विषयप्रवेश

नेपाली साहित्यमा रण काफ्लेको नाम चर्चित बनेको छ । रणबहादुर छेत्रीको साहित्यिक नाम रण काफ्ले हो । उनी असमको कार्बी आङ्लङ जिल्लाको मुगासाङ भन्ने ठाउँमा ३० जून, १९६९ मा जन्मेका हुन् । उनको पिताको नाम जयबहादुर छेत्री र माताको नाम पवित्र माया देवी रहेको छ । उनले हिन्दी साहित्यमा स्नातकोत्तरसम्म अध्ययन गरेका छन् । उनी शिक्षण पेशामा आबद्ध छन् । उनी साहित्य अध्ययन र लेखनमा सक्रिय रही आफ्नो सेवा दिइरहेका छन् । उनी साहित्यिक चर्या, संगत, अध्ययन र लेखनमा आबद्ध छन् ।

रण काफ्ले

रण काफ्ले

रण काफ्लेका हालसम्म प्रकाशित पुस्ताकार कृतिहरूमा मायाको बन्धन (उपन्यास,२००८), बिस्फोट भएपछि (कथासङ्ग्रह, २०११), कपिलीको बगरमा बटुलेका शब्दहरू (कवितासङ्ग्रह, २०१२), हेमप्रेक (असमीय भाषामा उपन्यास, २०१४), भय (हिन्दी कवितासङ्ग्रह, २०१५), भय दर्शनको मझेरीमा (निबन्धसङ्ग्रह २०१५), नानी की कहानियाँ (हिन्दी लोकबालकथा सङ्ग्रह, २०१६), बिटुङगो (निबन्धसङ्ग्रह, २०१६), अस्तित्व (कवितासङ्ग्रह, २०१७), माताल हातीर ताण्डव (असमीय कवितासङ्ग्रह, २०१९), मिकराकबो (गारो कवितासङ्ग्रह, २०२१), लीला (लघुकथासङ्ग्रह, २०२२), उडान (असमीय कवितासङ्ग्रहको नेपाली अनुवाद, २०२२) र रैथाने (उपन्यास, २०२२) ।

उनी एक कवि, कथाकार, निबन्धकार र उपन्यासकारका रूपमा देखिन्छन् भने उनी नेपाली हिन्दी, असमीय र गारो साहित्यकारका रूपमा पनि देखिन्छन् ।  यसका साथै उनी ‘तुम्प्रेङ आलोजी’ पुस्तकका सम्पादक पनि हुनुहुन्छ ।

====

रैथाने उपन्यासको समीक्षा –

रण काफ्लेको उपन्यास ‘रैथाने’ले राजनीति, इतिहास, समाज बोकेको छ । समकालीन साहित्य प्रतिष्ठान, बेलायतको प्रकाशकत्व र अमर भण्डारीको आर्थिक सौजन्यमा प्रकाशित यसमा भारती गौतमको परिचयात्मक र मूल्याङ्कनात्मक भूमिकाले पाठकलाई यस उपन्यासबारे बुझ्ने सहयोग मिल्दछ । १७० पृष्ठमा आबद्ध यस उपन्यासले असमेली जनजीवनलाई अँगालेको छ । विशेष गरी असमको कार्बी आङलाङ जिल्लाको सामाजिक भौगोलिक, आर्थिक, राजनैतिक, सांगठिक, सांस्कृतिक स्थितिको तथ्यपरक विवरण प्रस्तुत गरिएको छ ।

उपन्यासको विषयवस्तु – मूल विषयवस्तु नै रैथानेको भावना हो । यसका पात्रहरूमा रहेको राजनैतिक चेतना नै रैथाने हुनु हो । उपन्यासमा कथावस्तुले घेरिए तापनि यसको जड भने रैथाने हो । प्रज्ञा नपाली बृहत् शब्दकोश अनुसार- कुनै ठाउँको पहिले देखिको वा पुरानो बासिन्दा, आदिवासी (नेप्रप्र, २०७९) । प्रयोगात्मक नेपाली शब्दकोशअनुसार पहिलेदेखि बसेको बासिन्दा, मूल बासिन्दा, स्थानीय व्यक्ति वा जनता, (हेमाङ्गराज अधिकारी, विद्यार्थी प्रकाशन, २०६१ । यसैलाई केन्द्र गरेर उपन्यासको कथावस्तु सिर्जना भएको छ । सर्वप्रथम नेपालबाट बर्सेनी किन नेपालीहरू मुलुक बाहिरिन्छन् ? कहाँ जान्छन्, गएर के गर्छन्, पछि के गर्छन् आदि कुरामा नै उपन्यास जेलिएको छ ।

उपन्यासको कथावस्तु — मूल तीन चरणमा बाँडिएको छ । यसमा म पात्र र रोहित भन्ने पात्रको बाल्यकालका सम्झना, रोहितको बाबु आमाको बिहेअघि र पछिको पृष्ठभूमि, रोहितको वर्तमानको राजनैतिक अवस्था र उसको अडान रहेको छन् ।

रैथाने

रैथाने

रोहितकै वरिपरि कथावस्तु रहेको छ । यसमा नेपाल असमको ऐतिहासिक सन्दर्भ, असममा नेपालीहरूको उपस्थिति र योगदान, असममा कृषि क्षेत्रमा गोर्खाहरूको योगदान, पारिवारिक विघटन, शोषण दोहन, ब्रह्मपुत्रमा आएको बाढको कारण धेरै नेपालीहरूको घर द्वार बिग्रेर उठीबास लाग्नुको अवस्था, उठिबास भएका गोर्खाहरू अन्य स्थलमा शरणार्थीका रूपमा बस्नुपरेको अवस्था, स्थानीय रैथाने जनजातिसित मैत्री र सहयोगको भाव, बन जङ्गल, कृषिकार्य, गौपालन आदि कार्य गर्नु, राजनीतिले गोर्खालीहरू बिलखबन्दमा पर्नु, राजनैतिक कारणले असमका गोर्खालीहरू ठाउँ ठाउँबाट उठिबास हुनु, असुरक्षित हुनु, गोर्खालीहरूको जातीय राजनैतिक  सङ्गठनहरू सक्रिय हुनु, रोहित र म पात्रहरू जस्ता धेरै युवाहरू अघाडि आउनु जस्ता प्रसङ्गहरूको शृङ्खला जोडिएको छ ।

यसमा रोहित र म पात्रको बाल्यकाल, रोहितको शान्त स्वभाव, उसको बाबु आमाको पूर्वकथा, जवानीमा रोहित आशासित आकर्षित भएको, आशाले रोहितसित बिहा गर्नसमेत राजी भए तापनि आशा भने अर्कैसित बिहा भएर नेपालतिर जानु, असममा विदेश हटाऊ अभियानको फलस्वरूप गोर्खाली पनि पिसिएका छन् । यसमा मूलतः दुई खालका पात्र- एक खाल छ जो असममा असुरक्षा हुनाले त्यहाँ बसिरहनु हुन्न, बरु नेपालतिर नै यहाँको कमाई लगेर घर बनाएर उतै जानु पर्छ । यस्ता खाले पात्रहरूमा म पात्र र उसको बाबु, आशा, जय कान्छाका दाजुहरू आदि । अर्खा खाले छन् जो जस्तै परिस्थिति आए पनि असममा नै डटिएर बस्नु पर्छ, यहाँबाट अब पलायन हुनुहुँदैन, यहींको रैथाने भएर बस्नु पर्दछ । यस्तो खाले पात्रहरूमा रोहित, उसको बाबु,धामी आदि हुन् ।

उपन्यासमा आदि मध्य र अन्त्यको निर्वाह भएको छ । रोहित र म पात्र जय कान्छा र बोगीको दाम्पत्य जीवन आदिभाग, रोहितको बाल्यकालदेखि लिएर उसको आशासितको असफल प्रेम, आशा र उसको अर्कै अर्कैसित बिहा भएको र राजनैतिक दङ्गा आदि मध्यभाग र रोहितको दाम्पत्य जीवन र उसको उपन्यासको प्रकाशन आदि अन्यभाग हुन् । यसमा कथावस्तु कम र तथ्यात्मकता र भावनात्मकता बढी भएको छ ।

उपन्यासको पात्रविधान — यस उपन्यासमा पात्रविधान सफल नै रहेको भन्न सकिन्छ । यो पात्रबहुल उपन्यास हो । यसका मूल पात्र, सहायक पात्र-पात्रा, गौण पात्र-पात्रा र अतिगौण पात्र-पात्रा गरी चार वर्गीकरण गर्न सकिन्छ । यसका मूल पात्र रोहित हो भने सहायक पात्र-पात्राहरूमा म पात्र विजय कुमार श्रेष्ठ, हस्तबहादुर महाजन, महाजनी, बोगी, कान्छा आदि । गौण पात्र-पात्राहरूमा आशा, धनेदाइ, कमला, इन्द्रे, आदि हुन् । रोहित नै यसका मूल नायक भन्न सकिन्छ । उसकै जीवनी, विचार, मानसिकता आदिमा नै उपन्यास अडिएको छ । रोहितको गोर्खालीहरू असममा बसेपछि यहीँका रैथाने भएर बस्नुपर्छ भन्ने विचारलाई नै उपन्यासले मूल विषयवस्तु रचिएको छ । रोहितकै वरिपरि कथावस्तु घुमेको छ । उपन्यासको आशय नै रोहितका विचार, मानसिकता आदिमा केन्द्रित रहेको छ । यसमा कार्बीहरूका गाउँबुढा बुडेन्टी पनि प्रस्तुत गरिएको छ ।

दृष्टिविन्दु — यस उपन्यासमा प्रथम पुरुष दृष्टिविन्दुको प्रयोग गरिएको छ । यद्यपि म पात्रको भूमिका भने परिधेय छ । उसको उल्लेखनीय भूमिका देखिन्न बरु उसले पाठकलाई रोहितको बारेमा र असमको सामाजिक राजनैतिक स्थितिको विवरणदाताको रूपमा मात्र पाइन्छ । यसमा म पात्रले अरू खेलाडीले खेलेको विवरण दिएसरह बाहिरबाट रोहित र अन्य पात्रहरूको कार्यविवरण प्रस्तुत गरिरहेको छ ।

उपन्यासको परिवेश — रैथाने उपन्यास मूलतः ग्रामीण परिवेशमा रहेको छ । असमको कार्बी आङ्लाङ जिल्लाभित्रका अत्रिघाट, गुप्तीवास, तामुलपुर आदि जस्ता गाम्रीण क्षेत्रहरूमा कथा घुमेको पाइन्छ । असमका खेत खलियान, जङ्गल, नदीनाला, ग्रामीण घरहरू आदि यसका बाह्य परिवेश हुन् । यसको भौतिक परिवेश, कालिक परिवेश, आन्तरिक परिवेश, मानसिक परिवेश आदिलाई प्रस्तुत गरिएको छ । यसमा भौतिक रूपमा ग्रामीण परिवेश पाइन्छ । ग्रामीण घरभित्रका मूल घर, पाकघर (भान्साघर), गुवाली, गाइगोठ, पँधेरा आदिको वर्णन पाइन्छ । यसमा असममा नेपालहरूको सांस्कृतिक परिवेशको पनि अङ्कन गरिएको पाइन्छ ।

====

उपन्यासमा तथ्यात्मकता — रैथाने उपन्यासको सबैभन्दा सबल पक्ष नै यसमा रहेको ऐतिहासिक प्रसङ्ग र तथ्यात्मकता रहेको छ । यसमा असमेली नेपाली जनजीवनको सामाजिक, राजनैतिक, आर्थिक ऐतिहासिक, भौगोलिक तथ्यहरू प्रस्तुत गरिएको छ । यसमा बाल्यकालीन नोस्टाल्जिक भावनासँगै उपन्यास शुरु भएको छ ।

यसमा असमका शङ्करदेवका चेला रतिकान्त उपाध्यायको योगदानदेखि लिएर वर्तमानसम्मको उल्लेख पाइन्छ । असमको  आध्यात्मिक, स्वाधीनता सङ्ग्राम, राजनैतिक शैक्षिक, कृषि, खनिज खनन आदि क्षेत्रमा गोर्खालीहरूको योगदानको पनि चर्चा गरिएको छ । यसमा असमीय समाजका मूल निवासी, आदिवासीसित गोर्खालीहरूको सामाजिक सांस्कृतिक राजनैतिक आर्थिक सह-सम्बन्धको पनि परोक्ष प्रत्यक्ष चर्चा गरिएको पाइन्छ । कार्बी आङलाङ जिल्लाका मूल कार्बीहरूसित गोर्खालीको सम्बन्धलाई पनि सूक्ष्म रूपमा केलाइको छ । उनीहरूका गाउँबुढाले घरमा नै आएर जग्गा जमिन कमाउन दिएको प्रसङ्ग छ ।

असमलाई हराभरा, शश्य-श्यामला तुल्याउने, अन्न, दूध उत्पादन गरी असमभरि वितरण गर्ने नेपालीहरूको ठुलो योगदान छ । नेपालीहरूले स्थानीय मान्छेका जग्गाजमिनमा खेती गरेर अन्नादि उपार्जन गरी अन्न खुवाउने गर्दछन् । यद्यपि समय क्रममा राजनीतिले कोल्टे फेर्दा गोर्खाली बिल्लिबाठ परेका थिए । असमको राजनिती बिग्रेर गएको थियो । असमका मूल बासिन्दाभन्दा विशेष गरी बङ्गलादेशतिरबाट गएका मानिसहरूको बहुसंख्या हुन थालेकामा स्थानीय मानिस त्रसित भएका थिए । बिस्तारै असन्तुष्टि, आक्रोश, असुरक्षा आदिको भावले दोहोरिएर एउटा विदेशी बहिष्कार आन्दोलन सन् १९७९ देखि १९८३ सम्म चलेको थियो । यसको फलस्वरूप असममा बर्सौंदेखि रहिआएका गोर्खाहरू पनि यस आन्दोलनको भुँवरीमा लपेटिएको थिए । धेरैका घर जले, गाई बाख्रा डढेर मरे-मारिएर, ज्यान गयो । यस असुरक्षाको भावनालाई पन्छाउन रोहितका विचारहरू औषधीसरह थियो । असम गएर बसिसकेपछि हारेर भाग्नु होइन बरु खुट्टा दरो गरी बस्नुपर्दछ ।

उपन्यासमा असममा गोर्खाहरू मूल दुई खालका गोर्खालीहरू देखाएको छ- आफू असमकै रैथाने भावना भएका र अर्का खालमा असम छोडेर नेपाली फर्किनेहरू हुन् । यो पछिल्ला खालका नेपालीहरू असममा बसेर कमाइ गरी नेपाल फर्किने मानसिकता लिएका हुन्छन् । यद्यपि राजनीतिले कोही बेला साथ दिँदैन । राजनीतिको भुङ्ग्रोमा परेर निर्दोष जनताका ज्यान गएको, घर जलेको, गाईबस्तु मारिएका, बलात्कार, लुटपिट आदि भएर पलायन हुनुपर्ने बाध्यता पनि आइपरेको थियो । १९७९ देखि १९८३ सम्मको विदेशी बहिष्कार आन्दोलनले यस्तो सम्म भएको थियो । पुस्ताले बस्तै आएका धेरै गोर्खालीहरूले आफ्नो थातथलो छोडेर अन्यत्र सुरक्षित ठाउँमा गएर बस्नुपरेको थियो । हामी असममा बस्छौं, यहीँको सेवा गर्छौं भन्ने भावना लिएका गोर्खालीहरू पनि भाग्नु परेको स्थिति बनेको थियो ।

उपन्यासको संरचना — उपन्यासको कथावस्तु र विषयवस्तुका तुलनामा यसको बनोट, बुनोट संरचना भने उति सफल मान्न सकिन्न । यसमा उपन्यासको बनोटमा भन्ने कमजोर भएको छ । अध्याय योजना, परिच्छेद योजना, घटना संयोजन योजना, वस्तुविन्यास योजना, शिल्प योजना, कालिक योजना, भाषिक योजना आदिमा भने उपन्यास चुकेको छ । उपन्यासमा कथावस्तु सोलोडोलो रूपमा अघि बढेको छ । घटनाहरूको सपाट वर्णन गरिएको छ । यसो गर्दा पाठकहरूले रोचक विषयवस्तु पाए तापनि यसको शिल्पपक्षका कारण उपन्यास रोचक बन्न सकेको छैन ।

यसमा असमको कार्बी आङ्लाङ जिल्लाको दुई चार गाउँको कुरा जोडिएको भए पनि असमेली गोर्खाली जनजीवनको कथा बुनिएको छ । यद्यपि उपन्यासले कथावस्तुको गहनतालाई थेग्न सकेको छैन । यसको बनोट-बुनोटमा शिथिलता पाइन्छ । प्रथमतः परिच्छेद योजना गरिएको छैन । घटना प्रसङ्ग, समय प्रसङ्ग, स्थल प्रसङ्ग आदि सबैको संयोजन नगरी एउटै परिच्छेदभित्र अघि बढाइएको छ ।

उपन्यासको उत्तरार्द्धमा भने घटनाभन्दा विवरण र विषयविस्तार बढी गरिएको छ । यसमा गोर्खालीको सभामा छात्र नेताहरूले बोलेको लामो वक्तव्यलाई प्रस्तुत गरिएको छ । त्यसका साथै रोहितको विचारलाई पनि लामो रूपमा उतारिएको छ । वक्तव्य र विचारका बिचबिचमा औपन्यासिक कथाप्रसङ्ग जोडिएको छ । उपन्यासको अन्तमा भने विजय कुमार श्रेष्ठ झापा नेपाल भनेर लेखिएको छ । यसको अर्थ हुन्छ पहिले असमका विजय कुमार श्रेष्ठ (म पात्र) अहिले झापा नेपालबाट आफू असम बस्ताको संस्मरणको प्रस्तोता हुन् । रैथाने उपन्यासका उपन्यासकार भने रोहित हुन् र विजय कुमार श्रेष्ठले रोहितमाथि गर्वबोध गर्दै शुभकामना व्यक्त गरिएको छ । यसमा उपन्यासभित्र उपन्यासको अवधारणालाई अघि सारिएको जस्तो औपन्यासिक प्रयोग गर्न खोजिएको भए तापनि यो अन्तमा फ्यातुलो बनेको छ । यसमा कथावस्तु औपन्यासिक कलाभन्दा बाह्य पक्ष र विवरण बढी भएको छ । पढ्दै जाँदा पाठकले कथावस्तुलाई तथ्यात्मकता र विवरण पक्षले थिचेको अनुभव गर्दछ ।

उपन्यासमा विषयवस्तु भने गहकिलो रहेको छ । यसमा असमका दुई पाटोको भौतिक र मानसिक अवस्थाको सर्वेक्षण गरिएको छ । उपर्युल्लिखित असमका नेपालीहरूको विवरण पाइन्छ । यसमा तथ्यात्मकता, ऐतिहासिकता, भौगोलिकता, सामाजिक र सांस्कृतिक परिस्थिति सबैको जानकारी पाइन्छ । त्यहाँ नेपालहरू कहाँ र कसरी बसेका छन्, के गरी जीविकोपार्जन गर्छन्, सङ्कटका बेला कसरी आफुलाई जोगाएका थिए? के खान्छन्, कस्तो घर बस्छन् आदिका इतिवृत्त पाइन्छ । यस हिसाबले उपन्यास सफल र सबल बनेको छ । पाठकका निम्ति रोचक बनेको छ ।

उपन्यासको भाषा — रैथाने उपन्यासको भाषा सरल सहज र स्वाभाविक छ । यसमा मानक र बोलचालको गरी दुई वटा नेपाली भाषाको प्रयोग पाइन्छ । यद्यपि केही असमेली शब्दहरू पनि प्रयुक्त रहेको छ । टोप्लो, फान, हाफलु, कराइबारी, लड्डी, हाप्पा, प्रजन्म, डण्ठ्याउनु, पाकघर, नामघर आदिजस्ता असमीय मूलका शब्द प्रयोग भएको पाइन्छ । यसमा भाषा भने दुर्बल नै रहेको पाइन्छ । भाषा आकर्षक भने बन्न सकेको छैन । शैलीका दृष्टिकोणबाट हेर्दा यो उपन्यास उति रोचक बन्न सकेको छैन । यसमा लेखकीय भाषा र पात्र संवादको भाषाको सीमारेखा क्षीण रहेको छ अर्थात् पात्रहरूले पनि प्राय मानक भाषा नै बोलेका छन् ।

====         

उपन्यासको मूल्याङ्कन र उपसंहार

‘रैथाने’ विशुद्ध रूपमा असमको रैथानेका समस्यामा केन्द्रित उपन्यास हो । असममा मूलतः तीन खालका मान्छे बस्छन्- मूल असमीय रैथाने, अन्यत्रबाट काम गर्न गएका मानिसहरू र बङ्गला देशबाट असम सिमानाभित्र जबरजस्ती छिरेकाहरू मान्छेहरू । बर्सेनी नेपालबाट हजारौं मान्छे असम पस्ने गरेको इतिहास लामो छ । त्यहीँको रैथाने भएर साङ्गठनिक रही बस्नुपर्दछ भन्ने रोहितको विचार नै उपन्यासकारको मूलोद्देश्य हो ।

असममा नेपालीहरू पनि मूलतः दुई खालका बस्छन्- असममा बसेर तहीं सङ्घर्ष गरेर भए पनि त्यहीँको स्थायी बसोबास गर्न चाहने, अर्को खाले छन् जो असमबाट केही सारोगारो परे नेपालतिर भागी हाल्ने मानसिकता बोकेका । यो पछिल्लो खालका असमे नेपालीहरूका कारण भावी पीढीलाई अप्ठ्यारो पर्ने सम्भावना हुन्छ भन्ने उपन्यासकारको ठहर छ ।