एकछिन भए पनि आफैँसित समय बिताउने र झिसमिसे साँझमा डुल्ने बानी परेको छ । घरछेउ, एकान्त बगैँचामा अडिन्छु । चारैतिर हेर्छु । जूनकीरीको बोली र चमक मलाई अँगालोमा बेर्न आतुर भएझैँ आभास हुन्छ।
आकाशमा तारा र त्यसमध्ये मेरी प्रिय जून, त्यसै नजर अड्दो हो, तिम्रो मुस्कान सम्झिन्छु । प्रफुल्लित हुन्छु, स्थिर हुन्छु । बस्, श्वास चलेको आभास छ । आफ्ना भाव मनमा र श्वास फोक्सोमा खाँद्छु, पुलकित हुन्छु ।
हो, मलाई रात मन पर्छ । आफूभित्रको अन्धकारसँग डर त्यो हदसम्म लाग्छ जुन हदसम्म बालक हुँदा बाँसबारीतिर हेर्दा डराउँथेँ । अचेल दिनको उज्यालोमा आफ्नो आत्मप्रकाश गुमे झैँ लाग्छ। मध्यरातको ध्वनि शून्यतासँग मलाई प्रेम भएछ क्यार ! निःशब्द माहौलमा आफ्नो भाव शब्द बनी प्रस्फुटन हुँदो हो, जसरी माटोमा गडेको बिउ अङ्कुरित हुन्छ । समयको गतिबाट बेखबर, निरन्तर बगिरहने खहरे खोलाझैँ यी मेरा मृदुल भावहरू हुन् ।
प्यारी जूनलाई हेरी मनोवाद गर्छु, तिमीसँग गर्न नसकेका संवाद …
थाहा छैन तिमीलाई, म कति सम्झन्छु । हर पल तिम्रै अस्तित्वले मेरो मनलाई बाँधिरहेको हुन्छ । एक्लै हुनुभन्दा एक्लोपन बडो पीडादायक हुँदो हो, आफ्नो समेत अनुभूति नहुनुको एक्लोपन ।
आफ्नो दुई हत्केला पछाडितिर जोड्छु, एकछिन डुल्छु । फेरि आकाशतिर हेर्छु ।
जून ! तिमी त्यस्तै छाै – प्रकृतिको सर्वोत्तम आकृति । उनको स्पर्श तिम्रो ज्योतिझैँ मृदुल होला जसको अतृप्ति ममा व्यापक छ । प्रेम प्रकृति विकासको नियम, इभोलुसन प्रक्रियाबाट अछुतो हुँदो रहेनछ। पानीझैँ माया तलतिर बग्न खोज्छ भन्छन्, थाहा छ प्रिय ! म अचेल बालपनको मृदुलताप्रति बडो मोहित हुन्छु ।
तिम्रो बोली, लजालु स्वभाव, हिँडाइको लचकता, यौवनको चञ्चलता, नयनको आकार, मुस्कान अनि भावसागर समाहित मुहारको प्रतिबिम्बमा म बालपन देख्छु । तिम्रा सबै आनीबानी बालापनको मृदुलतामा समाहित भएजस्तै लाग्छ ।
म आस्तिक-नास्तिककाे वादविवादभन्दा पर सृष्टिनिर्माताको प्रतिबिम्ब बालकहरूमा छर्लङ्ग देख्छु । अहो ! त्यो मधुर तोतेबोली, लडीबुडी हिँड्ने प्रयास, घुम्रेको कपाल ! उसले सुन्दर संसार देख्छ कि संसारले आफूलाई उसको आँखाबाट अद्भुत आभास गर्न पाउँदछ ?
प्रकृति – यो धर्तीको उपज, जननी पृथ्वी – नारी हृदयको वात्सल्य, काखको न्यानोपन सबै उसका लागि सागरसरि पस्रिन्छन् । अनि ब्रह्मले वायुको वेगमा सन्देश पठाउँछ, “ए बालक ! आऊ मेरो तृप्तिको साक्षी आफ्नो फूल गुच्छाभन्दा नि कोमल पाउको स्पर्शले मेटाइदेऊ !”
जीवन क्षणभङ्गुर, प्रेम अमर छ । पन्च-तत्त्वले बालहृदयमा यो ज्ञान भर्न आतुर देखिन्छ । कसले उसको गालामा म्वाइँ खायो ? कसले उसको पाउ समायो ? किन बादल गर्जिन्न तर बर्सिन आतुर छ ? यस्ता प्रश्नहरूले बाल मन भरिएको छ तर उसलाई वर्तमानको वेगमा बाँचेको आभासले हलुको बनाउँछ । कपाससरि हावामा पौडिन प्रयत्न गर्छ । बोली र उडानले जिस्काइरहेको चरीलाई आफ्नो ब्रह्मसुखले मात दिन्छ क्यार !
म ती आँखाको पारखी आफूलाई पाउँछु । बडो मायालु त्यो हेराइ, म बुझ्छु मेरो गाईको बाछोको तिर्खाको कथा अनि खोल्दिन्छु डोरी । उफ्रिन्छ, हर्षित ऊ मलाई खुट्टाले जिस्काउँछ ।
आमाको पुकार सफल भएछ । आफ्नो थुनमा बाछोको थुतुनोको स्पर्श पाउँदा गाईको रगतमा प्रेमरूपी ओक्सिटोसिन प्रवाहित हुन्छ । अमृतको खोला बगाउन आतुर हुन्छिन् आमा । मृदुल स्वर भाँ…भाँ… सुनिन्छ । हृदयको बोलीले कसरी बाछोको बालहृदयलाई स्पन्दगत नतुल्याओस् ! श्वास लिन बिर्सिन्छ चञ्चल बाछो, बस दुग्ध अमृतले आफूलाई जीवन्त पाउँछ । प्रकृति आनन्दित हुन्छिन् आफू जीवको प्राणमा परिणत हुँदा । आमाको जिब्रो आफ्नो रौँमा पस्रिँदा मातृत्व मृदुल भाव स्वीकार गरेर पुच्छर हल्लाउँदो हो बाछो ।
हो प्रिय ! प्रेम त प्रक्रिया रहेछ न कि प्रतिक्रिया ..
प्राकृतिक पन्चतत्त्व प्रणमा परिणत भई बालपनको मृदुल भावमा प्रेम प्रस्फुटित भएको देख्छु म । म अज्ञात थिएँ, प्रेमको प्रक्रिया र प्रतिक्रियाको भेदसँग, बाल मृदुल भावमा प्रतिबिम्बित छर्लङ्ग देख्छु ।
त्यो मधुर बाल-बोलीले गजबको आत्मतृप्तिको आभास हुँदो हो । जिस्किन्छु, दुई अक्षर बालबालिकालाई सिकाउन सकुँला तर मलाई बालपनले जीवन दर्शन सिकाउँदै छ। तिम्रो अस्तित्व आभासको पूरक बाल मृदुल भाव, तिम्रो प्रेमिल स्पर्शको अतृप्ति पूरा गर्न प्रयत्न गर्छु । वियोगको व्यथा हराएर जान्छ, हृदय प्रेमले भरिपूर्ण, मनोभाव रित्तिन्छ अनि आँखा भरिन्छ । तर परेलीको बाध तटस्थ पारी आफूलाई समाल्छु ।
म हृदय खोलिदिन्छु । बाल मुहारको नक्कल गर्छु उसकै सामु । अनि पढाउन थाल्छु – अ आ इ ई उ ऊ … । सम्झिन्छु, तिम्रै आँखाको आकार । माथिल्लो परेलीको गाजल । फूलबुट्टे सारीले बेरिएको नागबेली वदन । सब मृदुलताका बिम्बहरू !
बालकको कपाल सुमसुम्याउँछु, आफ्नो स्पन्दनमा तिम्रो नाम पाउँछु । मुटु मृदुल भावले भर्दछ। अब भन – मैले के पाएँ के गुमाएँ ?
पाउनुलाई प्रेम ठान्ने जगतमा म त आफू रित्तिएर त्यो परमात्मालाई भेट्न आतुर हुन्छु । मेरो ब्रह्म सुखश्वासमा समाहित छ, प्राणवायुले मलाई तरङ्गित तुल्याउँछ ।बाह्य तृप्तिको तृष्णाले नै त्यसबाट टाढा लग्छ भन्छन्, जो व्यक्ति आफ्नो आत्मामा सन्तुष्ट र पूर्ण छ। उसलाई अरू कुनै प्रकारको लालसाको आवश्यकता पर्दैन, शास्त्रले भन्छ –
”यस्यां बहिरपि व्योम्नि तृप्तितृष्णा न किञ्चन।
सा धन्या नरकिणी सती कुतुकी वा विजेतृणी।।”
बाह्य आकाशजस्तै तृप्त कुनै प्रकारको कामना वा आकाङ्क्षा नहुने, आत्म तृप्त नर-नारी धन्य छन्, चाहे त्यो नरकको होस्, जनावर होस् वा विश्व-विजेता ।
कुलत अध्यात्मको पनि हुँदो हो विज्ञानको जस्तै, त्यसैले त म अचेल ईश्वर खोज्दिनँ, आस्था राख्छु । देवत्वकरण गर्न छोडिसकेँ, मानव मृदुल भावलाई म अचेल उच्च स्थानमा पाउँदछु ।
बडो गजबको हुँदो हो बालपन, मेरो एक्लोपनको पूरक । लाखौँ तारा भए पनि गगनको एक्लोपन प्रिय जूनले नै हर्छ; तिमी त झन् पूर्णिमाकै प्रतिबिम्ब, रूपको सम्मोहन अजम्मरी छ ।
जूनलाई हेर्दै ओठ खुम्चाइदिन्छु । आँखा झिम्काइदिन्छु । अनि भाग्छु बगैँचाबाट तिमीलाई जिस्काएर भागेसरि । तिमीले लखेटेको आभास हुन्छ बादलु केशमा पूर्णिमाले मलाई पछ्याउँदा । अहो ! धिक्कार छ मुटुले आफ्नै पुरुषार्थलाई नारी स्वभाव र आवरणलाई जिस्काउने आँट खै कहिले गर्ने हो ? कल्पनाझैँ तिम्रो मृदुलताले कहिले मेरो एक्लोपन हर्ने हो, जीवनको रङ्ग भर्ने हो ?
सुत्ने कोठा पस्छु । अबेर भएछ, घन्टौँ उभिएर खुट्टा सुन्निएछ । आलस्यता हाबी हुन्छ । ओछ्यान मिलाई ब्ल्यांकेटमा आफूलाई बेर्छु र सुत्न खोज्छु । तिमीलाई सधैँ झैँ सपनामा भेट्ने आफूसित बाचा गर्छु ।
डायरीमा एक हरफ नलेख्दै भुसुक्क निदाएछु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।