बेन जिमर
सन् १९४९ जनवरी ३१ का दिन अमेरिकी टेलिभिजन कम्पनी नेसनल ब्रोडकास्टिङ कर्पोरेसन (एनबिसी)ले दिउँसोको लागि एउटा कार्यक्रम बनाउने भयो । त्यसका लागि सिकागोस्थित कार्यालयबाट देशभर प्रसारण हुन्थ्यो र यो प्रायः प्रत्यक्ष प्रसारण हुन्थ्यो । यो कार्यक्रमको नाउँ थियो, दिज आर माई चिल्ड्रेन । एल्मा प्लाट्सले यस कार्यक्रममा मिसेस हेनेनको अभिनय गरेकी थिइन् । यसमा एक जना आइरिस विधवाले एउटा होस्टल चलाउँछिन् र त्यसैबाट आफ्ना तीन सन्तान हुर्काउँछिन् । एउटी एकल महिलाको सुखदुःख, तनाव र खुसी यसमा देखाइन्थ्यो ।
यसरी अमेरिकाले टेलिभिजन संसारमा एउटा नयाँ शब्द इजात गर्यो, सप ओपेरा ।
दिज आर माइ चिल्ड्रेन कार्यक्रम जम्माजम्मी एक महिना मात्र चल्यो तर यसले संसारकै पहिलो सप ओपेरा हुने श्रेय पायो ।
शुरूदेखि नै सप ओपेरामा महिला हुन्थे, उनीहरूको सुखदुःख र तना हुन्थ्यो । पर्दाका हिरोइनलाई तनाव हुँदा यता पर्दाबाहिरकालाई पर्नु पीर पर्थ्यो । संवाद भरमार हुन्थ्यो, दृश्य कम हुन्थ्यो । यसका कथामा प्रायः साना शहरका महिलाको कथा हुन्थ्यो ।
टेलिभिजनमा यो लोकप्रिय हुनुअघि वास्तवमा रेडियोमा यस्ता सप ओपेराहरू चल्थे । टेलिभिजनले रेडियोको नक्कल गरेको मात्र हो । टेलिभिजनमा लोकप्रिय हुनु एक दशकअघि नै रेडियोमा ती लोकप्रिय भइसकेका थिए । इर्ना फिलिप्स, जसले दिज आर माई चिल्ड्रेृनको पटकथा लेखेकी थिइन्, त्यसअघि रेडियोमा उनले दर्जनौँ सप ओपेरा लेखेर चर्चा बटुलेकी थिइन् । रेडियोमा सन् १९३० को दशकमा उनको पेन्टेड ड्रिम्स यति प्रख्यात कि लामो समयसम्म चलिरह्यो । पछि सन् १९३७ मा उनको गाइडेड लाइट आएपछि बिस्तारै पहिलोलाई बिर्सिन थाले ।
गाइडेड लाइटको लोकप्रियतापछि नै यस्ता भावनात्मक उतारचढावले युक्त रेडियो नाटकहरूको नाउँ ‘सप ओपेरा’ हुन पुगेको हो । यो शब्दलाई पहिलो पटक प्रयोग गर्ने पत्रकार पल केन्नेडी हुन् । उनले सिनसिनाटी पोस्ट पत्रिकामा मनोरञ्जन पृष्ठमा आलेख लेख्थे । उनैले पहिलो पटक सप ओपेरा नाउँ दिएका थिए । उनले रेडियो नाटक ‘मा पर्किन्स’को समीक्षा लेख्दा प्रयोग गरेको सप ओपेरा पछि टेलिभिजन नाटकीय शृंखलामा पनि प्रयोग हुन थाल्यो ।
आखिर किन केन्नेडीले यसलाई सप ओपेरा नाउँ दिए त ? किनभने, त्यो बेला मा पर्किन्स रेडियो नाटकलाई प्रायोजन गर्ने कम्पनीहरू साबुनका निर्माता थिए । विभिन्न लुगाधुने साबुन या पाउडरले यस्ता रेडियो नाटकको प्रायोजन गरिरहेकाले र वर्षौंसम्म ओपेराजस्तै लम्बेतान कथा तानिने हुनाले केन्नेडीले यसलाई सप ओपेरा भनेका थिए ।
त्यो बेला मा पर्किन्सलाई ओक्सिडल डिटर्जेन्ट पाउडरले प्रायोजन गरेको थियो । यसको निर्माता प्रोक्टर एन्ड ग्याम्बल थियो । यस्तै गाइडिङ लाइट रेडियो नाटकको प्रायोजक प्रोक्टर एन्ड ग्याम्बलकै अर्को साबुन तेप्था साबुन थियो । कहिलेकाहीँ यो कम्पनी आइभरी साबुनको विज्ञापन पनि बज्थ्यो ।
समग्रमा, यस्ता रेडियो नाटकका प्रायोजकहरू धेरैजस्तो साबुन कम्पनी भएकाले यस्ता शृंखलाको नाउँ सप ओपेरा राखियो ।
यस्तै, त्यो बेला रेडियो नाटकमा जुन साबुनको प्रचार भयो, तिनको प्रयोग निकै बढेका कारण साबुन बेच्ने माध्यमका रूपमा यस्ता शृंखलाहरू बन्न थाले ।
त्यसो त सप अर्थात् साबुनको मूल शब्द जर्मनभाषाबाट आएको हो, जुन रोमन इतिहासकार प्लिनी द एल्डरका अनुसार सेल्टिक योद्धाहरूले तेल र खरानीको मिश्रणबाट बन्ने गर्थ्यो ।
यस्ता सप ओपेराका मुख्य प्रायोजक साबुन कम्पनी हुनु, तिनका लक्षित ग्राहक घर बसिरहेका महिलाहरू हुनुले यो शब्दलाई पछि लोकप्रिय बनाइयो । कहिलेकाहीँ सप ओपेरालाई सप भनियो, कहिले सोपर भनियो भने कहिले सोपी भनियो । खासमा जसैजसै टेलिनाटकको लोकप्रियता बढ्दै गयो, यो विधालाई जनाउने शब्दहरू पनि लोकप्रिय हुँदै जान थाले ।
कसैले बढी नाटकीय छ भन्नु पर्यो भने सोपी भन्थे र यस्ता शब्दहरू शब्दकोशमा थपिँदै जान थाले ।
तर समयक्रममा यो विधाको लोकप्रियता संसारभर बढ्न थाल्यो । कतै कतै सप ओपेराको साटो टेलिनोभेला भनियो । खासगरी दक्षिण अमेरिकामा यस्तो शब्द प्रचलित भयो । भारत र नेपालमा सिरियल वा शृंखला शब्द लोकप्रिय भयो । जहाँ टेलिभिजनमा केही हेरेँ र त्यहाँ शृंखला शब्द आयो भने मान्छेले टेलिभिजनको कुनै चर्चित सप ओपेराको कुरा भइरहेको छ भन्ने बुझिन थालियो । फिलिपिन्समा टेलिसिरी भनिन्थ्यो ।
पछि युरोपेली मुलुकका विभिन्न भाषामा सप ओपेराको अनुवाद हुन थाल्यो । जर्मनीमा सेफीनोपर भनियो, हंगेरीमा सापानओपेरा भनियो । स्विडेनीले यसलाई सापओपेरा भने ।
सन् १९४९ मा दिज आर माई चिल्ड्रेनको प्रथम प्रदर्शन गरियो, मनोरञ्जन रिपोर्टिङ गर्ने पत्रकारहरूले यसलाई सप ओपेरा नै भन्न थाले किनभने टेलिभिजनमा पनि साबुन कम्पनीले त्यसको प्रायोजन गरेका थिए ।
पाथफाइन्डर म्यागेजिनले त्यो बेला लेखेको थियो, ‘टेलिभिजनमा एउटा खतरनाक रोग सर्यो । टेलिभिजनको सप ओपेरा अब टेलिभिजनमा सरेको हो । रेडियोको कोढ- ‘सोपोरिटिज’ अब टेलिभिजनमा सर्यो । यो सप ओपेराकी लेखिका इर्ना फिलिप्सलाई राइटर्स डाइजेस्टले सिकागोकी सोपस्टर म्याडोना भनी लेखेको थियो । त्यस्तै न्युजविक म्यागेजिनले १९६४ मा इर्नालाई ‘क्विन अफ द सोप्स’ घोषित गरेको थियो । उनले दिउँसोका टेलिभिजन कार्यक्रमहरू गाइडिङ लाइट, एज द वर्ल्ड टर्न्स र एनोदर वर्ल्डजस्ता शृंखलाका लागि सो पदवि दिएको थियो । तर न्युजविकसँग कुरा गर्दै इर्ना फिलिप्सले भनेकी थिइन्, ‘मलाई यो सप ओपेरा शब्दसँगै घृणा छ । हामी साबुन बेच्ने माध्यम होइनौँ । हामी त महिलाको संवेदना खिँच्ने माध्यम हौँ ।’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।