सम्पादक: यम रेग्मी

वाग्मती प्रदेश संयोजक: जानुका गुरागाइँ

 

 

बलात्कारी पुत्र नदे !

उत्तम विचार भेटुवाल 

छन्द: शिखरिणी

गण:  य  म  न  स  भ  लघु  गुरु

विश्राम: छैठौँ र बाह्रौँ अक्षरमा

 

उत्तम विचार

बलात्कारी छोरा कटु हृदयका जन्मिनु किन

रुँदै आमा भन्छिन् सपुत नहुँदा जल्दछ तन

जथाभावी  गर्दै  पशुसरि  बनी  यौन  पथमा

हिँड्यो छाडा लागी बयल जसरी मत्त मदमा ।

कसैका छोरीको बलजफतमा हुर्मत लियो

नचिन्नाले आमा पतित नरको धर्म सकियो

भनी ऐया ऐया अतिशय खपी सुन्दछ कहाँ

बलात्कारी मोरो चरम मदमा मत्त छ  जहाँ ।

तिनै साथी भन्दै अघिपछि  हिँडी  सङ्गत गर्‍यो

बुबा आमा ठान्छन् सरम चुलिँदा इज्जत डर्‍यो

भयो  छोप्नै  गाह्रो  गुपचुप  कुरा  फैलिन  पुगे

बलात्कारी छोरा अब त भगवान्  भन्दछु  नदे ।

उता छोरी रुन्छन् कहर  भयमा  बित्दछ  दिन

यता आमाका छन् नजर रसिला  हेर्न  सकिनँ

खपी पीडा बाँच्ने थकित तनले अश्रु ननिलोस्

बलाकारीलाई भनसुन गरी  न्याय  निमिलोस् ।

चमत्कारी ठान्छन् अझ पनि तिनै कर्तुत गरी

तिनै  पुग्छन् माला वरपर  घुमी  गुथ्न पगरी

भुली देवी  आमा कपुत  नगरोस्  चीरहरण

बलात्कारीलाई अतिशय मिलोस् मृत्यु वरण ।

 लिखु-६, नुवाकोट

 

 

जिन्दगानी 

जानुका गुरागाईँ

छन्द:भुजङ्गप्रयात

गण: य   य  य  य

विश्राम: छैठौँ अक्षरमा

 

जानुका गुरागाईँ

कतै छल्न सक्ने बुख्याचाहरू छन्

कतै  मार्ग  द्रष्टा  र  साँचाहरू  छन्

कतै  घाम  चर्का  कतै   पर्छ  पानी

छ पट्यारलाग्दो   कहाँ  जिन्दगानी ।

कतै आलसी  छन्  कसेका पलेटी

कतै  ओठ  हुन्छन्  परेका  कलेटी

सही कष्ट  नौनी  दिँदै छन्  मदानी

छ पट्यारलाग्दो  कहाँ  जिन्दगानी ।

दुखेसा यहीँ छन् सुखेेसा यहीँ छन्

र आशा भरोसा  लुकेका यहीँ छन्

गरी  हिँड्न सक्दा निराशा चलानी

छ पट्यारलाग्दो  कहाँ  जिन्दगानी ।

बनाएर    बाँझै  स्वयम्   खेतबारी

कहाँ भर्न सक्छौँ खुसीका भकारी

सिँगारे  धरा यो  बनी  स्वाभिमानी

छ पट्यारलाग्दो  कहाँ  जिन्दगानी ।

हिमाली छटा  भन्दछन्  नित्य हेर

गरे   हुन्न   के   खै   सबैले  मिलेर

लिई साथ उठ्दा  सुनौलो बिहानी

छ पट्यारलाग्दो  कहाँ जिन्दगानी।

     झापा,   हाल-काठमाडौ 

 

 

 

समता

कविराज घिमिरे 

छन्द: मालिनी

गण:  न   न   म   य   य

विश्राम:  आठौँ अक्षरमा

 

कविराज घिमिरे

कलबल छल गर्दा हुन्छ नोक्सान मात्र

तर पनि किन हुन्छन् देशमा यी कुपात्र

जप गर समताको चल्छ उस्तै फटाइँ

खुरुखुरु ठगबाटै हुन्छ जाबो रजाइँ ।

घरघर जनताका दु:ख पीडा गएनन्

गरिबजन उनै छन् खान पुग्ने भएनन्

अकुत धन कसैको बाहिरै थुप्रिँदै छ

नजप न समता यो राष्ट्र नै कुप्रिँदै छ ।

मृतसरि हुन पुग्छन् कानुनी अङ्ग सारा

प्रतिदिन कति छुट्छन् घातकी ज्यानमारा

पसल छ घृत बेच्ने चल्छ व्यापार खोटो

अब बुझ समताको आयु बन्दै छ छोटो ।

दल दलबिच फाटो एकता स्वार्थ लागि

लुटुपुटु सब हुन्छन् द्रव्यमा लाग्छ भागी

ठगठग अझ मिल्छन् ठग्नलाई समस्त

कृपणजन हुनाले मित्रता हुन्छ ध्वस्त ।

अति असक भएका वृद्धवृद्धाहरूका

करुण मलिन आभा देखिए झन् बढेका

युवक र युवती छन् दूरका पारि देश

किनकिन समताको प्रेरणा नै चुकेछ  ।

              चाँगुनारायण न.पा ४, भक्तपुर 

 

 

कविता पगार्छिन्

गङ्गा आचार्य सापकोटा 

छन्द: उपेन्द्रव्रजा

गण: ज  त  ज  गु  गु

विश्राम: पाँचौ अक्षरमा

 

गङ्गा आचार्य सापकोटा

डुबेर आफ्नै मन भावनामा

डटेर लाग्दा तप साधनामा

सरस्वतीले पनि साथ दिन्छिन्

सलल्ल गङ्गा कविता पगार्छिन्।

 

तनावलाई सहजै भगाई

सहस्र ऊर्जा मनमा जगाई

हरेक बाधा अवरोध तोड्छिन्

सलल्ल गङ्गा कविता पगार्छिन्।

अपार माया दिलमा उमार्दै

सबै जनामा समभाव राख्दै

गरूँ सबैको सहयोग  भन्छिन्

सलल्ल गङ्गा कविता पगार्छिन्।

खटेर लाग्दै नित साधनामा

म रच्छु भन्छिन् नव शिल्प नाना

सदा सकारात्मक सोच राख्छिन्

सलल्ल गङ्गा कविता पगार्छिन्।

बुझेर अस्तित्व र सत्त्व के हो

मनुष्यको जीवन तत्त्व के हो

छ जान्नु सांसारिक तथ्य भन्छिन्

सलल्ल गङ्गा कविता पगार्छिन्।

                           बागलुङ, हालः काठमाडौं

 

 

समयचित्र 

शम्भु प्रसाद गजुरेल (कुनाघरे काहिंलो)

छन्द-अनुष्टुप

गण:चार पाउको पाँचौँ ह्रस्व र छैटौँ दीर्घ

पहिलो र तेस्रो पाउ – सातौँ दीर्घ

दोस्रो र चौथो पाउ- सातौँ ह्रस्व

 

 

उस्तै छ दिन वा रात प्रवाह जलको उहि

रविको तेज उस्तै छ उस्तै छ वायुको गति ।

पशुमा स्वार्थ थोरै छ  ईमानको भँडार छ

मान्छे हो लोभको थुप्रो जमानको ढँडार छ।

समाचार बिकेका छन् मदिरालय चोकमा

ल्याप्चेको नाममा टाङ्छन् सम्पादकीय ‘झोक’मा।

खेल धेरै हुने गर्छन्  वरीयता विभिन्न छ

खेलाडी मात्र फेरिन्छन् नतिजा लमतन्न छ।

सल्यक्रिया अचानोमा मधौरु प्राण माग्दछ

चक्कु बोकेर बस्नेले धोक्रामा नेट थाप्दछ।

कालो कोट टाँगेको  बुख्याँचा मर्म शून्य छ

रक्षा पीडकको गर्ने अन्धकासुर तुल्य छ ।

त्रिपिटक उचालेर वधशाला रमाउँछ

धर्मको गीत उराल्दै महिष नै कराउँछ।

तक्माको दान गर्नेले  तक्मा थाप्दछ हातले

छापिन्छ पाठ्य सामग्री आशको मन्द धापले।

बेचिन्छ मानको पट्टा बेचिन्छ जनको मन

अँगार बन्छ मोती नै गोजीमा चाहियो धन।

शिसी चुनावमा मात्दै लठ्ठ भएर ढल्दछ

विद्वता भोटले चुन्ने अनौठो खेल चल्दछ।

१०

गुम्बा आश्रम खोल्नेको कब्जामा जल जङ्गल

अनुयायी   उफारेर   गद्दीको   गर्छ   मंगल।

११

पाए व्यञ्जन फुर्किन्छ  नपाए बन्छ कर्कश

बाँधेर नेत्रमा टालो  बन्छ पथ प्रदर्शक ।

१२

देखेर चन्द्रमा दाग  छैन भन्न म सक्दिन

रातिमा सूर्य झुल्किन्छ  भन्ने भ्रम म पाल्दिन।

१३

बेलकोटगढी न.पा. वडा नं. ९, नुवाकोट 

 

 

 

वसन्त फूल र भृङ्ग

धरणीधर गुरागाईं

छन्द:- पञ्चचामर

गण- ज  र  ज   र  ज गु

विश्राम: आठौँ अक्षरमा

 

धरणीधर गुरागाईं

बसेर चुम्छ फूल त्यो नहुन्छ भूल भृङ्गको

बुझेर फूलले अहो!सहेर दिन्छ चुम्न पो

वसन्तमा रमाउँदै  उडेर पुग्छ बागमा

पुगेर पातमा बसी छ लट्ठ ऊ परागमा ।

सुवास छर्छ फूलले हरर्र हर्हराउँदै

वतास चल्छ सुस्तरी सुगन्धमा रमाउँदै

उडेर पुग्छ वासना जताततै छ फैलदै

सुँघेर भृङ्ग फूलमा त आउने रमाउँदै ।

डराउँदैन भृङ्ग ऊ  चुमेर चुम्म चुम्दछ

समीपमा पुगी पुगी घुमेर चुम्न बस्दछ

हुँदै हुँदैन फूलले भनेन हुन्न चुम्न ता

चुमेर बस्दछौ भने लु हुन्न जान है उता ।

विभिन्न रङ्ग रङ्गका गुलाब फुल्दछन् यहाँ

उडेर आउँछन् खुबै अनेक भृङ्ग झन् यहाँ

तिमी वसन्त आउँदा सदा बुझेर आउनू

निराश पार्न हुन्न है कुदेर झट्ट आउनू ।

   मेचीनगर नपा- ९ धुलाबारी, झापा

                            हाल: काठमाडौ 

 

 

 

हृदय रमायो

शान्ति सिग्देल

छन्दः कुसुमविचित्रा

गणः न  य  न  य

विश्रामः ६ अक्षरमा

 

शान्ति सिग्देल

सुललित गाए तरुलहराले

छमछम नाचे भिर पहराले

मुसुमुसु हाँस्दै नव दिन आयो

मधु कविताले हृदय रमायो ।

ढकमक राम्रा कुसुम फुलेर

चिरविर गर्दै विहग डुलेर

मधुर कलाले उपवन छायो

मधु कविताले हृदय रमायो ।

हिमगिरि हेरी किरण  छ झर्दै

मनुज खुसीले छ भ्रमण गर्दै

मन पुतलीझैँ  भुरुरु उडायो

मधु कविताले हृदय रमायो  ।

पलपल नौली प्रकृति पियारी

कवि मन हेर्छन् नयन उघारी

जनमन सारा मिलन गरायो

मधु कविताले हृदय रमायो  ।

प्रतिदिन बन्दा जलधि समान

तिमिर हराई झलल बिहान

कुसुमविचित्रा सलल बगायो

मधु कविताले हृदय रमायो  ।

 

सप्तरङ्गी छन्दमाला शृङ्खलाका संयोजकहरू

१. कोसी प्रदेश – माधव पोख्रेल

२. मधेश प्रदेश – सरू बस्नेत

३. वाग्मती प्रदेश – जानुका गुरागाईं

४. गण्डकी प्रदेश -रमा खतिवडा

५. लुम्बिनी प्रदेश -स्वर्ण शिखा

६. कर्णाली प्रदेश -जागेश्वर नेपाल

७. सुदूरपश्चिम प्रदेश-कपिलकिशोर घिमिरे

 

Chhandamalasahityapost@gmail.com

३२औं अङ्कमा गण्डकी प्रदेशका छन्द कविता  रहने छन् ।