गुलजार जसको शाब्दिक अर्थ हुन्छ चहलपहल, हरिलोभरिलो, आकर्षक, आनन्ददायक, शोभायुक्त, सुशोभित आदि । गुलजारको शब्दको अर्थ खोज्दा जे- जे भेटियो, ठ्याक्कै उनका सिर्जनामा पनि गुलाजर नै गुलजार पाइन्छ । हुन त गुलजारको वास्तविक नाम सम्पूर्ण सिंह कालरा हो । उनको नाम सम्पूर्णको अर्थ खोज्ने हो भने उनीभन्दा सम्पूर्ण अरु कोही खोज्ने झंझट गरिरहन पर्दैन । एउटै व्यक्ति जो गीतकार, कवि, पटकथाकार, लेखक, नाटककार र फिल्म निर्देशक भएपछि उनी नै सम्पूर्णको पर्यायवाची भई नै हाले ।

हामीहरू गुलजारसँग धेरै पटक अप्रत्यक्ष जम्काभेट गरिरहेका हुन्छौं । कहिले सार्वजनिक बसको कोलाहलभित्र तीखो स्पिकरमा `तुझसे नाराज नहीँ जिन्दगी´ भनेर अँगालोको आव्हान गरिरहेका हुन्छन्, कहिले फेरि बिछोडिएको प्रेमी/प्रेमिका सम्झाइदिन्छन् `मेरा कुछ सामान तेरे पास हे´ भनेर । कहिले उनको गीत प्रेमिकाको प्रशंसा गर्न गुनगुनाइन्छ, `आपकी आँखो मे मेहेकी हुई सी राज हे´ भन्दै । अनि बूढो भएको तनको प्रतिनिधित्व गर्दै लड्डुको स्वाद चखाउने गीत दिल तो बच्चा हे जी…

उनका रचनाले बच्चादेखि वृद्ध, पार्कदेखि पार्टी, मिलनदेखि बिछोड, प्रेमदेखि पूजा आदि सबै क्षेत्रलाई स्पर्श गरेको हुन्छ । आजको यो गुलजारसँगको यात्रामा मैले गुलजारका जीवनको एल्बम पल्टाएर उनका केही रोचक किस्सा र उनले रचना गरेका गीत, कविता, गजलका केही अंशलाई नेपाली अनुवाद प्रस्तुत गरेर तपाईंको मनदेखि मस्तिष्कलाई आनन्द दिने कोसिस गर्ने छु ।

***
नक्साबिना नै पंक्षीहरू आफ्नो गन्तव्यसम्म पुग्छ्न्
मान्छे मात्रै हो मनदेखि मनसम्म पनि पुग्न नसक्ने ।

***

तिमीलाई गुमाउन चाहन्नँ, त्यसले पाउने चाहना पनि राख्दिनँ ।

***

मलाई त्यस्तो कुर्सीमा बस्न मन लाग्दैन, जसमा बस्दा खुट्टा भुइँमा छोइन्न ।

***

सबै आफ्ना जस्तै लाग्छन् तर कुरामा मात्र ।

****

प्रायः त्यही दियोले हात जलाइदिन्छ जसलाई हामी हावाबाट बचाएर राख्छौँ ।

***

एउटा समय थियो जब हामी सोच्थ्यौं कि हाम्रो पनि दिन आउने छ ।
आज यस्तो लाग्छ, ती अतितका दिन क्या दिन थियो यार !

****

जिन्दगीभर सुख कमाएर घरको ढोकाबाट भित्र्याउँछौँ तर पत्तै लाग्दैन कहिले कहिले झ्यालबाट उमेर निक्लेर गइसकेको हुन्छ ।

****

घामलाई लिएर जाऊ, लामो यात्रा छ काम लाग्नेछ ।
छायाँ पनि बोकेर जानू, थकानमा शीतलता छर्नेछ ।

***

आज मुटुको फोटोकपी गराएँ, मात्र बालापनको तस्बिर रंगीन निक्लियो ।

****

कसैका लागि मर्न थालेपछि सुरू हुन्छ प्रेम
अरे ! यो प्रेम जीवित मान्छेको वशमा कहाँ छ

***

एउटा चिठी लेखेँ मानवताको ठेगानामा
हुलाकी नै हरायो दुनियाँबाट
ठेगाना खोज्दाखोज्दै ।

****

सुनेको छु
धेरै पढेलेखेको छौ, तिमी
कहिलेकाहीँ त्यो पनि पढ
जे म व्यक्त गर्न सक्दिनँ ।

***

अलिकति वार्तालाप साथीभाइसँग
गर्ने गर
प्रायः बन्द कोठामा जालो लाग्ने गर्छ ।

***

निदाउनु
सबै समस्यालाई सिरानी हालेर
बिहान
हुनेबित्तिकै
फेरि त्यसैलाई
अँगालोमा बेर्नु छँदैछ ।

***

कसले भन्छ
हामी झुटो बोल्दैनौं
एकचोटि हालखबर
सोधेर त हेर !

***

थोरै शान्तिको पनि
खोजी गर्नोस् हजुर
यो आवश्यकता त
कहिले पूरा हुँदैनन् ।

****

इच्छा
धोकेबाज हुन्छ
पूरा हुनेबित्तिकै
बदलिन्छ ।

****

प्राप्ति त
धेरै भयो जिन्दगीबाट
बस् हामीले
गन्ती त्यसैको गर्छौं
जो प्राप्त हुन सकेन ।

****

पीडाको पनि आफ्नै अदा हुन्छ
जसले सहन सक्छ, उसैमा फीदा हुन्छ ।

***

कुनैकुनै नाताबाट फाइदा हुन्न
तर
जिन्दगीलाई भने
धनी बनाइदिन्छ ।

***

कुनै इच्छाहरू
यसरी पनि अधुरो रह्यो ।

पहिला उमेर थिएन
अब उमेर रहेन ।

**

क्षणभरको वार्ता अनि महिनाभरको दुरी
आदत तिम्रो पनि तलब जस्तो छ ।

****

जो तिमीबाट वाक्क भइसकेका छ्न्
उसलाई छोडिदेऊ
बोझ बनेर बस्नु भन्दा याद बन्नु बुद्धिमता हो ।

****

आँखा पोखरी होइन
तर पनि भरिन्छ
मन सिसाको होइन
फेरि पनि फुट्छ

र मान्छे मौसम होइन तर पनि बदलिन्छ ।

****

पीडा सधैँ आँसुबाट बहेर जान्न
कहिलेकाहीँ मुहारको हाँसोबाट पनि निक्लेर जान्छ ।

****

तिमी सपना होइन यथार्थ हो
त्यो यथार्थ जो सपना हो ।

****

एउटी नारी कुनै पुरुषलाई तबसम्म सुन्दर लाग्छ
जबसम्म प्राप्त हुँदैन
जब प्राप्त हुन्छ
उसले कदर गर्न छोडिदिन्छ ।

****

तिमीलाई त्यही पल भुलिदिन्छु
जुनदिन तिमीलाई मैले भन्दा धेरै प्रेम गर्ने मान्छेसँग
भेट गराइदिन्छौ ।

***

तिम्रो नखरा उसैले सम्हाल्न सक्छ
जसले तिमीलाई साँचो प्रेम गर्छ

****

कसैको गल्तीलाई बेनकाब नगर
ईश्वर छँदैछ तिमी हिसाब नगर

*****

हरेक कुरालाई मनमा लियौ भने रोएर बस्नेछौ
जो जस्तो छ उस्तै बन्न सिक

*****

आत्मालाई होइन शरीरलाई प्रेम गर्न थाल्यो दुनियाँ
प्रेमको बहानामा बासनालाई मेटाउन थाल्यो दुनियाँ

****

पुरुषको चरित्र थाहा पाउनको लागि एक्लै भेट्न पर्छ ।
नारीको चरित्र थाहा पाउनको लागि ऊसँग तब भेट्नपर्छ जब उनी आफ्ना साथीहरूसँग हुन्छिन् ।

****

जुन नाताले हामीलाई रुवाइदिन्छ, त्योभन्दा गहिरो अर्को कुनै नाता छैन।
जुन नाताले हामीलाई रोइरहेको अवस्थामा छोडिदिन्छ, त्यो भन्दा कमजोर अरु कुनै नाता छैन ।

******

याद त्यो होइन, जुन एक्लोपनमा आउँछ ।
याद त त्यो हो, जो भीडमा आउँछ र एक्लो बनाइदिन्छ ।

*******

खुट्टामा लाग्ने ठेसले सम्हालेर हिँडन सिकाउँछ ।
मनमा लाग्ने चोटले समझदारीको साथ जिउन सिकाउँछ ।

***

तिमीलाई भेटेर यो ज्ञान मिल्यो
झुटा मान्छेहरू पनि कति महत्त्वपूर्ण हुन्छन् !

****

गुलजारको जन्म १८ अगस्त १९३६, दीना झेलम जिल्ला, पंजाब, ब्रिटिस भारत (अहिले पाकिस्तान ) मा भएको हो । देशको विभाजन भएपछि उनको परिवार अमृतसर- पंजाबमा आएर बस्यो । गुलजार मुम्बई आएर ग्यारेजमा मेकानिक भएर काम गरे । फुर्सदको समयमा साहित्य सिर्जना गरे । नियतिले उनको संगत प्रसिद्ध निर्देशक विमल रोय, ऋषिकेश मुखर्जी, हेमन्त कुमारसँग भयो र यिनीहरूका सहायक भएर पनि काम गरे । उनले अभिनेत्री राखीसँग बिहे गरे तर छोरी जन्मिनासाथ उनीहरू अलग भए । राखी र गुलजार अलग भए पनि कानुनी रुपमा कहिल्यै सम्बन्ध बिच्छेद गरेनन् । उनको छोरी मेघना गुलजार निर्देशक पनि हुन् ।

गुलजारले बंदनी फिल्मबाट गीत लेख्न सुरुआत गरे । त्यसपछि आशीर्वाद फिल्मबाट संवाद पनि लेख्न सुरु भयो । निर्देशक भएर मेरे अपने, परिचय, कोसिस, अचानक, खुशबू, आँधी, मौसम, किनारा, किताब, अंगूर, नमकीन, मीरा, इजाजत, लेकिन, लिबास, माचिस, हु तू तू जस्ता चलचित्र बनाए । उनले भारतबाट पाइने लगभग सबै महत्त्वपूर्ण पुरस्कार प्राप्त गरिसकेका छन् । सन् २००७ मा स्लमडग मिलेनियरको गीत जय हो को लागि अस्कर अवार्ड पनि प्राप्त गरे ।

*****

गुलजारले पछिल्लो समय गद्य कविताहरू लेखिरहेका छ्न् । केही कविताहरूको नेपाली अनुवाद प्रस्तुत छ ।

 

पहाड र मान्छे

यसै ठाउँमा पछिल्लो चोटि आउँदा पनि
यही पहाडको मुनि थिएँ
पहाडले भनेको थियो

तिमीहरूको उचाई किन होचो हुन्छ ?
आऊ, हात समाऊ मेरो
करङमा पाउँ टेकेर माथि चढ
आऊ नियालेर अनुहार त हेरौँ, कस्तो देखिन्छौ !
जसरी मेरा भिन्नभिन्न कमिलाहरूलाई तिमीले चिन्न सक्दैनौ
त्यसैगरी मलाई पनि तिमीहरू सबै उस्तै लाग्छौ
बस् एउटै मात्र फरक छ
मेरा कुनै कमिला तिम्रो शरीरमा चढ्यो भने
चिमोटेर मारिदिन्छौ
तर म त्यसो गर्दिनँ

मेरा गोब्रेसल्लोको उचाई कति अग्लो छ !
तिमी भन्दा सात गुणा, कुनै कुनै त दस बाह्र गुणा नै अग्ला होलान्
आयु हेर कति लामो छ
शताब्दीदेखि जिउँदै छन्

भन्नलाई त भनिदिन्छौ
तर ठूलाबडाको इज्जत गर्दैनौ
त्यसैले होचो हुन्छौ तिमीहरू

म त्यति एक्लो छैन जति तिमीले सोचेको छौ
तिमीहरू नै भीडभित्र पनि एक्ला छौ

बादलको भीडको समूह जब यात्रामा निक्लन्छ्न्
मलाई अँगालो मारेर जान्छ्न्

नदी जब बग्दछ, चरण स्पर्श गरेर बिदा लिन्छ
मौसम त मेरो पाहुना हो
एकचोटि आएपछि महिनौँ बसेर जान्छन्
अलगअलग सम्बन्ध गाँसिएको छ

मलाई यस्तो लाग्छ; कति छोटो आयुमा तिमीहरूको मिलन र बिछोड हुन्छ
आशा र उद्देश्य पनि साना नै हुन्छ्न्
त्यसैले तिमीहरूको उचाई यति धेरै होचो हुन्छ ।

*****

गफाडी कवि

अचेल म उसको केही कुरासँग सहमत छु
शायद उसले भनेको सही हो
कवि नभएको भए कति गफाडी मान्छे हुन्थ्यौ तिमी !
भेट हुनेबित्तिकै प्रश्न सोधेको थियो
नयाँ-नयाँ कुर्तामा कहाँबाट रङ लगाएर आयौ ?
यसो हेरेर याद आयो
समुद्री किनारमा गएको
सूर्यास्त हेर्दै थिएँ
त्यसैको रङले रंगियो शायद !

के भयो आँखामा ? किन मिचिरहेको ?
छतमा थिएँ
बिजुली चम्कियो
एक टुक्रा प्रकाश गएर बायाँ आँखामा पसेछ !

उसलाई पागलपन लाग्दो हो
अबेलासम्म हिजो आकाश हेरेँ
आँखा नीलो हुन थाल्यो
रङ उडेछ आकाशको
आकाशको रङ काँचो रहेछ !

औँलामा केही भयो कि ?
अँ राति तारा गन्दागन्दै औँला जल्यो
छाला उक्किएछ !

****

उदास उपत्यका

धेरै उदास उदास छ यो घाटी*
घाँटी निमोठिरहे जस्तो औँलाहरूले
यो सास फेरिरहेछ तर सास लिन सकिरहेको छैन

वृक्ष उँगिरहेछ केही सोचेर यसरी
जसले शिर उठाउनेछ उसैको शिर काटिनेछ पहिले
बादल पनि गर्धन निहुराएर आउँछन् लज्जित भएर
किनभने मेटाउन सकिने छैन रगतले बनाएको दागहरू

हरियो हरियो छ तर अब घाँस हरियो पनि छैन
जहाँ गोली चलेको थियो जमिनमा घाउ भरिएको पनि छैन
जुन माइग्रेटरी पक्षीहरू आउने गर्थे
उनीहरू सबै फर्किए घाइते हावासँग डराएर

धेरै उदास उदास छ घाटी
यो घाटी हो, कश्मिर।

*****

गुलजारले धेरै फिल्ममा संवाद लेखे तर आनन्द फिल्ममा उनले लेखेको संवादले अमृतपान गर्‍यो । फिल्मका प्रत्येक संवादले दार्शनिक उचाई पायो । प्रस्तुत छ, आनन्द फिल्मको केही संवाद नेपाली भावानुवादमा ।

जबसम्म जीवित छु, तबसम्म मरेको छैन । जब मर्नेछु साला म नै रहन्नँ ।

***

जिन्दगी विराट हुनुपर्छ, लामो होइन ।

***
मान्छु कि जिन्दगीको तागत मृत्युभन्दा ठूलो छ । तर, यो जिन्दगी मृत्युभन्दा के कम छ र ?

**

जीवन र मृत्यु त भगवान्को हातमा छ । त्यसलाई न तपाईं बदल्न सक्नुहुन्छ न त म । हामीसबै रंगमञ्चको कठपुतली हौँ, जसको डोरी भगवानको हातमा छ ।

***
मृत्यु तँ एउटा कविता हो
मलाई कविताको कसम छ, पाउने छु मैले
डुब्दै गरेको नाडीमा
जब पीडालाई निद्रा लाग्न थाल्छ
पहेँलो मुहार बोकेर जून, जब क्षितिजमा पुग्छ
दिन अझै पानीमै छ, रात किनाराको नजिक
न अँध्यारो, न उज्यालो, न दिन न रात

देह जब नष्ट हुन्छ अनि आत्माले प्राण भर्दछ
मलाई कविताको कसम छ
मैले प्राप्त गर्ने छु ।

*****

गुलजार राखी सम्बन्ध

राखी र गुलजारको बिहे सन् १९७३ मा भयो । उनीहरूको सन्तनको रुपमा मेघनाको जन्म भयो । छोरी जन्मेको एक वर्षमै यो जोडी अलग भयो । यिनीहरू अलग हुनुको खास कारण बाहिर मिडियामा आएको थिएन तर केही पहिला एउटा मनोरञ्जन पोर्टलले एउटा मस्तिष्क हल्लाउने खबर छाप्यो । जसमा उनीहरू अलग हुनुको कारणसहित समाचार सम्प्रेषण भएको थियो ।

समाचार अनुसार गुलजार र राखीको बिहे सम्झौतामा भएको थियो । बिहेपछि राखीले फिल्ममा अभिनय नगर्ने सहमति थियो । राखीलाई आशा थियो कि बाहिरको फिल्ममा अभिनय नगरे पनि गुलजारले बनाएका फिल्ममा अभिनय गर्ने अवसर पाइन्छ होला । तर त्यसो भएन । जसकारण राखी दुःखी हुँदै गएकी थिइन् ।
राखीलाई धेरै फिल्मका अफर आउँथे तर गुलजारले अनुमति नदिएपछि दुईबीच मनमुटाव सुरु हुन लाग्यो ।

पिकंविलाका अनुसार, `गुलजार आँधी फिल्मको सुटिङका लागि कश्मिरमा थिए । आफ्नो समूहसँगै राखी पनि उपस्थित थिइन् । एउटा रात्री डिनर पार्टीमा नायक सञ्जिव कपुर निकै मातेको अवस्थामा थिए । नायिका सुचित्रा सेनको हात समातेर उनलाई उम्कन दिएका थिएनन् । त्यतिबेला गुलजारले सुचित्रा सेनलाई कपुरबाट उम्काउन कोठामा लिएर गए । त्यतिनै बेला राखीले गुलजारलाई सुचित्राको कोठाबाट आउँदै गरेको देखिन् । त्यसपछि बबाल सुरु भयो । राखीले आकर्षक हिरोइनलाई कोठासम्मै छोड्न जानपर्ने कारणबारे केरकार गरिन् । गुलजार यो प्रश्नबाट छुटकारा खोज्दै थिए तर राखीले त्यहाँ तमासा गर्न थालिन् । यत्तिकैमा कोमल शब्द लेख्ने गुलजारका हातले राखीलाई प्रहार गर्न थाल्यो । यो घटनापछि राखीले गुलजारको पशु जस्तो व्यवहार भुल्न सकिनन् । अन्ततः सधैँका लागि अलग भए ।´

यो समाचार कति सत्य वा असत्य हो, यकिन भन्न सकिन्न । यसबारेमा न कहिले राखीले भनेकी छिन्, न त गुलजार नै बोलेका छन् ।

उनीहरू अलग भएको करिब ५० वर्ष भए पनि छोरीका कारण डिभोर्स भने गरेनन् । एकअर्कासँग हरेक उत्सव मनाउँदै आए । पछिल्लोपटक राखी, गुलजार र उनका नातीले खुसीसाथ होली खेलेको तस्बिर पनि सामाजिक सञ्जालमा छ्यापछ्याप्ती आएको थियो ।

गुलजार र राखीकी छोरी भने आफ्ना मातापिताको अलग बस्ने निर्णयलाई सकारात्मक रुपमा लिन्छिन् । उनले भनेकी थिइन, `मेरो मातापिता अलग बस्नुले नै उहाँहरू सिर्जनशील हुन पाउनुभयो । अलग बसेपछि आमाले फिल्म क्यारियरलाई अझै विराट रुपमा लैजाने अवसर पाउनुभयो भने बुवाले आफ्नो लेखनलाई फराकिलो बनाउन पाउनु भयो ।´

गुलजारलाई आरोप
हिन्दी गीतबाट ओस्कार अवार्ड प्राप्त गर्ने, बलिउडका अत्यधिक सफल र चर्चित गीतकार गुलजारलाई एउटा आरोप लाग्ने गरेको छ । उनी चर्चित शायरका लाइनलाई आफ्ना गीतमा प्रयोग गर्छन् भनेर ।

`जी ढूंढता है फिर वही फुरसत के रात दिन
बैठे रहे तसव्वुरे जाना किए हुए´

यो माथिको शेर मिर्जा गालिबको हो । गुलजारले यसलाई मौसम फिल्मको गीतमा यसरी प्रयोग गरेका छन्, `दिल ढूंढता है फिर वही फुरसत के रात दिन ।´

त्यसैगरी सर्वेश्वर दयाल सक्सेनाको कविता `इब्न बतूता पहन के जूता निकल पडे बजार मे भव पढ रखी होगी ।´ यो कवितालाई गुलजारले इश्किया फिल्ममा यसको अगाडि `पहनो तो करता चुर्र।´ लगाएर प्रयोग गरेका छन् ।

गुलजारले यो कुराको प्रतिरक्षा गर्दै भन्छ्न्, `नयाँ शायरलाई पुराना शायरले एउटा लाइन दिन्छन्, जसमा उसले बाँकी शेर बनाउँदै लानुपर्छ । यो एउटा उर्दू परम्परा हो । म पनि दिग्गज शायरको अगाडि सानो शायर हुँ । त्यसैले उहाँका लाइन प्रभावित भएर लिएको हो ।´

मीना कुमारीको त्यो डायरी
मीना कुमारी र गुलजारको दोस्ती विपरीत ध्रुवको चुम्बक जस्तै थियो । ट्राजेडी क्विन भनेर चिनिने मीना कुमारी गुलजारका सिर्जनाको प्रशंसक थिइन् । श्वासको धागो चुडिने बेला मीना कुमारीले गुलजारलाई एउटा डायरी दिएर गएकी थिइन् । त्यो डायरीमा मीना कुमारीको आत्मकथा र किस्सा होलान् भन्ने धेरैको अनुमान थियो । गुलजारले जब त्यो डायरी पढे, त्यो डायरीले मीना कुमारीका शायरी जतन गरेर राखेको थियो । आफ्नो दोस्ती निभाउँदै गुलजारले ती शायरीलाई संकलन गरेर सम्पादनसहित `मीना कुमारी की शायरी´ भनेर किताब प्रकाशित गराइदिए ।

गुलजारले किन सेतो वस्त्र धारण गर्छन् ?
बालापनमै जब भारत र पाकिस्तान अलगअलग राष्ट्र बन्यो । पाकिस्तानबाट ज्यान बचाउन उनका परिवार भारतमा शरण लियो । भारत-पाकिस्तानको दंगामा आफ्ना दुई दिदी बहिनीलाई गुमाए । वैवाहिक जीवन सफल भएन । आफ्ना पिताको अन्त्येष्टिमा पनि सहभागी हुन सकेनन् । यी सबै कुराले व्यक्तिगत जीवन पीडा र उदासीले भरिएको महसुस गर्न सकिन्छ । उनी आफैँले यही कारण सेतो वस्त्र लगाउँछु नभने पनि, शोकको कारण उनी सेतो वस्त्र लगाउँछ्न् भनेर बलिउडमा अड्कल गरिन्छ ।

गुलजारले भारतबाट प्रदान गरिने लगभग सबै पुरस्कारलाई स्पर्श गरे । उनले पद्म भूषण अवार्ड, ओस्कार अवार्ड, दादा साहेब फाल्के अवार्ड, कयौं फिल्मफेयर अवार्ड, नेशनल अवार्ड प्राप्त गरेका छन् । उनले टेलिभिजन देखि ठूलो पर्दामा सफल निर्देशक र पटकथाकार भएर काम गरे । मिलेनियम सुरु भएपछि उनले फिल्म बनाउने कामलाई आराम दिएर आफ्नो गद्य कविता लेख्ने सपनालाई पूरा गर्नतिर लागे । उनका गीत-गजल त प्रसिद्ध थिए नै गद्य कविता पनि निकै चर्चित छन् । ८६ वर्षको उमेरमा पनि गुलजारको कलम बूढो भएको छैन । उनको कलमले लेखिरहोस् जिन्दगीलाई, शुभकामना ।