फ्रान्सेली कवि तथा राजनीतिज्ञ सेन्ट जोन पर्सको जन्म फ्रान्सको लेजर ल फ्युले भन्ने टापुमा ३१ मे १८८७ का दिन भएको थियो । उनले साहित्य, चिकित्सा शास्त्र र कानुनको अध्ययन गरेका थिए । बिदाका दिनहरूमा उनी गोबीको मरुभूमि र स्कटल्याण्डको हेब्रिडिज जान्थे र दक्षिणी समुद्रको अनुसन्धानात्मक कार्य पनि गर्दथे । उनले बोर्डेक्स विश्वविद्यालयबाट कानुनमा उच्च शिक्षा प्राप्त गरेका थिए ।

सन् १९१४ मा उनी फ्रान्सको कूटनीतिक सेवामा प्रवेश गरेका थिए । सुरुका वर्षमा उनी स्पेन, जर्मनी र बेलायतमा बसेका थिए । सन् १९१६ देखि १९२१ सम्म उनी बेइजिङस्थित फ्रेञ्च दूताबासमा कार्यरत थिए । सन् १९२२ मा वासिङ्टनमा हुने निःशस्त्रीकरण सम्मेलनमा भाग लिन उनी अमेरिका गए। सन् १९४० मा फ्रेञ्व सरकारले उनको नागरिकता खोसेपछि उनी संयुक्त राज्य अमेरिकामा बसोबास गर्न लागे । पर्स जीवनलाई गम्भीर रूपमा लिँदैनन् । काल्पनिक उडानमा जीवनको यात्रा गर्दै वर्तमान सन्सारको चित्रण गर्दछन् ।

सन् १९५७ मा अमेरिकी मित्रले फ्रान्समा उनका निम्ति एउटा घर खरिद गरी दिएका थिए । त्यसपछि उनी अमेरिका र फ्रान्स दुबैतिर बसोबास गर्ने गर्दथे । सन् १९५८ मा उनले अमेरिकन युवती डोरोथी रसेलसँग विवाह गरेका थिए । उनलाई आकाशतर्फको उडान र तरङ्ग ल्याउने काल्पनिक कविताको निम्ति सन् १९६० को नोबेल पुरस्कार प्रदान गरिएको थियो ।

निम्नलिखित उनका प्रसिद्ध कृति हुन् :-

१. इलोजेज (१९१०) २. नोबेल रिन्यू पोभे (१९२२), ३. एमिति टु प्रिन्स (१९२२), ४. अनाबेस (१९२४) र ५. निर्वासन

२० सेप्टेम्बर १९७५ का दिन फ्रान्सको हायर्स भन्ने ठाउँमा उनको मृत्यु भएको थियो।