हामी नेपाली हिमालप्रति गौरव गर्छौँ तर जानकारी कम राख्छौँ । अझ हामीले हिमाली भेग पुग्ने काम कोरोनापछि बल्लतल्ल सुरु गरेका हौँ । हरेकपटक उँचो बन्न सिकाउने हिमाल र जीवन सुन्दर छ है भनेर बताउने लेकाली सुन्दरताका लालीहरू हामी रुचाउँछौँ जरुर, तर पुग्ने आँट भने बटुलिहाल्न सक्दैनौँ । जलवायु परिवर्तनले हिमाली क्षेत्रमा निम्त्याएको सङ्कटका बारे मन्त्रीपरिषद्मा पनि घागडान गफहरू हुन्छन्, तर तिनले पनि तात्त्विक फरक पार्दैन किनभने हाम्रा हिमालकै बारेमा हामी साह्रै नै  निम्छरो छौँ  ।

तराईमा ओइरिएको मुलुककै आधाभन्दा बढी जनसङ्ख्या (५३.६१ प्रतिशत) सँग हिमाल हेर्ने उत्कट चाहना छ, दक्षिण एसियाका समथर भूभागका भारती, बङ्गाली, सिँगाली वा पल्लो महादेशका अफ्रिकन, अमेरिकन, युरोपियनको हकमा त भन्नै परेन । हामीसँग संसारकै अग्ला चुचुरा रहनु र पृथक् संस्कृति रहनुले उनीहरू यता लहसिएका हुन् भन्नेमा शङ्कै रहेन । उनीहरू हाम्रा हिमालप्रति असाध्य श्रद्धा र मोह राख्छन् र यता आउन खोज्छन् तर, हामीहरूका लागि हाम्रा हिमाल ‘नजिक तीर्थ हेला’ भएको छ । अरूले ‘तँ क्या राम्रो नि हो’ भन्दिएपछि मात्रै ‘अँ म त अचाक्ली राम्रो है’ भन्दै निच्च दाँत देखाउने हामी लास्ट तोरी हौँ । हामी तोरी हौँ भन्ने कुरा भमरालाई थाहा छैन, नत्र गाला चुसेर सक्दिनथे उहिल्यै !

हाम्रो यस्तो काइते हर्कतका बारेमा अझ कुरा गर्दा, हाम्रै तराई भूमिमा बसाई झरेका पहाडका एक तिहाई जनसङ्ख्या त हिमाल हेर्न झर्को मानेरै तराई झरेका हुन् । नत्र बिहान उठेदेखि सुतेसम्म हिमाल मात्रै देखिने भूभाग छोडेर किन झरेका त ? शरीरको साथ र भौगोलिक कठिनाइ कारण हिमाली भेग पुग्न नसकिरहेका देशका बालबालिका एवं बुढ्यौली कायाको त कुरा फरक भयो तर, जोश, जाँगर, आँट, भरोसा, देशप्रेम आदित्यादी सबै भएका नेपाली तन्नेरी र तरुनीहरूले कामीरिता शेर्पाको फेसबुकका फोटोमा लाइक गर्नेबाहेक अरू उपती केही गरेका छैनन् ।

पोखरा, मुस्ताङ, लाङटाङ, रारा वा सगरमाथा आधार शिविर पुगिरहेका तन्नेरी तरुनीको सङ्ख्या बढेन भनेर यो गनगन सुरु गरेको । नरिसाउनुस् न हो । एउटा हिमाल हेर्न नेपाली परिवारबाट कमसेकम एक जना त तातिनु पर्‍यो नि हाउ । डल्लै अल्छी भएर भएन हो भनेको क्या ! हाम्रा हिमाल हामीलाई बोलाउन नदी, खोलाखोल्सी बनी हाम्रा घरबस्तीतिर आइरहने, हामीचाहिँ हिमालतिर जाँदै नगर्ने गर्नु भएन नि हो । यतिविधि हाइसन्चो पनि ठिक होइन क्या ! अलिअलि जाँगर चलाएर हिमाल हेर्छु भन्नु पर्‍यो भनेको क्या ! कमसेकम पहाड उक्लिएर आ-आफ्ना आँखालाई  हिमाल र हरियोपन देखाउनु पर्‍यो भनेको क्या ! नेपाल सुन्दर छ, पर्यटकलाई लोभ्याउँछ’ भनेर कति लेखिरहने ? कति फलाकिरहने ? आफैँ आन्तरिक पर्यटक बन्दिऊ न सोल्टी भन्न लागेको क्या ! हिमाल त्यतिविधि सिँगारिएर बस्ने अनि तपाईँचाहिँ शहरका धुवाँधुलो वा विदेशतिरै कति फुत्तफुत्त जानुहुन्छ भन्न आँटेको क्या !

यता इसिमोडको हालैको प्रतिवेदनले यो शताब्दीको अन्त्यसम्म हिन्दु–कुश हिमालय क्षेत्रको तापक्रम २.१ डिग्री सेल्सियसले वृद्धि हुने र त्यसबाट एकतिहाई हिमनदी पग्लिने निचोड सार्वजनिक गरिसकेको छ, तपाईँ चाहिँ उता नेटफ्लिक्स र युट्युबमा झुत्तिइरहनुस् भनेको क्या ! यता हिमाल पग्लेला, उता तपाईँको ज्यान फुस्केला । अनि हिस्स परिरहनुस् ! यति दामी देशमा बसेर नि क्या टपरटुइँया  भइखाएको त नि हामीले ? अलिकता लाज, घिन भन्ने कुरा त हामीमा हुनुपर्यो भन्न आँटेको क्या !

हिमालको गीत पछि गाऔँ, कविता पनि पछि लेखौँ । हिमाली सौन्दर्यको धाक पनि लगाइरहूँला तर आफ्नै हिमालको भौगोलिक स्थितिको ज्ञान त लिगौँ न यार । हिमाल आरोहणबारे विदेशी पर्वतारोहीले अनेकन् किताब लेखी सिद्ध्याई सके, हामी भने रवि लामिछानेको प्रेस सम्मेलन सुनेर दङ्ग भई बसिरहूँ !  लास्ट मूर्ख हो नि हामीहरू, थाहा छ ? थाहा पाउनका लागि हिमाल आउनुपर्‍यो हो भनेको के सोल्टीहरू ।

सोल्टी बुबाहरू ! सोल्टी आमाहरू ! सोल्टी दाइहरू ! सोल्टी भाउजूहरू ! सोल्टी माइजू र मामहरू ! सोल्टी फूपू र जेठानहरू ! सोल्टी तरुनीहरू ! सोल्टी तन्नेरीहरू ! लौ न हो । आइदिम क्या ! हिमाल चिन्ने र चिनाउने अभियान थाल्दिम न हो !

(…मलाई त अझ गाली गर्न मन लागेको छ हो, गर्दिऊँ ?)

***

मानास्लु हिमाल

यति विधि तथानाम गाली गर्नुको ध्येय एउटै छ कि, तपाईँ हिमाल हेर्नुहोस् । हिमाल राम्रो कि तपाईँको दाँत राम्रो दाज्नुहोस् । तपाईँको देशका हिमालहरूबारे तपाईँ पनि जानकार हुनुहोस् । तपाईँ २/४ वटाभन्दा हिमालको नामै भन्न नसक्ने त हुनुभएन नि । तपाईँका बहानाहरू तपाईँलाई नै मुबारक तर, तपाईँले तपाईँको देशका हिमाललाई हेर्नैपर्छ । हिमालबारे जानकारी राख्नैपर्छ । हिमाललाई बेवास्ता गर्ने हो भने तपाईँले आफूलाई ‘नेपाली’ नभनेकै जाति ! सगरमाथाको उचाईमा जोडिएर आफ्नो कदको गफ नगरेकै जाति ! ‘बिहान उठ्नेबित्तिकै’ भन्ने गीत नगाएकै जाति !

***

त, यो लम्बेतान् भूमिकालाई यही बिसाएर कुरा सुरु गरौँ ।

यदि तपाईँले अहिले तत्कालै हिमाल हेर्छु, हेर्दिम न त, हेर्दिम क्यारे, हिमालबारे जान्ने बन्छु भन्ने सोच्नुभएको हो भने तपाईँ धादिङ जिल्लाको ज्वालामूखी गाउँपालिका क्षेत्र आउन सक्नुहुन्छ । काठमाडौंंसँगै जोडिएको यस जिल्लामा जिल्लावासीको तर्फबाट तपाईँलाई स्वागत छ ।

“पृथ्वीनारायणको व्रतबन्ध स्थल मैधीकोट, खड्गदेवीको काखमा तपाईँलाई स्वागत छ । आँखु र बुढीगण्डकीको काखमा लम्पसार परेर सुतेको देशकै दोस्रो ठुलो टार ‘सल्यानटार’ देखिने जलमुखी माई र अनकन्यादेवीको भूगोलमा तपाइँलाई ‘वेलकम’ छ !

बसाह ढोला मण्डली माई, त्रिपुरासुन्दरी माई (खरिकोट), अन्नपूर्णा माई, देवीस्थान लगायतका  पनि आफ्ना रोचक किंवदन्ती र ऐतिहासिकता, धार्मिकता एवं जैविक विविधता तपाईँको पोल्टोमा खन्याउन आतुर छन् ।

यी ऐतिहासिक एवं धार्मिक मन्दिरको परिसरमा उभिँदा उत्तरपूर्वदेखि उत्तर पश्चिमसम्मको हिमाच्छादित मुस्कानसहित चम्किरहेका दर्जन बढी हिमशृङ्खलाहरू तपाईँको मनमा काउकुती लगाइदिन्छ । त्यसपछि तपाई गिंजादेखि हाँस्ने कुरा पक्का । यो ७ सयदेखि १३ सय मिटरसम्मको भूभाग तपाईँलाई ८ हजार मिटर अग्ला हिमाल देखाउँदै ग्रामीण आतिथ्य पस्किन आतुर छ । आउनुस् ।

भुटेको मकैसँग भटमास टोक्दै, मुलाको पात लुछ्दै गणेश हिमाललाई आँखा मारुला, आउनुस् ।

भक्कुअमिलो चपाएर मुख अमिलो पार्दै र कटुस टोक्दै मुख गुलियो पारेर अन्नपूर्ण र गणेश हिमालका लस्करलाई जिस्काउला, आउनुस् ।

ढुंगाले छाएका पहाडी घरका सिकुवामा सुस्ताउदै मनास्लु हिमालसँग ‘हिमाल हाँसेको बोलमा दोहोरि गीत गाउला, आउनुस् ।

भादुवार सामुदायिक होमस्टेमा बसेर लोकल मदिरादेखि लोकल कुखुरासम्मको तिख्खर स्वाद लिँदै अलिकता देखिने ‘माछापुच्छ्रे’मा डुबिरहेको घाम हेरौँला, आउनुस् ।

.. आउनुस् ।

हुस्सुसँग लुकामारी खेलिरहेको खरिकोट र दर्जन बढी हिमालहरू

यो क्षेत्र जान-आउन अनकन्टार वा दुर्गम पनि छैन । काठमाडौंको ट्याक्सी स्ट्याण्डबाट कुनै एउटा ट्याक्सी भाडामा लिनुभयो भने ५ घण्टामै तपाईँलाई उसले दारेगौँडा, जलमुखी, मैधीकोट खड्गदेवी, वराहकालिका क्षेत्र, खरिकोट (त्रिपुरासुन्दरी), वा अनकन्या (चैनपुर कोट) जस्ता अग्ला पहाडी टाकुरामा ओरालिदिन्छ ।

त, ओर्लिएपछि १०/१५ मिनेट लुखुरलुखुर उकालो चढ्दै २/४ वटा कटुस खाँदै, लालुपाते फूल कपालमा सिउरिँदै, रानी सिन्काले दाँत कोट्याउँदै यी चुचुरोमा पुग्नुभयो भने तपाईँले दायाँदेखि बायाँसम्म मुन्टो बटारेर अघौजी हिमालहरू देख्न पाउनुहुन्छ । उत्तरपूर्वदेखि उत्तर पश्चिमसम्म हिमालैहिमाल देखेर तपाई चकित-ओ-चकित हुनुहुन्छ । तपाइको हृदय मखमल भइजान्छ । दिल गार्डेन गार्डेन भइजान्छ । हैन हो, तपाई दिल माउन्टेन माउन्टेन भइजान्छ । तपाईँलाई मजा आइजान्छ । तपाईँ ठाडै ट्वाँ पर्नुहुन्छ । (ए मुख बन्द गर्नुस् । धेरैबेर ट्वाँ पर्दा रुख बसेको जुरेलीले मुखैमा फूल पार्देला ।)

ल हेर्नुस्, तपाइले पहाड पनि टेक्नुभयो, तपाइको पर्वतीय पर्यटन पनि भयो । पहाडी भूगोल र बसोबास पनि देख्न पाउनुभयो । हिमाल पनि हेर्नुभयो । भएन त अनि गजब ? अलि पट्यारलाग्दो र झर्कोलाग्दो यस समय-दैनिकीमा काठमाडौंबाट ५ घण्टाको दुरी पार गर्नासाथ् मन बुरुक्क बुरुक्क हुने माहौल भेट्नु भनेको चानचुने कुरा हो त अनि ? बात गर्नुन्छ यार ?

यसै बोलाको हो तपाईँलाई मेरो गाउँ ? बात गर्नुहुन्छ यार ?

यसपछि तपाईँ नै भन्नुहुन्छ, हिमाल हेर्न चाहनेहरूका लागि धादिङ जिल्लाको ज्वालामूखी गाउँपालिका एक उत्कृष्ट गन्तव्य हो । ज्वालामुखी हिमाल हेर्ने नामी ठाम हो । दामी ठेगना हो । तपाइँ ठोकुवा गर्दै भन्नुहुनेछ कि, पोखरा पुग्दा समेत देख्न मुस्किल पर्ने अन्नपूर्ण शृङ्खलाका लुकेका चोटि र स्वरूपहरू धादिङको यस पहाडी सर्लक्क भेगबाट देख्न पाइन्छ । यो ठाउँ किन लुकेर बसेको होला ? धादिङ त ‘भाइरल’ भएकै रहेनछ ।  धादिङ त लुकेर पो बसेको रहेछ ।

***

अनकन्या मन्दिरबाट देखिएको हिमाल, हुस्सुमुनि सल्यानटार लुकेको छ

विश्वको दसौँ अग्लो र नेपालको नवौँ अग्लो अन्नपूर्ण प्रथमले तपाईँलाई असीमित खुसी दिन्छ । यहाँबाट यस शृङ्खलाको तेह्र वटै हिमालहरू देखिँदैनन् तर, अन्नपूर्ण-१-२-३-४ चुचुराहरू भने प्रष्ट खुलिरहेका भेटिन्छन् । यिनीहरूको उचाई क्रमशः ८,०९१ मिटर, ७,९३७ मिटर, ७,५५५ मिटर र ७,५२५ मिटर रहेको कुरा तपाई जान्नु नै हुन्छ । १,२२० मिटर उचाईको मैधीकोट खड्गदेवीबाट ८ हजार मिटर अग्ला हिमालहरू हेर्न पाउनु भनेको यी हिमालको फेददेखि टुप्पो अर्थात् समशीतोष्ण हावापानीको पहाडी भूभागदेखि टल्किरहेको हिमाल एकसाथ देख्न पाउनु हो । ४,१३० मिटरको उचाइमा रहको अन्नपूर्ण बेस क्याम्पबाट यसरी फेदैदेखि कहाँ देख्न पाइन्छ ? बात गर्नुहुन्छ ?

यसप्रकार, अन्नपूर्ण पदयात्रामा जाँदा मात्रै अन्नपूर्ण हिमशृङ्खला मज्जाले देखिन्छ भने तपाईँको भ्रम पनि चकनाचुर हुन्छ । नरिसाउनुस्, यात्रा भनेकै भ्रमहरू चकनाचुर गर्नका लागि हो । तपाइको ‘पहिलो भ्रम’ चकनाचुर भएकोमा तपाईँलाई बधाई । तपाईँ मेरो गाउँ आइसक्नुभएको छ भने तपाईँले थप बधाईका कोसेलीहरू पनि आफूसाथै लैजानुपर्छ भन्ने मेरो विश्वास हो ।

त, अब तपाईँलाई गङ्गापूर्ण, लमजुङ हिमाल देखाउँछु । गङ्गापूर्ण अन्नपूर्ण हिमशृङ्खलाकै एक हिस्सा हो । यसको उचाई ७,४५५ मिटर छ । मनाङको चामे पुगेर लमजुङ हिमालको फोटो खिचेका तपाईँका यारहरूमाझ तपाईँलाई धाक लगाउन पनि पाउनुभयो, ‘मैले ज्वालामुखी-७ को करिब हजार मिटर उचाइमा रहेको अन्कन्या मन्दिर परिसरबाटै यति राम्रो फोटो खिचेँ, तिमीहरू के खान २,६५० मिटर उचाईको चामे पुगीराको ?’ उनीहरूले पनि तपाईँलाई ‘बधाई’ देलान् र एकपटक तपाईँले उनीहरूको भ्रम चकनाचुर पारिदिन पाउनुभयो । तपाईँका घुमन्ते यारहरूलाई नरिसाउन भन्नुस्, यात्रा भनेकै अर्काका भ्रमहरू चकनाचुर गर्नका लागि पनि हो । तपाइको यारहरूलाई आफ्नो  भ्रम चकनाचुर भएकोमा बधाई ।

***

बिहानको घाममा खुलेको मनास्लु हिमाल

अब हामी लाङटाङ हिमाल हेर्न वराहकालिका क्षेत्र जाऔँ । के भन्नुहुन्छ ?

वराह र कालिका दुई वटा मन्दिर हुन् है । अहिले हामी वराहथानमा छौँ, तपाइले एउटा बडेमानको शिला देख्नुभयो हैन ? तर, पहिलेपहिले यो निकै ‘पुन्टे’ थियो अरे । यसको किंवदन्ती रोचक छ, सुनाऊ ?

एक खेप एक व्यक्तिले हँसिया उदाउनका लागि यस शिलालाई घर लिई गएछन् । भोलिपल्ट त्यो शिला त्यहाँदेखि गायब । अघिल्लो दिन जहाँ थियो त्यही पुगेछ । कुनै उटपट्याङ गिरोहले घरदेखि उठाई त्यहाँ मिल्काइदियो होला भन्ने सोचेर ती व्यक्तिले त्यस शिलालाई पुनः घर भित्राएछन् । भोलिपल्ट पनि सोही । शिला अघिल्लो दिन भेटिएको स्थानमै छ । यो बडो अचम्म भयो हाउ भनेर उसले घरभित्र लगीवरी खाङ्ग्रे डोकोले छोपी राखेछ । तर, भोलिपल्ट उठ्दा खाङ्ग्रे डोको रित्तै । यो प्रोसेस मेलम्ची खानेपानी आयोजना जस्तो दिनानुदिन तन्किँदै गएछ तर हातमा लाग्यो शून्य । अनि सो व्यक्तिले गोलमेच सम्मेलन बोलाएछ, हैन हो गाउँ भेला गरेछ भनेको । गाउँ भेलाले पनि कुनै निष्कर्ष दिन सकेन । (अल्छी लाग्यो ? हिमाल हेर्न आएको तपाईँलाई कता यो खुल्बिन्दाङ कथा सुनाइराछु ? लौ छोट्याऔं ।)

र, गाउँ भेला गरिएको त्यस रात एक अगुवा गुरुङको सपनीमा ‘म वराह हुँ, मेरो निम्ति विधि अनुसार पूजा गर्नु । म सधैँ यस गाउँको रक्षा गर्छु’भनेर बोलेछन् । सपनामा भनिएअनुसार १० वर्ष मुनिका गुरुङ कुमार केटाले पूजा गर्दै आइरहेका छन् भने धूप, अक्षता, भेटी, नैवेद्य चढाई वराहको फागुनबाट साउनसम्म पूजा गरिँदै आइएको छ । साउनबाट माघसम्म यी वराह देवताले आफू निलहारी बस्छु भनेकाले यी ६ महिनामा उनको पूजा हुँदैन । पहिलेपहिले साउनमा आफ्नो खेतबारीमा फालेका मकै यिनै बराहलाई चढाएर मात्रै यस भेगका स्थानीयले खाने गर्दथे । अझ, फागुनदेखि साउनसम्म प्रत्येक हप्ताको दुई वटा आइतबार पूजाआजा हुँदा दिउँसो पूर्सुं भेगका मानिसले खेत समेत जोत्ने गरेका थिएनन् । अहिले त ती कुरा हराइगए नि । यस शिलामा हँसिया उदाएको डोब भने तपाईँले पनि देख्न सक्नुहुन्छ । लौ त्यो डोब हेर्न यता निहुरिनुस् । यी देवतालाई बडो हेलाहितो गरिएको छ, वरपरका मन्दिरहरू बलिया र सिँगारिदा समेत यिनलाई लावारिस अवस्थामै राखिएको छ । मन दुख्यो नि होइन ? मेरो पनि दुखेको छ । यिनको एउटा खुट्टा भाँचिएको जस्तो पनि देखिन्छ, यो चाहिँ पचभैयासँग लडाई पर्दा भाँचिएको अरे । गाउँको रक्षा गर्ने सिलसिलामा यसो भएको होला ।

त, तपाइले यस भेगको रक्षा गरिरहेका बराह देवताको इतिवृत्ति र वर्तमान हालत देखिसक्नुभएको छ भने तपाईँलाई अब लाङटाङ हिमाल देखाउँछु । कालिका मन्दिर अलि उता पर्छ, पछि जाउला ।  बरु हामी त्यो अगाडिको खोँचतिर जाऊ, यो बाटाबाटै गइयो भने सुनखानी पुगिन्छ ।

माथि डाँडामा चढेर हेरे पनि भयो तर, मेरो बुझाइ छ कि सुनखानीतर्फ हानिएको यस गहिरो खोँचबाट जति सुन्दर लाङटाङ, गणेश, पाल्डोर, पाविल, मनासलु, माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि लगायतका एक दर्जन हिमाल अन्यत्र कतैबाट देखिँदैन । पुनहिल वा सराङकोट जस्ता अग्ला डाँडापाँखा चढेर हेर्दा मात्रै हिमाल सुन्दर देखिन्छ भन्ने होइन नि । यो महसुस तपाईँले पनि गरिहाल्नुभयो । रसुवा जिल्लामा पर्ने लाङटाङ हिमाललाई फेदैदेखि यति सुन्दर दृश्य देखेर तपाईँ चकित पर्नुभएको हो भने तपाईँ यती डेरा सार्नुस् हो । सार्दिन भन्नुहुन्छ र घरवास (होमस्टे) खोज्नुहुन्छ भने तपाईँको दुर्भाग्य, यहाँ त्यो अवधारणा अझै विकसित हुन् सकेको छैन । त्यो अवधारणा यहाँ विकास होस् भन्ने सदिच्छा तपाईँको जस्तै मेरो पनि रहेको छ ।

***

भदुवार होमस्टे

अब हामी अनाकन्या मन्दिर जाऔँ । यहाँबाट अझ दामी पारामा हिमाल देखिन्छ । यहाँबाट उँधो हेर्दा लमतन्न सुतेको देशकै ठुलो टार सल्यानटार देखिन्छ नै, यस टारको दुवै काखीबेर काउकुती लगाई सुलुलु बगिरहेका आँखु खोला बुढीगण्डकी बगिरहेको भेट्नुहुन्छ । यहाँबाट हिमालको काखबाट झरेको ठुलो पानीको धारा घोडापुच्छ्रे धारा समेत देखिन्छ । समशीतोष्ण हावापानीको यस क्षेत्रका वनमा साल, सल्ला, अस्ना, कटुस, चाँप, चिलाउने, साज, गुराँस, खर्सु (खस्रेतो), टाँकी, सिमल, बर्रो, सिरिस आदि प्रजातिका रुख बिरुवा त छँदै छन्, जङ्गललाई श्रुतिमधुर बनाउने कालिज, तित्रा, भ्याकुर, काग, कोइली, चिल, ढुकुर, भँगेरा, जुरेली पनि यही छन् ।

ल अब तपाई भन्नुस् ? हिमाल हेर्ने कि सल्यानटार ? वा चराको चिरबिर सुन्ने कि सुलुलु बगिरहेका आँखु र बुढीगण्डकी ? या यो सबै हेर्दाहेर्दै अनाकन्या मन्दिरतिर लम्किने ?

लम्किने भने लम्किने ।

त, यो मन्दिरको नाम बडो अचम्मको लागेन ? कस्तो सुन्दै नसुनेको नाम जस्तो लागेन ? लागेको हो भने यसको किंवदन्तीले तपाईँको खुल्दुली मेटाउँछ । अँ, हिमाल हेर्दै पनि तपाईँले यो किंवदन्ती सुन्न सक्नुहुन्छ ।

किम्बदन्ती: एक जना स्थानीय मगरको घरमा मानिसहरू गफिँदै आगो तापिरहेका थिए । अनायास अगुल्टोमा आगो पड्कियो र बाहिर निस्कियो । आगो पड्केर नजिकै खरानी खस्ने सामान्य कुरा हो तर, त्यसपटक आगोको झिल्को बाहिर आँगनसम्म पुग्यो । मानिसहरू चकित भए र बाहिर निस्किए । आगो खसेको ठाउँमा खरानी नभएर एउटा अनौठो शिला फेला पर्‍यो । मानिसहरूले यसलाई देवी शक्ति माने । सपनामा त्यस घरका मूलीले देवीको दर्शन पाए । आफूलाई उच्च स्थानमा राखेर पूजाआजा गरे सबैको भलो गर्ने कुरा देवीले भनिन् । भोलिपल्ट मगर बुढाले सपनाको कुरासमेत सुनाए । सबैले मिलेर शीलालाई उच्च स्थानमा (हाल रहेको स्थानमा) लगे । अगेनाबाट निस्केकी हुनाले उनीहरूले  यसैलाई अनकन्ये देवी भन्ने नाम राखे र पूजाआजा गर्न थाले । अनकन्येबाट अपभ्रंश भएर यसबेला यो मन्दिरलाई अनकन्यादेवी मन्दिर भन्ने गरिन्छ ।

अहिले मन्दिर भएको स्थानमा पहिला मानिसहरूको निकै बाक्लो बस्ती रहेको  हुन सक्ने अनुमान छ । छैन त यो कुरा, अझ रोचक ?

यस मन्दिर परिसरमा कोजाग्रत पूर्णिमाको अघिल्लो दिन अर्थात् चतुर्दशीका दिन धूमधाम मेला लाग्दछ । अनकन्यादेवी मन्दिरमा दसैँको पन्ध्र दिनसम्म विशेष पूजाआजा नै हुन्छ ? त्यो बेला त यतिविधि हुस्सु पनि लाग्दैन ? तपाईँले छ्वाङ्गै सल्यानटार र एक दर्जन हिमाल सरर्सर्ती देख्न सक्नुहुन्छ ?

तपाईँको दशैँ बिदाको छुट्टी ज्वालामुखी गाउँपालिकाको नाममा है त । उतिबेला अझ जलमुखी मन्दिर पुगेर, खरिकोट उक्लिएर, रुपाकोट/मझकोट चढेर हप्ता दिन हिमाल मात्रै हेरी बसौँला । के भन्नुहुन्छ ?

***

मनास्लु हिमाल हेरेर टोलाएका स्थानीय

अब अलिकता गनगन छ, सुन्ने हो ?

यतिविधि कथा हालिसकेपछि भन्नु परोइन्. गङ्गापूर्ण, लमजुङ हिमाल, अन्नपूर्ण १–२–३–४ चुचुराहरू,  गणेशका १–२–३ चुचुराहरू, माछापुच्छ्रे हिमाल, पाल्डोर हिमाल, पाविल हिमाल, लाङटाङ हिमाल सजिलैसँग थोरै थुम्को उक्लिनसाथ देख्न सक्नुहुन्छ । त्यो पनि नजिकैबाट । किलर माउन्टेन’का नामबाट संसार प्रसिद्ध मनासलु हिमाल हेर्ने सबभन्दा उपयुक्त थलो धादिङ हो । यहाँबाट मनासलुभन्दा पनि नजिकमा देखिन्छ, गणेश हिमाल । गणेश हिमाल शृङ्खलाको सन्दर्भमा गणेश १, २, ३ को समूहलाई पाविल भनिन्छ, र पूर्वको पर्वतलाई चाहिँ पाल्डोर । हिउँ नपर्दा हिउँले भरिभराउ हुने हिमाल पग्लँदै गएर अहिले पहाड (काला पत्थर) हुन् थालेछन् भन्ने मेसो पनि तपाईँले पाउन सक्नुहुन्छ । यो थाहा पाउनका लागि पनि तपाईँ ज्वालामुखी आउनुपर्छ ।

हिमालबाट पर्यटन, ट्रेकिङ, होटेल र लज व्यवसायको फाइदा लिन सक्दछन् तर, त्यसका लागि सगरमाथा वा पोखरा वा मुस्ताङका मान्छेहरू मात्रै सधैँ किन ? यस्ता पहाडी भेगहरूले आफ्ना होचाअग्ला थुम्काहरूबाट एकसाथ पहाड र हिमाल देखाउन सक्दछन् । हिमाल पुगिरहनेहरूलाई थाहा छ, चुचुराहरू धेरैजसो पहाडी थलोबाट प्रत्यक्ष देखिन्छ । जस्तो तपाईँ रुवीभ्यालीको पाङसाङ पुग्दा जति रोमाञ्चक हुनुहुन्छ, उत्तिकै रोमाञ्चक हुनका लागि तपाईँ ज्वालामूखी गाउँपालिकाको वराहथान क्षेत्र, मैधीकोट, ज्वालामूखी मन्दिर क्षेत्र, अनकन्या मन्दिर क्षेत्र पुग्न सक्नुहुन्छ ।

मैधीकोट क्षेत्रको ग्रामीण परिवेश

आजभोलि समथरबाट पहिला जति हिमाल देखिन छोडेका छन् । काठमाडौँबाट जुगल हिमाल वर्ष दिन कुर्दा आक्कलझुक्कल कुनै पानी परेको दिनबाहेक देख्न मुस्किल भइसकेको छ । सजिलैसँग हिमाल देख्न पाइनु भनेको त्यहाँको वातावरण स्वच्छ र मनोरम रहिरहेको सङ्केत पनि हो । जब ज्वालामुखीको रैथाने मगर, गुरुङ एवं कृषिप्रधान ब्राह्मण, क्षेत्री, दलित जातिले बनाएका रैथाने परिकार खाँदै हिमाल हेर्न पाउनुहुन्छ भने तपाईँ अन्यत्र किन जानुहुन्छ ? आउनुहोस्, ज्वालामुखी, नेपालका मध्ये भागका हिमालहरू तपाईँको दर्शन पर्खिरहेका छन् । नेपालको हिमाल नेपाली सबैको हो भने एक ठाउँबाट मात्रै किन हिमाल हेर्ने ? ठाउँठाउँ जाऔँ, ठाउँ ठाउँबाट हिमाल हेरौँ । ती ठाउँका अन्य प्राकृतिक छटाहरूसँग रमाऊँ । त्यहाँका रैथाने परिकारहरू चाखौँ, अनि मगर, तामाङ, गुरुङहरूको संस्कृतिमा रमाऊ ।  कि कसो ? के भन्नुहुन्छ नि तपाईँ ? ढिलो नगरौँ, पछि पछुताउनु पर्ला फेरि ।

यहाँका जनजाति एवं ब्राह्मण, क्षेत्री एवं दलित समुदायले काठ दाउरा र चरन गर्दा भीरपाखा गर्ने बानी अझै छाडेका छैनन् । धादिङमै पर्ने गणेश हिमाल पदयात्रीमाझ प्रख्यात छ । रुवीभ्याली ब्लगरहरू माझ परिचय साट्दै छ । यस क्षेत्रमा सरकारको ध्यान पुग्न सकेको छैन रे भन्दैमा तपाईँ आउँदै नआउने त ? भएन नि हो । आउनुपर्‍यो नि । प्राकृतिक छटालाई तपाईँजस्तो साहसिक पर्यटकमाझ साट्न आतुर यस ठाउँमा तपाईँ नआए को आउँछ ? आन्तरिक\बाह्य पदयात्रीका लागि यो निकै सस्तो पर्छ । बरु आएर बसाइ लम्बाउनुस् । तर, आउनुस् ।

बुढीगण्डकीको पानीढलोको रूपमा रहेका यस ज्वालामुखी गाउँपालिकाले भुईँचालोपछि पनि ढुङ्गाले छाएका, बार्दली निकालिएका पहाडी घरहरू बचाइराखेको छ । मेलापर्ममा हिँड्नेहरूसँग खुर्पेठ्याकको ‘ठ्याक ठ्याक’ अवाज जीवित छ । घरगोठमा गाईबस्तु बाँध्न अझै छाडिएको छैन । यसकारण यस भेकको भविष्य पर्यटन प्रवर्द्धनमा आधारित घरवास या जात्रापर्वमा आधारित पर्यटन नै हो । यस हुन् सकेमा यहाँका अधिकांश परिवारले आफ्ना बालबच्चा धादिङबेँसी अथवा काठमाडौँ पठाउनु पर्दैन । विदेश गएकाहरूलाई पनि देश फर्काउने बोलाहट बन्न सक्छन्, यी हिमालहरू ।

हिमाल हेरेर ट्वाँ परिरहेको पंक्तिकार

सालवास मावि परिसरबाट देखिएको लमतन्न सुतेको सल्यानटार र दर्जन हिमालहरू १

सल्यानटारको दुवै काखीमा काउकुती लगाइरहेका आँखु र बुढीगण्डकी

शमीभन्ज्याङ क्षेत्रबाट देखिएको धुरमैलो गणेश हिमाल

अस्तु !