“ओहो, आज त शुक्रबार ! के पठाऊँ म ?”

उसको प्रतिक्षित मनलाई उत्तर दिनु छ । मनका कुरा मनबाट कलम हुँदै किबोर्डसम्म लेख्न अनि यी आभास ठ्याक्कै उतार्न – मिठो, एकदम मिठो ।  उतार्ने यात्रा मनोरम अनि प्रिय ।

हुन त मान्छे साहित्यिक कुरा लेख्छन्, म भावना लेख्छु । आफूलाई महसुस भएको अनि आफूले आभास गर्नेसम्म मात्रै लेख्छु । त्यसैले पनि होला, तिमी कहिले पनि लेखेर नरित्तिने, तिमीलाई जति पढे पनि धित नमर्ने । तिमीले कहिले पनि आफूलाई प्रस्तुत नगरेर पनि होला मलाई तिमीलाई प्रस्तुत गरिरहन मन लाग्छ । हो, फेरि पनि ममा तिमीलाई नै प्रस्तुत गर्न रहर जागेको छ ।

तर रहरहरू पूरा गर्न त्यति सजिलो कहाँ छ र ?

मनमा सयथरी कुरा तिम्रै लागि खेल्छ तर मौन भएर तिमीलाई सुन्न रुचाउँछु । मनमा चलेको आँधीबेहेरी तिमीले महसुस गर्छौ कि नाइँ ? मलाई पत्तो दिँदैनौ । तर सोध्छौ, “के छ ? सन्चै छौ नि ?”

हुन त संवादको सुरुवात नै मैले “के छ ?” बाट गरेसि तिमीलाई पनि करै लाग्दो हो केही सोध्न । तिम्रो र मेरो संवाद मुस्किलले महिनामा दुइचोटि हुन्छ । कहिलेकाहीँ हप्तामै एकचोटि । जम्मा ।

तिमी सम्झिन जान्दिनौ ‘माया’ भनेर । तिमीले नै फोन गर्छौ, मसँग उत्तर हुन्छ । तर म निरुत्तरित जस्तो गर्छु, कुनै जवाफ दिँदिनँ ।

सायद म कुरिरहनछु तिमीलाई, तिमीसँगकाे छाेटै भए पनि मिठो पललाई तर भन्न केही सक्दिनँ । तिमी र तिम्रो लागि मेरो पलको प्रतिक्षाभन्दा बढी आजकल शुक्रबारको प्रतीक्षा हुन्छ मलाई ।  किनकि, तिमीप्रति पोखिएका भावना तिमीसम्म पुग्न तिम्रो मेसेज बक्स खोल्नु पर्दैन । तिम्रो फोन कुर्नु पर्दैन । च्याट बक्ससम्म जानु पर्दैन ।

तिमीले आफैँ खोजी खोजी पढ्थ्यौ मेरो लेख । अनि फोन गरेर भन्थ्यौ, “आर यू इन लभ ? को हो त्यो तिम्रो मान्छे ?”

तिम्रा यस्तो धेरै अचम्मका बानीहरू थिए, मेरा जस्तै । सोचिरहेको हौला, ‘के बानी छ मेरो ?’ भन्दै । हुन त सम्झिन अनि याद गर्न दिन, हप्ता, महिना, समय, पल केही हेर्न पर्दैन । तर तिमीलाई कोर्न दिन नहेरे पनि तिमीलाई मेरा लेखहरू पढाउन मैले शुक्रबार कुराइरहन्छु ।

तिमीलाई भेट्न अनि तिमीसँग कुरा गर्न समय सहज नभए पनि, तिमी मेरो लागि सधैँ सहज भएरै बसिरहन्छौ । तिमीसँग खुल्न दुईपटक सोचेको मलाई रत्ति याद छैन । सबैभन्दा विशेष त यो अर्थमा लाग्छ, तिमी मलाई भर्न जहिले पनि आउछौ, तिमी मेरा हरेक अधुरा कुरा पूरा गर्न ठोक्किन्छौ । कहिले मनमा कहिले लेखाइमा ।

जे होस्, तिमी आफ्नो कमी महसुस हुन दिँदैनौ । भविष्य नभएको सम्बन्धलाई बिट मार्ने जमानामा वर्तमानमै मिठो बाँच्न सिकाउने कला तिमीमा छ । टाढा टाढा रहेर पनि नजिक कसरी हुन्छ मान्छे ? जानेको छाै तिमीले । त्यसैले खास छाै तिमी ।

सम्बन्ध भन्ने शब्दसँगको डर तिमीले बुझेकै कारण तिमीसँग खुल्न सहज भएको हो मलाई ।  तिमी यो कुरा बुझ्छौ कि नाइँ, मलाई थाहा छैन । तर थाहा पाउने जरुरत छ कि तिमीलाई ?

तिमीसँगको यो भेट, तिमीसँगको यो सङ्गम, सबै सबै मेरो लागि निक्कै प्रिय छन् । तिमी जत्तिकै । नबोल्दैमा मनबाट सम्बन्धहरू हराउँदैन्न भन्ने तिमी प्राकृतिक उदाहरण हौ । आफ्नालाई आफ्नोपनको आभास गराउन तिमीसँग कोही-कसैले सिकोस् ।

कहिलेकाहीँ सम्बन्धको पाना पल्टाउँदा, त्यो पाना यी चीजले भरिनुभन्दा रित्तै रहेको भए बेस हुन्थ्यो भनेर पछुतो हुँदो रहेछ । सबै सम्बन्धहरुको निश्चित आयु हुँदो रहेछ । सम्बन्धमा पनि जीवन हुँदो रहेछ, जिन्दगी हुँदो रहेछ । मान्छे जस्तै सम्बन्ध पनि मर्दो रहेछ । यी कुराकाे अनुभूति गराउने मान्छे मायाका बजारमा प्रशस्त भेटिँदा रहेछन् । मनमा मारिएका सम्बन्धहरू कहिल्यै फर्केर नआओस् लाग्दो रहेछ । मारिएका सम्बन्धहरू याद र सम्झनामा ठिकै देखिएलान् तर जिन्दगीमा सुहाउँदैन रहेछ ।

त्यो रित्तै पानामा तिम्रो नाम लेख्न मन छ; खुसीले चिच्याउन मन छ । सम्बन्धका आफ्नै नियमहरू हुन्छन्, त्यो नियम तोडेर तिमीसँगै रमाउन मन छ, बाँच्न मन छ ।

जब मान्छे जिन्दगीमा आउँछन्, छाउँछन् अनि जान्छन् । जाँदा जाँदै धेरै कुरा सिकाउँछन् ।

मलाई म यति हदसम्म प्रेम गर्न सक्छु लागेको थिएन, आफूलाई अर्कै केही रुपमा परिभाषित गर्न सम्बन्ध जरुरी हुँदो रहेछ । कसैले जिन्दगीमा सबैभन्दा राम्रो चिज सोध्छ भने म सायद भन्थेँ  – माया । माया, जुन मलाई तिमीसँग महसुस हुन्छ । जुन महसुस गरेर तिमीलाई मैले उतारिरहेकी छु । जुन आभास गरेर तिमी सात समुन्द्रपारिको मान्छे नि नजिकै छौ जस्तो पाउँछु । योभन्दा खास अनि राम्रो अनुभूति अर्को केही होला र ?

मलाई यो सबै कुराकाे आभास गराउने तिमीलाई धन्यवादको निम्ति यो लेख – समर्पण ।