
क्विन अफ क्राइमका नामले प्रख्यात अगाथा क्रिस्टीलाई के थाहा थियो भने पारिवारिक झगडा त्यो बेला अझ बढी रोचक हुन्छ जब कुनै हत्या षडयन्त्रमूलक तरिकाले गरिएको होस् । उनले लेखेको पहिलो उपन्यास द मिस्टिरियस अफेयर एट स्टाइल्समा पाठकले पारिवारिक कलहका कारणले भएको हत्याको एउटा रोचक कथा पढ्न पाउँछन् ।
सन् १९२० मा प्रकाशित यो उपन्यास एक जना धनी महिला एमिली इंग्लेथर्पको हत्या वरपर केन्द्रित छ । हत्या गरिएकी महिलाका दोस्रो पति उनीभन्दा २० वर्षले कान्छा छन् । पैसाका लागि उनले बिहे गरेका हुन्छन् । अब एमिलीका सारा खान्दान, साथीभाइ र नजिकका मान्छेका रूपमा परिचित एभलिन हार्वर्ड उनका ती कान्छो लोग्नेप्रति शङ्का गर्छन् ।
यो पुस्तकमा क्रिस्टीका प्रख्यात पात्रहरूमध्ये एक विचित्रकत्र जासुस हर्किली पायरोटसँग परिचय हुन पुग्छ र उनको प्रवेशसँगै पुस्तकमा कयौँ चकित पार्ने घटना घट्छन्, कयौँ संदिग्य व्यक्तिका बारेमा थाहा हुन्छ र आँखै अघिल्तिर लुकेका प्रमाण देखिन्छन् र अन्त्यमा छक्कै पार्ने ठूलो खुलासा हुन्छ । त्यसपछि वास्तविक अपराधी को हो भन्ने पत्ता लाग्छ ।
यो उपन्यासको अनौठोपन चाहिँ के छ भने यसलाई वास्तविक हत्याबाट प्रेरित उपन्यास मानिन्छ । यो भारतकै हिल स्टेसन मसुरीमा एक शताब्दी पहिले घटेको थियो ।
सन् १९११ को सेप्टेम्बरमा ४९ वर्षका फ्रान्सिस गार्नेट ओर्म मसुरीस्थित सेवाय होटलको एउटा कोठामा मृत फेला परिन् । यो होटल एक जना आइरिस उच्च कुलका व्यक्तिले बनाएका थिए ।
पोस्टमार्टम रिपोर्टका अनुसार फ्रान्सिसलाई साइनाइड मिसाइएको विष प्रुसिक एसिड दिइएको थियो । ३६ वर्षकी उनकी साथी इभा माउन्ट स्टिफेन्सलाई हत्या आरोप लागेको थियो ।
जुन ‘खास अवस्था’मा यो हत्या भएको थियो, त्यस कारणले नै यो खबर संसारभरकै अखबारको समाचार बन्न पुग्यो । अदालती कारबाहीका खबरहरू छापिँदा यसलाई विस्तारपूर्वक लेखिएको थियो र मसुरी मर्डर ट्रायल, होटल मिस्ट्री, क्रिस्टल गेजिङ ट्रायलजस्ता शीर्षकमा लगातार समाचार आइरह्यो ।
मसुरी निवासी भारतीय लेखक रस्किन बन्डले यो हत्या र क्रिस्टीको पहिलो किताबको सम्बन्धमाथि एउटा आलेख नै लेखेका छन् ।
उनी लेखमा भन्छन्, ‘क्रिस्टीले अपराधको परिस्थिति प्रयोग गरिन् र त्यो बेला यो निकै चर्चित घटना बन्न पुगेको थियो ।’

अगाथा क्रिस्टी
खासमा फ्रान्सिस गार्नेट ओर्म भारतमा एक दशकभन्दा बढी समयदेखि बसिरहेकी थिइन् । यसबीच स्टिफेन्ससँग उनको भेट भयो र चाँडै नै उनीहरू साथी बने । स्टिफेन्स चाहिँ आध्यात्मिक थिइन् र लखनउ बस्ने गर्थिन् ।
ओर्म एकल महिला थिइन् भने स्टिफेन्सबाट उनले भविष्यवाणी कसरी गर्ने, तन्त्रमन्त्र लगायतका विद्या सिकेकी थिइन् ।
दुवै सेवाय होटलमा केही दिनसम्म बसेका थिए । स्टिफेन्सका अनुसार, ओर्मको स्वास्थ्यमा खराबी आइरहेका कारण आफूले उनको रेखदेख गरिरहेकी थिइन् ।
तर अभियोजन पक्षले स्टिफेन्समाथि नै विष दिएको आरोप लगाएको थियो । यसको मूल कारणमा उनको ठूलो धनराशि, तीन वटा नेकलेस र अन्य गरगहना मृत्युपछि दिने इच्छापत्र बनाएकी थिइन् । उनको मृत्यु हुँदा स्टिफेन्सलाई फाइदा हुँदै थियो । यही कारणले उनीमाथि हत्या अभियोजन जारी गरिएको थियो ।
अर्कोतर्फ स्टिफेन्सको रक्षाका लागि लडिरहेकाहरूले ओर्मले आत्महत्या गरेको हुनसक्ने बताएका थिए । यसको कारणका रूपमा उनी निकै दुःखी रहेको प्रमाण पेश गरिएको थियो । उनी जोसँग बिहे गर्न भनी आएकी थिइन्, उनको मृत्यु भइसकेको थियो र पछिल्लो समय आफ्नो स्वास्थ्य खराबीका कारण पनि उनी दुःखी थिइन् ।
यस्तो उतारचढावका कारणले प्रहरी र अनुसन्धानकर्ताहरूसमेत भ्रमित हुन पुगे । जस्तो एउटा जाँचबाट के थाहा भयो भने ओर्मको मृत्यु पहिले नै स्टिफेन्सले लखनउ छाडिसकेकी थिइन् । जुन कोठामा ओर्मको शव फेला पर्यो, त्यो बेला ढोका भित्रबाट नै बन्द थियो । त्यो हत्या नै हुन्थ्यो भने कसरी ढोका बन्द भयो ?
प्रहरीले ओर्मको कोठाबाट निद्राको औषधिका दुई बोतल र आर्सेनिक र प्रुसिड एसिडका अतिरिक्त अन्य कुनै चिज फेला पार्न सकेन ।
सन् १९०० को शुरूताका कसैले पनि औषधि पसलबाट केही किन्नु पर्दा केमिस्टसँग हस्ताक्षर गराउनु पर्ने हुन्थ्यो तर अभियोजनले प्रुसिक एसिडका लागि गरिएको हस्ताक्षर ओर्मको चिठ्ठीको हस्ताक्षरसँग मेल खाँदैनथ्यो ।
अभियोजकहरूले स्फिफेन्सले आफ्नी एक जना साथीसँग छ महिना पहिले नै ओर्मको मृत्यु हुने अनुमान गरेकी थिइन् र कुनै चिकित्सकसँग उनले बिहे गर्ने र आफ्नो सारा सम्पत्ति उसैको जिम्मा लगाउने ओर्मको मनशायप्रति चित्त दुखाएकी थिइन् ।
तर बचाउ पक्षका वकिलले स्टिफेन्स र ओर्म निकै नजिकका साथी थिए । यसको अर्थ उनैले विष किनेर साथीलाई खुवाइन् भन्ने अर्थ लाउन नमिल्ने बताएका थिए ।
पछि स्टिफेन्सको अन्त्यमा रिहा गरियो । न्यायाधीशले आफ्नो निर्णयमा भनेका थिए, ‘मिस ओर्मको मृत्युको खास कारण शायद अब कहिल्यै पत्तो लाग्ने छैन ।’
अगाथा क्रिस्टीको पुस्तकमा यी सारा घटना मिल्छन् । एमिलीको मृत्यु पनि विषका कारण हुन्छ र ओर्मकैजस्तो उनको शव पनि भित्रबाट बन्द भएको कोठामा फेला पर्छ ।
अन्त्यमा उनकै साथीले विष खुवाएको पत्ता लाग्छ । विष खुवाएर हत्या गरेपछि साथीले नक्कली हस्ताक्षर गरेर विष किनेको, साथीको हत्या गर्नुको पछाडि पैसा हत्याउनु नै कारण रहेको उपन्यासमा बताइएको छ ।
करिब एक शताब्दी हुनै लाग्दा आज पनि यी कुराबीचको समानताका कारण क्रिस्टीका प्रशंसकहरूलाई रोमाञ्चित बनाउने गर्छ । २०२२ मा इन्टरनेसनल अगाथा क्रिस्टी फेस्टिभलमा भारतीय अपराध लेखक मञ्जिरी प्रभुले क्रिस्टीको प्रथम उपन्यास र मसुरी मर्डरका बारेमा रोचक सम्बन्धका कुरा सुनाएका थिए ।
तर क्रिस्टी मात्र एक्ली लेखिएका भने थिइनन् । भारतमा विष खुवाएर हुने मृत्युबाट प्रेरित भएर लेख्नेहरूमा सेसिल वाल्स पनि थिए । आगरामा भएको हत्या घटनामा तत्कालिन युनाइटेड प्रोभिन्स अफ आगरा र अवधमा भएको घटना पनि रोचक थियो ।
द आगरा डबल मर्डरः अ क्राइम अफ प्यासन फ्रम द राज आलेखम लेख्छन्, ‘मेरठम बस्ने अंग्रेज महिला अगस्टा फुलेम र एंग्लो इन्डियन व्यक्ति डा. क्लार्कले कसरी आफ्ना पार्टनरलाई विष खुवाउने योजना बनाए र त्यस पछाडिको मूल कारण दुवै एक साथ बस्ने योजना कस्तो थियो भन्नेबारेमा छ ।
अमेरिका र युरोपमा झैँ १९ औँ शताब्दीमा भारतमा विष खुवाएर हत्या गरिनु सामान्य बनिसकेको थियो । आर्सेनिक जस्तो विषाक्त पदार्थको बिक्रीमा कुनै नियन्त्रण थिएन । डेभिड अर्नाल्डले ‘टक्सिक हिस्ट्रिजः प्वाइजन एन्ड पोल्युसन इन मोर्डन इन्डिया’ मा लेख्छन्, ‘सन् १९०४ मा इन्डयन प्वाइजन एक्ट बन्नुका पछाडि यसको बेधडक खरिदबिक्री नै मुख्य कारण थियो र त्यसपछि नै यसको किनबेच नियन्त्रित गरियो ।
उनी लेख्छन्, ‘दस वर्षपछि जब यो कानुनको समीक्षा गरियो, युनाइटेड प्रोभिन्स सरकारले पछिल्लो समय विष खुवाएर हत्या गरिएका दुई कुख्यात घटनामाथि टिप्पणी गरेको थियो । त्यसमा ओर्म र फुलेम-क्लार्कको केस थियो ।’
सत्य घटनामा आधारित अपराध कथा कति रोचक हुन्छ भने यसका पाठक र दर्शक-स्रोताको संख्या निकै ठूलो छ । त्यसैले फिल्म, पडकास्ट, वेब सिरिजले त्यसलाई दोहन गरिरहेका हुन्छन् । तर क्रिस्टीका प्रशंसकलाई उनको ‘मिस्टिरियस अफेयर एट स्टाइल’ सधैँसधैँ याद आइरहन्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

