नोवेल विजेता इम्रे कर्टेज Imre Kertész

श्रद्धेय साहित्यकारहरू भन्ने गर्दछन्: दर्शनले शाश्वत कुरा निर्देश गर्दछ भने साहित्यले अनियमित कुराहरूको उजागर गर्दै सत्य वखान गर्दछ।साहित्यकारहरू प्रकृति, पीडा, रोदन, माया र विछोडको धुकधुकीलाई समाएर कलम चलाउने गर्दछन् भने दार्शनिकहरू शाश्वत अस्तित्वको बारेमा कलम चलाउँदछन्।

अमानवीय सङ्घर्ष वा कथित दोस्रो विश्व युद्ध हुनु भन्दा एघार वर्ष अगाडि हंगेरीमा जन्मेका इम्रे कर्टेज Imre Kertész दोस्रो विश्व युद्धका प्रत्यक्ष साक्षी हुन्।दर्दनाक पीडाका भोगेका कर्टेजलाई हिटलरको नियन्त्रणमा पुगेपछि यहुदीहरूलाई राखिने नाजीहरूले बनाएको पोल्याण्डको मृत्यु घर (ग्याँस घर)मा पुर्याइयो।एघार/बाह्र वर्षको उमेरमा नाजीहरूको मृत्युको मुखमा पुगेका कर्टेज बन्दी अवस्था मै हिटरलरको अन्त्य भएकाले हिटरलको शासन शैलीले महान साहित्यकार हुन सफल भए।स्मरण रहोस्, ग्याँस चेम्वरमा लगेर मारिने व्यक्तिको सूचीबाट उम्कने थोरै व्यक्तिहरू मध्येमा कर्टेजको नाम आउछ।हङ्गेरी जन्म घर भएर पनि नाजीले मार्नका लागि उनको आफ्नै देशबाट अर्को देश पोल्याण्डको हलकस्ट (सामुहिक नरसंहार) मा लगेको थियो।कर्टेज हंगेरीको राजधानी वुडापेष्टमा सन् १९२९ मा एक यहुदी परिवारमा जन्मेका थिए।हिटलरको नरसंहार अवधिमा जर्मनी लगायत सबै मुलुकका यहुदीहरूको बली चढाउन उद्दत अवस्थामा कर्टेजको प्रत्येक पाइलाहरू जोखिमपूर्ण थिए ।

अस्वस्थ प्रतिस्प्रधि सोंच, संसारिक तनाव र सत्ताको लालसा देख्दा अनुभव गर्न सकिन्छ की-लोभ,लालच, ढोंग र ईर्ष्या मान्छेमा जन्मदै आउने होइनन्।यी विकृत आधारहरू सामाजिक लालन-पालनसंगै जन्मन्छन् र हाम्रा जीवनभर रहन्छन्।विवेकी प्राणीको परिचय बोकेको मान्छे आमाको काखदेखि नै लोभ-लालच र ईर्ष्या सिकेको हुन्छ।लोभ-लालच र ईर्ष्या कै पाठ्यक्रममा शिक्षित हुन्छ र विज्ञको विल्ला भिरेको हुन्छ।मान्छे भूगोलको कुनै एक ठाउँमा उभिएर यो मेरो यो तेरो भनेर सीमाना बनाउँछ।त्यही सीमानाको भूगोललाई पाठ्यक्रममा राखेर मेरो माटो भनेर शिक्षित बन्छ।लोभ,लालच, ईर्ष्या र माटोको नाममा मानवीय जिन्दगीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा डस्छ।प्रकृति मास्छ र मै शक्तिशाली हुँ भनेर क्षणिक हुँकार गर्छ।कथित शिक्षित र दिक्षितको नाममा मान्छेलाई जाति-जातीयता, धर्म र रङ्गमा विभक्त गर्छ।विभाजित मान्छेहरू विच उ रमाएको अभिनय गर्छ र भिडको विचमा दृश्य बन्ने कोशिस गर्दछ।

मानवीय मूल्य र मान्यताको आधारभूत अवस्था भन्दा तल्लो स्तरको घर-आँगनमा जन्मेका कर्टेजले माध्यमिक विद्यालयको अध्ययन गरे पछि एक पत्रकारको रूपमा काम गर्न थाले।काम गर्दा गर्दै उनका लेखहरूमा साम्यवादी विचारधाराका विम्वहरू देखिए पश्चात उनी त्यस कामबाट हात धुनु पर्ने अवस्था आयो, फलतः उनी एक फैक्ट्रीमा शारिरिक श्रमिकका रूपमा काम गर्न थाले।काम कुर्चीमा बस्ने हो वा शारिरक श्रम गर्ने हो कर्टेजको लेखनीय स्वभावलाई निरन्तरता दिनु थियो।कामसंग उनलाई कुनै सिकायत थिएन।एक मान्छेको जन्म र सामाजिक रूपमा हुने गरेका पक्ष, विपक्ष तथा विभिन्न मान्यताबाट गरिने व्यवहारलाई नजिकबाट नियाल्दै कलम चलाउन थालेका कर्टेजलाई कलमबाट सिगारिन धेरै समय लागेन।प्रकृतिको उपहारका रूपमा पृथ्वीमा सृजित मानवीय अस्तित्वको मानवीय भिन्नता देख्दा हैरान भएका कर्टेजले मानवीय अध्ययन र लेखन गर्न नित्से, सोफेनहावर, लुडविग वालेस्ट्रेन, सिगमण्ड फ्रायड, इलियास क्यानेत्ती, फ्योदर दोस्टोभोस्की, जाँ पाल सात्र जस्ता दार्शनिक तथा लेखकहरूका कृतिको सहायता लिन पुगे ।

विज्ञान, लेख र रचनाले प्रमाणित गरेको छ की मान्छेको भाग्य भनेको त्यसको मिहिनेत हो र विज्ञानले भनेको पनि त्यही नै हो।जाँगरिला देशहरू अगाडि बढेको हामीले हाम्रै अगाडि देखेका छौ।महान मानवशास्त्री डोर बहादुर विष्टको Fatalism and development को सारतत्त्व पनि भाग्यमा विश्वास गरेर केही नगरि प्रतिफल खोज्नु हो।निरन्तर मिहिनेती र यथार्थवादमा विश्वास गर्ने कर्टेज एक यथार्थवादी विद्धत थिए।नित्से र लुडविग वालेस्ट्रेनका दर्शनबाट प्रभावित कर्टेज कहिले पनि साना दुःखबाट प्रभावित भएनन्।उनी निरन्तर आफ्ना लक्षमा लाग्दै गए।उनका दिन अगाडि बढ्दै गए ।

दार्शनिक सार्त्रका अनुसार मान्छे सधै दुई वा दुई भन्दा धेरै विकल्पका साथ उ स्वतन्त्र थियो र रहेको छ।प्रकृतिलाई स्वच्छ राखेर मानवीय धर्म अङ्गालेको तन्त्र भनेको प्रजातन्त्र हो।भूगोल, धर्म, रङ्ग र जातका नाममा गरिएका राजनितिले एकदिन फेरि पनि अर्को हिटलर नजन्मला भन्न सकिदैन।कर्टेज एक अन्तरमुखी लेखक थिए।कर्टेजको लेखनीय अभ्यासमा श्रीमतीको ठूलो योगदान थियो।दैनिक ज्यालादारी काम गरेर श्रीमानलाई लेख्न प्रेरित गर्ने श्रीमती शायद कम श्रीमानले पाउने गर्दछन्।प्रत्येक दिनको लेख र चिन्तनबाट विश्व कै साहित्य तर्फ सबै भन्दा ठूलो पुरस्कार जित्न सफल भएका हुन् उनी।अस्तित्ववाद र आत्मकथात्मक शैलीमा लेख्ने कर्टेज नै हंगेरीका साहित्य तर्फ नोवेल पुरस्कार विजेता हुन्।सोझोपन, सकारात्मक छविको पर्यावाचीका रूपमा लिइने कर्टेजका सबै भन्दा प्रसिद्ध पुस्तक Facelessness र Kaddish for Unborn Child मुख्य हुन् भने उनका करिव २ दर्जन पुस्तकहरू प्रकाशित छन्।