मुतकारिब मुसम्मन सालिम
▪️अमर त्यागी

अमर त्यागी

शिखरबाट स्वार्थी झरेको झऱ्यै छन्
घडा तिर्सनाको भरेको भऱ्यै छन्

सहृदयीहरू छन् यहाँ छद्मभेषी
कपट कृत्य कालो गरेको गऱ्यै छन्

सिधा शिष्ट साथी सबै पारि छोड्दै
नदी नीचताको तरेको तऱ्यै छन्

बियो बन्धुताको मियो मुख्य पथमा
कडा क्लेष काँडा छरेको छऱ्यै छन्

सहन्नन् दुखेको चिसो साथ कोही
चुनी ठाउँ न्यानो सरेको सऱ्यै छन् ।

 

मुतकारिब मुसम्मन सालिम

        

▪️होम सुवेदी

 

मलाई तिमीले निकै नै सतायौ
सताएर धेरै यता व्यर्थ आयौ ।

भुलेको थिएँ शान्तिको सास फेर्दै
परैबाट उल्टो नयाँ गीत गायौ ।

नआऊ बिथोल्दै घुमी फेरि फेरि
गरेँ प्रार्थना फे‍रि बाटो बिरायौ ।

बडो यत्नले भुल्न थालेँ परन्तु
तिमी फेरि मेरा घरैनेर धायौ ।

कुनै रीतले जिन्दगी बित्न थाल्दा
मिठा घाम झुल्के भनेझैँ उदायौ ।।

 

( मुतकारिब मुसम्मन सालिम )
वजन:- १२२,१२२,१२२,१२२

▪️पुष्पा नेपाल (सुवेदी)

थपी तेल बाती जलाऊ दियामा
हुँदैछ मिलन रामजीको सियामा

लुकाएर पीडा म चाहान्छु हाँस्न
तिमी तीर रोप्छौ वचनले हियामा

भुलेँ लक्ष्य सारा बिराएँ कि बाटो
गुम्यो होस मेरो हराएँ प्रियामा

कहाँ छुन्छ दिलमा थुपारेर शब्द
गजल हुन्छ मीठो रदिफ काफियामा

थियो चाह मेरो गगन चुम्ने किन्तु
भो बेकार जीवन छ जम्दै खियामा ।

इलाम।

 

मुतकारिब मुसम्मन सालिम
▪️शारदा भण्डारी काफ्ले

(भूजङ्गप्रयातमा आधारित)
वजन: १२२ १२२ १२२ १२२

न हर्ता न कर्ता कुमारी नचाएँ
न खाए न पाएँ न आमा हँसाएँ!

नगर्दा सुकार्य पछुताे हुँदैछ
न राेपेँ न गाेडेँ न बाली लगाएँ!

छ माया सुनौलाे म भन्थेँ स्वदेश
न फाँडे न जाेतेँ न बारी बनाएँ !

म डुल्दा र घुम्दा विदेशी धरामा
न छायाँ न मायाँ म भन्दै कराएँ !

न काेरी सलाई चिथाेरेर बन्साे
यिनै पौरखी हातले नै हटाएँ!!

विराटनगर

मुतकारिब मुसम्मन सालिम !

▪️शारदा गौतम आचार्य

नदी भेट्न खोल्सो बगेको छ एक्लै
बनी स्वावलम्बी फलेको छ एक्लै

छ सङ्कल्प ज्यादा छ इच्छा अनेकौँ
बनी शक्तिशाली बनेको छ एक्लै

नमूना देखाउन कसैलाई उसले
पुगी खोचमा खुद पुगेको छ एक्लै

बिजेता बनेरै कुना कन्दरामा
सदा शक्तिशाली जमेको छ एक्लै

सँगै देश हाँक्ने बनाएर लक्ष्य
छरी ज्योति ज्वाला हिँडेको छ एक्लै !

ललितपुर

मुतकारिब मुसम्मन सालिम

▪️सिर्जना खनाल

कताबाट आयो समाचारजस्तो
मलाई भएको छ आधारजस्तो

तिमी नै सहारा बनेको बखतमा
दिऊँझैँ भएको छ आभारजस्तो

कुनै पल चढाएर झार्दा मलाई
बनेका थियौ एक चित्कारजस्तो

असाध्यै नजिकका तिमी देख्छु मैले
नलागोस् बोलीले रुखो धारजस्तो

अनादर गरेको छु झैँ लाग्न सक्छ
त्यसैले नबुझ्नू म नै सारजस्तो ।

भैरहवा, रूपन्देही

मुतकारिब मुसम्मन सालिम

▪️सुधा बाँस्कोटा ढकाल

गराैँ के र पीडा सदा जिन्दगीमा
डटाैँ के गरी खै व्यथा जिन्दगीमा

यता टाल्न खाेज्याे उता च्यातिदै छ
सिलाऊँ कता खै झुत्रा जिन्दगीमा

दुखेकाे छ छाती सदा वेदनाले
बुटी भेटिएला कता जिन्दगीमा

सुधा झैँ छु हर्दम निरूपम तथापि
असाध्यै छ बाधा कडा जिन्दगीमा

कता पुग्नुपर्ने कता पाे गएछु
कतै छैन मेराे मजा जिन्दगीमा ।

काठमाडौँ

मुतकारिब मुसम्मन सालिम

▪️नानीमाया सुनुवार ‘नामासु’

(भुजङ्गप्रयातमा आधारित )
वजन:- १२२,१२२,१२२,१२२

मलाई नखोज्नू बसेको छु एक्लै
जहाँ पात जस्तै झरेको छु एक्लै

म झर्दा कसैका परेनन् नजर ती
सबै हर्ष छोड्दै छुटेको छु एक्लै

तिमी बन्नू वर्षा म बादल बनौँला
नसोच्नू तिमीले बहेको छु एक्लै

गगन चुम्न उड्दा हरायौ सफरमा
छुटेदेखि हामी हिँडेको छु एक्लै

सजायौ मलाई नयनमा तिमीले
त्यही प्रेम भित्रै डुबेको छु एक्लै ।

उदयपुर, हाल: काठमाडौँ

 

मुतकारिब मुसम्मन सालिम

▪️डिल्लीराज घिमिरे

१२२,१२२ १२२ १२२

निकै याद आयो मेरो गाउँघरकाे
प्रवासी यो जीवन छ या‍त्रा बगरको

थिए लाख सपना महलभित्र बस्ने
बसेको छु झुपडीमा छानो छ खरकाे

पधेँरो र पानी तिनै पौवापाटी
गरूँ सम्झना के पिपलको र बरको

कसैले बुझेनन् मेरो दु:ख किन्तु
म भुइँमान्छे हुँ जिन्दगी भो प्रहरको

अलग धर्म रीति विदेशी थलामा
हुँदो रैछ कुविचार खेती डलरको।

भूमिकास्थान ९, अर्घाखाँची