जीवन यात्रामा पैतालाले
आँखाको क्षितिजमा नाप्दै
नदी छहरा खस्दै बजारिएर – उठ्छ
छुटेको विपना ब्युँताउन होशले
बतासको बुईँ चढी आएका यामहरूलाई
धुन बनाई गुनगुनाउँदै छन् धुपी र सल्लाहरू
विरह सेलाकै हो खोलाले
पानीले पखालेर कष्टका घाउहरू
सम्झनाको धागो खुस्किरह्यो जीवनको लट्टाईबाट
कोदोबारी र कुरोघारी हुँदै मसम्म
जीवन खोस्रदै घुरेनमा चल्लाहरू
एकपछि अर्को सम्झना उघ्राइरहन्छ
गोठमा गाईभैसीहरू
माथि मादले भीरमा
पहिरो जाँदा
तल खोल्सा नाप्दै हिँड्दै थियो
भेडाका बथान
स्वास नफेरी सिस्नुघारीबाट
पहाड टेकेर हिमाल छुन्छु भन्छ
जीवन परिक्षेतका कथाहरू
पखेटा फिँजाएर माथि आकाश थामिँदा
आफ्नै निहाल आँखामा टाँसिएको
प्रेमको सफा र निलो आकाश आफैँमा भेट्छु
विश्वासको घाम अनुवाद समय
जीवनको कौशीमा झुल्कन्छ साँझ बिहान
ओठ कापबाट मुस्कानले
लटरम्म फूल फुलायो वृक्ष शाखामा
उत्सवको इन्द्रेणी क्षितिजबाट ओर्लिएर
सफेद रहरमा घोलिएर
खित्का छाड्छ
निर्लाम सपनाहरू
सेकिएर ज्वालाले
उड्न खोज्छ जीवन अनुदित चरा भएर।
हालः बोस्टन, अमेरिका
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।