‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरूलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उद्देश्य हो । आगामी दिनमा पाठक तथा स्रष्टाहरूको सहयोगले यस स्तम्भलाई थप सशक्त रूपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ । हाम्रो उद्देश्य, साताभरिमा प्रकाशनमा आएका साहित्यिक पुस्तकहरूलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौँ – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटुन् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरू सम्भव भएसम्म आफ्ना नवीनतम साहित्यिक कृतिहरू साहित्यपोस्टको कार्यालयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।

यसै क्रममा ‘साताका पुस्तक’मा यो साता ५ पुस्तक –  प्रा. डा. अर्जुनदेव भट्टको ‘युद्धबिनाको युद्ध’, ध्रुवनारायण जोन्छेंको ‘तृष्णामा अल्झिएको जीवन’, हरि गौतमकाे ‘कठैबरा काठमाडौं !’, जलेश्वरी श्रेष्ठकाे ‘लाभाका बाफहरू’, यम रेग्मीको ‘पहराकाे जून’ ।

१. युद्धबिनाको युद्ध — प्रा. डा. अर्जुनदेव भट्ट

प्रतिष्ठित चिकित्सक एवम् वाङ्मयसेवी, आख्यानकार तथा कवि प्रा. डा. अर्जुनदेव भट्टकृत नवीनतम उपन्यास हो — “युद्धबिनाको युद्ध” ।

उपन्यास १ सय ५५ पृष्ठमा मौलाएको छ । यसमा ‘चिरकालीन स्मृति’, ‘चेतना, सीप र रोजगार’, ‘औँसी युग’, ‘परिवर्तनको ज्वाला’, ‘जित्नैपर्ने युद्ध’ गरी ५ वटा शीर्षकमा पश्चिम नेपालको इतिहास देउकीसँगै समाजका सबै अभावग्रस्त पीडितलाई समेटिएको पाइन्छ । उपन्यासमा भिन्नभिन्न विचार एवम् प्रवृत्तिका बिचको सङ्घर्ष झिनो रूपमा आएको छ । मानव अधिकारको आवाज पनि गुन्जेको छ उपन्यासमा ।

“यसमा लेखकले देउकी कसरी बनाइन्छ र देउकीको कसरी सामाजिक, सांस्कृतिक हिसाबले शोषण गरिन्छ भन्ने कुरालाई प्रस्तुत गर्नुभएको छ । धर्म कमाउने नाममा आफ्नी माइली छोरीलाई मन्दिरमा चढाउने र त्यसपछि उसको जीवनप्रति कुनै किसिमको संवेदना नराख्ने संवेदनहीन आमाबाबुका कारण ती बालिकाले जीवनभर सामाजिक अपहेलना एवं शोषणको सामना गरिरहनु पर्दछ भन्ने कुरालाई देखाइएको छ यसर्थमा यो एक नौलो विषयवस्तु बोकेको उपन्यास हो भन्ने मेरो ठहर छ ।” भूमिकामा डा. पुष्कराज भट्ट उल्लेख गर्छन्, “…समाजमा मानिसमा चेतना प्राप्तिका लागि मानिसलाई जागृत बनाउनु, अधिकार प्राप्त गर्न सङ्घर्षमा उतार्नु र न्याय, समानता एवं स्वतन्त्रताका लागि लागिपर्न प्रेरित गर्न उपन्यासका डिल्ली, समुन्द्रा, पहलवान, डम्बरा आदि पात्र लागिपरेका छन् । यी पात्रले चालेको अभियानलाई साथसहयोग दिने काममा डिल्लीकी आमा पनि लागिपरेकी छिन् ।”

‘दुई शब्द’मा अर्जुनदेव भट्ट लेख्छन्, “पात्रहरू पूर्वजहरूको ज्यादतीको बदख्याँइ गरेर मात्र बस्दा उनीहरूको जीवनमा फरक पर्ने छैन भन्ने विचारमा यकिन राख्दछन् । कर्म, सिप, चेतनाको वृद्धि र निरन्तरको सङ्घर्षले मात्र प्रत्येकले आफ्नो जीवन बदल्न सक्छ भन्नेमा ती दृढ छन् । यही इरादा राखेर ती निरन्तर कर्ममा जुटेका छन् । धार्मिक अन्धविश्वासमा बाँचेको पितृसत्तात्मक समाजमा नारी, दलित तथा सबै आर्थिक रूपमा दुर्बल मानिसहरू आत्मविश्वास र आत्मसम्मानसहित बाँच्ने मौका खोजिरहेछन् । ती देख्दा मात्र जिउँदा तर सबै प्रकारका अभाव, अपमान, पीडा र बन्देजले भित्रभित्रै मरिरहेका छन् । उनीहरूको शरीर मात्र आफ्नो तर सबै लुटिएको कतै कहीँ केही बाँकी राखिएको छैन ।”

पुस्तकको कभर पृष्ठमा लेखिएको छ, “आत्महत्या गर्नु समस्या र चुनौतीदेखि डरेर भाग्ने सबैभन्दा निकृष्ट, निराशा प्रकट गर्ने उपाय हो । त्यो समाधान हँदै होइन । मानिसको जीवनमा थुप्रै चुनौती र अवरोध छन् तर यो देशमा काम नपाइने होइन ।”

पुस्तकलाई भुँडीपुराणले प्रकाशनमा ल्याएको हो । पुस्तकको मूल्य २ सय ९० रहेको छ ।

‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍० ० ० ०

२. तृष्णामा अल्झिएको जीवन — ध्रुवनारायण जोन्छें

“तृष्णामा अल्झिएको जीवन” – शिक्षासेवी तथा लेखक ध्रुवनारायण जोन्छेंको लेखहरूको संग्रह हो ।

यसमा लेखकले आफ्ना अनुभव तथा भोगाइका विविधा पाटाहरूलाई ‘मान्छेको सच्चा साथी बैँकको पासबुक’, ‘रिसाउने बानी’, ‘शान्तिको अग्रदूत गौतम बुद्ध र शान्तिको देश नेपाल’, ‘छन्दवादी राष्ट्रकवि माधवप्रसाद घिमिरे’, ‘अनुशासन र स्वतन्त्रता’, ‘आलु एक उपयोगिता अनेक’ आदि शीर्षकमा समेटेका छन् ।

भूमिकामा ध्रुव मधिकर्मी उल्लेख गर्छन्, “मान्छेको साथी बैंकको पासबुकमा पैसाको साहै अभाव हुँदा कसैबाट सहयोग नपाएको तर त्यही बेला आफूले कुनै समय बैंकमा खाता खोलेर केही रुपैयाँ जम्मा गरेको सम्झना आउँदा त्यसले दिएको तृप्तिको अनुभवलाई रमाइलो प्रकारले लेखिएको छ । त्यसैगरी प्रशंसा एक सफलता अनेकमा पनि आफूले प्रशंसा गरिदिँदा मजाले खान पाएको, बास पाएको रमाइलो प्रसङ्ग छ । लेखक जोन्छेंले शान्तिका अग्रदूत गौतम बुद्ध र शान्तिको देश नेपालमा शान्तिको महत्त्व र गौतमबुद्धको बारेमा उल्लेख गरेका छन् भने साहित्यकारहरू वी.पी. कोइराला, महाकवि देवकोटा, माधव घिमिरे, भैरव अर्यालका बारेमा आफूले जाने बुझेका कुरालाई सामान्य रूपले चर्चा गरेका छन् । यसैगरी अनुशासनको महत्त्व, सेवाको आवश्यकता, रिसले पार्ने प्रभाव, मेहनत र परिश्रम बारेमा पनि थोरबहुत लेखिएका छन् ।”

शुभकामनामा निरुपा प्रसून लेख्छिन्, “अलग-अलग बिषयमा फरक-फरक प्रस्तुतिका कारण एउटा ओझिलो पुस्तक बनेको छ ‘तृष्णामा अल्झिएको जीवन’ । …हाम्रै वरिपरि घटेका घटनाहरू साथै आफ्नै जीवनका भोगाइहरू समेटिएको यस पुस्तक एउटा जीवन उपयोगी पुस्तक बन्न सफल हुनेछ भन्नेमा विश्वस्त छु ।”

“जीवनको यात्रामा अगाडि बढ्दै कयौं वसन्तहरू अनि केही दशक पार गर्दै गर्दा मैले भोगेका जीवनका तीता-मीठा अनुभवहरूलाई यस पुस्तकमा लिपिबद्ध गरेर तपाईंहरू माझ प्रस्तुत गर्ने जमर्को गरेको छु । मेरा केही असल मित्रहरूको सल्लाह अनि सुझाव मुताबिक साथै जीवनको कालखण्डमा विभिन्न पत्र-पत्रिकाहरूमा प्रकाशित भैसकेका केही लेखहरू यसमा समावेश गरेको छु ।” लेखक उल्लेख गर्छन्, “जीवन एउटा यात्रा हो । यो यात्रामा हरेक व्यक्ति सामेल हुनैपर्छ, चाहे जीवन सहज होस् वा असहज । जीवनका सहज अनि असहज परिस्थितिहरूको सामना गर्दै सकारात्मक सोचका साथ अघि बढ्नु सार्थक जीवनको अर्थ हो । जीवनलाई सरल, सहज अनि अर्थपूर्ण बनाउनको लागि सबैले कोशिस गरौं, मिहिनेत गरौं अनि असल नागरिकको परिचय दिऔं ।”

पुस्तकलाई मीरा जोन्छेंले प्रकाशनमा ल्याएका हुन् । ९८ पृष्ठमा आबद्ध पुस्तकको मूल्य २ सय रुपियाँ रहेको छ ।

‍‍‍‍० ० ० ०

३. कठैबरा काठमाडौँ ! — हरि गौतम 

समाज विज्ञान र संस्कृतिका बारेमा विशेष अभिरुचि राख्ने साहित्यकार हरि गौतमको गैरआख्यानात्मक कृति हो – “कठैबरा काठमाडौँ !” ।

३ सय ६७ पृष्ठमा फैलिएको निबन्ध (अनुसन्धान र अनुभवको सँगालो)लाई दुई खण्डमा विभाजन गरिएको छ । खण्ड (क)मा ‘कठैबरा काठमाडौँ !’, ‘मानव विकास र वंशपरम्परा’, ‘सम्बन्धविच्छेद र पुनः विवाह’, ‘नेपाल-भारत सांस्कृतिक सम्बन्ध’ गरी १३ थान शीर्षक तथा खण्ड (ख)मा ‘मृत्यु चेतना’, ‘पहिराले दिएको ऐँठन’, ‘यसरी एउटा फोनले बाँचे’ आदि ६ थान शीर्षक समाविष्ट छन् ।

“जन्मनासाथ हरेक शिशु माताका स्तनपानबाट सबल हुन्छ । लेखकले खेती किसानीमा निर्भर आमाबाबुका प्यारा सन्तानको बाल्यकालको विषम परिस्थितिको समेत यस रूपमा पेश गरेका छन् : केही खानेकुरा दिएर कोक्रामा राखी काममा हिँडेका बाबुआमा बेलुका मात्र घर फिर्थे । त्यही कोक्रामा दिसापिसाब गरे पनि त्यहाँ सुते पनि भोक लागे पनि केही उपाय थिएन (आमा जानु भो ! बाट) ।” प्रा. डा. हेमचन्द्र नेपाल लेख्छन्, “परिशेषमा भन्दा परिपुष्ट यी निबन्धमा गुणानुवाद मात्र छैन, दोष-दर्शनको आलोचनात्मक कला मात्र पनि छैन, यहाँ त झिनामसिना कल्पहरू जोड्दै शब्द शब्दपुञ्जले द्रष्टा र दृश्यहरू बोध गराउने नव युगीन चेतनाको अभिनवन छ । अनुभूति, अध्ययन र चिन्तनका परिपाकले गर्दा कुशल निबन्धकार गौतम प्रथम निबन्ध सङ्ग्रहमा नै परिपक्व देखिएका छन् । यथास्थानमा पहिरिएका आभूषणले मानव जातिलाई झकिझकाउ पारेजस्तै निबन्धकार गौतमका प्रौढ परिकल्पनाले एक गम्भीर अभिप्राय वा मौलिक विचार-सारलाई शब्दालङ्कार, अर्थालङ्कार र उभयालङ्कारका समुच्चयार्थलाई प्रतिफलित पार्दै लागेका छन् । हाम्रा महान् नाटककार बालकृष्ण सम साहित्यिक अलङ्कार आकलनका क्रममा ठिकै भन्छन् : ‘सुवर्ण जति ठो किन्छ गहना मात्र बन्दछ ।’”

नारायण ढकाल लेख्छन्, “प्रस्तुत कृतिलाई अध्ययन गर्नु भनेको ज्ञानका महासागरमा डुब्नुजस्तै आनन्दको विषय हो । त्यसको ज्वलन्त उदाहरण ‘कठैबरा काठमाडौं’मा पाइन्छ । उहाँले एउटै प्रेक्षागृहमा व्यक्ति, समाज, इतिहास र दर्शनको कठोरतम विवेचना प्रस्तुत गरिएको छ । सरसर्ती पढ्दा म अन्तस्करणबाटै आह्लादित भएको छु ।”

प्रा. डा. लक्ष्मणप्रसाद गौतम, “‘कठैबरा काठमाडौँ !’ यस्तो निबन्ध सङ्ग्रह हो त्यो पनि अनुसन्धानमूलक ? भन्ने प्रश्न उठ्न सक्छ । निबन्ध पनि अनुसन्धानमूलक हुन सक्छ भन्ने प्रश्न गर्न सकिन्छ यसको जवाफ गौतमको कठैबरा काठमाडौंले दिएको छ । वस्तुगत प्रबन्धदेखि इतिहास, दर्शन, संस्कृति हुँदै संस्मरणका अनेक शृङ्खला उनेर उनले यो कृति तयार पारेका छन् । स्रोतसन्दर्भ समेत दिएर तथ्य पुष्टि गरेका छन् । नेपाली साहित्यमा अनुसन्धानात्मक निबन्ध अत्यन्त कम छन् । यस्ता निबन्ध लेख्न प्रशस्त अध्ययन गर्नुपर्छ, जसको प्रतिबिम्ब यी निबन्धमा पाइन्छ ।”

ओरिएन्टल डेस्कले बजारमा ल्याएको यस पुस्तकको मूल्य ६ सय ५० रुपियाँ रहेको छ ।

० ० ० ०

४. लाभाका बाफहरू — जलेश्वर श्रेष्ठ 

कथाकार जलेश्वर श्रेष्ठकृत कथासंग्रह हो — “लाभाका बाफहरू” ।

१ सय ४४ पृष्ठमा रहेको यस पुस्तकमा ‘निर्णय’, ‘टेस्टट्युब बेबी’, ‘नयाँ बिहानी’, ‘बिचरा’, ‘अर्पण’, ‘पहिचानको चिन्ह’ लगायत २१ थान कथा संग्रहित छन् ।

दोस्रो संस्करण प्रकाशकीयमा लेखिएको छ, “सर्जक जलेश्वर श्रेष्ठका कथाहरू कविताजस्तै सरल छन् । सामान्य गति र गन्ध लिएर हाम्रै वरपरका बिषय सोझै संवाद गर्न आइपुग्छन् । दर्शन, सिद्धान्त र कठोर भाष्य यहाँ पटक्कै छैन । कथानकताले यौवन समातेर पक्रेको झैं लाग्दछ । सङ्कलित रचनाहरूले घरघरमा दबेका आवाज, परिवारपरिवारमा हुर्केका व्यवहारिक समस्याका बारेमा बोलेका छन् । त्यसैले स्वभाविकरूपमा महिलाका बिषयहरूले सबै रचनामा प्रधानता पाएका छन् तर पुरुषका सन्दर्भमा पनि पारदर्शी र इमानदार भई पात्रहरूले बकेका छन् ।”

यो केन्द्रीय स्वरको पनि केन्द्रमा के छ ? एउटा अर्को प्रश्न छ । जलेश्वरीका कथाहरूमा केन्द्रको पनि केन्द्रमा रहेको स्वर मातृत्वको हो । कथाका पात्रहरू कतै सम्झौता गर्दैनन्, कहिलेकाहीँ गर्छन् भने मातृत्वका लागि गर्दछन् । तर त्यसलाई म सम्झौता भन्दिनँ, मातृत्वको संवेदनशीलता भन्न चाहन्छु । यसका पात्रहरूलाई आफ्नो शरीर र रगतको मात्र होइन अस्तित्व र पहिचानसमेत बनेका सन्तान आमाको नाउँले नै चिनिनु पर्नेमा सन्तान, उसकी आमाप्रति जतिसुकै क्रूर हुने पिताको नाउँले नै चिनिनुपर्ने बाध्यता किन ?” ध्रुवचन्द्र गौतम उल्लेख गर्छन्, “यसरी एक नितान्त नयाँ कथाकारका नितान्त नयाँ यी कथाहरूले आजको नारीचेतनालाई तीक्ष्ण रूपमा स्वर प्रदान गरेका छन् । नेपाली कथामा नयाँ कथा नारी हस्ताक्षर जो आफ्नो विषयगत यथार्थलाई स्पष्ट र प्रभावकारी स्वर दिने प्रयासमा इमानदारीसाथ लागेको छ, स्वागतयोग्य छ । आफ्ना भावहरूलाई यसै गरी इमानदारीले रूप दिँदै गएका खण्डमा कथाकारले पहिलो कथासङ्ग्रहको शक्ति झन्झन् विकसित हुने कुरामा म विश्वस्त छु ।”

मनका कुरामा जलेश्वर श्रेष्ठ लेख्छिन्, “यी नारी हृदयमा गुम्सी बसेका भावनाका अभिव्यक्तिहरू मात्र हुन् । जब-जब म मेरा अभिव्यक्तिहरू व्यक्त गर्छु मेरो मनमा शूल बनेका पीपको पोकाबाट पीप निस्किसकेपछि मात्र आनन्दको अनुभव भएझैँ लाग्छ । अझ पनि मेरो मनभित्रका घाउमा धेरै पीपहरू छन्, त्यसलाई पनि निचोरेर झिक्ने कोसिसमा छु ।”

रङ्ग नेपालबाट प्रकाशित यस पुस्तकको मूल्य ३ सय ९९ रुपियाँ रहेको छ ।

० ० ० ०

५‍ . पहराको जून — यम रेग्मी 

साहित्यपोस्टका छन्दकविता सम्पादक तथा साहित्यकार यम रेग्मीको छन्दबद्ध कवितासंग्रह हो – “पहराको जून” ।

वणर्मात्रिक छन्दका ५२ वटा कविता रहेको कवि रेग्मीको ‘पहराको जून’मा डेढ दर्जनभन्दा बढी वर्णमात्रिका छन्दहरूको प्रयोग गरिएको छ ।

यसमा “गुरुदेव, महिला यातना, प्रियसीलाई सन्देश ,देश रोइरहेछ, गाउँ, रगतको पर्व, रातो बाकस, हराएको प्राण ,किन यस्तो ?,आकाशे बेली, बाँझो धर्ती, पानी, पहिलो प्रेम, बन्द, मार्ग, सगरमाथा, सीमाको अनुरोध, जिउनुको अर्थ ,सिर्जनामा मेरो समाज, धर्तीले धैर्य त्याग्दा, च्यापिएका सपना” जस्ता फरक फरक ५२ वटा विषयवस्तुलाई कवितामा उठान गरिएको छ ।

भूमिकामा कालीप्रसाद रिजाल लेख्छन्, “प्रायः छन्द कविताहरू प्रकृतिको वर्णन र विषयको लालित्यमय प्रस्तुतिमा केन्द्रित रहेको पाइन्छ तर रेग्मीजीको कवितासंग्रह यो परम्परा भन्दा फरक रहेको र नेपाली जीवनको मार्मिक शब्द चित्र प्रस्तुत गर्नमा केन्द्रित र विस्तृत रहेजस्तो मैले अनुभव गरेँ। यस मानेमा रेग्मीजीले छन्दबद्ध कवितालाई आधुनिक फ्लेवर प्रदान गरेजस्तो मलाई लाग्यो । सामाजिक जीवनका अन्य पक्षका साथै प्रस्तुत कविताले जनमानसमा भएका आशा ,अभिलाषा र अपेक्षाहरूको तुसारापात भएपछि उत्पन्न निराशा, क्षोभ  र आक्रोशलाई अत्यन्त सशक्त रूपमा उद्घोष गरेका छन् । यसका साथै समाजमा विद्यमान शोषण उत्पीडन भेदभाव र विसंगतिप्रति पनि कविले चोटिलो प्रहार गरेका छन् । खास गरी नारी जातिमाथि गरिने पक्षपात र दुर्व्यवहारको विरुद्ध विद्रोहको आवाज पनि बुलन्त गरेका छन।”

पुस्तकलाई ए. डी .बी. पब्लिकेसनले बजारमा ल्याएको छ ।