पछिल्लो समय नेपाली लघुकथा लेखनको क्षेत्रमा बाढी नै आइरहेको छ । साहित्यको कुनै एक विधामा बाढी आउनुलाई केही सरोकारवालाले राम्रो र केही सरोकारवालाले नराम्रो सोच्ने परिपाटी हाम्रो समाजमा सदासर्वदा चलिरहेको छ, चलिरहन्छ । तटस्थ भएर सोच्दा बाढीले अनेक कुराहरू ल्याउँछन् राम्रा अनि नराम्रा । नेपाली लघुकथाको क्षेत्रमा आएको यो बाढीमा पछिल्लो समयमा तैरिंदै नेपाली साहित्यको फाँटमा उदाएका एक प्रतिभाशाली स्रष्टा हुन् मनीषकुमार शर्मा समित ।

मनीषकुमार शर्मा समित कोरोनाको बन्द समयबाट नेपाली लघुकथामा प्रवेश गरेका हुन् । लेख्दै सिक्दै र सिक्दै लेख्दै आएका मनीषकुमारले यो छोटो समयमा नै लघुकथाको दुई कृति प्रकाशनमा ल्याएका छन् । पछिल्लो समय लघुकथाको सिद्धान्तमा बहस गर्न पनि मनीषकुमार शर्मा समित अग्रसर छन् । उनी नेपाली लघुकथाको राम्रा समीक्षक पनि हुन् ।

यतिखेर मेरो हातमा लघुकथाकार मनीषकुमार शर्मा समितको ‘हराएको सहर’ लघुकथाकृति छ र आजको दीपक दृष्टि यही कृतिमा लेख्ने अनुमति चाहन्छु ।

‘हराएको सहर’ हालको स्मार्ट साइजमा चौरान्नब्बे पृष्ठमा फैलिएको छ । सहरमा एक बाजले मज्जाले स्थान जमाएको आवरणमा यो लघुकृति सजिएको छ । कृतिलाई कथाकारको ममतामयी आमा आशा शर्माले वि.सं. २०७९ सालमा  प्रकाशनमा ल्याएका हुन् । संग्रहमा ८६ वटा लघुकथा संग्रहित गरिएको पाइन्छ ।

यस लघुकथामा लेखकले नेपाली लघुकथाको माध्यमबाट समसामयिक नेपाली समाजको यथार्थ चित्र उतार्ने प्रयत्न गरेका छन् र उनी यस कार्यमा आशातीत सफल पनि बनेका छन् । मनीषकुमारले आफ्ना लघुकथाहरूमा असल चिन्तन, मानवीय आदर्श र नेपाली समाजको रूपान्तरणको प्रयास पनि गरेका छन् । पाठकलाई शब्दजालमा मात्र नअल्झाई सफा र प्रस्ट चेतना फैलाउने कार्य पनि मनीषले आफ्ना लघुकथाहरूबाट गरेका छन् । वास्तवमा लघुकथाकार समित जीवनवादी र जिजीविषा उन्मुख लघुकथाकार हुन् । यस पुस्तकमा मनीषका विविध आयाम र भित्री उद्देश्यहरू प्रस्ट देखिन्छ ।

साँचोमा मनीषकुमार शर्मा समित आफ्नो आमाको खाँटी भक्त हुन् । नेपाली समाजले वृद्धा मानेको उमेर छोएकी मनीषकी आमा आशा शर्मालाई समितले गरेको भक्तिभाव र संवेदनाको गहिरो सम्बन्धबाटै अनुमान लगाउन सकिन्छ कि ‘हराएको सहर’ पढिरहँदा लघुकथाकारले आफ्ना लघुकथाहरूमा व्यक्त गरेका ज्येष्ठ नागरिकहरू प्रतिको सम्मान र कहींकतै उनीहरूप्रति गरिएको संवेदनाका स्वरहरू वास्तवमा मन, भावना र कर्मको उपज नै हो । यस संग्रहमा  ज्येष्ठ नागरिकप्रति समर्पित केही लघुकथाहरू छन्, जुन लघुकथाहरूले हाम्रो समाजको वास्तविक चित्रण गरेका छन् । उदाहरणको लागि काश्मीरी सल, हराएको सहर, समय चक्र, अंशबन्डा, अन्तिम इच्छा, मृत्युमा लुकेको सुख, उधारो कात्रो आधि छन् ।

अझ उधारो कात्रो लघुकथाले त यति मानवीय र संवेदनशील कथा उनेको छ कि हर संवेदनशील पाठकहरूलाई यो लघुकथाले पढ्दा पढ्दै रुवाइदिन सक्छ । मनीषकुमारले भावना र यथार्थको अन्तिम चरणमा पुगेर उधारो कात्रो लघुकथा लेखेका छन् । मलाई लाग्छ नेपाली लघुकथाहरूमा यो कथा एक प्रतिनिधि लघुकथा हो । अधिकांश समालोचक र समीक्षकहरू नेपाली लघुकथाको व्याख्यामा सैद्धान्तिक कुराहरूको मात्र खोजी गरिरहेका हुन्छन् तर कथाभित्रको करुणा, संवेदना र सिद्धान्तलाई सँगसँगै खोजिने हो भने नेपाली लघुकथाले कथाकार मनीषकुमार समितको उघारो कात्रो लघुकथालाई छुटाउनु नै हुँदैन, सकिंदैन ।

संग्रहमा कथाकारले सामाजिक अन्तर्विरोधलाई ऐनाको रूपमा प्रस्तुत गरेका छन् । हाम्रो समाजका केही व्यक्तिहरू आफू जे होइन त्यही हुँ भनी बताउन खोजिरहेका छन् र तिनीहरु नै हाम्रो समाजमा स्थापित भएका देखिन्छन् । वास्तवमा समाज विकासमा यस प्रवृत्तिले कहीँ न कतै अवरोधको स्थिति सृजना गर्छ र गरिरहन्छ । यसै कुरालाई कथाकार मनीषकुमारको चस्माले औंल्यायो र यही कुरालाई उनको शब्दहरूले लघुकथाको सूत्रमा उन्यो । समितले आफ्ना लघुकथाहरूमा धर्म, शिक्षा, परिवार, व्यापार, बेथिति आदिलाई सामाजिक अन्तविरोधको कोणबाट सर्लक्क उनेका छन् । र मनीषकुमारको यो कोण लघुकथामा आफै स्तुत्य पनि बनेको छ । अन्तर्विरोधाभासको विषयमा कोरिएको मनीषकुमारका अब्बल कथाहरूमा बुख्याचा, वादविवाद, धर्म, भाले दाइको व्यथा, व्यस्त कली, एक्सचेन्ज अफर आदि पर्दछन् ।

राजनीति भनेको हरेक नीतिहरूभन्दा अब्बल मानिन्छ । यस नीतिले वास्तवमा जनतालाई नै जनार्दन सोच्दछ र भुइँमान्छेहरूको जीवन उकास्न अहोरात्र खटिरहन्छ । तर नेपालको परिवेशमा राजनीति नेताको कमाई खाने भाँडो र कार्यकर्ताहरू पोस्ने टालो बनेको छ । यही कुरालाई हरेक सर्जकहरूले आफ्नो सिर्जनाहरूमा प्रस्तुत गरेको पाइन्छ । शर्मा समितले राजनीतिको यो अन्तर्विरोधलाई आफ्ना लघुकथाहरूमा मज्जाले उतारेका छन् । उनीले शब्दको माध्यम र लघुकथाको बुनोटबाट नेताको गलत प्रवृत्तिलाई समाजको अगाडि नाङ्गेझार बनाएका छन् । राजनीतिक विषयमा कोरिएका मनीषकुमार शर्मा समितका उम्दा लघुकथाहरुको नाम लिंदा भ्रम, अनुत्तरित प्रश्न, चड्कन आदिलाई समेट्न सकिन्छ ।

मनीषकुमार शर्मा ‘समित’

हामीले जतिसुकै आदर्शका कुराहरू गरे पनि वास्तवमा हाम्रो साहित्यभित्र पनि अनेक बिसङ्गतिहरू छन् । सबैभन्दा ठूलो विसङ्गति त हामीभित्र रहेको बौद्धिक चोरी नै हो । यही बौद्धिक चोरीका कारण कतिपय राम्रा सर्जकहरु ओझेलमा र कतिपय टपरटुईंयाहरु रातारात चर्चामा छन् । बौद्धिक चोरीका अनेक रूप र ढर्राहरू छन् । चोरीका यी सबै रूपहरूको समूल नष्ट गर्नु हामी सबैको कर्तव्य हो । मनीषकुमार शर्मा समितले आफ्नो लघुकथा लेखनको माध्यमबाट बौद्धिक चोरीलाई गर्धनमै समाएका छन् र एक झड्कामा दुईलाई ठेगाना लगाइदिएका छन् । यस विषयमा मनीषले ‘बौद्धिक चोरी’ शीर्षकमा नै लेखेका छन् र यही लघुकथालाई साहित्यपोस्टका हाम्रो टिमले साप्ताहिक रूपमा सञ्चालन गरेको लघुकथा प्रतियोगिताबाट पुरस्कृत गरिएको पनि थियो । यो लघुकथा आफैमा बौद्धिक र मौलिक छ ।

सचेत स्रष्टाले आफ्ना सिर्जनाहरूमा कहीँ र कतै केही प्रयोग गरेको मलाई खुब मन पर्छ । कथाकार मनीषकुमार शर्मा समितले ‘हराएको सहर’ लघुकथासंग्रहमा रहेका केही लघुकथाहरूमा आफूलाई प्रयोगधर्मी लघुकथाकारको रूपमा उभ्याउने प्रयास पनि गरेका छन् । प्रयोगलाई सबैले रुचाउनै पर्छ भन्ने त छैन तर प्रयोगले पाठकको दिमाग हल्लाइदिन भने सहयोग गर्छ र एक फरक बहसको सुरुवात गर्छ । लघुकथामा प्रयोग गरेर मनीषले सबैलाई बहसमा होमेका छन् । यसको लागि कथाकारले अनुदान अनुगमन भन्ने लघुकथा प्रस्तुत गरेका छन् ।

कथ्यको माध्यमबाट मात्र नभएर कथाकार मनीषकुमार शर्मा समितका लघुकथाहरू बनोटका हिसाबले पनि उम्दा बन्ने मार्गमा हिंडेका छन् । छोटा र छरिता वाक्यहरू उनको लघुकथामा देखिएको सौन्दर्य हो । शब्द धेरै थुपारेर कथानकलाई तुर्नै नसेकेको विसम परिस्थिति पनि देखिरहेका छौ हामीले लघुकथामा । त्यसो त शब्द सीमाको हेक्का राख्दा राख्दै कथै नसकी कथाकार अलप भएका उदाहरणहरू पनि धेरै देखिन्छन् । कथाकार मनीषकुमारका लघुकथाहरू यस्तो रोगको सिकारबाट भने मुक्त छन् । मनीषका लघुकथाहरू हजुरआमाले जतन गरी नाङ्लोमा सुकाएका बिस्कुन झैं सुन्दर र महत्त्वपूर्ण छन् ।

लघुकथामा फरक अभ्यास गर्दै आएको विलोमले मनीषकुमार शर्मा समितको ‘हराएको सहर’ लघुकथासंग्रहमाथि ‘स्रष्टा र सृजना’को बहस कार्यक्रम पनि चलाएको थियो । कथाहरू राम्रा हुँदा हुँदै पनि पाठकहरूको विविध वर्गबाट पनि कथालाई पढिनु पर्ने हुँदो रहेछ । ‘काश्मीरी सल’मा महिलाहरूको आँखाबाट हेरिंदा महिलालाई हेपिएको भान पर्न गएको महसुस गरिएको छ । केही लघुकथाहरूमा बोलीचालीका सामान्य शब्दहरूको प्रयोग गरिंदा पनि कसैलाई चोट लाग्ने कुराको उल्लेख गरिएको छ ।

वास्तवमा मनीषकुमार शर्मा समित पछिल्लो समयमा नेपाली लघुकथाको क्षेत्रमा उदाएर लघुकथाकै क्षेत्रमा रमाएका एक सम्भावना बोकेका कथाकार हुन् । उनी स्रष्टा र द्रष्टा दुवै भएका कारण शर्माको लेखनमा क्रमिक सुधारका अनेक शृङ्खलाहरू देखिएका छन् । म त यत्ति मात्र भन्छु, मनीषकुमार शर्माका अबका लघुकथाहरूले समितका लघुकथाहरूलाई जितेर अझ अघि बढोस् ।

शुभकामना ।