त्यसले भन्यो, “बिहेजस्तो महत्त्वपूर्ण कामलाई यसरी हा-होमै सिध्याउन ठिक होइन । अर्कै लगन जुराएर दुलही लिन बरु पछि आउँला ।”

तर, काओ त्यसका कुरा सुन्ने हो र ? त्यसले विरोध गर्दै भन्यो, “अब त यहाँको र मेरो घर एउटै भइसक्यो । यहाँका पुज्य पिताज्यू पनि हुनुहुन्न। आफ्ना सबै कुराको फैसला यहाँले आफैँ गर्नुपर्ने हो क्यारे ?”

यति भनेर त्यो सरासर भित्र पसि पनि हाल्यो ।

“बिहेजस्तो महत्त्वपूर्ण काम यसरी हा-होमै यहाँ सिद्ध्याइहाल्नु मलाई त पटक्कै मन परेन” भनी चिएनले काओका नातादार र छिमेकीहरूको चित्त बुझाउने लाख कोसिस गरे तापनि ती सबले एकै मुखले काओकै पक्ष लिए । चिएन के गरूँ, कसो गरूँ ? – भएर छटपटाउन लाग्यो । कतै केही नलागेर त्यसले सल्लाहका लागि सियाओ यीलाई खोज्यो । तर, त्यो पनि त्यहाँ भए पो ! त्यसलाई भेट्टाउन ऊ एउटा निहुँ गरी एकातिर लाग्यो ।

भन्न त सियाओ यीले पनि त्यसलाई – त्यसरी भएको बिहे रीतपूर्वकको ठहर्दैन, तसर्थ तपाईँले कसैका कुरा सुन्नु हुन्न भन्ने अर्ती दियो तर उम्कने पो कसरी ? – भन्ने विषयमा त्यसले कुनै बाटो देखाउन सकेन ।

चिएनले भन्यो, “मैले बारम्बार नामन्जुर नगरेको होइन । तर, काओ ‘नाइँ’ भनेको सुन्दै सुन्दैनन् । मैले अड्डी नै लिएँ भने शङ्का पर्न जाला। तसर्थ सकेसम्म तेरा मालिकको भलै गर्ने कोसिस गरुँला । ममाथि आकाश र तल धरती दुवै साक्षी छन्, मैले उनलाई कुनै किसिमबाट धोका दिने नियत लिएको छैन ।”

तिनीहरू यस्तै कुरा गर्दै थिए, त्यत्तिकैमा आमन्त्रित मानिसका हुलका हुल वरलाई खोज्दै त्यतैतिर आइपुगे । तिनीहरूले भने, “बाबु, बिहे भनेको कुरो त साहै रमाइलो पो हुन्छ । ससुराले आँटिसक्नुभएको छ । अब तपाईँले पनि यताउति हेर्नु भएन ।”

मनका पिरले हात गोडा त्यसै सेलाइसकेर बोल्न समेत नसक्ने भइसकेको हुनाले चिएनले अब आफूलाई तिनकै इच्छामा छोडिदियो । त्यसलाई फेरि बैठक कोठामा पुऱ्याइयो । दिउँसोको खानपिन सकिएपछि बिहेको भोज सजाइयो । काँधमा रातो रेसमी उपर्ना हालेका दुलहापट्टिका मानिस बिहेको विधि गराउन लागे । बर बधू पनि लगनका लुगा फेरेर आइपुगे, र प्रथाअनुसार बिहेको कारबाही सुरु गरियो । तिनीहरू अब पति-पत्नी हुन गए।

आज बिहे रे तिनको यस स्थल, 

                                                                                                 हुनुपर्ने हो दुइटै हर्षित 

दुलही हर्षित, दुलहा दुःखित 

                                                                                                 सुखको जोडा लाग्यो दुःख नै ।

आँधी अलि कम हुन गएकोले निम्तारुजति सबै बिदा भए । काओका बुढाबुढीले चिएनलाई दुलहीका कोठामा पुऱ्याइदिए। लोकन्तीले दुलहीका शिरबाट शिरोभूषण झिकिदिई, र दुलहालाई सुकलामा भित्र सवारी हुन बिन्ती चढाई। तर, दुलहाले ठाडै नामन्जुर गरेको देख्ता ऊ छक्की परी । त्यसले पहिले दुलहीलाई नै लगी पलङमा सुताउनुपर्‍यो । त्यसपछि ऊ त्यहाँबाट गई पनि हाली । ढोका लाउन लाग्दा सुसारेहरूले चिएनलाई कुनै किसिमको फिक्री नलिइबक्सेला भनी बिन्ती चढाए ।

चिएनको मुटु कालो हरिणकी पोथीझैँ भट्याक-भट्याक गरिरहेको थियो । जिभ्रो लटपटाउँदै त्यसले जबाफ दियो, “तिमीहरूले मेरा लागि पर्खेर बसिरहने काम छैन ।”

सुसारेहरू रातभर काममा जोतिएका हुनाले त्यस बखत उभिएका उभियै उँघिरहेजस्तै भइरहेका थिए । आज्ञा पाउनासाथ तिनीहरू गइहाले । चिएनले मैनबत्तीका अगाडि बसेरै रात काट्ने विचार गरेको थियो, तर मैनबत्ती मागिराख्न चाहिँ बिर्स्यो, कसैलाई डाकेर माग्न पनि सकेन । तसर्थ, कोठामा बलिरहेको मैनबत्ती सकिएपछि ऊ जम्मै लुगा लगाएको लगायै अँध्यारैमा त्यसै धुमधुम्ती बसिरह्यो । दुलहीतिर यसो एक पटक पुलुक्क फर्केर त्यसले हेर्दा पनि हेरेन । भोलिपल्ट विहान उज्यालो हुनासाथ सालो चाहिँका पढ्ने कोठामा गएर त्यसले मुखसुख धोएर कपालसपाल कोयो । सासू ससुराले भन्ठाने – धेरैजसो नयाँ दुलहा दुलही पहिले पहिले यसै गरी लाज मान्छन् । तिनीहरूले त्यसको कुनै वास्तै गरेनन् ।

हिउँ पर्न त छोडिसकेको थियो तर आँधी भने अझै चल्दै थियो । तसर्थ, बहुभतेरको बन्दोबस्त पनि काओले त्यहीँ गयो । चिएनले जानी जानी भोजमा बेसरी रक्सी खाएर आफूलाई मत्यायो । धेरै रात बितिसकेपछि ऊ कोठामा जाँदा दुलही चाहिँ निदाइसकेकी थिई । असाध्यै थाकेको र पहिलो रात झिमिक्क आँखासम्म नलाएको हुनाले निद्राले ऊ चुर भइरहेको थियो । निद्रा खप्नै नसकी ऊ लुगा लाएको लायै गई दुलहीको ओढ्नेसम्म नछोइने किसिमले पलङका एक छेउमा त्यसै पल्ट्यो ।

भोलिपल्ट बिहान हावाको वेग अलि मत्थर भएको हुँदा त्यसले बिदा हुन खोज्यो । तर, काओ भने एक दिन अझै बसिदिने जिद्दी गर्न लाग्यो । चिएनको केही लागेन । त्यस दिन पनि त्यसले बेसरी रक्सी धोक्यो । टेबुलका वरिपरि बसी अरूहरू खानपिनमा मस्त भइरहेका वेला मौका पारी त्यसले यू चेनका कानमा आफूले लुगै नफेरी दुई रात त्यसै काट्नुपरेको कुरा भन्यो । देखावटमा टाउको हल्लाउँदै त्यसको प्रशंसा गरे तापनि भित्री मनले भने यूले त्यसका कुरा पत्याएन । त्यस्ता परिस्थितिमा त्यसले गर्न मिल्ने केही हुँदा पनि त थिएन ।

बिहे भएदेखि काओकी छोरी चिउ फैडले लोग्ने चाहिँलाई अनेक पटक अरूले नदेख्ने किसिमले चियाएर हेरिसकेकी थिई । लोग्ने त्यस्तो राम्रो देखता ऊ मक्ख परेकी थिई । तर, त्यसले दुई रात जम्मै लुगा लगाएरै काटेको देख्ता बिचरीले केही कुरै बुझ्न सकिन । त्यसलाई उदेक लागिरहेको थियो । त्यसले भन्ठानी – सेवा टकल नपुगेर हो कि उनी त्यसरी रिसाएका ? त्यस कारण भोलिपल्ट त्यसले सुसारेहरूलाई उहाँको सवारी नभएसम्म कतै नगई तिमीहरू यहीँ बसिरहूँ, उहाँलाई नै पहिले सुकलामा पठाऊ भनी अढाई । केहीहरू अह्राएबमोजिम नै चिएनलाई पर्खेर बसिरहे । ऊ आइपुग्नासाथ तिनीहरूले त्यसका पटुका र टोपी फुकालिदिए। तिनको यस्तो चाला देखेर चिएन झस्क्यो, र जम्मै लुगा लगाएको लगायै उफ्रेर पलङमा उक्ली पल्लापट्टिका छेउमा लम्पसार पर्‍यो । दुलही पनि अलमल्ल परेर आफ्ना जम्मै लुगा लगाएरै पलङका एकाछेउमा पल्टिई। तर, त्यस सुशील केटीले आफ्ना आमाबाबुलाई यी कुनै कुराको सुइँकोसम्म दिइन ।

चिएनलाई आफ्ना लागि दुलही ल्याइदिने काममा पठाइसकेर येन चुन साहै उत्सुकतासाथ तिनीहरूको बाटो पर्खन लाग्यो । अब त्यसैका कुरातिर लागौँ – भोलिपल्ट आधा रातदेखि त्यसरी आँधी चल्न लागेकोले त्यसका मनमा ज्यादै खुलदुली पर्न गयो। आँधी र हिउँले गर्दा जानेजति मानिस त्यहीँ अड्कनुपर्ने हुँदा दुलही नभित्रिँदै लगन बितिहाल्ने चिन्ताले त्यसलाई सतायो ।

तिनीहरूले कसरी झिल तर्लान् भन्ने कुरा त त्यसका मगजैमा आएन । बिहेको भोज र सिँगारिएका मैनबत्ती त तयारै थिए, तर रातभर कुर्दा पनि दुलहीको अत्तोपत्तो भने कतै थिएन । ऊ छटपटिन लाग्यो ।

त्यसले विचार गयो, “तिनीहरू पक्का पनि आँधीमै हिँडे होलान् । कथंकदाचित् झिलका माझमा भए त ठुलो विपत्ति पो पो होला ।”

अनि फेरि त्यसले विचार गर्‍यो, “हिँडी नहालेका भए, र ससुरालाई लगन बितिसकेको कुरा थाहा भए, छोरी बिदै नगर्नु पनि सम्भव छ । त्यस्तो पर्न गयो भने त अर्कै लगन पो जुराउनुपर्यो । परमात्मै जानुन् – त्यसका लागि कति दिन पर्खनुपर्ला ! त्यस्ता पर्खाइले त ज्यानै लिने भयो ।” फेरि तुरुन्तै त्यसका मनमा आयो, “त्यस यू चेन भनाउँदाका खप्परमा रत्तीभर पनि बुद्धि भए त्यसले काओलाई छोरी बिदा गरिहाल्ने जोड गर्नुपर्ने । लगन सगन होस् कि नहोस्, म त झाटझुट्ट बिहे गरिहाल्ने हुँ।”

नानावलीका यस्ता तर्कना गर्दै छटपटिइरहेको हुनाले त्यो एकछिन पनि शान्त भएर बस्न सकेन, ढोकासम्म ओहोरदोहोर गर्दै आँखा च्याती च्याती तिनीहरूको बाटो हेर्न लाग्यो ।

चौथो दिन बल्ल आँधी थामिएपछि त्यसले अब त छिटै खबर आउला भन्ने विचार गर्‍यो । र, साँच्ची नै मध्यान्ह बित्दा नबित्दा सियाओ यी पुलुक्क देखा पनि परिहाल्यो ।

सियाओ यीले आएर खबर दियो, “दुलही साहेब अब छिटै आइपुगी- बक्सिएला । धेरै टाढा होइबक्सिन्न, दुईतीन मील मात्र हो।”

“कसो लगन बितिसकेर पनि बाबु चाहिँले छोरी बिदा गर्न मन्जुर गरेछन् !”

“लगन बित्न नपाओस् भन्ने ठुलो फिक्री लिइबक्सेकाले श्रीमान् काओले बिहे तुरुन्तै हुनुपर्छ भन्ने ढिपी गरिबक्सियो । हजुरका सट्टा तीन दिनसम्म चिएन बाबु नै दुलहा होइबक्सियो ।”

“तेरा कुकुर ! त्यसो भए मैले तँलाई किन पठाएको ? त्यसलाई नामन्जुरै गर्न किन कर लाइनस् ? त्यसो हुन किन दिइस् ?”

“मैले त भनेकै हुँ, हजुर । तर, चिएन बाबुले ‘सकेसम्म तेरा मालिकका लागि भलै हुने कुरो गरुँला, आकाश र धरती साक्षी छन्, धोका दिने मेरो मनसुबा छैन’ भन्नुभयो ।”

येन चुनका मुटुमा क्रोधको मुस्लो फुटेर दन्क्यो । सियाओ यीलाई एकै घुस्सामा बल्ड्याङ खुवाउँदै गएर चिएनसित जो गर्नुपर्ने फैसला आफै गन आगो हुँदै ऊ बाहिरतिर दौड्यो ।

यस्तो खण्ड पो – नाउहरू भखरै किनारनिर आइपुगेका थिए । ‘मेरो त कुनै दोषै छैन’ भन्ने लागेको हुनाले नाउबाट किनारमा फाल हाली चिएन निर्धक्कै येनका घरतिर लाग्यो । गुह्य खुल्ला भन्ने डरले त्यसले यू चेनलाई काओका साथै बसिराख्न अह्नाएको थियो । येनलाई त्यतैतिर आइरहेको देख्नासाथ मुसुक्क हाँसेर त्यसले ढोगभेट गरी सबै कुरा बताउन खोज्यो । तर पेटमा असाध्यै कालो भरिएको येन कसैमा कुनै सम्मानित गुण पनि हुन सक्तछ भन्ने कुरै मनमा ल्याउन सक्तैनथ्यो । मेरो परम शत्रु यही हो कि जस्तो गरी भाइ चाहिँलाई राता राता बल्ड्याङ्ग्राले हेर्दै एक वचन बोल्ने मौकासम्म नदिई ऊ त्यसमाथि जाइहाल्यो ।

दाह्रा किट्दै त्यसले भन्यो, “तेरो सत्यानाश होस्। बडा मोज भो, होइन ?” जथाभाबी गाली गर्दै त्यसले टोपी र कपाल समाती चिएनलाई लुछ्यो र झाँगलझुँगल पार्दै लात हान्न पनि थाल्यो ।

“तेरो उछित्तो होस्, बजिया ?” भनी चिच्याई चिच्याई सराप्तै त्यसले भन्यो, “अर्काका खर्चमा बडा तर मार्ने जाली, फटाहा, लुच्चो कहीँको !”