइ प्रयोग गरिरहेका छौँ । स्मरणीय छ, सरुभक्तको अहम्केन्द्रित मानवतावादी दर्शनलाई हामी आफैँले समालोचकीय नमूनाको रुपमा विकास गरेका हौँ । वि.सं. २०६५ सालतिर यही नमूना प्रयोग गरेर सरुभक्तकै उपन्यास पागलबस्तीको हामीले विश्लेषण गरेका थियौँ ।
अव हामी स्वप्निल स्मृतिका कविताहरूमा प्रवेश गर्दैछौँ । उनको ‘युद्ध सुरु…विश्वको तेस्रो युद्ध सुरु’ कवितामा मिसाइल र क्षेप्यास्त्रको प्रयोग गर्ने युद्धकारी अहङ्कार बिरुद्ध शान्तिकामी सृजनशील अहम् प्रस्ताव गरिएको छ । कविताको बकन्ते लिम्बुहरूको पर्व धाननाचको मोर्चामा छ । ऊ आफैलाई अन्तिम बन्दुकधारी घोषणा गर्छ र विवाह, मृत्युजस्ता सांस्कृतिक अवसरहरूमा मात्र बन्दुक पड्काउने घोषणा गर्छ । मान्छे बिरुद्ध पड्किने बन्दुकलाई सङ्ग्रहालयमा कैद गर्ने निर्णय गर्छ । पश्चिमेत्तर अध्ययनशास्त्रका केही विद्वानहरूको भनाइमा पश्चिमेत्तर दुनियाँ (Non-Western World) मा जीवनलाई धानिरहनुपर्छ भन्ने थुप्रै सभ्यताहरू छन् जसको अवलम्वन अवका विश्व सभ्यताले गर्नुपर्दछ किनभने पाश्चात्य सभ्यताले ल्याएको उत्तरआधुनिकताको दर्शन धेरै हदसम्म मानवताविरोधी छ । स्वप्निलको यो कविताको बकन्तेले स्वचालित बन्दुक खोसेर धाननाचको सांस्कृतिक मोर्चाबाट बन्दुक नबोकेको बैकल्पिक बहादुरीको अहम् प्रस्तुत गर्दछ ।

स्वप्निल स्मृति
यसैगरी ‘गुफा र माकुरा’ कवितामा सुरुङ र राजामाकुराको विम्बलाई आख्यानात्मक शैलीमा बुन्दै राजनैतिक नेतृत्वमा हुदै आएको मूल्य ह्रासको पुनराबृत्त श्रृङ्खलालाई प्रस्तुत गरिएको छ । हाम्रो समयमा एउटा आम नागरिकको राजनीतिमाथिको बिरक्तिपूर्ण अहम्लाई कविताले देखाएको छ । स्वप्निलको ‘ओ मेरो प्रिय युद्ध’ कविताले युद्धको अहम् र शान्तिको अहम्लाई प्रतिद्वन्दीको रुपमा उतारेको छ । कविताको बकन्तेले आपूm युद्धको अध्यायबाट अव शान्तिको अध्यायमा प्रवेश गरेको घोषणा गर्दछ । युद्धको साङ्घातिक अहम् र बुद्धको शान्तिकामी अहम् एकअर्काका विपरितार्थक छन् । युद्धसँग आफ्नो साँठगाँठ र सम्वन्ध टुङ्गिएको अहम्पूर्ण घोषणा कवितामा पाइन्छ तर यो अहम्रहित अहम् हो । तलको उदाहरण हरौँ—
ए युद्ध ।
मेरो साथी ।
यहीँबाट छुट्टिन्छ अब हाम्रो बाटो ।
कवि केशव सिग्देलका कविताहरूको विश्लेषण गर्नु पूर्व केही बैचारिक बहस गरौँ । सिद्धान्तकार सरुभक्तले ऐतिहासिक अहम्वादको पवृत्तिगत अध्ययन गर्ने सिलसिलामाा मानव जातिको समग्र इतिहास तीन मूलभत प्रवृत्तिद्वारा परिलक्षित हुने कुरो उल्लेख गरेका छन् । ती हुन् – प्रभुत्व अहम्, सहिष्णु अहम् र सृजनात्मक अहम् । यसको व्याख्या उनले यसरी गरेका छन्, “मानव सभ्यता निर्माण प्रकृयामा त्यस प्रकारका अहम् समूहलाई प्रभु अहम् भनिएको हो जसले कुनै सापेक्ष समाजमा शक्ति उपासक प्रणाली अनुरुप प्रभुत्व स्थापित गर्न चाहन्छ । सापेक्ष समाजमा प्रभु अहम्द्वारा उपेक्षित र दमित अहम् समुदाय विद्यमान हुन्छ जसलाई सहिष्णु अहम् नामाङ्कृत गरिएको हो । तेस्रो प्रकारको अहम् समुदाय जसले यान्त्रिक प्रकृतिको विरोधमा र आंशिक सहयोगमा सृजनशील अन्तरदृष्टिको विकास गरी अस्तित्वगत हुने गर्दछ” (छ, इतिहासभित्रको…) ।

केशव सिग्देल
यो सैद्धान्तिक प्रारुपबाट निर्देशित भएर हामी यतिबेला कवि केशव सिग्देलका कविताहरू हेर्दैछौँ । यस प्रयोजनका लागि हामीले उनका तीन वटा कविताहरू लिएका छौँ । सरुभक्तले तय गरेको अहम्को त्रयसत्ताको सापेक्षमा भन्नुपर्दा पर्यावरणविरोधी मानवीय प्रवृत्ति प्रभुत्व अहम् हो । मान्छेको विध्वङ्सकारी चर्तिकला देखेर चुपचाप सही बस्ने प्रकृति÷पर्यावरण सहिष्णु अहम् हो । यसै गरी अतिक्रमणकारी मान्छेको प्रभुत्व अहम् र प्रकृतिको सहिष्णु अहम् दुवैको लेखाजोखा गरेर मान्छे र प्रकृतिबीच समधुर सम्वन्ध रहोस् भनी मान्छेलाई पर्यावरणमैत्री बन्न सल्लाह दिने कविको अहम् सृजनात्मक अहम् हो ।
कवि सिग्देलको ‘एक साँझ’ कवितामा बुर्कुसी मार्दै आउने पाठो, धुलो उडाउदै फर्किरहेका गाई आदि ग्रामीण विम्बहरूको रचनासँगै वातावरण नै बिथोल्ने बिध्वङ्स चित्रित भएको छ । मानवीय अहङ्कारले बकन्तेका बाको चोला उडाइदिएको छ । यो कवितामा आतङ्क बोकेर आएको एक बिभत्स हत्यारा साँझको विवरण छ । जे होस्, मान्छेकै अहङ्कारको कथा यो कविताले बोकेको छ । ‘चराहरूको बिदाइपछि’ कवितामा पग्लिएका उराठलाग्दा हिमालहरू र मान्छेको अन्यायोचित हस्तक्षेपले रुख, गाउँ र आकास छोडेर भागेका मालचरीहरूको विस्थापनको कथा छ । उनी लेख्छन्—
चराहरू अहिले
गाउँको सिमानामा पुगेर
पर पर हेरिरहेछन्
उड्नलाई हो या छोड्नलाई यो गाउँ
हेर्दाहेर्दै
उनीहरू बसेको रुखको डाली हल्लिन्छ
त्यतिन्जेल, पखेँटा फट्फटाउँदै
मालचरीहरू गइसक्छन् ।
यो विश्लेषणमा लिइएको तेस्रो कविता ‘नदी’मा प्रकृतिको गीत छ । कविको सृजनात्मक अहम्ले मानव अहङ्कारले मैल्याउन नपाएको नदीमार्पmत प्रकृति र पर्यावरणको गीत सुललित भाषामा गाएको पाइन्छ । सदावहार नदीका सार्वभौम विम्बलाई दार्शनिक शैलीको भाषास्वरुपमा कविले उभ्याएका छन् । पर्यावरणमैत्री हुन नसकेको मान्छेको चर्चा नगरी कविले यहाँ मात्र नदीको सृजनशील बहावलाई अथ्र्याएका छन् । एक उदाहरण हेरौँ—
जीवनको चित्र बनाउने कुचीजस्तो
पृथ्वीलाई क्यानभास बनाएर दौडिरहन्छ नदी
हिमालको उचाइ र समुन्द्रको गहिराइबीच सेतु भएर
सिङ्गै जीवन बगिरहेको हुन्छ नदी ।
बिग्रदो पर्यावरण तथा चराचुरुङ्गी, जीव र वनस्पतिमाथि मान्छेको तर्पmबाट भइरहेको अहङ्कारपूर्ण बिध्वङ्सात्मक हस्तक्षेपप्रति गम्भीर चिन्ता बोकेका कवि सिदेलका कविताले प्रकृतिभित्रै निरोधात्मक उपाय देखेको पाइन्छ । तसर्थ उनी नदीको गीत गाउँछन् ।
यो लेखका निम्ति लिइएका कविहरूमध्ये अन्तिम कवि रावतको कविता ‘जवाफदेही’मा जनजीविका प्रत्याभूतिको आग्रहसहित श्रमजीवी अहम्को गीत गाइएको छ । सरुभक्तको अहम्वादी व्याख्यामा “अर्थ (सम्पती) मानव जातिको आविष्कार भएको हुनाले मानवीय चेतनामा अर्थ द्वन्द्व हुन्छ तर अर्थ बाहेक मानवीय द्वन्द्वका अन्य प्रचुर भूमि हुन्छन्” (ध, इतिहासभित्रको…) । सरुभक्तले माक्र्सवादीहरूले भन्ने गरेकको आर्थिक द्वन्द्वको सिद्धान्तलाई स्वीकार गरेको पाइन्छ ।

रावत
रावतको कविता ‘जवाफदेही’मा राष्ट्रिय अहम्को निम्ति गरिव नेपाली निम्न वर्गीय किसानसँग भग्नावशेषमात्र बाँकी रहेको झुत्रो टोपी छ । त्यो टोपी यदि उसले आर्थिक अभावको नाउँमा त्यागिदियो भने टोपीयुक्त राष्ट्रियताको हैसियत के होला भन्ने एउटा अनुत्तरित सबाल्टर्न प्रश्न रावतले विद्यमान आर्थिक तथा राजनैतिक प्रणालीका सञ्चालकलाई सोधेका छन् । उनको यो प्रश्नमा वर्गीय अहम् छ । यो कविताले यो राष्ट्रका धुकधुकीजस्ता टोपी, झण्डा र गुराँसको पहरेदारी गर्ने श्रमजीवी जनताको सङ्कटपूर्ण आर्थिक अस्तित्वको अहम्लाई सरल तर शक्तिसम्पन्न मौलिक पदावलीमार्पmत प्रकट गरेको छ । एक उदाहरण हेरौँ—
अभिमानको नाममा
मसँग बाँकी—
एउटा झुत्रे टोपी छ
जसलाई तुन्दातुन्दा मेरो शिरमा
टोपी हैन धागोमात्र बेरिएको छ
यदि अभावको नाउँमा मैले
टोपी त्यागिदिएँ भने के हुन्छ ?
जवाफ दिनुपर्नेछ—
टोपी पहियाइदिनेले ।
गरिबीको समाधान नहुने हो भने राष्ट्रियताको धरोहर किञ्चित सुरक्षित नहुने अहम्पूर्ण श्रमजीवी अभिव्यक्ति यो कवितामा अभिव्यञ्जित छ ।
‘राजधानी मास्तिरको राजधानी’ कवितामा रावतले परम्परागत तामाङ बस्तीमा पाइने प्रेमको मौलिक नमूनासहित आदिवासी जनजातीहरूको सांस्कृतिक अहम्लाई प्रकट गरेका छन् । माथि बारम्बार दोहो¥याएर भने जस्तै यो अहम् नकारात्मक, परपीडक र विध्वङ्सात्मक कदापी होइन । चेतना र समृद्धिको मिर्मिरेसम्म पनि आइनसकेको आदिवासी तामाङ बस्ती र राजधानी काठमाडौँ बीचको विपर्यासलाई कविताले बुनेको छ । इतिहासमा तामाङ समुदायमाथि बिगतका राज्यव्यवस्थाहरूबाट भएको अवहेलना र बहिष्करणको विषयलाई पनि कविताले उठाएको छ । एक उदाहरण तल छ—
ओई, डोल्मा !
अझ यो काफलको रुखमा चढेर हेर् त !
तेरो ढुङ्ग्रीजत्रै देखिन्छ— ऊ…त्यो राजधानी
जसको सुरक्षार्थ खटिएझैँ
वरिपरि डाँडामा उभिएका हामीहरू
चौकीदार सिवाय केही देखिएनौँ त्यहाँबाट
भरिया सिवाय केही देखिएनौँ त्यहाँबाट
दास सिवाय केही देखिएनौँ त्यहाँबाट ।
वर्तमान नेपाली समाजको सृजनशील जनजातीय अहम्लाई यो कविताले प्रेम, पहिचान र संस्कृतिसँग जोडेर ग्रामीण लयमा प्रष्फुटन दिएको छ । यसलाई राज्यव्यवस्थाले व्यवस्थापन गर्नुपर्छ । अहम्हरूको सकारात्मक र सृजनशील प्रवाहीकरण हुन सकेन भने गन्तव्य नकारात्मक र विध्वङ्सात्मक हुन सक्छ ।
प्रिय पाठक ! यसरी हामीले अर्थ महोत्सवमा विश्वास गर्दै अहम्÷इगोट्रोनको ऐकिक समालोचकीय नमूनाबाट १८ जना नेपाली कविका केही कविताहरूको सृजनशील पठन ग¥यौँ ।
यो एउटा सानो प्रयत्न हो । हामीलाई थाहा छ— यो एकाइको प्रयोगबाट मात्र यी कविताहरूको अर्थ आविष्कार कदाचित् पुरा हुदैन । अर्थका अन्य अघोषित आयामहरू छोपिएका छन् । यद्यपी हामीले दुई वटा इमान्दार प्रयत्न गरेका छौँ । पहिलो पाठकृतिको सिद्धान्तपरक पठन र दोस्रो एक ऐकिक पद्दतिमार्पmत् विश्लेषणको अभ्यास । अन्तमा, चक्रव्यूह सञ्चेतनाको घोषणापत्रबाट यी वाक्यहरू सापटी लिएर भनौँ, “अर्थहरूको खोजी अभियान भाषिक चक्रव्यूहभित्रको फसाइ हो, जसबाट उम्केको भ्रम निशिचत अर्थमाथिको दावी हो” (१७५, ऐकिक…) ।
अर्थ महोत्सव जिन्दावाद !!!
Symantic Carnival – Jindabad!!!
सन्दर्भसूची
इमर्सन, राल्फ वाल्डो, “द पोएट” क्रिटिकल थिएरी सिन्स प्लेटो, सम्पा. हजार्ड एडम्स, फोर्टवर्थ : एचबिजेसी, १९९२ ।
सरुभक्त, इतिहासभित्रको इतिहास, पोखरा : प्रयोग समूह, २०४१ ।
पागल बस्ती, ललितपुर : साझा प्रकाशन, २०६० ।
हाचेकाली, सुरेश, ऐकिक चक्रव्यूह समालोचना, ललितपुर : साझा प्रकाशन, २०७४ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

